कृष्ण बजगाईं

कृष्ण बजगाईं

नेपालमा धरान घर भई हाल संयुक्त अधिराज्यको लन्डनमा बसोबास गरिरहेका कृष्ण बजगाईं साहित्यकार मात्र होइनन् साहित्य-अभियन्ता पनि हुन् । कथा, लघुकथा, बालकथा, नियात्रा, हाइकु आदि गरी उनका करिब डेढ दर्जन कृति प्रकाशित छन् भने बजगाईं नेपाली साहित्यको विकासमा पनि उत्तिकै सक्रिय भएर लागेका छन् । ‘प्रवासन’ नामक अन्तर्राष्ट्रिय साहित्यिक जर्नल उनको सम्पादनमा प्रकाशित भइरहेको छ । बजगाईंले सत्र वर्षअगि स्थापना गरेको समकालीन साहित्य डट कम नामक साहित्यिक वेबसाइट निरन्तर रूपमा संचालनमा ल्याइरहेका छन् । यस अनलाइन पोर्टलमा संसारका साहित्यकारकारहरूले आफ्नो रचना प्रकाशित गर्न सक्छन् ।

प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले साहित्यकार कृष्ण बजागाईंसँग गर्नु भएको कुराकानी ।

 

अचेल के गर्दै हुनु हुन्छ ?    

– अहिले म मेरो अठारौं साहित्यिक कृति तथा पाँचौं नियात्रासङ्ग्रहमा काम गरिरहेको छु । यस नियात्रासङ्ग्रहमा स्विजरल्याण्ड, ग्रिस, पोर्चुगल र बेलायतका सत्ताइस वटा नियात्रा रहने छन् ।

के कस्ता उद्देश्य र कारणहरूले तपाईंलाई साहित्यमा यसरी सक्रियतापूर्वक लाग्न उत्प्रेरित गरे ?

– कक्षा पाँचमा पढ्दा बाल कविता लेखेर स्कूलमा सुनाउँदा पाएको हौसलाका कारण साहित्यमा मेरो रुचि बढेको थियो । पछि अग्रज र समकालीन साहित्यकार साथीहरूसँगको संगत र साहित्यिक संघसंस्थाहरूको कार्यसमितिमा बसेर काम गर्न थालेपछि झन् प्रतिबद्ध भएर साहित्यमा लाग्न प्रेरणा मिल्यो ।

तपाईंको सक्रियतामा नै ‘समकालीन साहित्य प्रतिष्ठान, बेलायत’को स्थापना भएको छ । यो कस्तो संस्था हो ? यो संस्थाले के कार्य गर्छ ?       

– समकालीन साहित्य प्रतिष्ठान बेलायत विशुद्ध साहित्यिक संस्था हो । यस संस्थाले विगत सत्र वर्षदेखि नियमित रूपमा www.samakalinsahitya.com वेब पत्रिका प्रकाशन गरिरहेको छ । यस संस्थाले फेसबुकमा समकालीन साहित्य प्रतिष्ठान बेलायत नाम गरेको नेपाली साहित्य सम्बन्धी २ लाख ५४ हजार सदस्य भएको समूह संचालन गरेको छ । यस समूहमा दैनिक सयौं रचना पोस्ट हुन्छन् । फेसबुकमा एकदम रुचाइएको र एकदम सक्रिय साहित्यिक समूह हो । यसका अलावा प्रतिष्ठानले विभिन्न साहित्यिक पुस्तक पनि प्रकाशित गर्ने गरेको छ । हालसम्म यस संस्थाबाट ३१ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् ।

तपाईं प्रधान सम्पादक रहनु भएको एक अन्तर्राष्ट्रिय साहित्यिक जर्नल जुन लन्डनबाट प्रकाशित हुन्छ । यो कस्तो किसिमको जर्नल हो ? र यो जर्नल प्रकाशित गर्नुको उद्देश्य के हो ?            

