एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – अमृत ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले अमृत सँग गरेको कुराकानी :

 

देशका विभिन्न स्थानहरूका महोत्सवहरूमा आइहाल्ने नाम हो – ‘अमृत’ । यसलाई कसरी लिनुभएको छ ?

– देशका विभिन्न स्थानबाट साहित्यिक अनुरागीहरू मित्रहरूले सम्झनु मेरा लागि निकै खुसीको कुरा हो र यो लेखनका लागि थप ऊर्जा पनि हो  ।

एउटा सैनिकले कवितालाई हेर्ने अन्तर चेतना कस्तो हुँदो रहेछ ?

– सिर्जना हृदयको ध्वनि हो । परिवेश, पेशा, माहौल, भोगाइ र व्यक्तिको नेचरले सिर्जनामा अनेक रूप देख्न भने सकिन्छ । मेरा सिर्जना पनि त्यसकै वरपर नडुली रहन सक्दैनन् ।

आफै पनि आयोजक भएर साहित्यिक कार्यक्रमहरू गर्नुहुन्छ । आफूले गर्दा र अरूकोमा अतिथि भएर जाँदाका अनुभूति के कस्ता हुन्छन् ?

– नेपाली साहित्यको उत्थानका लागि हामीले हाम्रो ठाउँबाट के कति योगदान दिन सकिन्छ भनेर लागि परि रहेकै छौ र विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना गरिरहेकै हुन्छौ । साहित्य लेखनसँगै साहित्यिक मञ्चको व्यवस्थापनको चाँजोपाँजो गर्दै गर्दा अप्ठ्यारा र चुनौती त हुन्छन् नै । ती सबैलाई व्यवस्थित गर्दै अगाडी बढिरहेकै छौ । हामीले जस्तै साथीहरूले पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गर्नु हुन्छ । साथीहरूले आयोजना गर्ने साहित्यिक कार्यक्रममा पनि हाम्रा जस्तै अप्ठ्यारा र चुनौतीहरू अवश्य हुन्छन् नै । साहित्य परिवारमा हामी परिवारका सदस्य हौ । सँगै मिलेर सुख दुःख साट्ने त हो नि ।

कवितालाई सोखबाट माथि उठाएर प्रोफेशन बनाउनु पर्छ जस्तो लाग्दैन ? कि यही ठिक छ ?

– साहित्यमा सोख र प्रोफेशन अलग कुरा हुन् । ती व्यक्ति अनुसार फरक र अलग हुन्छन् ।

एपेक नेपालले कविता वाचनका लागि गण्डकी प्रदेशबाट यहाँलाई काठमाडौं बोलाएको छ के भन्नुहुन्छ ?

– एपेक नेपालले विशेष कविता वाचन कार्यक्रमका लागि मलाई गण्डकी प्रदेशबाट काठमाडौं बोलाएको छ । यो मेरा लागि विशेष अवसर हो । एपेक नेपाल एक साहित्यिक परिवार हो र म त्यसको सदस्य हूँ भन्ने ठानेको छु । कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन मेरो सहभागिता हुनेछ ।