भारतीय नेपाली साहित्यमा कथालेखनको आधुनिकता रूपनारायण सिंहबाट सुरु भएपश्चात् दोषी चस्मा’ कथासङ्ग्रहको प्रकाशनले नयाँ तरङ्ग ल्यायो नेपाली साहित्यमा । त्यसपछि इन्द्र सुन्दास, शिवकुमार राई, लैनसिंह बाङ्देल सशक्त रूपमा आए पनि कथासङ्ग्रह भने खासै प्रकाशन हुन नसकेको तथ्य फेला परेको छ । भारत स्वतन्त्र हुनुभन्दा अघिसम्म आधा दर्जन कथासङ्ग्रह प्रकाशित नहुनुले पनि यो काललाई सङ्घर्ष कालकै संज्ञा दिँदा अनुपयुक्त नहोला तर कथालेखनमा भने लेखकहरू  नआएको चाहिँ होइनन् । सन् पचासको दशकदेखि नेपाली कथालेखनमा नयाँ हस्ताक्षरहरूको प्रवेश हुन्छ । यिनीहरूमा  लक्खीदेवी सुन्दास, राधिका राया, अच्छा राई रसिक,  देवकुमारी  सिंह,  परशुराम रोका, तेजबहादुर  सिंह, अरूणचन्द्र प्रधान, बलबहादुर क्षेत्री, लाह छिरिङ, एम.एम. गुरुङ, बी.कुमार सुब्बा, अमरबहादुर दहाल, वीरविक्रम गुरुङ, किशोरचन्द्र सोताङ, डी.आर. बराल, तुलसी, तिलक राई, एल.कान्त, हीरामाया थापा, कृष्णा गुरुङ, जगपाल सुब्बा, एम. सुब्बा, खड्गबहादुर सिंह, दीपनारायण प्रधान, उमादेवी योञ्जन, बी.बी. कुमाई, के.प्रसाद गुरुङ आदिहरू प्रमुख छन् ।

माथि देखा परेका साहित्यकारहरूलाई मलजल गर्न तीन पत्रिकाले प्रमुख भूमिका खेले- भारती ( रूपनारायण सिंह,पारसमणि प्रधान – सन् १९४९-५८ ), हाम्रो कथा ( सम्पादक- कमल कुमार शर्मा, रामचन्द्र तामाङ, नन्दध्वज राई- सन् १९४९-५१), प्रभात( सम्पादक- लैनसिंह बाङ्देल-सन् १९५०-५१) । हाम्रो कथा’-को महत्त्व र महत्ताको विषयमा दयाराम श्रेष्ठ भारतीय नेपाली कथा’-को भूमिकामा लेख्छन्,” यस पत्रिकाले त्यहाँको कथाको विशाल क्षितिज उघारिदियो जसभित्र प्रवेश गर्ने होडबाजीले गर्दा प्रशस्त मात्रामा कथाकारहरू जन्मिए । त्यहाँका प्रतिष्ठित कथाकारहरूका कथाहरू त्यसमा छापिए । दार्जीलिङको कथा-साहित्यमा यस पत्रिकाको देन कतिसम्म धेरै छ भने कथाको पठनशीलतामा वृद्धि गर्न यसले प्रकाशित कथाहरूको जनमत लिनेसमेत कार्यक्रमको सञ्चालन भयो ।” त्यस पत्रिकाको वर्ष १; किरण १२, २००७ श्रावणको अङ्कको सम्पादकीयमा भनिएको छ–”साधारण जनताको चाख विचान र हाम्रा लेखकलेखिकाहरूलाई समेत जनता पढ्ने मौका दिनलाई र उनीहरूको उत्साह डबली तेबली बढाउने ताको राखेर हाम्रो कथाको १२ किरणसम्ममा प्रकाश भएका कथाहरूमा जनमत लिने प्रबन्ध गरेका छौँ । जे होस् , वि. सं. २००६ दार्जीलिङको कथा-साहित्यको इतिहासमा धेरै महत्त्वपूर्ण छ ।”