– समकालीन साहित्य प्रतिष्ठानले विगत सात वर्षदेखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ प्रिन्टेड कपिको रूपमा प्रकाशित गरिरहेको छ । यसको ई–कपि हाम्रो संस्थाको वेबसाइटमा निःशुल्क पढ्न र डाउनलोड गर्न सकिन्छ । हालसम्म यस जर्नलका दश अंक प्रकाशित भइसके भने एघारौँ अंकको लागि काम भइरहेको छ । प्रवासन जर्नलले अन्तर्राष्ट्रिय मापदण्ड कायम राखेको छ । यस जर्नलमा भाषा, साहित्य, साहित्यका सिद्धान्त र वाद लगायतका विभिन्न विषयमा गहन अनुसन्धान गरेर लेखिएका लेखहरू प्रकाशित हुन्छन् । जर्नलमा प्रकाशनपूर्व विज्ञहरूले ती लेखलाई अध्ययन गरेर छाप्न हुने वा नहुने, हुने छुट्याउँछन् । सुझाव सहित लेखकलाई पुनर्लेखन गराउँछन् । अनि मात्र जर्नलमा प्रकाशित हुन्छ । त्यसैले प्रवासनमा प्रकाशित अनुसन्धानमूलक लेख रचनाहरू गहन र प्रामाणिक हुन्छन् । यो जर्नल प्रकाशन गर्नुको उद्देश्य अन्तर्राष्ट्रिय स्तरका लेख रचना प्रकाशन गरेर नेपाली साहित्य र साहित्य अनुसन्धानमा टेवा पुर्‍याउनु हो ।

तपाईंको परिचय केवल एक साहित्यकारसम्ममा मात्र सीमित छैन । तपाईं एक साहित्यिक अभियन्ता पनि हो । के कस्ता कारणहरूले तपाईंलाई एक साहित्यिक अभियन्ता हुन प्रेरित  गर्यो ?  

– म सानैदेखि अरू साथीहरूलाई लेखनमा उत्प्रेरित गर्दथेँ । मेरो भाग्य पनि होला, मैले संगत गरेका मेरा अग्रजहरूले पनि मलाई प्रेरणा दिनु हुन्थ्यो । युवा उमेरमा, धरानमा, वि. सं. २०४० मा, ठूलो उद्देश्य बोकेको सांस्कृतिक तथा वैचारिक संस्थामा संस्थापक भएर काम गरेँ । आजभन्दा चौबिस वर्ष अगि नेपाल छाड्ने अघिल्लो दिनसम्म एकदम सक्रिय र प्रतिष्ठित साहित्यिक संस्थाको जिम्मेवार पदमा थिएँ । विदेश आएपछि अहिलेसम्म पनि साहित्यिक संस्था मार्फत नेपाली भाषा साहित्यको विस्तार र प्रवर्द्धनमा सक्रिय छु । म एक्लै भन्दा पनि सामूहिकतामा विश्वास गर्ने भएकोले साहित्यमा अरूलाई पनि साथ लिएर काम गर्न मन पराउँछु । अरूलाई उत्प्रेरित गर्छु । मेरो रुचि साहित्य भएकोले साहित्यलाई अभियानको रूपमा लिएर अगाडि बढेको छु । मलाई यसैमा आनन्द आउँछ ।

नेपाली साहित्यको विकासमा तपाईं अति नै सक्रियतापूर्वक लाग्नु भएको छ । यो कुरा धेरैले अनुभव गरेका पनि छन् । तपाईंले नेपाली साहित्यको विकासमा पुर्‍याउनु भएको योगदानको सम्बन्धित पक्षहरूले मूल्याङ्कन गरेका छन् जस्तो तपाईंलाई अनुभव भएको छ ?       

