
युएईमा छरिएर रहेका किराँतीहरुले गत आइतबार भव्य रुपमा सिसेक्पा तङ्नाम मनाएका छन् । साउने सङ्क्रान्तिलाई किराँती समुदायले सिसेक्पा तङ्नामको रुपमा मनाउने गरेका छन् ।
दुबईको बरदुबईमा एक समारोहको आयोजना गरी सिसेक्पा तङ्नाम ५०८३ मनाएका हुन् । किराँती समुदायले आफ्नो इष्टदेवताको सम्झनामा सो दिन अन्न, फलफूल, तरकारी तथा हरियो पात बाबियोको डोरीमा सिउरेर घरको मूल ढोका वरिपरि झुण्ड्याउने गर्दछन् ।
यसलाई अनिकाललाई बिदाइ गरेर सहकाललाई भित्र्याउने पर्वको रुपमा मनाउने गरिन्छ । उनीहरुले साउने सङ्क्रान्तिलाई “सिसेक्पा तङ्नाम” र माघे सङ्क्रान्तिलाई “कक्फेक्वा तङ्नाम”का रुपमा मनाउँदै आएका छन् ।
यता दुबईको कार्यक्रम स्थलमा पनि त्यसरी नै विभिन्न तरकारी, फलफूल तथा हरिया पाताहरु बाबियोको डोरीमा झुण्ड्याएर राखिएको थियो ।
किराँत याक्थुङ चुम्लुङ युएईले आयोजना गरेको सो कार्यक्रममा लिम्बू समुदायको मौलिक नाच “केलाङ नाच” प्रस्तुत गरिएको थियो । त्यसैगरी कार्यक्रममा युएईमा रहनुभएका आदिवासी/जनजाति समुदायका कलाकारहरुको विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत रहेको थियो ।
किराँत याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमलबहादुर लिम्बूको सभापतित्व तथा आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष विजया लक्ष्मी राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष उदिप ओख्राबोले “अनिकाल जा, सहकाल आइज” भन्दै सानो विधि स्वरुप सङ्क्रान्ति खेदाउनु भएको थियो ।
किराँत याक्थुङ चुम्लुङ युएईका सल्लाहकार डम्वर लिबाङ लिम्बूको संयोजन र नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद आर्यलको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सङ्घीय लिम्बूवान सामाजिक मञ्च, आदिवासी युवा संघलगायत अन्य जातीय संघ संस्थाका साथै अन्य विभिन्न संस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति र प्रमुख अतिथिबाट दीप प्रज्वलन गरि प्रारम्भ गरिएको औपचारिक कार्यक्रमको सञ्चालन किराँत याक्थुङ चुम्लुङ युएईकी महासचिव मनिशा लिम्बू र सचिव बुद्ध लिङ्देनले गर्नु भएको थियो । त्यसैगरी सांस्कृतिक कार्यक्रमको सञ्चालन महासचिव मनिशा र कलाकार दिनेश कुमार लिम्बूले संयुक्त रुपमा गर्नुभएको थियो ।
पालम गाउँदै, धान नाच प्रस्तुत गर्दै समापन गरिएको कार्यक्रममा आयोजक संस्थाको तर्फबाट कार्यक्रममा विभिन्न किसिमले सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको महासचिव मनिशा लिम्बूले जानकारी गराउनु भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

बुर्ज-खलिफा नियालिरहँदा, मनले सगरमाथालाई नमन गरिरहेको थियो – सुमित्रा सुमी
