‘साहित्यपोस्ट आख्यान पुरस्कार – २०८१’ का लागि ५ आख्यान कृतिको छनौट भइसकेका छन् । यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट आख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘प्याउली’का स्रष्टा बालिका वान्तवासँगको संवाद प्रस्तुत गरिएको छ ।
…
१. सानैदेखि साहित्यमा रुचि भएकी तपाईँको पुस्तक प्रकाशित हुन भने किन ढिलो भयो ?
हो, साहित्यमा सानैदेखि रुचि थियो मेरो । तर रुचिलाई निरन्तरताको अभाव भयो । पारिवारिक दुनियाँमा अल्झिएँ । कुनै पनि काम गर्न थालेपछि त्यसैमा घोत्लिने बानी छ मेरो । सानैमा विवाह गरेपछि, विवाह गरेर गएको घरभन्दा अरु केही सोचिनँ मैले । घर, परिवार, आफन्त नै संसार भयो । धेरै वर्ष परिवार र आफन्तको माझ मेरो लेखन एउटा कुनामा थन्कियो । खासमा परिवारबाट अलग भएपछि मात्रै मैले एउटा कुनामा थाँती राखेको लेख्ने रहरलाई ब्युँताएकी हुँ । शायद यसैकारण किताबको रूपमा आउनलाई ढिला भएको भन्दा फरक नपर्ला ।
२. पुस्तक ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को छोटो सूचीमा पनि पर्यो । कस्तो महसुस गरिरहनुभएको छ ?
मैले कहिले सोचिनँ, मेरो पुस्तक कुनै पनि पुरस्कारको सूचीमा परोस् । मैले पुरस्कार वा सम्मान सम्झेर कहिले पनि लेखेको होइन । तर साहित्यपोस्ट आख्यान पुरस्कारको छोटो सूचीमा पर्दा आश्चर्य र खुशी दुवै छु ।
३. प्रशान्तले लादिप्मालाई धोका नदिएको भए यो आख्यान लेखिन्थ्यो कि लेखिन्न थियो ? अथवा उप्मिहाङले लादिप्माको समर्पण बुझिदिएको भए यो आख्यान कस्तो बन्थ्यो होला ?
यो किताब यस्तै रूपमा आउँदैन थियो शायद । तर उप्मिहाङले लादिप्लामाई बुझिदिएको भए, मिलनका सुन्दर पुस्तक लेखिन सक्थ्यो । उप्मिहाङले नबुझेकै कारणले प्याउली यसरी आउन सकेको हो ।
४. सम्बन्धको आयु लामो हुन के चाहिने रहेछ ? विश्वास र प्रेममा के फरक रहेछ ? अक्सर रुन नसकेपछि मान्छेहरू हाँसिरहन्छन् हो ?
पहिलो, हरेक सम्बन्धको आयु दीर्घकालीन हुनका निम्ति सबै भन्दा ठूलो कुरा आत्मसम्मान हो । एकआपसमा सम्मानभाव र गहिरो विश्वास हुन जरुरी छ । अझ दूरीमा रहेको सम्बन्धहरूका लागि त विश्वास नै पहिलो शर्त हो । विश्वास भएन भने केही बाँकी रहँदैन । दोस्रो कुरा, विश्वास र प्रेमको कुरा गर्नुहुन्छ भने यी दुबै चिज जीवनमा मैले अनुभव गर्न पाइनभन्दा पनि हुन्छ । तर पनि, प्रेम त प्रेम नै हो । थाहा छैन, प्रेम अरुका लागि के हो ? तर मेरा लागि पूजा हो प्रेम । जीवनमा मैले जसलाई प्रेम गरेँ, सधैँ शिरमा राखेँ । तर मेरै लागि अफाप शिद्ध भयो प्रेम ।
तेस्रो कुरा, रुन नसकेपछि हासिरन्छन् भन्दा पनि रुनका लागि समेत मान्छेले हाँस्नुपर्छ । हाँस्न नजान्ने मान्छेले रुन पनि जानेको हुन्छ जस्तो लाग्दैन मलाई । हाँस्न र रुन नजानेका मानिसहरू कस्ता हुन्छन् होला ? म कल्पनासमेत गर्न सक्दिनँ । मैले कतै सुनेकी थिएँ, मनमा र आँखामा करुणा, आँशुलाई ठाउँ राखिदिनका लागि पनि मान्छेले हास्नुपर्छ । मलाई यो कुरा हो जस्तो पनि लाग्छ । दिनरात, अँध्यारो उज्यालो, आकाश जमीन, स्त्रीपुरुष भनेजस्तै अस्तित्वमा आँशु हाँसोको अर्थ विशेष छ । फेरि मान्छेको अघि रुनुभन्दा हाँस्नै सजिलो छ नि है ? आँशु त एक्लै इन्जोय गर्ने कुरा हो ।
५. पुरस्कारको छोटो सूचीमा तपाईंको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ रू उत्कृष्ट नृत्य गरेर इनाम पाउने प्याउलीले साहित्यपोस्ट आख्यान पुरस्कार पाउनुभएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?
सर्वप्रथम साहित्यपोस्टको शीर्ष पाँचमा प्याउली पर्नु मेरा लागि अनपेक्षित खुशीको कुरा हो । मेरो लागि पुरस्कार यही नै हो । फेरि पुरस्कार प्राविधिक कुरा पनि हो जस्तो लाग्छ । यो एक जनाले मात्रै पाउने कुरा हो । पुरस्कार नपाएका कृतिहरू कमसल हो भन्ने तर्क पनि सही नहुन सक्छन् । जहाँसम्म पुरस्कार पाए के गर्नुहुन्छ भन्ने प्रश्न छ, पुरस्कार राशि वा कुनै पनि धनराशि, मेरा लागि कहिल्यै विशेष भएन । पैसा धेरै थोक हो, तर सब चिज पैसा होइन भनेर बाँच्दै आएकी हुँ । तर पनि राशि फेरि पनि चाहिन्छ मानिसलाई । यदि साहित्यपोस्ट आख्यान पुरस्कार पाइहालेको अवस्थामा कुनै परोपकार सेवामा खर्च गर्छु सायद ।
६. अन्त्यमा तपाईँका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न ।
प्याउलीलाई पाठकले दिनुभएको सकारात्मक प्रतिक्रियाले एकदमै उत्साहित छु । यो उत्साहले मलाई ऊर्जा दिएको छ । यही ऊर्जाले अर्को किताब लेख्न शुरु गरिसकेकी छु । अबको योजना वा प्राथमिकता नै अर्को किताब लेखन हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० पुष २०८२, बुधबार 








