‘घरघरमा सभ्य तवरले विभेद रचिंदै थियो

सुखी परिवारको नाउँमा सातौं सन्तान

अर्बोर्सनको तरखरमा थियो’ – दिवस र दैनिकी

समकालीन साहित्यमा कलम चलाउन सुरु गरेकी कवि सुष्मा दाहालको ‘मध्यान्तर’बाट एउटा हरफ लिए सँगै उनको कृतिको बारेमा मनमा उठेका केही कुरा लेख्दै छु ।  तेह्रथुममा शिक्षिका पेसामा आबद्ध दाहालले २०७९ सालमा पहिलो कृतिको रूपमा आफ्नो मध्यान्तरलाई पाठक सामु ल्याउनु भएको छ ।

उनका कृतिलाई पाठकको नजरले हेर्दा एउटा विद्रोहको राँको बोकेर शिरमा कफन बाँधेर पर्खालमा उक्लँदै गरेको योद्धा जस्तो देखियो । जसले अधिकारका लागि शिरमा कफन बाँधेको छ । ठिक त्यसै गरी साहित्यका सागरमा आफूलाई पनि अब्बल बनाउने अठोटका साथ अगाडी आउनु भएको देखियो ।

उनको कवितासंग्रह ‘मध्यान्तर’ले सभ्य समाजको परिकल्पना गरेको छ । कृति बहुआयमिक प्रकृति छ । हरेक कविताले समाज परिवर्तनको बाटो देखाएको छ । ५० वटा कवितालाई सङ्कलन गरेर पुस्तकको रूपमा उतार्न सक्नु एउटा कविको लागि गौरवको विषय हो । आजको आधुनिक युगमा पुस्तक निकालेर बजारमा लैजानु भन्दा पनि पाठकको हात–हातमा पुर्याउनु चुनौतीको विषय हो । ५० वटा कविताका पङ्क्तिहरूलाई नियाल्दा साँच्चै समाजको सिङ्गो प्रतिविम्ब देखिन्छ मध्यान्तरमा । ‘म शब्दको सस्तो व्यापारी हैन’ शीर्षकको कवितामा रहेको शब्दहरूलाई नियाल्दा:

म दुष्चक्रको ज्वालामा

जल्दै बाँचेको मान्छे हुँ

बेमौसमी सित तापहरू

छल्दै बाँचेको मान्छे हुँ

म मान्दिन नजिक टाढा

लाग्दैन कोही आफ्ना पराया

सत्य टेकी सत्य लेखी

ताते सर्दै गरेको मान्छे हुँ

मलाई शब्दको सस्तो व्यापारी नसम्झ

म पनि तिमीजस्तै एक आममान्छे हुँ ।

कवितालाई सर्जकहरूले फुर्सदको साहित्य भने पनि वास्तवका कविता भनेको साहित्यको उद्गम विन्दु हो । जसलाई दाहालले आफ्नो कृति मध्यान्तर मार्फत उजागर गर्नु भएको छ ।

शीर्षककविता ‘मध्यान्तर’मा कविले यसरी समाजको वास्तविकतालाई प्रस्तुत गरेका छन्

केही थान सुन्दर सपना थिए

जो कहिल्यै विपना बन्न सकेनन्

केही थान अनमोल भावना थिए

जो कहिल्यै खुल्न सकेनन्

यसरी खुल्न नसकेका भावनाहरूलाई शब्दको माध्यमबाट मध्यान्तरमा संकलित गरेर एउटा सुन्दर कृतिको रूपमा बीजारोपण गर्न सफल भएको देखिन्छ । यसले के देखाउँछ भने कृतिकारको लागि एउटा पुस्तक बजारमा ल्याउनु भनेको अनैकौं सपना मध्ये एउटा सपना पूरा हनु हो ।

अनमोल प्रेमलाई शब्दको पासामा उतार्दै यादका भुमरीमा कृतिकार सुष्मा आफ्ना विम्बहरूलाई यसरी प्रस्तुत गर्नु भएको छ:

