‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा निबन्धकार राजेन्द्र कार्कीको पहिलो कृति व्यङ्ग्य–सङ्ग्रह ‘खाइराइड’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।
विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले कार्कीका निबन्धहरु रसिला बनेका छन् । उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यङ्ग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।
कविता लेखनमा समेत सक्रिय कार्की हाल क्यानडालाई कर्मथलो बनाई लेखन कर्ममा समेत सक्रिय छन् ।
शीर्ष व्यङ्ग्यसहित ३१ शीर्षकका निबन्धहरु सङ्ग्रहित ‘खाइराइड’लाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’ र डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ रहेका छन् ।
यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त १९ गैरआख्यान कृतिहरूबाट ८ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच गैरआख्यान कृतिको छोटो सूची तिनै १० कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच गैरआख्यान विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छ ।
मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नवोदित लेखकले कम चासो राखेको गैरआख्यान साहित्यको प्रतिनिधित्व गरेको बताए । उनले भने, “८ गैरआख्यान विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली गैरआख्यान साहित्यको भविष्यतर्फ संकेत गरेका छन् । नवोदित लेखकहरूको उल्लेखनीय चासो गैरआख्यानकारमा समेत दर्बिलो देखिनु सहरानीय कुरो हो । शैली, अध्ययन, विचार निर्माण, अनुभव, चिन्तनको आयतन र दृष्टिकोण तथा साधनालाई गैरआख्यान कृतिहरूले प्रतिनिधित्व गरेका छन् ।”
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’
‘साहित्यपोस्ट उत्तम काव्य र आख्यान पुरस्कार’को छोटो सूची यसअघि नै जारी गरिएको छ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।