बिहानीको उज्यालोले धर्तीलाई
सिञ्चित गर्न नपाउँदै
कयौं मनहरू यस धर्तीबाट
विलिन हुँदै छन्
जसले वसन्तको महसुस
समेत गर्न पाएको छैन
वसन्त अघिका फूलजस्तै
फूल फुल्न नपाउँदै
कोपिलामै नामेट हुँदैछन्
वसन्तलाई पर्खिएका फूलहरू
फूलको सुगन्ध फहराउने
पाखाहरू आज उजाड
मरुभूमिजस्तै
पात झरेका रुखझैँ
वसन्तका पर्खाइमा छन्
जहाँ अक्सिजनको समेत अभाव छ
ठिक त्यसै गरी मेरो देशका
जवानहरू श्रम बेच्न
विदेशिइरहेका छन्
आफ्नो देशलाई उजाड बनाउँदै
परिवारको खर्च जुटाउने
जिम्मेवारी लिएर परदेशिएको
सन्तान कहिले फेर्केला भन्दै
बा–आमा !
डाँडाको जुन घामजस्तै
निन्याउरो मुख लगाएर
सन्तान फर्कने आसमा बसिरहेका छन्
कतिले परिवार धाने
कतिले आफूलाई मात्र धाने
कतिले परिवार भुले
कतिले देशै भुले
कतिले जीवनलाई नै भुले
मेरो देशको रोदन सुन्दा
डाँडा पाखाभरि
खेती लगाई
उजाड उजाड पाखाहरूलाई
हरियाली बनाऔंझैं लाग्छ
पाखाभरि श्रमका हातहरूले
हराभरा बनाउँ झैँ लाग्छ
तर के गर्नु ?
मेरा हातहरू बाँधिएका छन्
मेरा काँधहरू खिइएका छन्
मेरो गोडाहरू लत्रिएका छन्
मेरा श्रमहरू बेचिएका छन्
किनकि यहाँ
वसन्त आउनुअघि नै
फूलहरू ओइलिएका छन् ।
साल्पासिलिछो, भोजपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला