भारतीय नेपाली साहित्यका प्रसिद्ध कवि, नाटककार तथा  सामाजिक-राजनीतिक चिन्तक पी. अर्जुनको दार्जीलिङको सिलगढी‌मा ७७ वर्षको उमेरमा अक्टोबर ५, २०२४को दिन निधन भएको छ ।  उहाँको जन्म १० मार्च १९४७, दार्जीलिङमा भएको थियो ।

बालक कालदेखि नै नेपाली साहित्य र नाटकमा उहाँको झुकाव थियो । प्रसिद्ध नाटककार तथा कवि एवम् उहाँको बालसखा मनबहादुर मुखिया पी अर्जुनलाई सम्झँदै भन्नुहुन्छ, “सन् १९६७को दार्जीलिङको चौरस्तामा आयोजित भानुजयन्तीमा अर्जुनले अंग्रेजीमा Eastern Morning कविता पढेको थियो भने मैले नेपालीमा कविता पढेको थिएँ । त्यो नै उहाँको पहिलो कविता हुनसक्छ । अर्जुनले मैले लेखेको तथा निर्देशन गरेको नाटक ‘अनि देवराली रुन्छ’ मा पनि राम्रो अभिनय गरेका थियो ।”

अर्जुन ६ कक्षासम्म दार्जीलिङको सन्त जोसेफ स्कूल पढे  अनि पछि ७ कक्षादेखि सन्त रोबट्स स्कूलमा अध्ययन गरे । सन्त रोबट्रस स्कूलमा उहाँले वीरविक्रम गुरुङ र जगत् छेत्री जस्ता मूर्धन्य साहित्यकार शिक्षकको रूपमा पाउनुभयो । उहाँहरूको प्रेरणाले उहाँलाई साहित्य लेख्ने प्रेरणा मिल्यो । मनबहादुर मुखिया र पी अर्जुन ७ कक्षा देखिको सहपाठी थिए । उहाँले सन्त जोसेफ कलेज र दार्जीलिङ सरकारी महाविद्यालयमा अध्ययन गर्नुको साथै पश्चिम बंगाल सरकारको उच्च ओहदामा काम पनि गरेका थिए ।

उहाँको ‘क्रमशः’ काव्यात्मक दर्शन, दीपक प्रेस, वाराणसीबाट सन् १९७६ प्रकाशित भएको थियो भने ‘हाँस्दै जल्नुपर्छ’ पूर्णाङ्की, नेपाली अकादमी, दार्जीलिङद्वारा सन् १९८२ मा प्रकाशित गरिएको थियो । सन् १९८४ मा उहाँको ‘पहाडकी रानी’ पूर्णाङ्की प्रकाशित भएको थियो भने  ‘क्रमशः’ लाई  सुवास दीपकले  सन् २००२ मा हिन्दीमा अनुवाद गर्नुभएको थियो ।

सन् २००७ मा ‘नेपाली दृश्य नाटकहरू’ प्रकाशित भएको थियो जसमा ‘अन्तिम दृश्य’, पूर्णाङ्की, सिक्किमको जन-आन्दोलन तथा भारतको संकटकालीन स्थितिमा आधारित नाटक, “मन मन्थन”, “कुबेर भिखारी”, “आग्रह”, “खरानीको मान्छे” आदि नाटकहरू समावेश थियो । ‘मनतन्त्रको कुरुक्षेत्र’ कवितासंग्रह, सन्  २०१५मा प्रकाशित थियो ।

उहाँ संयुक्त कलाकार संघ, दार्जीलिङको संस्थापक नाटककार निर्देशक थिए जसले ‘अन्तिम दृश्य’ नाटक मञ्चन गरिएको थियो । उहाँले संस्कृतमा पनि नाटक खेलेको मनबहादुर मुखिया भन्नुहुन्छ ।

पी अर्जुनको कवितासंग्रह ‘मनतन्त्रको कुरुक्षेत्र’को भूमिकामा प्रसिद्ध साहित्यकार नन्द हांगखिम लेख्छन्, “अर्जुन प्रसाद दार्जीलिङे नेपाली नाटक जगतका सव्यसाची हुन् । उनी एक सफल नाटककार हुनको अतिरिक्त एक प्रतिभा सम्पन्न कलाकार एवं प्रवीण निर्देशक पनि हुन् । दृश्यकाव्यका एक कर्मठ योद्धा हुनको कारक तत्त्वबाट नै उनी एक लोकप्रिय कवि हुन पुगेको ठान गरिन्छ । यसबाहेक प्रकृतिप्रदत्त भारीभरकम अनि मिठास आवाजको खातिर उनी दार्जीलिङ भेकका एक प्रख्यात उद्घोषक, वक्ता अनि काव्यपठनका मनमोहक व्यक्तित्व; त्यसको बावजूद उनी राजनीतिका एक सक्रिय सचेत संवाहक ।”