हातमा हात काँधमा काँध मिलाएर

क्षितिजपारि पुग्न तय गरेको

हाम्रो विमान उड्न सकेन

हाम्रो अठोटको स्तम्भ ढल्यो

ढलेन मात्र, चकनाचुर भयो ।

यसरी कृतिकारले आफ्ना विम्बहरूलाई अगाडी बढाउने क्रममा प्रतीक्षा शीर्षकको कवितामा यसरी उल्लेख गर्छिन्

कहिलेकाहीँ कविताका शब्दहरूमा

आँसुका ताल छचल्किन पुग्छन्

अनि आँसुमय बन्छ कविता

लाग्छ, मेरा आँखाहरूमा विशाल समुद्र अटेको छ ।

कही प्रेमका डुबुल्कीमा डुबाउँदै गएको कविता ठुला बडाको कामलाई दृष्टिगोचर गर्दै विद्रोहको राँको बनेको देखिन्छ:

मान्छे, मान्छे बनेर बाँच्दैन अब

म र मेरोमा सीमित बन्दै जान्छ

पहिचान र परिचयको नाममा आफूलाई

संकीर्ण र साँघुरो बनाउँदै जान्छ

यो एक्काइसौं शताब्दीको

मानसिकता हो साथी

यहाँ परिश्रम कुल्चेर

पगरी किनिन्छन् ।

कविता संग्रहलाई बढो संवेदनशील तरिकाले शब्दहरूको पहिचान गरेर महिनावारीको विषयमा एउटा पवित्रताको सुरुवातको संकेत गर्दै आफ्ना कविता पहिलो महिनावारीमा यसरी बहकिन्छिन् कृतिकार:

अब तिमी उर्वर जमिनसरि भएकी छौं

जे रोप्यो त्यही उम्रने

जसले टेक्यो उसकै पदचापको निशानी बस्न सक्ने

त्यसैले धैर्यता र आत्मरक्षा जान्ने वेला भएको छ ।

यसरी कविताको माध्यमबाट कृतिकारले महिलाको सुरक्षाको बारेमा जोडदार प्रस्तुत गरेका छन् । यसरी हेर्दा कविताका एक प्रकारको बहुआयामिक कृति हो । कविताको माध्यमबाट विद्रोह, शान्ति, क्रान्ति र अमन चयनका कुराहरू सरल ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बन्नु भएको छ सुष्मा ।

विद्रोह, शान्तिको कुरा मात्र होइन पारिवारिक जिम्मेवारी समेत कविताको माध्यमबाट नै प्रस्ट्याउन सकिन्छ भन्ने कुरालाई सरल रूपमा आफ्नो कविता गोधुली साँझ मा प्रस्तुत गरेका छन्:

जुन बेला चारोको खोजीमा

सुदूर उडेका गौँथलीका जोडी

बडो प्रेमपूर्वक साउती मार्दै

फर्किन्छन् आफ्नो बसेरामा

यस्तै दृश्यहरूमाझ रमाउँछ अचेल मेरो गोधुली साँझ ।

छोरीहरूको हिम्मतको बारेमा कृतिकारले आफ्नो सुन्दर कृति मध्यान्तरमा यसरी प्रस्तुत गर्नु भएको छ:

कानुनी राज्यमा कानुन

कठपुतली भएको देख्दा

न त सुरक्षित छु यहाँ

न तिमिजस्ता हजारौँ आमा र छोरीहरू नै

त्यसैले अनुमति देऊ आमा

यी सारा बेथिति र विसङ्गति

तोड्न म रिभल्भर बोक्छु

म आतङ्ककारी बन्छु ।

‘आमा म आतङ्ककारी बन्छु’ शीर्षकको कवितामा जोडदार ढङ्गले नारी अधिकारको लागि सचेतताका साथ लाग्नु पर्नेकुरा उजागर गरेका छन् । साँच्चै बन्ने हो भने अहिलेको बेथिति र विसंगतिलाई तोड्नका लागि न्यायप्रेमी जनताहरूले आफूसँग भएका औजारहरूको माध्यमबाट विसङ्गति निर्मूल पार्नका लागि अग्रसर भएर लाग्ने बेला भएको छ । सो कुरालाई कृतिकार सुष्माले बडो मलिन ढङ्गले उठाउनु भएको छ ।

