‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ को अन्तिम सूचीमा निडर, कर्मशील तथा स्वाभिमानी महिलाको जीवन–सङ्घर्षको कथा हो उपन्यास ‘प्याउली’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका तीन लेखक समावेश छन् ।
लामो समयदेखि हङकङलाई कर्मभूमि बनाएकी स्रष्टा बालिका बान्तावा उपन्यासकी सर्जक हुन् । उपन्यासले केन्द्रीय पात्रमार्फत एक महिलाले जीवनमा भोग्नुपरेको आरोह–अवरोहको कथा कहेको छ । पारिवारिक विछोड, सम्बन्धहरुका उल्झन तथा परदेशमा हुनुको पीडालाई आख्यानको माध्यमबाट सरल र सहज सम्प्रेषण गर्न उपन्यासकार सफल देखिएकी छिन् । उपन्यासमा प्रेमबाट शुरु भएका सम्बन्धहरुले दिएका अनेकन सास्ती, हैरानीहरु छन्; र छन् वियोगका सुस्केरा र ऐंठनहरु । उपन्यासमार्फत बालिकाले पुरुषको अहंतापूर्ण पुरुषार्थप्रति निर्मम प्रहार गरेकी छन् । पुस्तकलाई कलरव, धरानले प्रकाशनमा ल्याएको हो ।
अन्तिम सूचीमा रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ का लागि ०८१ सालमा प्रकाशित डेब्यु आख्यानकारका ४४ आख्यान कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ४४ कृतिबाट ११ कृतिको ‘लामो सूची‘ जारी गरिएको थियो भने दोस्रो चरणमा उत्कृष्ट ५ कृतिको ‘छोटो सूची‘ सार्वजनिक गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा छोटो सूचीमा समावेश ५ आख्यान विधाका कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
कथा संरचना, घटनाहरूको संयोजन र सिलसिला, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समयचेत, चरित्रकार्य, प्रस्तुति तथा शीर्षक सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन गरिएको मूल्याङ्कन समूहले जनाएको छ ।
यसअघि पुरस्कारको छोटो सूचीमा रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’, ज्ञानेन्द्र काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’ र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ रहेका थिए ।
‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







