डेब्यु गैरआख्यान विधाको कृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट ८ गैरआख्यान कृतिहरूको सूचीमा आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’ पर्न सफल भएको छ ।

नबिल बैङ्कमा अधिकृत रहेकी पछिल्लो पुस्ताकी नियात्राकार आस्था भट्टराईको पहिलो कृति हो नियात्रासङ्ग्रह ‘फूलबारीको जुके गणतन्त्र’ । पुस्तकको शीर्षकबाटै थाहा लाग्छ, पुस्तकमा हाम्रो देशमा राजनीतिको कुरुप अवस्थालाई नियात्राका माध्यमबाट चित्रण गर्न खोजिएको छ ।

यो भट्टराईको सरल भाषामा लेखिएको यात्राकथा हो । उनको भाषामा पकड, सिर्जनशीलता, कल्पना र प्रस्तुतीकरणले नियात्रालाई दर्बिलो बनाएको छ । ‘लुम्लेको हावाले’ शीर्षकबाट सुरु भएको पुस्तक ‘जङ्गलबीचको मङ्गल’मा पुगेर टुङ्गिएको छ ।

१ सय ४० पृष्ठमा फैलिएको नियात्रालाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

छानिएका डेब्यु गैरआख्यान कृतिहरूमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ तथा कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त १९ गैरआख्यानका कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।