एम.एम. गुरुङ

यही कालखण्डका एक मुख्य कथाकार थिए एम. एम. गुरुड अर्थात् मार्टिन माइकल गुरुङ । भारत स्वतन्त्र हुँदा उनी केवल २१ वर्षका थिए- लैनसिंह बाङ्देल, इन्द्र सुन्दास र शिवकुमार राई भन्दा छ वर्ष जति कान्छो तर गुरुङको लेखन यात्रा भने यो तीनै पत्रिका प्रकाशनमा आउनुभन्दा अगावै काशी बहादुर श्रेष्ठको सम्पादनमा वनारसबाट प्रकाशित हुने  उदय’-को  वर्ष-८ किरण-५/७, मार्च-मई १९४५ मा नेता शीर्षकको निबन्धबाट सुरु भएको थियो । त्यसबखत उनी दसौँ श्रेणीका विद्यार्थी  थिए र यस लेखमा गुरुङले नेता यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्ने के लेखेका थिए । त्यही समयतिरै लैनसिंह बाङ्देलद्वारा सम्पादित हस्तलिखित पत्रिका माता’-मा पनि उनका कैयन् कथाहरू छापिएको छ । त्यसबखतका कथाहरूमा दोस्रो विश्वयुद्धको प्रभाव देख्न सकिन्छ । यस्को ज्ल्वन्त उदाहरण सन् १९४९-मा हाम्रो कथा’-मा प्रकासित लाहुरे कथा हो ।

पढाइमा निकै अब्बल उनी १९४०-मा सन्त रोबर्टस विद्यालयमा आए त्यसताक आफ्ना सहपाठीहरू स्व. लक्ष्मीप्रसाद छेत्री अनि स्व. कमलकुमार शर्माबाट गुरुङले साहित्यप्रति समर्पण हुने प्रशस्त प्रेरणा पाए । पछि सन्त जोसेफ कलेजबाट आई.ए र कलकत्ताबटा स्नातक गरे उनले । लेखक दिलीपकुमार परियार अनुसार शिक्षककालीन अवधिमा एम.एम. गुरुङले पढ़ाएका छात्रहरूमा वरिष्ठ साहित्यस्रष्टा डा. इन्द्रबहादुर राई, सुप्रसिद्ध कवि स्व. अगमसिंह गिरी, प्रतिष्ठित समालोचक प्रा. राजनारायण प्रधान, वरिष्ठ कवि वीरेन्द्र सुब्बा, नीलम प्रधान, प्रा. एन.बी. राई, खिदमत सुब्बा, कथाकार प्रेम थापा आदि थिए ।