– मेरा लागि सबैभन्दा ठुला मूल्याङ्कनकर्ता पाठकहरू हुन् । पाठकहरूले मेरा सिर्जना मन पराउनु भएको छ । मेरा पुस्तक बजारमा बिक्री हुन्छन् । प्रकाशकले मलाई पत्याएका छन् । यसरी पनि मेरो मूल्याङ्कन भएको ठानेको छु । विद्वानवर्ग मेरो अर्का मूल्याङ्कनकर्ता हुन् । उनीहरूले मेरो लेखनको मूल्याङ्कन गर्दै मेरा चार वटा नियात्रा त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा राखिदिनु भएको छ । केही वर्षदेखि पढाइ भइरहेका छन् । मेरा नियात्रामा स्नातकोत्तर तहमा विद्यार्थी र क्याम्पसका प्राध्यापकहरुबाट शोधकार्य सम्पन्न भई पुस्तक समेत प्रकाशित भएका छन् । मेरो एक लघुकथा कक्षा १२ को अनिवार्य नेपालीमा र एक बालकथा कक्षा ५ को सरकारी विद्यालयमा पढाइ हुन्छन् । अर्को एक लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा पढाइ हुन्छ । अरू २१ वटा बालकथा निजी विद्यालयको कक्षा ४, ५ , ६ र ७ को पाठ्यक्रममा समावेश भएर पढाइ भइरहेका छन् । यो भन्दा ठुलो पुरस्कार, सम्मान र मूल्याङ्कन अरू के होलान् ? मलाई अरू कुराको लोभ छैन । यसैमा सन्तुष्ट छु ।

तपाईं साहित्य लेखनमा अति नै सक्रियता पूर्वक लाग्नु भएको छ । तपाईंले साहित्य लेखन किन र कसका लागि गर्नु भएको हो ?             

– सुरुवातको समयमा मैले साहित्य लेखन आफूलाई अभिव्यक्त गर्नका लागि गरेको थिएँ । समाजमा अरू भन्दा अलग देखिन र चिनिनका लागि पनि लेखनमा लागेको थिएँ । अलिकपछि मैले जाने, बुझेका कुराहरू र मेरा अनुभव अरूलाई पनि काममा आउनु भनेर लेख्न थालेँ । अहिलेको मेरो लेखन समाज र अरूका लागि पनि उपयोगी होस् भनेर लेख्न थालेको छु ।

कथा, लघुकथा, कविता, नियात्रा, निबन्ध गरी तपाईंले अनेक विधामा लेख्नु भएको पाइन्छ । तपाईंका  पाठकहरूले तपाईंलाई कुन रूपमा चिनिदिए हुन्थ्यो जस्तो लाग्छ ? कथाकार, लघुकथाकार, नियात्राकार वा कविको रूपमा ?      

– एकदम गाह्रो प्रश्न गर्नु भयो विश्वराज सर । म आफै पनि कहिलेकाहीँ सोच्ने गर्छु, कुन विधाका रूपमा आफूलाई चिनाऊँ ? पाठकहरूले मेरो लेखनलाई मन पराउनु भएको छ । मेरो ‘कमरेड भाउजू’ कथासङ्ग्रहले मलाई चर्चामा पुर्‍यायो । नियात्रा लेखनले मलाई विश्वविद्यालयको पाठ्यक्रममा छिरायो । लघुकथा लेखनले मलाई उच्च माध्यमिक विद्यालयको पाठ्यक्रममा पुर्यायो । त्यति धेरै बालकथाहरूले मलाई निम्न माध्यमिक विद्यालय प्रवेश गराए । म लगायत डायोस्पोराका अन्य कविका कविताहरूमा दुई जना विद्वानहरूले विद्यावारिधि गरेर मलाई कवि उपाधिको भारी बोकाइदिएका छन् । हाइकु कविताले मलाई चिनाएको छ । दुई पटक त जापान पुर्यायो । माथि उल्लेखित नेपाली साहित्यका ती सबै मेरा प्रिय विधा हुन् । पाठक र विद्वान वर्गले जुन रूपमा मलाई चिनाउन चाहनु हुन्छ त्यसलाई म सहर्ष स्वीकार गर्छु ।

साहित्यकारले साहित्य आफ्नो लागि वा समाजको लागि लेख्ने हो जस्तो  लाग्छ ?

