‘साहित्यपोस्ट नवरत्न २०८१’ को घोषणा गरिएको छ । गएकाे वर्ष पहिलो पुस्तक प्रकाशनमा ल्याएका नौ जना नवोदित लेखक कविहरूलाई साहित्यपाेस्ट समूहले  ‘साहित्यपोस्ट नवरत्न – २०८१’ घोषणा गरेकाे हो । साहित्यपाेस्टले नेपाली साहित्य हाँक्न सक्ने नाै जना  नयाँ लेखक कविहरूलाई याे उपाधि दिँदै आएकाे छ । ‘साहित्यपोस्ट नवरत्न २०८१’ त्यसैकाे निरन्तरता भएकाे प्रधानसम्पादक अश्विनी काेइरालाले जनाउनुभएको छ ।

साहित्यपोस्टले नवोदित लेखकलाई प्रत्येक वर्ष विधागत (काव्य, आख्यान र गैरआख्यान) रूपमा प्रदान गर्दै आएको पुरस्कारको ‘अन्तिम सूची’मा पर्न सफल कृतिका सर्जकहरूलाई ‘साहित्यपोस्ट नवरत्न’का रूपमा सम्मान गर्दै आएको छ ।

यस वर्षको नवरत्न सम्मान पाउने नवोदित लेखकहरूमा काव्यतर्फ कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’का सर्जन हेमन्त शिशिर, ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’का सर्जन आर्यश र ‘मायाको आयतन’का सर्जक मधुसुदन घिमिरे रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट काव्य पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।

त्यस्तै, आख्यानतर्फ कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’का सर्जक रमण, उपन्यास ‘धीमहि’का सर्जक जयराम तिमल्सिना र उपन्यास ‘प्याउली’का सर्जक बालिका वान्तावा रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।

त्यसैगरी, गैरआख्यानतर्फ नियात्राकृति ‘छालबाटो’का सर्जक रमेश भुसाल, संस्मरणकृति ‘छोटु’का सर्जक सञ्जीव पौडेल र निबन्धकृति ‘मार्केट अफ स्वीटहार्ट’का सर्जक तारा भट्टराई रहनुभएको छ । यी तीन कृति ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को अन्तिम सूचीमा सम्मिलित छन् ।

अघिल्लो वर्षझैं यो वर्ष पनि धान दिवस तथा दहीचिउरा खाने दिन (असार १५ गते) औपचारिक कार्यक्रमका बीच पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरिने तय भएको छ । उक्त कार्यक्रममा ‘नवरत्न’लाई सम्मानपत्रका साथमा दोसल्ला ओडाएर सार्वजनिक सम्मान गरिनेछ । साथै, नवरत्नको सम्मान स्वरूप सर्जक र कृतिसहित ‘साहित्यपोस्ट नवरत्न २०८१’को ब्यानर बनाएर एक वर्षसम्म साहित्यपोस्ट कार्यालयमा प्रदर्शनका लागि राखिनेछ ।

सोही कार्यक्रममा ‘साहित्यपोस्ट काव्य पुरस्कार’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’का विजेता कृतिहरूको घोषणा तथा पुरस्कार अर्पण गरिनेछ । विजेता कृतिका सर्जकलाई ५०-५० हजार रूपियाँका साथमा सम्मानपत्रले सम्मान समेत गरिनेछ ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरू छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरूलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरू हामीकहाँ विरलै छन् । यही सत्यलाई स्वीकार्दै ०७७ सालबाट साहित्यपोस्टले यो अभियान शुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्नुहुन्छ, ‘तीन चरणको मूल्यांकनपश्चात हामीले ‘साहित्यपोस्ट नवरत्न’ तयार गरेका छाैं । यी नवरत्नले आ-आफ्नो विधामा नेपाली साहित्यको क्षितिजलाई थप फराकिलो बनाउँदै लग्नुहुनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

