कवितामाथिको पहिलो रियालिटी शो द पोएट आइडलको दोस्रो सिजन अब अन्तिम चरणमा आउन लाग्यो । आइडलको भोटिङ राउन्डबाट कविहरू बाहिरिने क्रम पनि जारी नै छ । यसै क्रममा आइडलको उत्कृष्ट ८ मा पुगेर भारत दार्जिलिङका कवि गोर्खे चार्ली अर्थात् अनिल विद्रोही बाहिरिनु भएको छ ।

सबैभन्दा कम भोट प्राप्त गरेर रेड जोनमा परेपछि अन्तिम प्रतिस्पर्धा “आशु कवि राउन्ड” मा तनहुँका कवि विनायक पन्तसँग उहाँ पराजित हुनु भएको हो । रेड जोनमा परेसँगै उहाँहरूलाई “चस्मा” शीर्षकमा कविता लेख्नको लागि आधा घण्टाको समय दिइएको थियो । जसमा कवि विनायकले १ सय १७ र कवि चार्लीले १ सय ९ अङ्क प्राप्त गर्नुभएको थियो । कविता लेखन र प्रस्तुतिका आधारमा निर्णायकहरूले २ सय पूर्णाङ्कमा अङ्क दिँदै आएका छन् । कवि चार्ली दोस्रो पटक रेड जोनमा पर्नुभएको हो । योसँगै पोएट आइडलमा उहाँको यात्रा टुङ्गिएको छ । पोएट आइडलको मञ्चमा कवि चार्लीले “पर्फमेन्स अफ द वीक” को उपाधि पनि एक पटक जित्नु भएको थियो । हरेक

हप्ता उत्कृष्ट ढङ्गले कविता प्रस्तुत गर्ने एक कविलाई नगद पुरस्कारसहित यो उपाधि दिइँदै आइएको छ ।

दार्जिलिङको तीनधारे स्थित १७ माइलमा जन्मनु भएका कवि गोर्खे चार्ली पछिल्लो डेढ दशकदेखि लेखनमा सक्रिय हुनुहुन्छ । १३ अगस्ट १९९४ मा उहाँको जन्म भएको हो । माता दुर्गामाया ब्राह्मण र पिता मेघनाथ ब्राह्मणका तीन सन्तानमध्ये उहाँ कान्छो सन्तान हुनुहुन्छ । सानै उमेर अर्थात् ४ कक्षा पढ्दाताका नै “आमा” शीर्षकको कविता लेखेर साहित्य लेखनको आरम्भ गरेको उहाँ बताउनु हुन्छ । हाल आएर उहाँ कविताका अलावा कथा, उपन्यास, नाटक, हाइकु र चलचित्रका स्क्रिप्ट पनि लेख्नु हुन्छ । उहाँ एक मिमिक्री आर्टिस पनि हुनुका साथै उहाँले तीन ओटा नेपाली चलचित्रमा अभिनय समेत गरिसक्नुभएको छ । उहाँका दुई ओटा कविता सङ्ग्रह “विद्रोहीका विद्रोहहरू” (सन् २०२०) र  “मिठाईको खोल” (सन् २०२२) प्रकाशित छन् । त्यसै गरी सन् २०२० देखि उहाँले “हाम्रो तीनधारे पत्रिका” को सम्पादक भएर काम गरिरहनु भएको छ ।

पोएट आइडल हरेक हप्ता सोमबार र मङ्गलबार राती ९ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आको छ । पछि यसलाई “OSR Reality” युट्युब च्यानलमा पनि हेर्न सकिने छ । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीप्रति समर्पित आइडललाई डन डिरेक्टर अमन प्रताप अधिकारीले निर्देशन गरिरहनु भएको छ । पोएट आइडलमा कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका केकी अधिकारी निर्णायकको  भूमिकामा हुनुहुन्छ । त्यसै गरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ ।

अब प्रस्तुत छ दार्जिलिङका कवि गोर्खे चार्लीसँग पोएट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

 

पोएट आइडलको उत्कृष्ट ८ मा पुगेर आउट भइसकेपछि के कस्ता प्रतिक्रिया पाउनुभयो/पाइरहनु भएको छ ?