निबन्धबाट साहित्यिक यात्रा सुरु गरे पनि उनी धेरै समयसम्म सबल कथाकारका रूपमा परिचित भए । उनका कथामा नैराश्य, जीवनबोध र दार्शनिक विचारधारा पाउँछौँ । सन्  १९७२-मा  उनको उत्कृष्ट कथा यो लास अनि यहाँ मेरा इच्छाहरूदियालो’-मा प्रकाशित हुन्छ जसले दियालो स्वर्णपदक प्राप्त गर्छ । यो कथाको प्रवृत्ति तथा त्यो कथाबारेमा समालोचक प्रेम प्रधान लेख्छन्,” एम. एम. गुरुङको कथा यो लास अनि यहाँ मेरा इच्छाहरू कथाकारले चितामाथि राखिएको एउटी सुन्दरी स्त्रीको वर्णन गरेका छन् । मृत पत्नीप्रति शोकित भएर उसका पति डाँको छोडेर रुन लाग्दा उसको मन पनि पग्लिन्छ र उसले शान्त्वना दिन्छ तर उसको रुवाइमा शङ्का लाग्छ किनकि उसले पोहोर साल नै अर्की स्वास्नी ल्याएको हुन्छ । लास जति जल्दै जान्छ कथाकारले त्यो स्त्रीलाई हेर्दै जान्छ र आफ्नो अतीत सम्झन्छ । त्यो स्वास्नीमान्छे एक समयमा उसको प्रेमिका मात्र होइन तर स्वास्नी नै भइसकेको सम्झिन्छ उसले । लोभिएको थियो उसको त्यो सुन्दर एवं आकर्षक शरीरप्रति । उसको यौवनको उन्मादमा ऊसँग सधैँ बसेको र ऊसँग बिहे गर्ने इच्छा भएको उसले सम्झन्छ तर हेर्दा हेर्दै त्यो लास जलिसकेको छ अनि त्यो शून्यतामा उसले हिजो, आज र भोलिका धेरै इच्छाहरू केलाइरहन्छ तर उसले केवल शून्यतामात्र देख्छ अनि जलेको लासको धुवाँ आकाशतिर फिँजिएर उड्दा आफूलाई शून्यतामा हराउँछ । कथाकारले जीवनको एउटा वास्तविक चित्रण कथामा कलात्मक रूपमा प्रस्तुत गरेर कथालाई जीवन्त बनाएका छन् । प्रेम कथामा आधारित सो कथा रोमान्टिक भए तापनि कथाकारले त्यसमा मानवीय मूल्यको बोध गराएका छन् । लोक संस्कृति एवं लोक कथामा विशेष हात बसेका श्री गुरुङको यस कथामा कता कता शून्यता र जीवनको मूल्यको खोज देख्न सकिन्छ । यस कथाले जीवनका क्षणभङ्गुरता र नश्वरताको सन्देश दिन्छ । दार्शनिक मुद्रामा लेखिएको यस कथाले जीवनलाई राम्ररी हेरेको छ । समाजको दुर्दशा, जातीय संस्कृति, यौन कुण्ठा, भावप्रवणता र दर्शनमा आधारित यिनका प्रायः कथाहरूले मानवमूल्यको बोध पनि गराउँछ ।”

शरद् प्रधान

उनका धेरै जसो कथाहरू भारती’-मा प्रकाशित भएको पाउँछौँ । भारती’-मा छापिएकोमा फागुन फेरि आयो’ ( भारती ३ ।११), ‘गाइने’ ( भारती ४ ।३), झरीको रात’ ( भारती ४ ।४), माइती पूजा’ ( भारती ४ ।५), हिउँ पऱ्यो दार्जीलिङमा’ ( भारती ४ ।९), जीवन-यात्रामा, मेरो यात्रा,चेली अदि प्रमुख छन् । अरू कथाहरू विभित्र पत्रिकामा छाएको पाउँछौँ । तीमध्ये सोसाइटी गर्ल’ (  दियालो),मेरो रगत ! मेरो मुटु !!’ (खोजी), एक खोला : दुइ भङ्गालो’( रत्नश्री), यो लास अनि यहाँ मेरा इच्छाहरू’ ( दियालो), मेरा रातहरूका अन्तिम रात’ ( साहित्य-सङ्केत),एउटा चिहानको गीत’ (दियालो) आदि प्रमुख हुन ।