यस वर्षका लागि काव्य, आख्यान र गैरआख्यान पुरस्कारको प्रायोजन क्रमशः गीतकार एवं कवि उत्तम भौकाजी, साहित्यकार चैतन्य अधिकारी तथा कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ ।

साहित्यपोस्ट शुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई सम्मान गरी यो अभियानको शुरूवात गरिएको थियो । यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई ५० हजार नगद राशिसहित ताम्रपत्र प्रदान गरिएको थियो ।

दोस्रो वर्ष (०७८) ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

तेस्रो वर्ष अर्थात् वि.स. २०७९ बाट विधागत रूपमा तीन विधा (काव्य, आख्यान र गैरआख्यान) का उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न थालिएको हो । ०७९ का लागि काव्यतर्फ गजलसङ्ग्रह ‘मफलरका लागि प्रदीप रोदन, आख्यानतर्फ उपन्यास ‘यशोधरा’का लागि हरिबोल काफ्ले तथा गैरआख्यानतर्फ संस्मरण ‘मुटुसँग सहयात्रा’का लागि डा. अवनिभूषण उपाध्यायलाई क्रमशः ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यस्तै, अघिल्लो वर्ष ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ कवि देवव्रतको कविताङ्ग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ सागर खड्काको उपन्यास ‘राइपाली भञ्याङ’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ उमाकान्त पौड्यालको अनुसन्धानमुलक कृति ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।

‘साहित्यपोस्ट नवरत्न २०८१’ मा सम्मिलित सर्जकहरूः

१. साहित्यपोस्ट काव्य पुरस्कारतर्फः

क) हेमन्त शिशिर

‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८१’ प्राप्त युवाकवि हेमन्त शिशिर वर्तमान समाजका यथार्थ, सङ्घर्ष तथा उज्यालाहरूका कविता लेख्नुहुन्छ ।  शिशिरका कविता अन्यायविरुद्ध प्रतिरोध तथा दलनविरुद्ध विद्रोहका साथमा मौलिक सौन्दर्य लिएर उभिएका हुन्छन् । शिशिर आफ्नो कृतिका बारेमा भन्नुहुन्छ, “मेरो कृति कति अब्बल भन्ने मूल्याङ्कन नितान्त मेरा पाठकहरूले गर्नेछन् । मेरो पुस्तक कुनै प्रकाशकसँगको सम्झौता र सम्बन्धबाट प्रकाशित भएको होइन, यो प्रतिस्पर्धाबाट आएको हो । त्यसैले यसको अब्बलता बारे मैले भन्दा पनि अरूले नै बहस गरोस् भन्ने चाहना मेरो हो ।”

ख) आर्यश

एक दशकदेखि सशक्त कविता लेखनमा सक्रिय हुनुहुन्छ, कवि आर्यश । उहाँका कवितामा उदासीनता, कलात्मकता, विद्रोही चेत, कोमलता, सिर्जनशील अराजकता लगायतका विविधता पाइन्छ । कवितामा कवि विसङ्गत समय, आर्थिक तथा सामाजिक बेथिति र राज्यसंयन्त्रसँग जुध्दाजुध्दा थाकित र निराश भएको देखिन्छ । कविताका विषयमा कवि आर्यश भन्नुहुन्छ, “कविता लेख्दा मसँग हृदयसहितको शरीर छ जस्तो महसुस हुन्छ । उसो त सिर्जना सबै मस्तिष्ककै उपज हुन्, तर म हृदयले लेख्छु जस्तो मलाई लाग्छ । आफैंलाई चित्त बुझ्ने एउटा गतिलो कविता लेख्न सकेको दिन मलाई राम्रै सम्पत्ति जोड्दा लाग्ने भन्दा बढी खुशी लाग्छ । कविता नलेखेको रात म पाठक, स्रोता र दर्शक बन्छु । सुत्नुअघि कहिले क्लासिक नेपाली गीतहरू सुन्छु, कहिले किताब पढ्छु, कहिले राम्रा राम्रा सिनेमाहरू हेर्छु ।”

