
प्रिय सिमोन,
एक दिन कुनै बेनाम पसलमा हामीले चियाको चुस्कीसँगै गफिंदै गर्दा तिमीलाई अनायास सोधेको थिएँ – हरिभक्त कटुवाल तिम्रो प्रिय कवि हो ?
एक निमेष नलगाई लक्ष्मीप्रसाद देवकोटा भनेका थियौ । तिम्रो जस्तै मेरो पनि प्रिय हुन् महाकवि तर तिम्रो प्रियता र मेरोमा भिन्न होला । धेरैले महाकविको मूल्यांकन तिमीले जस्तै मुनामदन पढेर गरेको होला तर महाकविको सामर्थ्य र लेखन शक्तिलाई पूर्ण रूपले चिन्न सकेका छैनौं हामीले । तिमीले भने जस्तै सरकारले देवकोटा अध्ययन केन्द्र भनेर एउटा अकादमी खोल्न किन कन्जुस गरेको होला है, सिमोन !
तिमीलाई थाहा छ, एकदिन तिमीले ठूलो मान्छे हुन्छु भन्दा मैले देवकोटाको एउटा प्रसिद्ध भनाइ, “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” भनेको थिएँ । बिचरा देवकोटालाई के थाहा उनको मृत्युको एक दशक नपुग्दै निल आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा पाइला टेक्न पुगे । बजले त देवकोटाको परिकल्पनामा निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानमा ५ वर्ष पहिले भाषण नै दिएका थिए चन्द्रमाको पत्थर देखाएर ।
समय कति बलवान हुन्छ सिमोन, नसोचेको कुरा पनि पुग्दो रहेछ । देवकोटाको कुरा अमेरिकीलाई पक्कै थाहा थिएन होला । उनी त केवल चीन र सोभियत संघ मात्र भ्रमण गरेका थिए । देवकोटाको दक्षता निःसन्देह अंग्रेजी भाषामा पनि थियो । हामी अहिले पो थाहा पाउँदै छौं सिमोन ! तर सन् १९६० भन्दा पहिले देवकोटालाई पश्चिमाहरूले चिन्ने अवसर पाएका थिएनन् नि सिमोन । प्रतिभा भएर मात्र नपुग्दो रहेछ सही मूल्यांकन पनि आवश्यकता पर्दो रहेछ । भारतीय मूलका दुई अंग्रेजी लेखकहरूले देवकोटालाई आर्यघाटमा मृत्युशय्यामा नभेटेको भए देवकोटालाई विश्व साहित्यले चिन्न धेरै समय लाग्ने थियो । तर तिमी जस्तो पाठक र लेखिकालाई ती दुई महान् लेखकको नाम थाहा रहेनछ । आश्चर्य लाग्यो । कति कृतघ्न रहेछ नेपाली समाज ।
उफ् ! तर तिमी कृतघ्न नबन । अरूले लगाएको गुण तिर्नु पर्छ नि । तर ती भारतीय मूलका अंग्रेजी लेखक डोम मोरे र वेद मेहताले लगाएको गुण तिरेनन् कसैले पनि ।
डोम मोरेले सन् १९६० मा आफ्नो पुस्तक ‘गन अवे’ र वेद मेहताले न्यु वर्कर पत्रिका र : ‘इन्डियन समर’ नामक पुस्तकमा देवकोटाको बारेमा नलेखेको भए उनी बारे बेखबर हुन्थ्यो पश्चिमी मुलुक । डोमको पुस्तक बेलायत र वेदको पुस्तक अमेरिकाबाट सन् १९६० मा प्रकाशित भएको थियो । डोम त बितिसके तर वेद जिउँदो छ । देवकोटालाई भेट्दा डोम २१ वर्षको थिए अनि बेलायतमा अध्ययनरत । वेद २५ वर्षका थिए र न्यू वर्कर टाइम्समा कार्यरत । कति कलिलो उमेरमा देवकोटा चिनेछन् यिनीहरूले ।
सिमोन ! तिमीलाई मैले भने कि भनिनँ थाहा छैन । तर एकपल्ट परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी जो नेपालको न्यू वर्क मिसनमा कार्यरत थिए उनलाई वेदको योगदानको बेलिविस्तार सुनाएर सम्मान गर्न आग्रह गरे । के गर्नु भालुलाई पुराण सुनाए जस्तै भयो । अमेरिकी लेखक ड्याबिट रूबिनले देवकोटाको कविताहरू अनुवाद गरी सन् १९८० मा अमेरिकाको कोलम्बिया विश्वविद्यालय प्रेसबाट प्रकाशित गरेको थियो जस्ले गर्दा पश्चिमाहरूले देवकोटाको गरिमा र सिर्जनशीलता बुझ्नसक्यो । तर रूबिनलाई कसैले चिनेनन् । अहिले त मुनामदन नै एक दर्जन जति अनुवाद भइसके विभिन्न भाषामा । सिमोन, तिमीलाई थाहा छ – देवकोटाले अंग्रेजीमा लेखेको कविता, महाकाव्य र निबन्धका पुस्तकहरू पनि प्रकाशित भएको छ ? तिम्रो व्यस्त जीवनबाट केही समय चोरेर भए पनि यी पुस्तकहरू पढ है सिमोन !