टिष्टा बग्छ सधैँ जस्तो’ एम. एम. गुरुङको अत्यन्त रोचक र मार्मिक कथा हो । यस कथाको शल्यक्रिया गरेका छन् प्रा. नविन पौड्यालले । एम. एम. गुरुङको टिष्टा बग्छ सधैँ जस्तो’ कथाको समीक्षा लेखमा उनी लेख्छन्,”कथा विशुद्ध ग्रामीण परिवेशमा रहेको छ । भाले बासेको, धरतीको माटाको मीठोगन्ध, टिष्टा नदी र यसको छेउछाउको परिदृश्य देखिन्छ । हामै गाउँ-घरको सामाजिक, आर्थिक, शारीरिक क्रियाकलाप यसमा देखाइएको छ । आफ्नो बारीमा विभिन्न फसल उपार्जन गरी त्यसलाई थुन्से वा डोकोमा बोकेर बजार लगी, बेचेर त्यसबाट पाइएको रुपैयाँले घरेलु आवश्यक वस्तुहरू किनी ल्याउने प्रथा देखाइएको छ । कथाको सबैभन्दा सबल पक्ष यसमा प्रयुक्त ठेट नेपाली भाषा हो । यसमा विशेषगरी दार्जीलिङ भेकतिर बोलिने भाषिक स्वरूप पाइन्छ । यसमा प्रयुक्त संवादमा गाउँबस्तीको साधारण अल्पशिक्षित मानिसले बोल्ने भाषा छ । जक्खु, साइदुवा, भाउन्न, अक्क न बक्क, कुलुल, क्याक-क्याक, तरङ्ग, भ्वाङपाले सलल, जङ, इत्यादि ठेट शब्दावली पाइन्छ । अङ्ग्रेजी शब्द ‘टाइम’ नेपाली जनजिब्रामा आउँदा टेम हुन्छ । सरल, स्निग्ध भाषाप्रयोगले गर्दा कथा रोचक बन्न पुगेको छ । जो होस्, यस कथामार्फत मात्र पनि ग्रामीण परिवेश सृजना गरी विशुद्ध सामाजिक कथाकार बन्न सफल भएका छन् ।” यो कथाको शीर्षक रमेश विकलको अविरल बग्छ इन्द्रावती’ मिल्न जान्छ तर कथावस्तु भने बेग्लै छ ।  उनको प्रकाशित कथासङ्ग्रहहरूमा घर संसार’ (कथासङ्ग्रह , सन् १९५८) र टिष्टा बग्छ सधैँ जस्तो’ (कथासङ्ग्रह, सन् १९८१) हुन ।

सन् सत्तरीको दशकमा एम.एम. गुरुङको नेपाली साहित्यमा अलग्गै परिचय बनाए- लोकवार्ताकार, लोक साहित्य, संस्कृति र सङ्गीतको अन्वेषकका रूपमा । सन् १९८१ सालमा एउटा पुस्तक निकै चर्चामा आयो बिर्सिएको संस्कृति’ । त्यसबखत म केवल दश कक्षामा थिएँ तर पुस्तक निकै चर्चित भएकाले मैले पनि किनेँ । सोही पुस्तकले त्यही वर्ष भानु पुरस्कार पायो अनि अर्को वर्ष भारतीय साहित्य एकेडेमी पुरस्कार । उनी जन्मजात क्रिस्चियन थिए तर उनको धर्मले नेपाली संस्कृतिको अध्ययन र अन्वेषणलाई छेकेन । बिर्सिएको संस्कृति’ नामक पुस्तकमा एउटा लेख छ बिर्सिएको संस्कृति’ जुन पहिले दियालो’ : हाँगो-४७ : अक्टुबर १९७२-मा प्रकाशित भएको थियो । उक्त लेखमा उनी लेख्छन्,” साउने पानी छल्न माइत गएकी चेली बुहारी फर्किसकेका हुन्छन् । कोदो र धानका बोटहरू धरतीको छाती सिँगारी लहलह हुन्छन् । भदौ लाग्छ र एकान्त शून्य गाउँहरू सङ्गीतमय बन्दछन् । सहनाईको सुरिलो स्वरले निश्चल एकलासे चुच्चे डाँडाहरूसमेतलाई जीवन प्रदान गर्दछ । कता-कता शान्तमय साँझमा मादल गम्केको सुनिन्छ– “ताङ् धिङ् ताङ् ताङ् धिङ्ताङ् ।” यो मधुर गमकले कता-कता हाम्रो मुटुभित्र अतीतको सम्झना जगाउँछ । ती अप्ठ्यारा पहाडी गोरेटाहरू, ती बालुवा कणले भरिएका खोलाका दुर्गम किनाराहरू, ती भविष्यका सपना हृदयभित्र सँगाली आफ्ना घरबार छोडी हिँडेका हाम्रा पुर्खाहरू । यसरी संस्कृतिलाई मुटुभित्र बोकेर ल्याए ।

