साहित्यपोस्टको संयोजन तथा अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार– २०७९”का लागि ५ आख्यान कृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ मा छनोट भएको कृति ‘मेरा सोभियत सम्झनाहरू’का स्रष्टा ई. रामविन्दु श्रेष्ठसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईँको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

एकदमै उत्साहित महसुस गरेको छु । यो पुस्तकको गुरुत्वसम्बन्धी सुरुमा आफैँलाई पत्यार लागेको थिएन । विमोचनको दिनमा वरिष्ठ कूटनीतिज्ञ, राजनैतिक विश्लेषक र संविधानविद् नीलाम्बर आचार्यज्यूले “…यो संस्मरण लेखकको भोगाइ मात्रै होइन, नियात्रा र सम्झना मात्र हैन, यो चिन्तन पनि हो, केही खोज्ने क्रम पनि हो, विश्व जगत्मा महत्त्वपूर्ण इतिहास रचेको त्योबेलाको सोभियत प्रणालीको दस्ताबेज पनि हो । इतिहासको त्यो कालखण्ड प्रति रुचि हुने अध्ययनशीलहरूको लागि यो सन्दर्भ सामग्री हो । … यसमा कुन मनोविज्ञानले सोभियत सङ्घमाथि उक्लियो र कुन मनोविज्ञान सम्बोधन नगर्दा तल झर्यो भन्ने विश्लेषण छ, र यो विश्वका राजनीतिज्ञहरूलाई पनि काम लाग्नेछ । कुनै राष्ट्र किन माथि उठ्छ र कुनै राष्ट्र किन फेल हुन्छ ती कुराहरूलाई साधारण शब्दमा, साहित्यका माध्यमद्वारा लेखकले झल्काएका छन् । …” आदि भनेको सुनेपछि यसमा केही त छ भन्ने लागेको थियो । र त्यो “पत्यार”लाई निरन्तरता दिनुभएकोमा ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’प्रति आभारी छु ।

पुरस्कारको छोटो सूचीमा तपाईँको ‘मेरा सोभियत सम्झनाहरू’ सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

करिब तीन दशकको सुस्ततापछि म ब्युँतिएँ । मलाई ‘मेरा सोभियत सम्झनाहरू’ले आफैँभित्र केही सम्भावनाहरू छन् भन्ने बोध गरायो । यही आत्मबोध नै मेरो लागि ठुलो पुरस्कार हो । धेरैले पुस्तकको ओज र सलल्लता सम्बन्धी उद्गार व्यक्त गर्नुभयो, भेटघाटमा पनि “तपाईँ लेखक रामविन्दु श्रेष्ठ हो ?” भनी प्रश्न गर्नुभयो । यसलाई म उपलब्धि ठान्दछु । यही नै मेरा निम्ति काफी छ, र जित्नु वा नजित्नुले आगामी साहित्यिक यात्रामा तगारो हाल्नेछैन । समुन्द्रमा फाल हालियो अब पौडिरहनु पर्छ, फेरि फेरि कहिले वारी कहिले पारी ।

जहाँसम्म प्रतिस्पर्धीको सवाल छः वास्तवमा मेरो प्रतिस्पर्धी म आफैँ हुँ । मैले आफैँभित्र सन्निहित सम्भावनाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । अहिलेको यो प्रतिस्पर्धा त ‘साहित्यपोस्ट’ले निम्त्याएको हो । यो मैदानमा तान्न योग्य मानेकोमा म मूल्याङ्कन टिमप्रति आभार व्यक्त गर्दछु । अन्य प्रतिस्पर्धी बलिया कृतिहरू यो रमाइलो उत्सवका अवयवहरू हुन्, सबैप्रति साधुवाद ।

तपाईँ लामो ढिलो गरी साहित्य लेखनमा आउनुभएको छ । ‘मेरा सोभियत सम्झनाहरू’ रहरले लेखाएको हो या अरू केही ?

साहित्य पठन, लेखन र प्रकाशनको रहर स्कुले जिन्दगीदेखि नै थियो । थुप्रै समसामयिक, साप्ताहिक र दैनिक पत्रिकाहरूमा रचना छपाउने गर्थेँ । आफैँ हस्तलिखितदेखि मुद्रित प्रकाशनसम्मको नेतृत्व गरेँ । सोभियत सङ्घ अध्ययनपछि यो क्रममा एक प्रकारले भङ्गता आयो । प्रोफेसनल जिन्दगीमा यति अभ्यस्त भइएछ कि लेखन केवल विषयगत अनुसन्धानात्मक क्षेत्रतर्फ मात्र केन्द्रित रह्यो । हो, तपाईँले भने झैँ मेरो मौलिक पुस्तक लेखनमा चैँ लामो ढिलो भयो । यद्यपि आजको लेखनी त्यतिबेला अध्ययन गर्दाको ब्याज पनि हो । त्यसैको खुराकले आजसम्म धानेको छ ।