सिमोन तिमी नास्तिक त होइनौ तर पनि मन्दिर जान मन पराउँदैनौ । अनि म चाहिं पशुपतिनाथ मन्दिर परिसर समय मिलेसम्म डुल्न जान्छु मनलाई चुस्त र शरीरलाई दुरुस्त राख्न । अहिले पशुपतिनाथ मन्दिर परिसर कोटीहोम र भागवत वाचनको कारण भीडभाड छ । मन्दिरभित्र धनीहरू एक सय एक रुपियाँ चढाएर १० लाख मागिरहेछन् शिवजीसँग । अनि बाहिर गरीबहरू मागिरहेका छन् भित्र मागेर आउनेसँग । पशुपतिनाथमा धन, वैभव माग्ने, भीख माग्ने आदिको जुलुस देख्दा देवकोटाको ‘यात्री’ कविता स्वतःस्फूर्त मनमा आयो :
“सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दुःखको गानामा
दर्शन किन्तु कहीं दिंदैन, चर्म-चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ। “
देवकोटा ईश्वरवादी भन्दा पनि मानवतावादी थिए, सिमोन ! हामीले पनि देवकोटाको यो पक्ष अनुसरण गर्नैपर्छ । परम्परावादी भोकाएकालाई खाना होइन तर मन्दिरमा ब्राह्मण भोजन गराउँछ । देवकोटाले दीन दुःखीमा ईश्वरको मुहार देख्छ ।
देवकोटा मानवतावादी भएको उनको प्रसिद्ध निबन्ध ‘दान’ मा अवलोकन गर्न सकिन्छ सिमोन !
उनी लेख्छन्, “दिने काम या शीललाई हामी दान भन्दछौं, तर दिंदैमा दानी कोही बन्दैन । जो मेरो होइन म यथेष्ट मात्रामा दिन सक्तछु । राणाहरूले प्रशस्त दान गर्दथे । के त्यो सब उनको थियो ? जनसंख्याले नेपालको कूलवार्षिक आयलाई भाग गर्नोस्, राणा प्रधानमन्त्रीको भाग त्यत्ति थियो । त्यो भागफललाई जति गुणन गरे त्यो इन्साफबाहिर थियो । अब उनको दातृत्वलाई यस उज्यालामा हेर्नोस् । त्यो शून्यभन्दा कति ठूलो थियो त ? प्राचीन राजतान्त्रिक उदारता भुँडीमा फाँदसँग सम्बन्धित थिए, भ्रातृत्व बोक्रो जति सस्तो थियो, अन्तस्करण रुन्चे केटाकेटी जस्तो थियो । भुसुनोमा अहिंसा प्रयोग गर्दथे, ऊँट निल्थे । पुरोहितको ऐंठनमा भाव पाताल पल्टेका थिए । स्वर्ग जाने बाटोको ठेक्का दिइएको थियो । दान नामको यान्त्रिक पद्धति प्रादुर्भाव हुन आएको थियो । वार र तिथिको तेरिज कसिएको थियो । विधिविधानमा रौं जालीले बेह्रिएको थियो । उनीहरू स्वर्ग मार्गको आसानीमा शिशुवत् विश्वास राख्दथे । प्रौढ बाजेहरू उनीहरूलाई राम्ररी आँखा खोल्न दिंदैनथे । छात्रब्रह्म एक विचित्र चौपायाद्वारा समाजको यान्त्रिक गाडा निक्कै दगुर्न खोज्थ्यो, दुनियाँ मर्थ्यो, बाहुन मोटाउँथे, राजा उर्लन्थे । खाना सस्तो र प्रशस्त थियो होला, कुनै कुनै कालमा । तर प्रजालाई अनिवार्य शिक्षादान, ध्यायी वितरणका भावदान, जनस्वास्थ्य दान इत्यादि जति हुनु पर्ने पुराना राजाले बहुत थोरै गरे भन्ने मेरो उजुर छ । यस तर्फ ध्यान दिने अवकास पाएनन् । पाए पनि ऐंठनले छोपेको थियो । पण्डितहरू प्रशस्त अपवादहरूद्वारा मेरो भनाइलाई प्रलयबाढ दिन खोज्लान्, तर मभित्र राजतन्त्रको जर्जर इतिहाससँग एक स्वभावज वैमनस्यको नराम्रो नराम्रो दान रहेछ भनेर ती चुप लागुन्, ती नरिसाउन् जब म विश्वाससँग भन्दछु धेरै राजाहरू नरक गए ।”
सिमोन देवकोटाको दानको परिभाषा अचम्मको छ । मीनपचासको जाडोमा आफूले लगाएको लुगा दिनेलाई दान भन्छ उनी । उनले ‘पागल’ कविता त्यसै लेखेका होइन रहेछ:
“जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागलझैं,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी!
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न !”
सिमोन पागल त हामी पो रहेछौं – प्रतिभालाई समयमा चिन्न सकेनौं, प्रतिभा चिनाउनेलाई पनि चिन्न सकेनौं ।
तिम्रो आफ्नै मान्छे,
सार्त्र



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

