‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार – २०८१’ का लागि ५ गैरआख्यान कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा समालोचक विनयकुमार भण्डारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति ‘मार्केट अफ स्वीटहार्ट’की स्रष्टा तारा भट्टराईसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

१.तपाईँको सिर्जनात्मक निबन्धसङ्ग्रह ‘मार्केट अफ स्वीटहार्ट’ साहित्यपोस्ट गैरआख्यान पुरस्कारको छोटो सूचीमा छनोट भयो, कस्तो महसुस गरिरहनुभएको छ ?

गहिरो अनुभूति भइरहेको छ । मैले देखेका, भेटेका र कहिलेकाहीँ त बिर्सन खोजेका पात्रहरूलाई पुस्तकमा समेट्नु मेरो एउटा जिम्मेवारी पनि थियो । उनीहरूको आवाज, दुःख, संघर्ष र मौनतालाई इमानदारीपूर्वक प्रस्तुत गरेँ । त्यो प्रयास ‘मार्केट अफ स्वीटहार्ट’ साहित्यपोस्ट गैरआख्यान पुरस्कारको छोटो सूचीमा परेको खबरले निकै भावुक बनायो । छोटो सूचीमा परेको सुन्दा मेरो प्रयासलाई पाठक तथा समीक्षकले बुझे, महसुस गरे र मूल्यांकन गरे भन्ने लाग्यो, र मेरो मन पनि आभारले भरिएको छ । यो केवल मेरो व्यक्तिगत सफलता होइन, ती आवाजहरूको मान्यता पनि हो जुन अक्सर चुपचाप रहन्छन् । अहिले एउटा जिम्मेवारी पनि महसुस भइरहेको छ – अझ मैले सत्य र अरुले नलेखेका कुरा लेखिरहनुपर्छ भन्ने लागिरहेको छ।

२. नेपालबाट नेपालीहरूले देख्ने अमेरिका र अमेरिका पुगेपछि नेपालीले भोग्ने अमेरिकामा कतिको फरक पर्छ ?

नेपालबाट नेपालीहरूले देख्ने अमेरिका र अमेरिका पुगेपछि नेपालीहरूले भोग्ने अमेरिका दुई विल्कुलै फरक संसार हुन् । एक सपनाको र अर्को वास्तविकताको अमेरिका ।

नेपालबाट हेर्दा अमेरिका सुविधा, अवसर, समृद्धि र स्वतन्त्रताको प्रतीकजस्तो देखिन्छ । राम्रो काम, राम्रै तलब, राम्रै जीवनशैली; यिनै कल्पनाले मानिसहरूलाई धकेलेर उडान चढ्न बाध्य बनाउँछ । चलचित्र, समाचार, आफन्तका फेसबुक स्टाटस र चहकिला तस्बीरहरूले बनाएको त्यो अमेरिका चम्किलो छ । तर अमेरिका आएपछि देखिने अमेरिकामा धेरै तहहरू हुन्छन् । भाषा र संस्कृति फरक, श्रमको मूल्य फरक, वर्गीय विभाजन र आप्रवासीको स्थिति बिल्कुलै फरक छ । यी सबैसँग जुध्दै जाँदा यहाँको अमेरिका पनि विस्तारै बुझिँदै जाइन्छ । दिनको १०–१२ घण्टा ड्यूटी, शारीरिक थकान, मानसिक रूपमा एक्लोपना, कागजपत्र बनाउन असहजता र घर परिवारको याद आदि कुराले ‘म को हुँ, किन आएँ, र म अब के बन्छु ?’ भनेर एउटा साँचो कथा जन्मिन्छ । जुन नेपालबाट देखिँदैन । समग्रमा नेपालबाट देखिने अमेरिका सपनाको एउटा भर्सन हो भने अमेरिका आइपुगेपछि देखिने अमेरिका संघर्षको अर्को ठूलो पाठशाला हो ।

३. सोसल मिडियामा झुन्डिरहने पुस्ता अनसोसल हुँदै गइरहेको छ । यो पुस्तालाई सोसल बनाउन तपाईँको विचारमा कस्तो बहस, कार्यक्रम बनाउनुपर्छ होला ?

हो, एक हिसाबमा आजको पुस्ता डिजिटल दुनियाँमा अत्यन्त सक्रिय रहेको देखिन्छ । स्मार्टफोनको स्क्रीनमा डुबिरहेको जस्तो देखिने यो पुस्ता आफन्तको आँखामा आँखा जुधाएर बोल्न बिर्सन थालेको छ । आफ्नै मनका भावना अभिव्यक्त गर्न सक्ने शब्दहरू पनि हराइरहेको र सामाजिक आत्मीयता हराउने दिशामा पनि लम्किरहेको हो कि जस्तो पनि लाग्छ ।