प्रचलित लोक नृत्य र गीतहरूमध्ये मारुनी नाच र गीत नै सबैको प्यारो छ । लागेदेखि नै गीतहरू गाइन्छन् तर मारुनी नाचचाहिँ लक्ष्मी पूजाको साँझदेखि सुरु भएर एकादशीसम्म मात्र लगाइन्छ । यो नाच खालि गायन-वादन र नृत्यभित्र मात्र सीमित छैन । नेपाली नाटकको उत्पत्ति र विकासबारे खोजी गर्दा यसको परम्परालाई फैलाउनु अति आवश्यक छ । यति मात्र होइन तर यसको परम्परा फैलाउन प्राचीन हिन्दू नृत्य-नाटकको अध्ययन पनि आवश्य छ ।”

बिर्सिएको संस्कृतिनेपाली लोक-साहित्यको मानक पुस्तकका रूपमा चार दशकदेखि वर्चस्व कायमै छ । यस कृतिले नेपाली लोक-साहित्यको विभिन्न पाटालाई केलाएको छ ।  यो पुस्तकको विषय सूचीहरू यस प्रकारका छन् :

१. नेपाली जनसाहित्य [एक],

२. नेपाली जनसाहित्य [दुइ],

३. नेपाली जनसाहित्य [तीन],

४. नेपाली जनसाहित्य [चार],

५. नेपाली जनसाहित्य [पाँच],

६. नेपाली जनसाहित्य,

७. बिसिएको संस्कृति,

८. नेपाली साहित्यको गोरेटो,

९. नेपाली लोकगीत र नाच,

१०. शेर्पा लोकगीत र नाच,

११. लोक सङ्गीत-एउटा अध्ययन,

१२. नेपाली लोक साहित्य र भानुभक्त,

१३. भानुलाई पगरी अरूलाई धोती न टोपी ।

उनले भानुलाई पगरी अरूलाई धोती न टोपी लेखमा भानुभक्तलाई महत्त्व दिएर उनीभन्दा पहिलेका कविहरूलाई अपहेलित गरेको गुनासो गरेको छन् । यस्तो महत्त्वपूर्ण कृतिको भूमिकामा प्रसिद्ध कवि मोहन ठकुरी लेख्छन्, “आज हराएर जान लागेको हाम्रो रोचक नेपाली जनसाहित्य र धनी नेपाली संस्कृति गाउँघरका पराले छाप्राहरूमा बाँचेको छ । विगत तीन दशकदेखि यस्तै गाउँघरका वातावरणमा आफूलाई चुर्लुम्म डुबाएर, गाउँघरकै जनजीवनको अभिव्यक्ति बटुलेर जनसाहित्यको भण्डार भरिरहनुभएको हाम्रा एम. एम. गुरुङ्गज्यूको खोजपूर्ण लेखहरूको सङ्कलन बिसिएको संस्कृति आज प्रकाशित छ । जनलेखनको सन्दर्भमा भारतीय नेपाली साहित्यको इतिहासमा यस्तो बेजोड कृति प्रकाशन-यो प्रथमपल्ट हो-अत्यन्त महत्त्वपूर्ण पनि । जातिको अस्तित्व नै संस्कृतिमा आधारित बुझेर जन साहित्यमा आकृष्ट हुनुभएको एम. एम. गुरुङ्गले आफ्नो जीवनको यौवनपूर्ण स्वर्णकाल जनसाहित्यकै सामग्रीका खोजमा होम्नुभएको छ–यो एउटा ठूलो तपस्या नै मान्नुपर्छ हामीले, एउटा ठूलो समर्पण । एउटा दीर्घकालको प्रसवबाट सृजित यो कृति बाघस्वरूप छोराजस्तो आज उज्यालोमा हाँक दिन हामी सबैसमक्ष आइपुगेको छ ।”