– वास्तवमा साहित्यकार आम मानिस भन्दा अलग क्षमता, ज्ञान र दृष्टिकोण भएका हुन्छन् । साहित्यकारले समाजका लागि लेख्नु पर्छ । समाजले सही दिशा लिन सकोस् र सामाजिक सद्भाव कायम रहोस् भनेर साहित्यकारले लेख्नु पर्छ ।

नेपालमा पठन संस्कृतिको विकास समुचित किसिमले भएको छैन । नेपालमा पठन संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?

– डिजिटल प्रविधिका कारण संसारभर पठन संस्कृतिमा ह्रास हुँदै गएको छ । त्यसै पनि नेपालमा अरू देश भन्दा पठन संस्कृति कम छ । पठन संस्कृति विकाश गर्न सर्वप्रथम लेखकहरूले पाठकको रुचि अनुसारको पुस्तक लेख्नु पर्छ । त्यस्ता पुस्तकबाट ज्ञान र आनन्द दुवै प्राप्त होस् । पठन संस्कृति विकासका लागि बालबालिकामा पढ्ने लत लगाउनु पर्दछ । मोबाइल फोन र ग्याजेटको लत हटाउन पुस्तक अचुक उपाय हो । ठाउँठाउँमा पुस्तकालय खोल्नु पर्छ । सम्भव भएसम्म घुम्ती पुस्तकालय संचालन गर्नु पर्दछ । कसैलाई उपहार दिँदा सकभर पुस्तक नै उपहार दिनु पर्छ । अन्य उपहार दिने इच्छा भए त्यसको साथमा एउटा पुस्तक पनि राखिदिनु पर्छ । युवा पुस्तालाई पुस्तक पढ्दाको फाइदा बुझाउन विभिन्न कार्यक्रमको आयोजना गर्नु पर्दछ । ‘बुक थेरापी’ जस्ता कार्यक्रमलाई तुरुन्त लागू गर्नु पर्छ । यति गर्न सके पठन संस्कृतिको विकाश हुन्छ ।

तपाईंले लेख्नु भएको लघुकथासङ्ग्रह ‘कागजको मन्त्री’ले निकै चर्चा पायो ? यस सङ्ग्रहमा समाविष्ट लघुकथाहरूको माध्यमबाट तपाईंले के भन्नु खोज्नु भएको हो ?               

– ‘कागजको मन्त्री’ लघुकथासङ्ग्रहका विषयवस्तु, प्रस्तुति र शैली अलिक पृथक् छन् । यसलाई पाठकहरूले खुब मन पराउनु भयो । यस सङ्ग्रहका कथाले वर्तमान समयको राजनीति, भ्रष्ट्राचार, व्यथिति र विसङ्गति उपर तीव्र प्रहार गरेको छ । लघुकथा पढिसकेपछि पाठकलाई सोच्न बाध्य बनाउँछ । सचेत रहन र खबरदारी गर्न लघुकथाले झक्झकाउँछ।

लघुकथा र कथा बिचको अन्तर के होला ?

– आख्यानको लघुतम रूप लघुकथा हो । कथामा हुने सबै तत्त्व भएर पनि सूक्ष्म र पूर्ण हुन्छ लघुकथा । यसमा छोटो समयको घटना उपर कथा बुनिएको हुन्छ । यसको अन्त्य अत्यन्त प्रभावकारी हुन्छ । त्यस्तै आख्यानको अलिक विस्तारित रूप कथा हो । कथामा कुनै घटनाको विस्तार हुँदै गएर निष्कर्ष पुग्छ र पाठकलाई प्रभाव पार्दछ । यसको आयाम लामो हुन्छ ।

लघुकथाले अहिले अति नै चर्चा पाएको सन्दर्भमा के अहिले कथा लेखन र पठनमा केही कमी आएको हो भन्न सकिने स्थिति छ ?  