– सुरुमा त पोएट आइडलले मलाई लगाएको गुन कहिल्यै बिर्सने छैन । एउटा शरीर आइपुगेको थिएँ, मान्छे बनिएर निस्किएको छु । निस्कँदा निस्कँदै मैले दुई किसिमको प्रतिक्रिया पाएँ । कसैले ‘राम्रो भयो भाइ ! त्यहाँसम्म पुग्नु भयो’ भन्नु भयो । गाउँ परिवार सबै खुसी हुनु भयो । तर कतिले चाहिँ मलाई होइन थर्ट पर्सनलाई मैले निस्कँदै गर्दा गरेको पोस्टहरू बारे नानाभाँती कुरा गरेको थाहा पाएँ । धेरैले राम्रो प्रतिक्रिया दिनु भयो ।

पोएट आइडल जित्छु नै भनेर आउनु भएको रहेछ ।  त्यो यात्रा पार गर्न अझै निक्कै समय बाँकी छँदै आउट हुनु भयो । के भन्नुहुन्छ ?

– हरेक मान्छेको आफ्नो एउटा सपना हुन्छ । मेरा पनि थुप्रै सपनाहरू थिए, जुन सपनाहरू मेरो ढोकासम्म आउन त आउँथेँ । तर त्यहीँबाट हराउँथे । यसरी हजारौँ आफ्नै सपनाको लासहरूलाई आफैँ कति खेप जलाएको छु । यति भइसकेपछि मैले आफ्ना केही सपनाहरू देख्न छाडेको छु । म अरूको निम्ति बाँच्न चाहन्छु । जति दिन पृथ्वीमा रहन्छु म अरूको निम्ति नै बाँच्ने छु । मलाई थाहा छ मेरा सपनाहरूले आयु कम लिएर जन्मिएका हुन्छन् ।

पोएट आइडलमा “म सिक्न पनि आएको थिएँ” भन्नुभएको छ । कति सिकायो आइडलको मञ्चले ? र के-के सिकायो ?

– कविता, व्यवहार, मित्रताको साँचो अर्थ के हो, मान्छे कस्तो हुनुपर्छ, यात्रा के हो र लक्ष्य कस्तो हुनुपर्छ, सुन्ने कि बोल्ने यी यावत् कुराहरू बुझेँ अनि सिकेँ पनि । यस्ता सिकेका टन्नै कुराहरू जीवनमा प्रयोग गर्दै जाने छु ।

भोटिङ राउन्ड सुरु भएदेखि यता तपाईं दुई पटक रेड जोनमा पर्नु भयो । पहिलो पटक त प्रतिस्पर्धी कविको भन्दा राम्रो कविता लेखेर तपाईं जोगिनु भएको थियो । यो पटक चाहिँ रेड जोनमा पर्दै गर्दा के सोच्नुभएको थियो ?

– रेड जोनमा मेरो मस्तिष्क त्यो मञ्चदेखि बाहिर थियो । मेरो भोटको निम्ति बाहिरबाट आउने ठुलो पेमेन्ट अन्तिम समयसम्म पनि पसेको थिएन । खै किन हो भित्री मनले भन्दै थियो कि आज मैले यो मञ्च छोड्नै पर्ने छ । मस्तिष्कमा अरबौँ कुरा खेल्दै थिए । म केन्द्रित हुन सकिनँ । पहिलेको भन्दा भिन्नै अनुभव गरेको थिएँ । तर जे होस् मजा आयो ।

आइडलको पहिलो सिजनमा दार्जिलिङकै कवि पल्लविब दार्जिलिङबाट राम्रो साथ सहयोग पाएर फाइनलसम्म पुग्नुभएको थियो । तपाईंको अपेक्षा कस्तो थियो दार्जिलिङबाट ? र त्यो कत्तिको पूरा भयो ?

