गंगादेवी तथा कृष्णबहादुरका सुपुत्र मणिकुमार श्रेष्ठ पत्रकारिता तथा कविता लेखनमा नयाँ नाम होइन । लेखनमा डेढ दशकदेखि सक्रिय उहाँ हाल सरकारी कर्मचारीका रुपमा कार्यरत छन् । भोजपुरस्थित साल्पासिलिछो १, कुलुङका स्थायी बासिन्दा उहाँ योगमाया स्मृति प्रतिष्ठान भोजपुर, भोजपुर प्रतिभा पुरस्कारका संस्थापक सदस्य, त्रिवेणी साहित्य प्रतिष्ठानका सदस्य समेत हुनुहुन्छ ।
अदृश्य यात्रा श्रेष्ठको पहिलो कविताकृति हो । प्रस्तुत छ, साहित्यपोस्टका लागि कवि श्रेष्ठसँग साहित्यपोस्टकर्मी सुशिला राईले गर्नुभएको कुराकानीको सम्पादित अंशः
===
१. तपाईंको कवितासंग्रह ‘अदृश्य यात्रा’ प्रकाशन भएको करीब एक वर्ष पूरा भएको छ । पाठक प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एउटा सर्जकका लागि पाठकको प्रतिक्रिया तथा सुझाव सबैभन्दा महत्त्वपूर्ण विषय हो । पाठकवर्गबाट विभिन्न खालका टिकाटिप्पणी आइरहेका छन् । कतिपय कार्यक्रमका लागि आमन्त्रण भइरहेको छ । मेरा कविताले देश दुनियाँका कुरा एउटै संग्रहमा अटाउन सफल भएको भनी पाठकवर्गबाट प्रतिक्रिया पाउने गरेका छन् । अदृश्य यात्रा कवितासंग्रह प्रकाशनका आएपछि पाठकले एकमुष्ट रूपमा मेरा कविताहरूमा दृश्यांलोकन गर्ने अवसर पाउनुभएको छ । पाठक भनेका भगवान् हुन्, म सधैँ भगवान्को आर्शीवादको अपेक्षा गर्दछु ।
२. करीब डेढ दशकदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ तर कृतिका रुपमा प्रकाशनमा आउन किन यति लामो समय लाग्यो ?
साहित्य लेखनमा रुचि माध्यमिक तहको अध्ययन गर्ने क्रममा नै भए तापनि यसले सार्थकता पाउन निकै समय लागेको आफैँलाई महसुस भएको छ । आफू वैदेशिक रोजगारीमा रहेको बेला, २०६१ सालतिर मलेसियामा रहँदा मैले त्यहाँबाट प्रकाशित हुने श्रम साप्ताहिक र श्रमिक मासिक पत्रिकामा पहिलोपल्ट कविता प्रकाशित गरेको थिएँ । सायद त्यो कविता ‘आमा’ शीर्षकको थियो । नेपालको द्वन्द्वलाई समेटेर लेखेको कविता मेरो साहित्यिक यात्राको शुरुवात हो ।
यसरी आफूलाई साहित्य लेखनमा सक्रिय बनाउने क्रममा मैले नेपालका विभिन्न पत्र–पत्रिका तथा अनलाइन माध्यमबाट आफ्ना विचार साथै कविता लेखनको वास्तविक शुरुवात २०६५ सालदेखि गरेको हुँ । धनकुटा जिल्लामा रही पत्रकारिता गर्दै मलाई साहित्य लेखनलाई थप मजबुत बनाउँदै लैजाने अवसर प्राप्त भयो । यसरी २०६५ देखि २०७४ सम्म पत्रकारितामा रही २०७४ सालदेखि सरकारी सेवामा आबद्ध भएपछि धेरै साथीहरूले पुस्तक प्रकाशन गर्नका लागि अनुरोध गर्नुभएको थियो । तर हरेक कुराको समय आउनु पर्नेरहेछ । समय र परिवेशले निर्धारण गर्दोरहेछ । मैले सही समयमा कवितासंग्रह प्रकाशनमा ल्याएको छु जस्तो लाग्छ । किनकि कवितासंग्रहमा परिवार, समाज, देश, जगत्, ब्रम्हाण्ड जस्ता विषय समेट्ने अवसर पाएँ । कवितासंग्रहको प्रकाशन हुनुमा मेरो जीवनसंगिनी मेनुका श्रेष्ठको अहम् भूमिका रहेको छ । सधैँ हौसला प्रदान गर्दै कवितासंग्रह प्रकाशनका लागि अर्थ समेत जुटाएर प्रकाशनमा सहयोग गर्नुभएको छ ।
३. तपाईं आफैं सरकारी सेवामा हुनुहुन्छ, तर तपाईंका कवितामा सत्ताप्रतिको आक्रोश अधिक पाइन्छ । कविहरू सत्ताको बागी त हुन् नै तर सत्ताबाट भएका राम्रो कामका प्रशंसामा शब्द खर्चिन कविले किन लोभ गर्छन् ?