अनुपा राईले एम. एम. गुरुङमाथि केन्द्रित रहेर कृति र वृत्तिमा एम एम गुरुङ’ लेखेकी छिन् जसमा  गुरुङमाथि लेखिएका र उनले सिर्जना गरेका लेखहरूलाई पनि एकैसाथ समावेश गरिएको छ । एम. फिल. गर्दा शोध गरेको कार्यलाई लेखिकाले पुस्तकनै निकाल्ने जमर्को गरिन् अनि प्रकाशित पनि गरिन् । एम. एम. गुरुङलाई सम्पूर्ण रूपमा सिंहावलोकन गरेर लेखेको यो पुस्तक गुरुङको व्यक्तित्व र कृतित्वलाई बुझ्न निकै सहायक बन्ने विश्वास गरेको छु । यस पुस्तकमा पारसमणि प्रधानले सम्पादन गर्नुभएको नेपाली लोक-गीत’ पुस्तकको भूमिका पनि समाहित गरेको छ । अनुपा राई लेख्छिन्, ” एम. एम. गुरुडकृत बिर्सिएको संस्कृति’ पुस्तकभित्र रहेका नेपाली जनसाहित्य १ देखि ५ सम्मका सबै रचनाहरू सन् १९५३ मै प्रकाशित भइसकेका हुन् । तिनताक हर्कमान राई, कवीन्द्रमान सिंह अनि एम. एम. गुरुङको संयुक्त लेखनमा नेपाली लोक गीत शीर्षकको पुस्तक डा. पारसमणि प्रधानको सम्पादनमा प्रकाशित भएको थियो । उक्त पुस्तकमा उपरोक्त लेखहरू संलग्न थिए जो यस पुस्तकमा अघि नै सलग्न गरिसकेका हुनाले यहाँ डा. पारसमणि प्रधानद्वारा लिखित भूमिकामात्र शोधार्थीहरूका निम्ति महत्त्वपूर्ण हुने ठानेर संलग्न गरिएको छ । ”

उक्त पुस्तकको भूमिकामा पारसमणि प्रधान लेख्छन्, “साहित्य जातिको प्राण हो भने जनसाहित्य जातिको मुटु हो । यसको जगरा गर्ने काम जातिको हो । लोकगीत जनसाहित्यको मुख्य अङ्ग हो । यसको अर्को अङ्ग हो लोककथा वा दन्त्यकथा । लोकगीतमा जातिको भित्री भावना खरानीले छोपिराखेको फिलिङ्गामा आगो लुकेझैँ लुकेको हुन्छ । लोकगीतमा जातिका पुर्खाहरूदेखि चलिआएका रीतिरिवाज, आचारव्यवहार, आँटभरोसा इत्यादि लुकिरहेका हुन्छन् । प्रत्येक जातिको लोकगीतले यही काम गर्छ । कुनै जातिको पनि भविष्य सुधार धेर थोर सो जातिको लोकगीतमै निर्भर गर्छ । वास्तवमा लोकगीत ता जातिका सुधारको बिउ हो ।”  अहिलेभन्दा ७० वर्षअघि पारसमणि प्रधान, एम.एम. गुरुङ आदिमा जातिको अमूर्त सम्पदाको संरक्षण गर्ने पर्ने चेतनालाई नयाँ पुस्ताले अगाडि लनु पर्ने टड्कालो आवश्यकता अनुभूत गरेको छु ।

एम.एम. गुरुङको लोकसंस्कृतिप्रतिको झुकाउ उनको पहिलो बिहेपछि सन् पचासको दशकमा पत्नीबाट प्रेरित भएर भएको हो भनिए तापनि उनले सानैदेखि नेपाली लोकसंस्कृतितिर देखाएको झुकावले यो कुरा पूर्ण सत्य नभएको प्रतित हुन्छ । मूल थलो नेपालबाट अल्गिए पनि भारतीय नेपालीहरूको परिचय भने अमूर्त संस्कृतिले नै दिन्छ । धर्मले उनलाई संस्कृतिबाट अलग गरेन किनकि उनलाई थाहा थियो संस्कृतिबिनाको समाजको कुनै महत्त्व हुँदैन । लोकसंस्कृतिले जातिलाई बलियो बनाउँछ भन्नेमा उनी पूर्णरूपमा विश्वस्त थिए । लोकसंस्कृति, सङ्गीत र साहित्य नेपाली जातिभित्रका उपजातिहरूको अमूल्य अमूर्त धन हो भन्ने कुरालाई उनले मनन गरेको हुनुपर्छ । नेपाली जाति भित्रजा गुरुङ जतिको सांस्कृतिक रूप धनी छ त्यति कै नेवार  वा राई पनि धनी छ । नेपाली जातिभित्रको पनि उपजातिको  भाषा, भेषभूषा, खाना, नाँच, गान, बोलीचाली, रहनसहन, चाडपर्वका बारेमा जति एम.एम. गुरङले अनुसन्धान गरेका छन् त्यस कार्यलाई विधिवत् रूप अगाडि बढाउन सके भारतीय नेपाली (गोर्खाली) हरूको विशाल सांस्कतिक सम्पदाको संरक्षणमात्र होइन संवर्द्धन पनि हुने थियो ।