– अबोई ! क्या दामी प्रश्न । जवाफ लामो हुन सक्छ यसको ।

कति जनाले मलाई अन्तिमसम्म साथ दिनुभयो । लाटपन्जर सौरेनी दार्जिलिङ, तीनधारे चुनभट्टी खरसाङ्ग, विदेशबाट कति जना प्यारा व्यक्तित्वहरूले सहयोग गर्दिनु भयो । उहाँहरूको मायालाई कहिल्यै बिर्सने छुइनँ ।

तर कति  मूर्त मानवहरू थिए जसले “अपुई ! अनिल पोएट आइडलमा गयो हरे ? लौ कसरी ?”  भने । कति जनाले भोट अभियानमा निस्किने मान्छेहरूको कानमा भाका, नभाका कुरा हालेर “भोट गर्दिनु पर्दैन” भनेर भनेको पनि  सुनेँ । कति जनाले त झन् भाँजो हाल्नेलाई थरीथरी के के गरे गरे । कतिले हामी छौँ भने । म विश्वस्त भएँ । भोटिङ राउन्ड चलिरहँदा कल नउठाएर, मेसेज सिन गरेर छाडे ।

“किन दिनु त्यसलाई भोट ?” भन्नेहरू पनि कमाएँ मैले । कसैलाई काख, कसैलाई पाखा गरिएको प्रस्ट देखियो । तर यति  समूहजाल बनाएर बसेको मान्छेहरूको प्यारो मान्छे आएको भए चाहिँ लाटोलाई  पनि चिच्याउन लगाउँथ्यो ।

त्यो त्यस्ता मुर्तिमानवहरूलाई चिनेको थिएँ । तर मैले झन् मज्जाले चिन्न सकेँ । म आउने युवा पुस्तालाई भन्न चाहन्छु जो पनि रियालिटी शो अर्थात् कहीँ पनि जान्छु भन्ने सोचेको हुनुहुन्छ, पहिला छेउछाउमा सर्पको खाल लगाएर बसेको प्यारो मान्छेहरू चिनेर मात्रै आउनु होला, नत्र डस्छन् है !

तर जे होस्, मैले अघि भने नि यो पोएट आइडलको मञ्चमा आइपुगेपछि मैले नेपालबाट मेरो दार्जिलिङ वरिपरिको मान्छे चिनेँ । अझै मलाई त प्रशान्त तामाङसँग जोडेर “भोट किन गर्नु ?” धरी भने । इडियन आइडल सिजन थ्रीको वीनरसँग जोडिदिनु भएकोमा धन्यवाद, यत्रो ठुलो बनाइदिनु भयो मलाई ।

रेड जोनमा परिसकेपछि “आशु कवि राउन्ड” मा कविता लेख्दै गर्दा तपाईं अलिक हतारमा देखिनु हुन्थ्यो । मानौँ, कुनै परीक्षा हलमा परीक्षा दिइरहनु भएको छ  र लेख्नको लागि धेरै कुराहरू आइरहेका छन्, तर समय थोरै छ  । आधा घण्टाको समयमा पनि त्यति धेरै कुराहरू फुर्दो रैछ कविताका लागि ?

– मैले अघि नै भने त म त्यो ठाउँमा थिइनँ । आधा घण्टा धेरै समय हो मेरो निम्ति । म धेरै समय लगाउँदिन कविता लेख्न । फुर्छ पनि मलाई । तीन बजे रातमा सुतिरहेको बेला उठाएर केही विषय दिएर कथा कविता जे पनि लेख भने पनि लेख्ने सामर्थ्य छ । यो मेरो अहंकार होइन, आत्मविश्वास हो ।

तपाईं अभिनय र नाटकमा पनि रुचि राख्ने भएकोले आइडलको मञ्चमा विभिन्न तरिकाले कविता प्रस्तुत गर्नुभयो । कविता सुन्दर ढङ्गले पाठकमाझ पुग्न प्रस्तुतीकरणको कस्तो भूमिका हुँदो रैछ ?