ग) मधुसुदन घिमिरे

युवाकवि मधुसुदन घिमिरे मनो–सामाजिक विमर्शकर्ता हुनुहुन्छ । उहाँका कवितामा प्रेम सम्बन्धका विविध आयम, समाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था लगायत विषयहरू प्रस्तुत भएका हुन्छन् । कवि घिमिरे कृतिका बारेमा भन्नुहुन्छ, “मेरो कृति ‘मायाको आयतन’भित्र छोटा आकारका कविताहरू छन्, तर यसको अर्थ मायाको आयतन छोटो नै हुन्छ भन्ने होइन । मायाको आयतन कति छोटो, कति लामो, कति साँघुरो वा कति गहिरो भन्ने कुरा पाठक र समीक्षकहरूले निर्णय गर्दै हुनुहोला । मेरो बुझाइ चाहिँ मायाको आयतनमा अधिकांश कविताहरूको आयतन गहिरो नै छ भन्ने लाग्छ ।”

‘साहित्यपोस्ट काव्य पुरस्कार २०८१’ को अन्तिम सूची

====

२. साहित्यपोस्ट आख्यान पुरस्कारतर्फः

क) रमण

एक दशक बढी समयबाट जर्मनीमा रहेका युवा साहित्यकार रमण विशेषगरी कथा तथा नियात्रा विधामा सशक्त कलम चलाउँदै आउनुभएको छ । उहाँका कथाहरू फरक आयाममा लेखिएका छन् जसले पाठकलाई आकर्षित गर्छ । सरल र सरस भाषाशैलीमा बुनिएका कथाहरूमा कतै प्रेम फुलेका हुन्छन् भने कतै जनयुद्धको व्यथा झुलेको पाइन्छ । रमण भन्नुहुन्छ, “देश एउटा राजनीतिक व्यवस्थाभन्दा बढी केही होइन । जुन राजनीतिक व्यवस्थाले मान्छेलाई अवसर दिन्छ मान्छे त्यही व्यवस्थामा जान्छ । आफूलाई मन पर्ने र आफूले एक हदसम्म पारंगत हासिल गरेको खेलमा मान्छेले समय बिताएको जस्तै न हो । देश दुख्ने त्यति बेला हो जब जन्मेको देश अनि कर्म गर्न आएको देश दुबैले आप्रवासी देख्छ । त्यस्तो बेला तसलिमा नसरीनको परिक्रमा याद आउँछ । नसरीनले भोगेको भोगाइ मैले भोग्न पर्दैन भन्ने लागेको थियो । तर कसरी कसरी त्यही भोगाइ भोग्ने मेसो मिल्दै गयो ।”

ख) जयराम तिमल्सिना

पूर्व तबलावाधक, छापा व्यवसायमा लामो समयदेखि सक्रिय जयराम तिमल्सिनाको नयाँ रूप हो उपन्यास धीमहि । उहाँले उपन्यासमार्फत् आत्माद्वन्द्व व्यवस्थापनका विकल्पहरूको खोजी गर्दै नयाँ विमर्शको आव्हान गर्नुभएको छ । आफ्नो कृतिका बारेमा जयराम भन्नुहुन्छ, “म कुनै दार्शनिक कथा लेखिरहेको थिइनँ । मैले सामान्य जीवन लेखेको थिएँ । जीवन भोगाइको क्रममा हरेक प्रश्नको जवाफ हुन्छ भन्ने त हुन्न नि । कति कुरा सङ्केत र सङ्क्षेपमा बुझ्नुपर्ने हुन्छ । सायद, यहाँ पनि यस्तै भयो । मैले जवाफका लागि छाडेका प्रश्नको जवाफ हरेक पाठकको मनमा हुनुपर्छ । मैले यस पुस्तकमा पाठकलाई पनि आफ्नै स्थानमा राख्ने कोशिश गरेको हुँ भनौँ ।”