यस पुस्तकको धेरै समीक्षा भएको छ तर प्रा. सुजातारानी राई  लेख्नुभएको मनन योग्य छ । बिर्सिएको संस्कृति- कृति परिचय’-मा उनी लेख्छिन्, “भानु र साहित्य एकेडेमी पुरस्कारले पुरस्कृत कृति बिर्सिएको संस्कृति’-मा लोकसाहित्यलाई ‘जनसाहित्य’ भन्न रुचाउनुहुने लेखक गुरुङज्यूले मूलतः मादले तथा मारुनी नाचको चर्चा बढी गरेका छन् । नृत्य, सङ्गीत र अभिनयको त्रयसंयोग पाइने मारुनी नाचलाई आध्यात्मिक र सामाजिक दृष्टिले श्रेष्ठ ठहराएका छन् । नाट्यशास्त्रको आधारमा तुलनात्मक अध्ययन प्रस्तुत गरी मारुनी नाच र मादललाई शास्त्रीय नृत्य र वाद्ययन्त्रको स्थानमा ससम्मान राखेका छन् । युग सुहाउँदो प्रगति गर्न नसकेर लोप हुन लागेका यी मरुची नाच र मादलवादनले भविष्यमा भारतका कथकली, भरतनाट्यम् आदिझैँ विश्व ख्याति आर्जन गरेको हेर्ने धोको र सपना साँचेको गुरुङज्यूले यसको उत्थानका निम्ति अध्ययनशील व्यक्ति, अनुसन्धानकर्ता, स्रष्ट्रा र युवापिँढीलाई बारम्बार अनुरोध गरेका छन् ।

अनन्तदेखि अनन्ततिर डोऱ्याउने कलात्मक लोकसाहित्यको संरक्षण र संवर्द्धनमा मात्र नेपाली साहित्यको भविष्य उज्यालो  र उन्नतमय हुन सक्ने कुरामाथि प्रकाश पारेर ‘पाश्चात्य साहित्यको अनुकरणले नेपाली साहित्य टाक्सिएको छ’ भन्ने मन्तव्य व्यक्त गरेका छन् । नेपाली लोक साहित्यको लुप्त र सङ्कटापन्न अवस्थालाई औँल्याएर नेपाली समाज र साहित्यको भयावह भावी स्थितिमाथि चिन्ता प्रकट गरेका छन् । ‘वाद’ केन्द्रित साहित्यप्रति उदासीनता देखाएर गुरुङज्यूले साहित्यमा हार्दिकता, सरलता, सहजता, आध्यात्मिक र कलात्मक मूल्यलाई प्राथमिकता दिएका छन् । वर्तमान समयमा सानो जातमा परिवर्तित गुरु भरतका दिव्य सङ्गीतकारहरूका सन्तान ‘गन्धर्व’-वा गाइनेहरूको दयनीय अवस्था र सारङ्गीप्रति वर्तमान समाजको वितृष्णा देखेर व्यथित र व्यग्र बनेका गुरुङज्यूले यी पुरातन कलाकार र कलाहरूको युग सुहाउँदो प्रगतिको कामना राखेका छन् । भानुभक्तपूर्वका यी लोकसाहित्यका रचयिता र स्रष्टाहरूको योगदान, महत्त्व र स्थाननिर्धारणको सही मूल्याङ्कन गरिनुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।”

