‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ का लागि तीन गैरआख्यान विधाका कृतिको अन्तिम सूची जारी भएको छ ।
पहिलो पुस्तकका रूपमा गैरआख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ को अन्तिम सूची सार्वजनिक गरिएको हो ।
सूचीमा रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ का लागि ०८१ सालमा प्रकाशित डेब्यु लेखकका १३ गैरआख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा १३ कृतिबाट ७ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ गैरआख्यान विधाका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति लगायत गैरआख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्यांकन गरिएको मूल्याङ्कन समूहले जनाएको छ ।
यसअघि पुरस्कारको छोटो सूचीमा रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका थिए ।
त्यस्तै, पुरस्कार प्रारम्भीक लामो सूचीमा छोटो सूचीमा रहेका कृतिहरूका साथमा साबित्री सिंह चित्रकारको ‘अमर चित्रकार’ र रिजाल स्वामीको अध्यात्मिक पुस्तक ‘श्रीवार’ रहेका थिए ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
अन्तिम सूचीका समावेश तीन कृतिः
…
१. छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल

पत्रकार तथा वातावरण विज्ञ रमेश भुसालको नियात्रा कृति हो ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’ । भुसालले ४५ दिन लगाएर तीन देशको दुई हजार किलोमिटर लामो यात्रा गरेका छन्, त्यही यात्राका साहित्यिक रससहितको व्याख्या र विवेचना हो पुस्तक । पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गम हुँदै भारतको गङ्गासम्मको यात्रा गराएका छन् । पुस्तकमा लेखकका आँखाले देखेका र मनमा बसेका नदीको वर्णन गरिएको छ ।
भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियनलगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
===
२. छोटु – सञ्जीव पौडेल

कृषि विकास बैंकमा ३० वर्ष सेवा गरेर सेवानिवृत्त भएका लेखक सञ्जीव पौडेलको संस्मरणात्मक कृति हो, ‘छोटु’ । पुस्तकमा पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष तथा हासिल गरेका उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गरेका छन् । बाल्यकाल र युवाकालका साथै पौडेलले पुस्तकमा आफू आबद्ध संस्थाभित्र देखिएको समस्या र सम्भावनाहरु पनि केलाएका छन् । पौडेलले कृतिमार्फत मनमा गुम्सिएका दुःख र पीरव्यथा मात्र नभएर सुख, सन्तोषहरूसमेत मन हलुका बनाउने उपक्रममा साहित्यिक रङमा प्रस्तुत गरेका छन् ।
सामान्य परिवारबाट उठेर बैंकको उच्च तहसम्मको पौडेलको यात्रा प्रेरणादायी छ । पौडेल कृषि विकास बैंकका सञ्चालक सदस्य समेत हुन् । पुस्तकलाई मीना अधिकारी (पौडेल) ले प्रकाशनमा ल्याएकी हुन् ।
===
३. मार्केट अफ स्वीटहार्ट – तारा भट्टराई

अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय लेखक तथा पत्रकार तारा भट्टराईको गैरआख्यान विधाको पुस्तक हो, ‘मार्केट अफ स्वीटहार्ट’ । पुस्तकले अमेरिकी, विशेषगरी न्यूयोर्क शहरको पृष्ठभूमिका देखिने यौनजीवन, यौनकुण्ठा र यौनमनोविज्ञानलाई आख्यानको स्वादमा पस्किएको छ । साथै, महिलाका संवेदना, विद्रोह तथा सशक्तीकरणका आवाजहरू भट्टराईको लेखनीको विशेषताका रूपमा देखापरेका छन् ।
भट्टराईका गैरआख्यानका आख्यानका जस्ता पात्रहरु छन्, जो स्वतन्त्र समेत छन् । उनको लेखनीका बौद्धिकता कम, चिन्तन र चेतना बढी प्रस्तुत भएका छन् । पुस्तकलाई साहित्यपोस्ट प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३ माघ २०८२, शनिबार 