ग) बालिका बान्तावा 

लामो समयदेखि हङकङलाई कर्मभूमि बनाएकी स्रष्टा बालिका बान्तावा उपन्यासकार हुनुहुन्छ । उहाँको उपन्यासले केन्द्रीय पात्रमार्फत एक महिलाले जीवनमा भोग्नुपरेको आरोह–अवरोहको कथा कहेको छ । पारिवारिक विछोड, सम्बन्धहरुका उल्झन तथा परदेशमा हुनुको पीडालाई आख्यानको माध्यमबाट सरल र सहज सम्प्रेषण गर्नसक्नु बान्तावाको सफलताका रूपमा देखिएको छ । बान्तावा भन्नुहुन्छ, “हरेक सम्बन्धको आयु दीर्घकालीन हुनका निम्ति सबै भन्दा ठूलो कुरा आत्मसम्मान हो । एकआपसमा सम्मानभाव र गहिरो विश्वास हुन जरुरी छ । अझ दूरीमा रहेको सम्बन्धहरूका लागि त विश्वास नै पहिलो शर्त हो । विश्वास भएन भने केही बाँकी रहँदैन । विश्वास र प्रेमको कुरा गर्नुहुन्छ भने यी दुबै चिज जीवनमा मैले अनुभव गर्न पाइनभन्दा पनि हुन्छ । तर पनि, प्रेम त प्रेम नै हो । थाहा छैन, प्रेम अरुका लागि के हो ? तर मेरा लागि पूजा हो प्रेम । जीवनमा मैले जसलाई प्रेम गरेँ, सधैँ शिरमा राखेँ । तर मेरै लागि अफाप शिद्ध भयो प्रेम ।”

‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ को अन्तिम सूची

===

३. साहित्यपोस्ट गैरआख्यान पुरस्कारतर्फः

क) रमेश भुसाल

पत्रकार तथा वातावरण विज्ञ रमेश भुसालले ४५ दिन लगाएर तीन देशको दुई हजार किलोमिटर लामो यात्रा गर्नुभएको छ, त्यही यात्राका साहित्यिक रससहितको व्याख्या र विवेचना हो, छालबाटो । भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियनलगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गर्नुभएको छ । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुनुहुन्छ । भुसाल भन्नुहुन्छ, “यो किताब नदी संरक्षणमा केन्द्रित किताब होइन । खासमा नदीले यो किताबलाई जोडेको मात्रै हो । नेपालको सबैभन्दा लामो कर्नाली नदीको किनारैकिनारै डेढ महीना तीब्बतदेखि भारतसम्म हिँड्दा, बग्दा र गुड्दा देखेका, भोगेका र भेटेका पात्रहरूको कथा हो जहाँ नदीको विषय पनि समेटिएको छ । नदी भनेको पानी मात्रै होइन । नदीसँग मान्छे, राजनीति, संस्कार, संस्कृति, ढुंगामाटो सबै जोडिएर आउँछ । पक्कै पनि यसले कर्नाली नदीको सेरोफेरोलाई समेटेको छ, र नदीहरूमा भइरहेका विभिन्न खालका बहसलाई उठाएको छ । यसले समग्रमा नदीलाई कसरी हेर्ने र सेरोफेरोलाई कसरी बुझ्ने भन्ने विषयमा केही थप ज्ञान दिलाउन सक्यो होला भन्ने मलाई लाग्छ ।”