साहित्यप्रति उनको आफ्नै धारणा थियो । उनको लेखमा माटो जुन सुगन्ध आउँछ, सबै किसिमको साहित्यमा त्यो आउनुपर्ने विचार राख्नुहुन्छ । प्रगतिशील नेपाली साहित्य’-मा उनी भन्छन्–”नेपाली साहित्यलाई प्रगतिशील बनाउने हो भने यसलाई पहिला आफ्नै माटामा हाल्नुपर्छ । यसलाई आफ्नै हातले पानीमा मौलाउन दिनपर्छ । आजको साहित्यकारले हाम्रा किसान तथा हली कोदाले ज्यामीका आँसु र पसिनालाई बुझ्नुपर्छ । नेपाली संस्कृति र इतिहासलाई गम्न पर्छ । एक छाक गाँसका निम्ति मर्ने सिपाहीको आलो रगतलाई चिन्नपर्छ । वृद्धा आमाको मुटुको व्यथालाई ठम्याउनुपर्छ । साहित्यलाई आधुनिक वस्त्र पहिराएर मात्र साहित्य आधुनिक या प्रगतिशील बन्न सक्तैन । साहित्यकारले जातिको आँसु, रगत र पसिनालाई आफ्नो मुटुभित्र बोक्नुपर्छ ।”

साहित्य एकेडेमी भारतले सन् २०१९-मा एम.एम. गुरुडको सङ्क्षिप्त जीवनी प्रकाशित गरेको छ । त्यसका लेखक सीताराम काफ्ले लेख्छन् उक्त पुस्तकमा, “दार्जीलिङको रङ्गीन चियाबारीमा जन्मिएका बहुआयमिक व्यक्तित्वका धनी एम.एम. गुरुङ आफ्नो जाति भाषा साहित्य र संस्कृतिको उत्थानमा मरिमेट्ने व्यक्ति हुन् । सिन्कोना बगान प्रबन्धकको पदमा रहँदा पनि उनले आफ्नो लेखनयात्रालाई निरन्तरता दिइरहे । धेरै जसो उनका सृजनामा सामाजिक यथार्थता नै प्रतिबिम्बित भएको पाइन्छ । शैक्षिक प्रतिष्ठानहरूसँग संलग्न रहँदै शैक्षिक विकासमा पनि उनको योगदान रहिआएको छ । नेपाली भाषा साहित्यको सेवाकार्यलाई कदर गर्दै साहित्य एकेडेमी दिल्लीले सन् १९८२ मा एकेडेमी पुरस्कारले सम्मान गरेको छ । समाजमा हाम्रा मानिसहरूले भोग्नुपरेको सामाजिक, आर्थिक, राजनीतिक, जातीय दुरवस्थाको पीडा विसङ्गति र विकृतिलाई आफ्नो सृजनामा समेटे ।”

एम.एम. गुरुङ अङ्ग्रजी भाषामा पनि सिद्धहस्त लेखक थिए ।  विभिन्न पत्रपत्रिकामा समीक्षा र लेखादि प्रकाशनको साथसथै The Nepali Folk Tales अङ्ग्रजीमा लेख्नुभएको छ । The National Book Trust, New Delhi ले सन् १९९७ मा अङ्ग्रेजीमा प्रकाशित गरेको Master pieces of Indian Literature र A literary digest of six eastern languages in English पुस्तकको नेपाली भाषाबाट अङ्ग्रजीमा अनुदित कृतिहरूको सम्पादक थिए ।

एम.एम. गुरुङले गीत र कविताहरू लेखेका पाउँछौँ जो भारती’-मा छापिएको थियो । गुरुङ सरले छोटो समय शिक्षण पेसामा बिताए पनि मङ्पुको कुलैनबारीमा व्यवस्थापकका रूपमा लामो काम गरे । त्यहीँबाट सेवानिवृत्त भएपछि कालेबुङमा बसोबास गर्न थाले । ८८ वर्षको लामो जीवनपछि उनले सन् २०१४-मा इहलिला त्यागेका थिए ।