बिसौँ शताब्दीको उत्तरार्द्धमा विश्वव्यापी चलेको परिवर्तनको बैगुनी हुरीले ममा यौटा जुर्मुराहत पैदा गरिदियो । ‘मेरा सोभियत सम्झनाहरू’ त्यसको उपज हो । यो रहरले लेखेको भन्दा पनि जिन्दगीको यौटा दायित्व भएर आइदियो । सो निभाउन बल कर त थिएन, तर शिरोपर गरेँ । यै दायित्वको जुर्मुराहतले मत्थर भैसकेको साहित्यिक रहरलाई बरु बौराएको हो ।

‘मेरा सोभियत सम्झनाहरू’ नै चाहिँ किन लेख्नुभयो ? लेखकीय अनुभूतिसहित छोटोमा बताइदिनुहोस् न ।

‘मेरा सोभियत सम्झनाहरू’को जन्म कुण्डलीबारे केही कुरा माथि नै पोखेँ । म पश्चिम नेपालको यौटा कुनामा जन्मेहुर्केको मान्छे, हजारौँ मिल टाढा रुस पुगेँ । त्यतिखेर सोभियत सरकारले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशका सयौँ देशका जेहनदार विद्यार्थीहरूलाई उच्चशिक्षा अध्ययनार्थ निःशुल्क छात्रवृत्ति दिनेगथ्र्यो । म छ वर्ष अध्ययन सकेर फर्केलगत्तै त्यो मुलुक ढल्यो । मैले डायरीमा लेखेका निम्नांशहरू यस कृति अङ्कुरणका प्रेरक तत्त्वहरू थिएः

…. विश्वमै भाइचारावादको अनुपम नमुना बनेर खडा भएको पन्ध्रवटा गणराज्यहरूको सङ्घ–सोभियत सङ्घ फुट्यो । …..त्यो मुलुक जहाँ हामीले उच्चशिक्षा प्राप्त गर्यौं; त्यो सोभियत राष्ट्र, जसलार्ई राष्ट्रिय गानमा ‘स्वतन्त्र राष्ट्रहरूको अटुट अविनाशी सङ्घ’ भनेर गाइन्थ्यो, त्यो विशाल देश जसले पृथ्वीको छ भागको एक भाग ओगट्थ्यो, अब विश्वको मानचित्रमा रहेन । नयाँ सोभियत मान्छे र सुसंस्कृत विश्व सभ्यताको निर्माण गर्ने उद्देश्यले स्थापित सोभियतहरूको देश केबल इतिहासमा सीमित भयो ।.. अस्सीपछिका पिँढीहरूमा त त्यो स्मरणमा पनि हुने छैन ।…

……..त्यो कम्सामोलहरूले साइबेरियाको बैकालदेखि आमूरमम्मको रेलमार्ग निर्माणमा भाग लिएको; ती निकोलाई आस्त्रोभ्स्कीहरूले मानव जीवनको मूल्य मान्यताको लागि सङ्घर्षको भट्टीमा होमिएर अग्निदीक्षा प्राप्त गरेको; गोर्की, शोलोखोभ, मायाकोभ्स्कीहरूले सामाजिक यथार्थवादको नयाँ साहित्य रचेको; मातृभूमिको रक्षार्थ साढे दुई करोड वीर–वीरङ्गनाहरूले त्याग र बलिदानको अनुपम नमुना प्रस्तुत गरेर महान् देशभक्ति युद्धमा जीवन अर्पेको; युद्धबाट क्षत विक्षत मुलुकलार्ई फेरि शून्यबाट उठाएर अन्तरिक्षको उचाइमा पुर्याएको…….त्यो देश अब वर्तमानबाट धेरै टाढा पुगिसक्यो ।…..

… र त्यो विखण्डन यति मै सीमित रहेन । सहर–सहरबाट इतिहासका सालिकहरू ढालिए । फरक मतको कदर गर्नुपर्छ भन्ने प्रजातन्त्रोत्तर पूर्वी युरोपदेखि पूर्व सोभियत गणराज्य देशहरूमा फैलिएको यो मास हिस्टेरियाका खबर देख्दा मलाई अप्रिय लाग्थे । जब यो लहरले सबैले मानिआएको दोस्रो विश्वयुद्धका इतिहासका प्रतीकहरूसम्म हस्तक्षेप थाले; तीसौँ वर्ष इतिहासका यी तीता र विषाक्त तथ्यहरू टुलुटुलु हेर्दै बुढो हुन लागेको यो लेखकको मन कति हुँडलियो, निद्रा कति खलबलियो, अवसादको रोगी झैँ नोस्टाल्जियाले सतायो र कर्तव्यबोध भयो अब त केही लेख्नै पर्छ । त्यसले मेरो सोभियत प्रेमलाई झक्झकायो र यो लेखनीलाई प्रेरित गर्यो । र मैले धुलो लागेका ती डायरीहरू टकटकाएँ र सृजना गरेँ “मेरा सोभियत सम्झना ”का सायरीहरू ।