नेपालको विकास पद्धति सही तरिकाले अगाडी बढ्न नसकेको कुरा आफ्ना कविता अक्करको गर्भभित्र, अरुणका सुस्केराहरूमाः

विकासले राई साइलालाई

छुँदै छोएको छैन

ढाकर, तक्मा, नाम्लो उसको

बिर्सिएको छैन  

दिनैभरी माछा मारी

फिर्छ माझी काले

रित्तो चुलो पिरोलिन्छ

सातु सामलले ।

यसरी विकासका योजनाहरू व्यक्तिमुखी भएको र क्षेत्रमुखी भएको कारणले देशको विकास सही तरिकाले नभएको कुरा समेत कविताको माध्यमबाट नै उजागर गर्न सकिने कुरा कृतिकारले आफ्ना कृतिमा प्रस्तुत गर्नु भएको छ ।

गाउँबेसी मेलापात, अनि बिदेसिएका युवाहरूको लक्ष र उनीहरूको प्राप्तिलाई कविताको माध्यमबाट उजागर गर्न सकिन्छ । अनि आफ्नै देशमा बसेर देशको विकास लागि सोचिरहेका कयौं मनहरूको नजिकको सारथी हो कविता । कविता नै यस्तो साहित्य हो जसको माध्यमबाट सारा साहित्यको विकास हुने गर्दछ । हामीले साहित्यको इतिहासको बारेमा कुरा गर्न हो भने पनि साहित्यको उद्गम बिन्दुको रूपमा कवितालाई लिन सकिन्छ । हरेका संघर्ष, पहिचान, राष्ट्रियता अनि भूमिकाको बारेमा कविताको माध्यमबाट प्रस्ट पार्न सकिन्छ ।

कवितालाई विभिन्न पद्धतिबाट लेख्न सकिए पनि अहिलेको जल्दो बल्दो लेखन शैली भनेको गद्य शैली नै सबैभन्दा बढी देखिन्छ । यही शैलीलाई अँगाल्दै कृतिकार सुष्माले बिदेसिएको एक युवाको मस्तिष्कमा कोरिएको देशको स्केज मा यसरी प्रस्तुत गर्नु भएको छ:

आखिर सम्झने छुट त छ

उसलाई पनि छातीमा देश बोकेर

हरेक दिन उसले पढेका अखबार सम्झियो

सपना बोकेर कफनमा फर्किएकाको

संसार सम्झियो ।

कविताको जन्म कसरी हुन्छ भन्ने कुरामा समेत कृतिकार दाहालले आफ्नो कृति मध्यान्तरमा कविताकै माध्यमबाट कविताको जन्ममाः

अभाव र असहजताका अवस्थाहरू

जीवनमा हरेक प्रहर भोग्नुपरेका

समय र नियतिका दुशचक्रहर एक थोपा

आँसु नझरी भाग्य र लेखान्तको खेल सम्झेर

गह भित्रभित्रै बनेको अश्रुताल जब स्वाभिमानको

प्रश्नरूपी बचनवाणले फुटाउने दुस्साहस गरिन्छ

कताबाट थाहै नपाई रोपिन पुग्छ कविता ।

कहीँ कहीँ कविताका हरफहरूले पनि मनलाई चटक्क टिपेर हामी भन्दा निकै टाढा लैजाँदा रहेछन् । अनि कविताको माध्यमबाट नै विकासका मूल फुटाउँदा रहेछन् । शब्द मिडिया प्रा.ली., साहित्यपोस्ट काठमाडौंले प्रकाशनमा ल्याएको यो मध्यान्तर अब्बल कृतिको रूपमा दर्ज सकोस् शुभकामना । अन्त्यमा मध्यान्तरकै यो हरफ:

अक्करले मुहार फेर्न सक्ने हो कि हैन

पसिनाले जुहार भेट्न सक्ने हो कि हैन ।