डेब्यु गैरआख्यान कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’का लागि उत्कृष्ट ५ गैरआख्यान विधाका कृतिहरूको सूचीमा ई. राम विन्दु श्रेष्ठको संस्मरण ‘मेरा सोभियत सम्झनाहरु’ पर्न सफल भएको छ ।
ई. राम विन्दु श्रेष्ठको पहिलो पुस्तक हो ‘मेरा सोभियत सम्झनाहरु’ । पूर्व सोभियत सङ्घका अर्मेनिया, रसिया, बेलारुस, अजरबैजान, क्रुकेनका साथै युरोपेली मुलुकहरुको भ्रमण गरेका श्रेष्ठले पूर्व सोभियत मुलुकहरु घुम्दाका संस्मरणहरुले कृतिमा समेटेका छन् । महत्त्वपूर्ण तिथिमितिसहित तयार भएको संस्मरणहरुमा श्रेष्ठले अध्ययनकालको जीवन चर्चा र अनुभूतिहरुसमेत पुस्तकमा समेटेका छन् ।
२ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई नेपाल–रुस साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।
छानिएका अन्य डेब्यु गैरआख्यान कृतिहरूमा डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’, लालबहादुर कार्कीको संस्मरण ‘कर्मरेखा’, नीलकमलको ‘सुरसङ्गीतका केही साधक’ र डा. शिवराज भट्टराईको ‘राँको बालेर यात्रामा’ रहेका छन् ।
यो सूची पहिलोपटक पुस्तक लेखी नेपाली साहित्यमा औपचारिक पाइला चालेका नयाँ लेखकका २०७९ सालमा प्रकाशन भएका ९ गैरआख्यानका पुस्तकहरूबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।
यो पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यावसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को सूचीमा ‘अँध्यारो बस्तीकी नायिका’
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’को सूचीमा ‘फूलबारीको जुके गणतन्त्र’
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को सूचीमा ‘सुरसङ्गीतका केही साधक’
२८ जेष्ठ २०८३, बिहीबार 






