‘जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’पछिको संस्मरणात्म कृति ढुङ्गेलको ‘समयको नक्साबाहिर’ हो । आफ्ना कुराहरू कसरी लेख्ने भनी कसैले सोधे म यो पुस्तककाे नाम लिन्छु ।’ – डा. नवराज लम्साल

साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसंग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमका बिच सो कृतिको लोकार्पण गरिएको हो ।

लेखक ढुङ्गेलसहित मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल, राजनीतिकर्मी एवं लेखक गणेश कार्की, कथाकार अनिता पन्थी तथा प्रकाशन पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रमको सञ्चालन राजु झल्लु प्रसादले गरेका थिए । उनले कृतिलाई केन्द्रमा राखी सिर्जनात्मक प्रश्नहरू वक्ताहरूलाई सोधेका थिए ।

झल्लुका प्रश्नहरूको उत्तर दिने क्रममा प्रमुख अतिथि डा. लम्सालले संस्मरणलाई लघुउपन्यासै भने पनि हुने बताए । उनले भने, “ढुङ्गेलको पुस्तकमा मैले आफ्नै ढुकढुकी पाएँ । यसमा हरेक युवाले भोगेको गाउँको कुरा छ, समाजको कुरा छ । पुस्तकमा कथाको स्वाद पाइन्छ र यसलाई लघुउपन्यास भन्न सकिन्छ ।”

उनले अगाडि थपे, ‘‘समयको नक्साबाहिर’ले युवाहरूको त्यो बेलाको समय बोलिरहेको छ जसमा साइकलको युग छ, नोकियाको युग छ । भाइरल भए होस्, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’पछिको संस्मरणात्म कृति ढुङ्गेलको ‘समयको नक्साबाहिर’ हो । आफ्ना कुराहरू कसरी लेख्ने भनी कसैले सोधे म यो पुस्तककाे नाम लिन्छु ।’’

त्यस्तै, पछिल्लो पुस्ताका सशक्त लेखक तथा समीक्षक अनिता पन्थीले मानवीय संवेदनालाई छोएर लेखिएको यस पुस्तकमा बालमनोविज्ञान पाइने बताइन् । उनले भनिन्, ‘‘ढुङ्गेलले बाल्यकालमा अनुभूतिमात्र गर्नुभएका बालमनोविज्ञानका कुराहरूलाई अर्थ लगाएर अहिले लेख्नुभएको छ । समय, परिवेश र परिस्थिति नै यस पुस्तकको विशेषता हो । यसले दिदी, आमा, फुपूदिदीहरूको नारीसंवेदनालाई पनि पक्रिन सकेको छ ।”

युवा पुस्ताका राजनीतिकर्मी तथा लेकक गणेश कार्कीको धारणा भने अलिकति फरक थियो । उनले विज्ञान, खेल र सिकाइलाई यो पुस्तक मीठोसँग प्रस्तुत गरिएको प्रशङ्ग कोट्याए । भने, “लेखकले गुच्चा तथा फुटबलका माध्यमबाट पृथ्वी गोलो भएकोमा आफू विश्वस्त भएको बताउँछन् । उनले कमिला फुटबलमा सजिलै हिंडेकोबाट त्यसरी नै पृथ्वीमा मानिस हिंडेको कल्पना गर्छन् । पहिलेको पुस्ताका बालबालिका धर्तीसँग रमाएको कुरा यस संग्रहमा पाइन्छ । पुस्तकमा पर्यावरणीय चेत पनि प्रशस्तै छ ।”

लेखक ढुङ्गेलले झुटो लेख्न नजानेको परिणाममा यो पुस्तक आएको बताए । कार्यक्रमका सञ्चालक राजु झल्लु प्रसादका प्रश्नको जवाफ दिँदै उनले भने, “मसँग अर्को कुनै लेख्न विषय थिएन र आफैंलाई लेखें । आफैंलाई झल्न नसकिंदो रहेछ, र जे थियो त्यही लेखें । बाल्यकाल र सम्बन्धहरू छ्यालब्याल बनाएर लेखें ।”

कार्यक्रमको सभापतित्व भुवनहरि सिग्देलले सबैलाई धन्यवाद दिंदै भने, ‘कृष्णजीको पुस्तक धेरै नै फरक भएकाले पेजटर्नरले प्रकाशन गरेको हो ।”