यद्यपि, यही पुस्ता हो जसले सामाजिक सन्जाल र मिडियालाई न्यायको आवाज बनाउने प्लेटफर्मको रूपमा विकास गराउन सकिरहेको छ । आपतकालीन क्षणमा फन्ड रेज गरेर मान्छेको जीवन रक्षा पनि गर्न सकिरहेको छ। ठूल्ठूला व्यापार सन्चालन गरेर सफल उद्यमी पनि भइरहेका छन् । उनीहरू निष्क्रिय छैनन्, तर उनीहरूको सामाजिकता र अभियान भिन्न रूपमा प्रकट भइरहेको मात्रै हो । त्यसैले यो पुस्तालाई “अनसोसल” भन्नु पूर्ण रूपमा सत्य नहोला तर “अन्तर्मुखी सामाजिकता”को यात्रामा छन् भन्न चाहिँ सकिएला ।

अब प्रविधिको साथसाथै मानिसहरूसँग कसरी आत्मीयता बढाउने भन्ने शिक्षासमेत दिने समय पनि आएको छ । विद्यालय तथा कलेजहरूले हप्तामा एकदिन प्रविधिबाट टाढा रही आफ्ना भावनाहरू सेयर गर्न, सुन्न र बुझ्न अभ्यास गराउनुपर्छ । घरपरिवारमा हरेक हप्ता कम्तीमा एकदिन मोबाइल बन्द गरेर सामूहिक भोजन, कुराकानी र आत्मीय समय बिताउने संस्कार बसालिनु पर्छ। समुदायस्तरमा युवाहरूका अनुभव, उनीहरूका संघर्ष र प्रेरणाका कथा खुला रूपमा प्रस्तुत गरिने “ओपन माइक इभेन्ट” जस्ता कार्यक्रमहरू आयोजना गरिनुपर्छ जसले सामाजिक आत्मविश्वास जगाउँछ। मान्छेलाई सामाजिक हुन प्रविधिको विरोध गरेर हुँदैन, प्रयोगमा सन्तुलनको आवश्यक्ता छ जस्तो मलाई लाग्छ।

४. पुरस्कारको छोटो सूचीमा तपाईंको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईंले साहित्यपोस्ट गैरआख्यान पुरस्कार पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

मेरो कृति उत्कृष्ट पाँचभित्र परेको खबरले मभित्रको लेखकलाई निक्कै ऊर्जा दिएको छ । प्रतिस्पर्धामा रहेका अरू कृतिहरू बलिया छन्, तिनका लेखकहरू मेरा लागि सम्मानका पात्र हुनेछन् । मैले लेख्दा पुरस्कार जित्छु भन्ने अपेक्षा थिएन, तर साहित्यिक यात्रामा यस्तो मान्यता प्राप्त गर्नु आफैंमा एक प्रेरणादायी क्षण हो । यदि पुरस्कार पाइहालेँ भने त्यो अझ गहिरो जिम्मेवारीको शुरुवात हो । नपाएको खण्डमा पनि मेरो लेखन यात्राको उद्देश्य र प्रतिबद्धता उस्तै रहनेछ । किनभने, मैले पुरस्कारको आशामा लेख्न थालेकी होइन । आफ्ना भोगाइ, सुनाइ, अनुभव,अनुभूति र समयको साक्षी बन्ने चाहनाले लेखेकी हुँ ।

म पुरस्कार भनेको उत्सव होइन, यो एउटा उत्तरदायित्व हो भन्ने मान्यता राख्छु । यदि म ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ प्राप्त गर्न सफल भएँ भने पुरस्कार स्वरूप प्राप्त आर्थिक राशिलाई नेपाली भाषा र साहित्यमै लगानी गर्ने सोचाइमा छु । अझ विदेशमा बस्ने नेपाली समुदायमा साहित्यिक चेतना फैलाउन सक्ने कुनै राम्रो सिर्जनात्मक परियोजनामा सदुपयोग गर्ने योजना राखेकी छु ।

६. अन्त्यमा, तपाईँको लेखनको आगामी योजनाहरू के के छन् ? बताइदिनुस् न ।

मेरो लेखनको केही आगामी योजनाहरू छन् । म हाल एउटा संस्मरणमा आधारित गैरआख्यान पुस्तक लेखिरहेकी छु जसले प्रवास, श्रम, पहिचान र आत्मसङ्घर्षका गहिरा पक्षहरू उजागर गर्छ । यो कृति आत्मकथा मात्रै नभएर सामाजिक सन्दर्भमा एक प्रतिनिधि आवाज हुनसक्ला; विशेषतः ती नेपालीहरूका लागि, जसले आफ्नो जीवन परिश्रम र मौनतामा बिताइरहेका छन् । भविष्यमा अरु नयाँ नयाँ लेख र कथाहरूका लागि एउटा सानो प्लेटफर्म जस्तो शुरु गर्दैछु । जहाँ हामीले आफ्ना अनुभवलाई समुदायमा बाँड्न सकौं भन्ने हो । कामको व्यस्तताबीच लेखनलाई समय दिन साँच्चै चुनौती हुन्छ, तर लेखन भनेको फुर्सद पर्खेर मात्र लेखिने कुरा पनि होइन । जति सकिन्छ त्यति नै गरेर लेखन यात्रालाई अझ जीवन्त, जिम्मेवार र गहिरो बनाउने कुरामा अघि बढ्नेछु ।