३२ वर्षदेखि निरन्तर प्रकाशन भइरहेको नवप्रज्ञापन साहित्यिक पत्रिकाको नयाँ अङ्क प्रकाशन भएको छ ।

यस अङ्कमा नेपाल बाहिरका नेपाली कवितालाई महत्वका साथ प्रकाशन गरिएको छ । यसमा भारतका ४९ र म्यान्मा र थाइल्यान्डका १४ गरी ६३ थान नेपाली भाषाका कविता समावेश छन् ।

यसमा भारतबाट कवि अजम प्रधान, अजित वियोगी, अर्जुन शर्मा निरौला, अनन्त श्रेष्ठ, अमरकृति राई, उद्धव गोपाल श्रेष्ठ, उदय थुलुङ, ओकिउयामा ग्वाइन, कृष्ण प्रधान, गीताश्री शर्मा, जस योञ्जन ‘प्यासी’, जीविका अश्रु, दलसिंह ‘अकेला’, दीप प्रधान, डा.देवेन सापकोटा, नगेन्द्र ‘गोर्खा’, नरबहादुर दाहाल, निर्दोषिका तामाङ, निलीमा आचार्य, नीता तामाङ, पुण्यप्रसाद शर्मा, पुरण गिरी, पूजा आचार्य, बहादुरसिंह बराल, भविलाल लामिछाने, मञ्जुला तामाङ सुब्बा, मिलन बान्तवा, मोहन सुवेदी, युवा बराल ‘अनन्त’, रचना ‘अनाकार’, रवि रोदन, राजु ‘हिमांशु’, राहुल राई ‘बोगिको’, रोशन राई ‘चोट’, डा. लक्खीदेवी सुन्दास, लक्ष्मी ‘मिनु’, विमल खतिवडा ‘माइला’, सङ्गम ‘सुधा’, सावित्री सिंह (सुन्दास), सी. के. श्रेष्ठ, सुकराज दियाली, सुदर्शन तामाङ, सुधा एम. राई, सुमित्रा थामी ‘अविरल’, सुचन, शारदा स्टेफी, हरिप्रसाद ‘गोर्खा’ राई समावेश छन् ।

त्यसैगरी म्यान्मा–थाइल्यान्ड खण्डमा कवि अशोक घिमिरे, कुसुम गौतम, चन्द्रमा पोखरेल, टेकनारायण रिमाल ‘कौशिक’, तिलक पोखरेल, दिपा राना, निर्मला पोखरेल, भीम पाण्डे, मधुसुदन भट्टराई, मोहनराज खनाल, रामप्रसाद अर्याल, लक्ष्मण न्यौपाने, वन्दना गौतम र विष्णु पन्थी समावेश छन् ।

पत्रिकामा नयाँ कृतिहरू ‘जयप्रकाश नारायण जीवनी र विचार’, ‘नेपाल–भारत व्यापार पावहन सम्बन्ध र नाकाबन्दी’, ‘कसरी बालकालिकालाई असल बनाउने’, ‘विश्वप्रसिद्ध व्यक्तिका सफलताका कथाहरू’, ‘व्यक्तित्व विकास कसरी गर्ने’, ‘नेपाली कांग्रेसको इतिहास’, ‘मार्क्सवादी दर्शन’, ‘मार्क्सवाद र एनजीओ’, ‘नौ डाँडापारि’, ‘सिम्रौनगढको इतिहास’, ‘नेपालको भूगोल’, ‘रावणायन’ बारे छोटो चर्चा गरिएको छ ।

यस अङ्कका सम्पादक तथा प्रकाशक नवराज रिजाल, अतिथि सम्पादक शरद प्रधान र म्यान्मा–थाइल्यान्ड संयोजक तैं तैं धिताल रहेका छन् ।

नवराज रिजाल लेख्छन्, ‘६३ थान नेपाली भाषाका कविता कस्ता होलान्, तपाईंका मनमा जिज्ञासा हुन सक्छ । अनि भन्छु कविता साँच्चै कविता जस्तै छन् । अर्थात् ती कविताहरूमा नेपालप्रति माया र सम्मानका साथ नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आदर सम्मान छ । जहाँ बसे पनि नेपाली पन, नेपाली संस्कृति, नेपाली विश्वास र मानवता भुल्न पटक्कै सकेका छैनन् । नेपाली जाति जहाँसुकै बसे पनि आफू र आफ्नो पनलाई कहिल्यै भुल्न सक्दैनन् भन्ने या ज्वलन्त प्रमाण हो ।’

विशेष सम्पादकीयमा अतिथि सम्पादक शरद् प्रधान लेख्छन्, ‘यस अङ्कमा नेपाली साहित्यमा कमै नाम सुनिएका भाक्सु भारतका कवि बहादुरसिंह बरालको कविता पनि समेटिएको छ । उहाँ प्रसिद्ध गीतकार तथा गायक मित्रसेन थापाका समकालिन हुनुहुन्थ्यो । सन् तीसको दशकदेखि गीत र कविता लेखनमा सक्रिय उहाँको गीत-कविताको सङ्ग्रह ‘बरालको आँशु कृति प्रकाशित छ । यसलाई साझा प्रकाशनले प्रकाशित गरेको थियो । नवप्रज्ञापनको यस अंङ्कमा चार पुस्ताका कविका कविता संकलित छन् । पुराना पुस्ताका बहादुरसिंह बराल, हरिप्रसाद गोर्खा राई, सावित्री सिंह, नरबहादुर दाहाल देखि नयाँ पुस्ताका अमरकृति राई र अजित वियोगीसम्मले यहाँ स्थान पाएका छन् । प्रतिनिधिमूलक होस् भन्ने अभिप्राय रहे पनि विभिन्न कारणले सोचे जस्तो समावेशी चाहिँ हुनसकेन । भारतमा नेपाली बसोबास गर्ने सबै ठाँउहरूबाट कविता परोस् भन्ने अभीष्ट थियो र त्यही अनुरूप प्रयास पनि गरिएको हो तर सफलता चाहिँ पूर्ण नभएर आशिंक मात्र प्राप्त हुन सक्यो । आगामी अङ्कहरूमा पुनःप्रयास गर्नेछौं ।’

यसअघि नेपाल बाहिरका नेपाली कविता पहिलो भाग प्रकाशन भइसकेको छ ।