विलुप्त प्रायः भैसकेको त्यो एकादेशबारे धेरै मिथकहरू कहिन्थे, भ्रमहरू थिए । यो मानव सभ्यताकै प्रथम भिन्न इतिहास र कालखण्डमाथि राजनीति गर्नुहुन्न, इतिहासलाई इतिहास रहन दिनुपर्छ, त्यसको सत्यतथ्यको अब पुस्तान्तरण गरिनुपर्छ भन्ने कर्तव्यबोधले गर्दा पनि मैले कलम समाएँ ।
त्यो मुलुक जहाँ हामीले छ वर्ष अध्ययन गर्यौं, त्यसप्रति यो सानो कृतज्ञता हो । सोभियत सङ्घ त्यो राष्ट्र हो जसको दार्शनिक भूमिमा हजारौँ नेपाली इन्जिनियर, डाक्टर, वैज्ञानिक, राजनीतिज्ञहरू जन्मिएका थिए र १९६० को दशकदेखि राष्ट्र निर्माणमा जुटेका थिए । यो तिनै शिक्षक, शिक्षिका, प्रोफेसरहरूप्रतिको गुरुभेटी हो ।

तपाईँ पेसाले इन्जिनियर हुनुहुन्छ । लेखनको इन्जिनियरिङ कस्तो हुँदो रहेछ ?

यसबारे मैले पुस्तकमा ठाउँ–ठाउँमा उल्लेख पनि गरेको छु । समाजमा इन्जिनियर हुनुलाई प्रतिष्ठाको रूपमा गनिए पनि मलाई सुरुदेखि इञ्जिनियरिङ् विषय भौतिक र निरस लाग्थ्यो । विभिन्न पृष्ठमा मैले “… म साहित्य तर्फ रुचि राख्ने भएर होला इञ्जिनियरिङ् विषयका किताब र प्रोजेक्टहरू झर्कालाग्दो प्रतीत हुन्थे ।… अहिले आएर कल्पना गर्छु बरु इतिहास, साहित्य वा पत्रकारिता जस्ता विषयहरू पढेको भए बल्ल सोभियत जीवनको वास्तविक अनुभूति हुन्थ्यो होला ।…” भनेर लेखेको रहेछु ।

यो ३२ वर्ष इञ्जिनियरिङ् पेसागत काम, कर्तव्य, ड्युटी र अनित्य वृत्तिविकासमा केन्द्रित रहँदा समय घड्केको पत्तै भएनछ । त्यो एक प्रकारले जिन्दगीको गाडी चलाउने चक्रभित्र मात्र घुमिरह्यो । तर यो लेखनको इञ्जिनियरिङ् स्वतन्त्र छ, स्वच्छन्द भएर उड्न र घुम्न पाइन्छ । पुस्तक प्रकाशनपछि थुप्रै नयाँ साथीसँगी एवं व्यक्तित्वहरूसँग चिनापर्ची भयो, लामो ढिलोपछिको यो रमाइलो कमाइ हो । जिन्दगीको गोरेटोमा यही यायावरीको क्रममा तपाईँ र हामी भेटियौँ नि, हैन र !

तपाईँले ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

नढाँटी भन्नुपर्दा पुरस्कार रकमलाई साहित्यिक फाँटमै सिँचिँदा फलदायी एवं अर्थपूर्ण होला जस्तो लाग्छ । त्यो पनि एकल प्रयासबाट हैन, साहित्यपोस्ट जस्तै संस्थाहरूसँगको हातेमालोबाट मात्र प्रभावकारी होला । म जस्तै थुप्रै नवोदित ‘बुढो’हरूलाई ब्युँताउनु पर्छ । हाम्रो साहित्याकाशलाई भूमण्डलभरि फैलाउनु पर्छ ।

अन्त्यमा, तपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न ।

खासै तोकेर तय गरिएका साहित्यिक योजनाहरू त छैनन्, तथापि केही चैँ पाइपलाइनमा छन् ।

‘मेरा सोभियत सम्झनाहरू’ म जस्तै त्यो मुलुकमा अध्ययन गर्ने लाखौँ विद्यार्थीहरूको अनुपम सुनौला दिनहरूको साझा सम्झना हो । आज सोभियत सङ्घ छैन, बाँकी विश्वबाट पृथक् राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवन भएको त्यो युग अब त्यहाँ अध्ययन गरेका र त्यो युग भोगेकाहरूको सम्झनामा मात्र रह्यो । यसर्थ पनि यो पुस्तकको महत्त्व बढेको छ । मलाई रुस, अरब जगत्, युरोप, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी साथीहरूले यसको रुसी संस्करण चाहियो भन्ने माग गरेका छन् । हामी त्यहाँ अध्ययन गरेकाहरूको मातृभाषा जुनै भए पनि सबैलाई रुसी भाषाले जोड्छ । थोरै भए पनि नियात्रा र संस्मरणात्मक शैलीमा लेखिएको यो ऐतिहासिक दस्ताबेज हो झैँ लाग्छ । सुरुमा यसैमा लाग्नु छ, त्यसपछि बग्दै गरौँला ।