– पोएट आइडलको पहिलो सिजन सुरु हुन अघि नै मलाई कविता धेरै प्रकारले प्रस्तुत गर्नु मन लागेको हो । mute कविता गरुम भनेर सोचेको पनि थिएँ । आउट भइहालेँ पाइएन । साहित्य र अभिनयको आयु मेरो  जीवनमा १६ वर्ष भयो । त्यसैले मैले आफ्नो रचनालाई खुलेर इन्जोय गरेँ । मैले आफूले सक्ने धेर-थोर मञ्चबाट प्रस्तुत गरेँ । मज्जा आयो । आभार पोएट आइडल  यो अवसरका लागि ।

समग्रमा पोइट आइडलको आफ्नो यात्रालाई कसरी सम्झिनु हुन्छ ?

– म मर्ने बेलाको अन्तिम श्वासले यो यात्रा संस्मरण गरेर निस्कने छ । आदरणीय सर अमन प्रताप अधिकारी,  देव न्यौपाने,  पल्लविब दाजै, मिल्सन दाजै, हिमाल  दाइ, सन्जिता दिदी, म्युजिक टिम लगायत सबै, अनि मेरो प्यारो १४ जना साथीहरु सबैलाई जीवनभरि सम्झने छु । सबैलाई कुइँटल भरको माया र अरबौँ सम्झना । त्यो मञ्च, अनि प्यारा निर्णायकहरूलाई म कहिल्यै भुल्ने छुइनँ ।

पोइट आइडलले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– क्रान्ति हो । पहिले रेडियो थियो । त्यसपछि टिभी । त्यसपछि मोबाइल ल्यापटप, के के । यो नै त हो विकास । कविता प्रस्तुत गर्दा जनमानस सम्म पुर्‍याउन गरिएको यो मञ्च क्रान्ति हो । नयाँ क्रान्ति जसले एकदिन अवश्य नै संसार थर्काउने छ र म आरम्भको बिगुल फुक्ने छु ।

“लेख्न त मैले १६ वर्षदेखि लेख्दै आएको हुँ, तर कवि चाहिँ मलाई पोएट आइडलले बनायो” भन्नुहुन्छ ।  अब आइडलको मञ्च बाहिर त्यो कवित्वलाई के कसरी बचाइराख्ने योजना बनाउनु भएको छ ?

– बाहिर गुटबाजी छ । ग्रुपीजम छ । म स्वतन्त्र कवि हुँ । म अब अभिनय क्षेत्रमा जाऊँ भन्ने सोचेको छु । हेरौँ के हुन्छ । तर म भागवत गीताको उपदेश फलो गर्छु, “कर्म गर, फलको आशा नगर ।”

अर्को कुरा, तपाईंका कविताहरूमा व्यङ्ग्य चेत भरपुर मात्रामा पाइन्छन् । कवितामा यसको महत्त्व कस्तो हुँदो रैछ ?

– अबोई ! धेरै हुन्छ नि । सोझै भन्यो भने मिठो हुन्छ । घुमाएर भन्यो भने अमिलो पानी मात्रै निस्कन्छ, न निल्नु न थुक्नु । धेरै कविहरूलाई म त आह्वान पनि गर्छु कि, यसरी कविता प्रस्तुत गर्दिनु भए अझ मज्जा आउँथ्यो, सुन्न पनि र भन्न पनि ।

जाँदाजाँदै अन्त्यमा केही ?

– केही छैन, सबैलाई सम्झना । धन्यवाद पोएट आइडल । मेरो सम्झनामा तिमी सधैँ बाँचिरहनु । अनि तपाईंलाई धन्यवाद यो समयको निम्ति  । जय साहित्यपोस्ट ।