मेरो कवितासंग्रह आवाज विहीनहरूको आवाज हो । जो राज्यसत्ताले गरेको नकारात्मक कामको विरुद्धमा बोल्न सक्तैनन्, तिनीहरूका लागि मेरो कविता आवाज हो । कुरा रह्यो सरकारी पेशाको, नेपालका साहित्यकारहरू अधिकांश कुनै न कुनै पेशामा आबद्ध छन् । साहित्य लेखनबाट मात्र जीविकोपार्जन गर्न साहित्यकारहरूलाई समस्या छ । मेरो कविता नै आवाज विहीनहरूको आवाज भएको हुनाले मैले कवितासंग्रहमा राज्यमा देखिएका बेथिति, विसंगति, र राज्य सञ्चालकहरूका कारणले गर्दा भएका विभिन्न प्रकारका अनियमितताको उजागर गर्ने प्रयास मात्र गरेको हुँ ।
वास्तवमा कविता भनेको राज्यका विरुद्धमा उजागर भएको विद्रोहको एउटा उठान पनि हो । राज्यबाट भएका गलत कामलाई प्रतिरोध गर्नु कविको धर्म हो । आजको युग भनेको विज्ञान प्रविधिको युग हो । हामीले राज्य मात्र नभएर विभिन्न निकायबाट भएका अनियमितताको उजागर गर्नै पर्दछ । मेरो कवितासंग्रह अदृश्य यात्रामा सरकारको विरोध मात्र नभएर कतिपय कामको समर्थनमा समेत लेखिएका कविताहरू छन् । कवि र कविता भनेको परिवार, समाज, राज्य, सिद्धान्त र घटना परिघटनाको इतिहास, वर्तमान र भविष्यको समेत रेखांकन गर्ने आधारस्तम्भ हुन् ।
४. मोफसलमा बसेर साहित्य सिर्जना गर्नुहुन्छ । तपाईंको अनुभवमा मोफसलका साहित्यकारहरूले के कस्ता समस्याहरू चिर्दै अघि बढ्नुपर्ने हुन्छ ?
मोफसल भनेर साहित्यकारलाई दर्जा छुट्याउने काम भएको महसुस हुने गर्दछ । साहित्य उत्पति र विकासको कुरा गर्ने हो भने मोफसलबाट नै भएका छन् । मेरो बुझाइमा मोफसल भनेर काठमाडौँ उपत्यकाभन्दा बाहिरका स्थानलाई सम्बोधन गरिन्छ । आजको सूचना सञ्चारको युगमा मोफसलको नाममा विभेद गर्नु उचित हुँदैन । हुन त कविहरूले आफ्नो सिर्जनाहरू मूर्तिलाई सुनाउने कुरा रहेन, मानिसको भिड नै चाहिन्छ । यसरी हेर्दा चैँ हामी मोफसलका साहित्यकार जस्तो लाग्छ । नेपालका हरेक कार्यक्रम काठमाडौँ र शहर केन्द्रित हुने गर्दछ । यसले हामी जस्ता दूरदराजमा बसेर साहित्यमा कमल चलाउनेका लागि निकै अप्ठेरो परेको छ ।
५. अन्त्यमा एक कविताको कुरा गरौँ । तपाईंको कवितासंग्रह ‘अदृश्य यात्रा’ भित्रको माटोको माया शीर्षकको कवितामा देशको जवानहरू बेचिन राजी छन् भन्नुभएको छ । देशको जवानहरू रहरले बेचिएका हुन् ? परदेशलाई कर्मभूमि बनाएका तथा पढ्दै गरेका पाठकले यो कवितालाई कसरी बुझ्ने ?