– लघुकथाका कारणले कथा लेखनमा कमी आएको छैन । ख्यास–ख्यास लेखेर तुरुन्त छपाउन सजिलो ठान्नाले लघुकथा लेखनमा अहिले बाढी आएको छ । छिटो र धेरै लेखेर रातारात चर्चामा आउने भोक नव लेखकहरू मात्र होइन पुराना लेखकहरूमा पनि जागेको छ । अरू विधामा सक्रिय पुराना लेखकहरू पनि लघुकथामा आएका छन् । अधिकांशले लघुकथालाई सजिलो विधा ठानेका छन् । स्तरीय र मानक लघुकथा लेख्न एकदम कठिन छ । तर, कथा लेख्नलाई धैर्यता, मेहनत र विविध विषयको ज्ञान आवश्यक पर्छ । धैर्यवान्, मेहनतीहरू मात्र कथा लेखनमा सक्रिय छन् । त्यहीँ टिकेका छन् । सोही कारणले गर्दा कथा लेखन अलिक कम भएको हो कि जस्तो देखिन्छ ।

नेपाली साहित्यमा अनेक ‘समूह’ वा गुटहरू छन् भन्ने गरिएको पाइन्छ । के यो भनाइ सही हो ?        नेपाली साहित्यमा – अनेक समूह वा गुटहरू हुनु स्वाभाविक हो । त्यस्ता समूह वा गुटहरू थुप्रै छन् । मन मिल्नेहरूले कुनै साहित्यिक उद्देश्य वा अभियानका लागि समूह र गुट बनाउन आवश्यक हुन्छ । त्यसलाई म अन्यथा ठान्दिन । तर, नेपाली साहित्यका समूह र गुटहरू भने आफ्ना प्रतिस्पर्धी वा आफ्ना गुटमा नभएकाहरूलाई उछित्तो काढ्न र सिद्ध्याउने अभियानमा सक्रिय देखिन्छन् । आफ्ना गुटकालाई देवत्करण गर्न उद्धत छन् । यो चाहिँ दुःख लाग्दो कुरा हो ।

नेपालमा प्रदान गरिने साहित्यिक पुरस्कारहरू बारे केही भन्ने इच्छा छ ?           

– पुरस्कार स्थापना हुनु र बाँड्न साहित्यकारका लागि खुसीको कुरा हो । यसले साहित्यकारलाई हौसला र ऊर्जा प्रदान गर्छ । साहित्यकारको पहिचानलाई व्यापक बनाउन मद्दत गर्छ । तर, नेपालमा साहित्यिक पुरस्कार सही व्यक्तिले कमै पाएका छन् । घोस्ट राइटरले लेखेका पुस्तकले ठुलठुला पुरस्कार चप्काएको समाचार पढ्न पाइन्छ । भनसुन, नातावाद, कृपावाद, चाकडी र लेनदेन पुरस्कार प्रदान गरिने अघोषित मापदण्ड हुन् । तर, केही पुरस्कार र व्यक्तिहरू यस्ता दोषबाट मुक्त छन् । सबैलाई दोष लगाउन मिल्दैन ।

हालै नेपाली भाषामा लेखिएको कुन पुस्तक पढ्नु भएको छ ?      

– मैले हालै पढेको पुस्तकमा डा. संगीता स्वेच्छाको उपन्यास ‘सेतो सिउँदो’ र हेम अधिकारीको ‘उत्तरी ध्रुवतिर टहलिँदा’ नियात्रासङ्ग्रह हुन् ।

र अन्त्यमा, साहित्यको अभाव (लेखन र पठन) मा मानव जीवन कस्तो होला जस्तो तपाईंलाई लाग्छ ?  

– साहित्यको अभावमा मानव जीवन निरस हुन्छ । संवेदनाहीन हुन्छन् मानिस । साहित्य नहुने हो भने मानिस र रोबोटमा खासै फरक हुन्न ।