ख) सञ्जीव पौडेल

कृषि विकास बैंकमा ३० वर्ष सेवा गरेर सेवानिवृत्त भएका लेखक सञ्जीव पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष तथा हासिल गरेका उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गर्नुभएको छ । सामान्य परिवारबाट उठेर बैंकको उच्च तहसम्मको पौडेलको यात्रा प्रेरणादायी छ । पौडेल कृषि विकास बैंकका सञ्चालक सदस्य समेत हुनुहुन्छ । पौडेल भन्नुहुन्छ, “मेरो पेशागत क्षेत्रमा रहँदा करीब दुई दशकभन्दा बढी समय मैले तालिम केन्द्रमा बिताएँ । त्यहाँ म केवल प्रशिक्षक थिएन, म विचार सृजना गर्ने प्रयोगशाला भित्रको एक प्राविधिक पनि थिएँ । वित्तीय प्रणाली, बैंकिङ नीतिहरू, संस्थागत मूल्याङ्कन र रणनीतिमा म शब्दहरू बुनिरहेथेँ । तिनीहरू व्यावसायिक नीति, अभ्यास र संस्थागत सुधारका लागि थिए ।  ती शब्दहरू सामान्य पाठकका लागि बाहिर आउने थिएनन् । त्यसैले मैले लेखेको कुरा पुस्तकको रूपमा बजारमा आएन, तर त्यसले नीति बनायो, तालिम चलायो, विचार निर्माण गर्यो । त्यो लेखन चुपचाप थियो— कठोर कागजमा, औपचारिक भाषा भित्र, अनि सीमित पाठक  माझ । अवकाशपछि बल्ल समयले आफूभित्रको लेखकसँग, आम पाठकसँग भेट गरायो । अब मेरा शब्दहरू जनजीवनका कथा बोल्न चाहन्छन्, अनुभवका स्पर्श दिन चाहन्छन्, र समाजसँग साक्षात्कार गर्न चाहन्छन् । आज लेख्दै छु, किनकि लेख्न पाएर होइन— बरु लेख्न बाँकी धेरै रहेछ भनेर ।

ग) तारा भट्टराई

अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय लेखक तथा पत्रकार हुनुहुन्छ तारा भट्टराई । महिलाका संवेदना, विद्रोह तथा सशक्तीकरणका आवाजहरू भट्टराईको लेखनीको विशेषताका रूपमा देखापरेका छन् । उहाँले पुस्तकमा अमेरिकी, विशेषगरी न्यूयोर्क शहरको पृष्ठभूमिका देखिने यौनजीवन, यौनकुण्ठा र यौनमनोविज्ञानलाई आख्यानको स्वादमा पस्किनुभएको छ । भट्टराई आफ्नो अमेरिका अनुभवका बारेमा भन्नुहुन्छ, “नेपालबाट हेर्दा अमेरिका सुविधा, अवसर, समृद्धि र स्वतन्त्रताको प्रतीकजस्तो देखिन्छ । राम्रो काम, राम्रै तलब, राम्रै जीवनशैली; यिनै कल्पनाले मानिसहरूलाई धकेलेर उडान चढ्न बाध्य बनाउँछ । चलचित्र, समाचार, आफन्तका फेसबुक स्टाटस र चहकिला तस्बीरहरूले बनाएको त्यो अमेरिका चम्किलो छ । तर अमेरिका आएपछि देखिने अमेरिकामा धेरै तहहरू हुन्छन् । भाषा र संस्कृति फरक, श्रमको मूल्य फरक, वर्गीय विभाजन र आप्रवासीको स्थिति बिल्कुलै फरक छ । यी सबैसँग जुध्दै जाँदा यहाँको अमेरिका पनि विस्तारै बुझिँदै जाइन्छ । दिनको १०–१२ घण्टा ड्यूटी, शारीरिक थकान, मानसिक रूपमा एक्लोपना, कागजपत्र बनाउन असहजता र घर परिवारको याद आदि कुराले ‘म को हुँ, किन आएँ, र म अब के बन्छु ?’ भनेर एउटा साँचो कथा जन्मिन्छ । जुन नेपालबाट देखिँदैन । समग्रमा नेपालबाट देखिने अमेरिका सपनाको एउटा भर्सन हो भने अमेरिका आइपुगेपछि देखिने अमेरिका संघर्षको अर्को ठूलो पाठशाला हो ।”

‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ को अन्तिम सूची