वास्तवमा नेपालको इतिहासको कुरा गर्ने हो भने हामी गोर्खाली भनेर चिनिन्छौं । जहाँ बहादुरीको प्रयोग भएको थियो । विस्तारै–विस्तारै हाम्रो देशको पहिचान पनि फेरिँदै गएको छ । नेपालका नौजवानहरू पचासौँ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएका छन् । कतिले कमाएका छन् भने कतिले आफूलाई सम्मालेर मात्र फर्केका छन् । कोही त फर्किन समेत पाएनन् । यसको कारक तत्त्व नै हाम्रो देशको नीति हो ।
सरसर्ती हेर्दा हामीले हाम्रा देशका जवानहरूलाई देशमा रोक्न सकेनौं । यसले देशको विकासमा कति प्रभाव पार्छ भन्ने कुरा हाम्रो आँकलन भन्दा निकै टाढा छ । किनभने विकशीत देशहरू अविकसित तथा विकाशोन्मुख देशका जवानहरूको प्रयोग गरेर आफ्नो देशमा आर्थिक सञ्चित गर्न चाहन्छन् । हाम्रा जवानहरू केही बाध्यता, केही रहरका कारणले विदेशिएका छन् । नेपाल सरकारको जागिर खाएर माथिल्लो ओहोदामा रहेका व्यक्तिहरू पनि वैदेशिक रोजगारीमा गएको देख्ता हाम्रो नीति नै विदेशीको शरण पर्ने जस्तो देखिन्छ । हामीहरू जति–जति वैदेशिक रोजगारमा जाने गर्दछौं, हाम्रो देश त्यति नै विकासको मुलधारबाट बाहिर रहनेछ । हाम्रा देशका जवानहरू परदेशमा देखेको विकास आफ्नो देशमा देख्न चाहन्छन् । त्यो नदेखेपछि उनीहरूमा निराशा पैदा हुन्छ र त्यो निराशा आक्रोशमा पोखिन्छ । तर उनीहरू त्यो देशको विकास हुन कति समय लाग्यो र कति त्यागका कारणले सम्भव भयो भन्ने कुरा बुझ्दैनन् । यही कारणले डिप्रेशनको समस्या पनि हुने गरेका छन् ।
मेरो देशमा जवानहरू आफूलाई बेचेर बा–आमा तथा सन्तानको सुखका लागि प्रतिबन्धित मुलुकहरूमा समेत गएका छन्, त्यो पनि दलाललाई भने जति रकम दिएर । भोलिका दिनमा त्यसको प्रतिफल के हुन्छ भन्ने विचार नगरी लहडको भरमा उनीहरूले आफूले आफैँलाई बेचेका नै हुन् । यी सबको कारक तत्त्व नै देशको नीतिनिर्मातामा भएको अदूरदर्शिता हो ।
कसलाई रहर हुन्छ, आफ्नो मातृभूमि छाड्नलाई
परिस्थिति र बाध्यताले जिम्मेवारी काँधमा आएपछि
आफ्नै देशका श्रम गर्ने ठाउँको अभाव हुँदा
दुनियाँ सामु आफैँलाई बेच्न राजी छन् युवा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