उक्त काव्य कृतिमा प्रसिद्ध आख्यानकार विन्ध्या सुब्बा लेख्छिन्, “अधिक बिम्ब र प्रतीकको प्रयोग नगरी प्रभावशाली कविताहरू लेख्ने पी. अर्जुनको यस कवितामा बिम्बको सुन्दर छटा देख्न पाइन्छ । मान्छे छ र सबै कुरा छन्, मान्छे नै पृथ्वीमा सर्वोपरि प्राणी हुन् भन्ने आशयको यस कवितामा आध्यात्मिक चेतनाको स्पर्श पनि छ । अभिनय गर्दा संवाद बोल्नुपर्दा होस्, मञ्चमा कार्यक्रमको उद्घोषणा गर्दा होस् या गोष्ठीहरूमा कविता वाचन गर्दा कवि पी. अर्जुनको वाककला/प्रस्तुतिमा उहाँको बेजोड प्रतिभाको सराहना गरेका छन् सबैले । जीवनको व्यावहारिक गतिमा होस् या साहित्य लेखनको शैलीमा पी. अर्जुनजी एक सचेत, होशियार र गम्भीर चिन्तनधाराका व्यक्तिको रूपमा बुझेकी छ मैले ।”

प्रसिद्ध साहित्यकार डा. कमला सांकृत्यायन उहाँको बारेमा ४७ वर्ष अगाडि लेख्छिन्, “आधुनिक जीवनको कटु यथार्थको मागले लेखकलाई न विश्राम गर्न दिन्छ न कुनै राजनीतिको पछि लाग्न दिन्छ । व्यक्तिवादी आग्रह र कलात्मकताको मोहको पनि यहाँ गुन्जाइस छैन । रचनाकार आफ्नो जीवनमा आचरण र चिन्तनको मध्यको अन्तराललाई मेटाउँदै यस निरीक्षणको दिशामा सक्रिय रहन सक्छ र यस प्रकारको क्षमता हामी कवि पी. अर्जुनमा पाउँछौं । यस्ता प्रतिभाशाली, उत्साही, चिन्तक, संवेदनशील, मानवतावादी कवि नेपाली साहित्य जगतलाई उपलब्ध भइरहेछ ।”

आफ्नै कविताहरू बारेमा पी अर्जुन लेख्छन्, “’मनतन्त्रको कुरुक्षेत्र’ ३० वटा कविताहरूको संग्रह हो । कतिपय कविताहरू दार्जीलिङबाट प्रकाशित ‘दीयो’, ‘दियालो’, ‘अस्तित्व’ पत्रिकाहरूमा सन् १९६५ देखि १९८०-सम्म प्रकाशित भइसकेका हुन् । यसरी नै दार्जीलिङ जिल्ला, डुवर्स, असम र सिक्किमबाट प्रकाशित धेरै कविताहरू यस संग्रहमा अन्तर्भुक्त गर्न सम्भव भएन । अंग्रेजी भाषामा लेखिएका धेरै कविताहरू पनि यस संग्रहमा अन्तर्भुक्त गर्न उचित ठानिनँ । साहित्य अकादमीबाट प्रकाशित ‘नेपाली कविता यात्रा’ (१९९०), ‘आधुनिक नेपाली कविता’ (१९९२) र ‘समकालीन भारतीय साहित्य’ (१९९९)-मा अन्तर्भुक्त गरिएका रचनाहरू यस संग्रहमा गाभिएको छ । १९७६ सालमा प्रकाशित मेरो पहिलो पुस्तक ‘क्रमशः’ एक काव्यात्मक दर्शन हो । यस पुस्तकको हिन्दी अनुवाद र मुद्रण सुपरिचित कवि, अनुवादक एवम् सिक्किमबाट प्रकाशित समाचार-पत्र ‘विचार’ का प्रधान सम्पादक श्री सुवास दीपकले २००२-मा गरेका हुन् । कविता लेखनमा भन्दा अधिक रुचि र झुकाउ नाट्य सृजन कलामा भएकोले प्रकाशित कृतिहरू नाटक विषयमा अधिक रहेका छन् ।”

पछिल्लो समय उहाँ राजनैतिक चिन्तन र भारतीय गोर्खाहरूको हकहितको विषयमा खुलेर बहस गरेका पाउँछौं । पी अर्जुनको निधनले भारतीय नेपाली साहित्यले ठूलो क्षति बेहोर्नु परेको छ ।