पूर्वकथन:

साहित्य नामको नाङ्लोमा काव्य, आख्यान, नाटक र निबन्ध  लगायत अनेकन् विधाहरू निरन्तर ‘पट्याँसपट्याँस’ गरिरहन्छन् । शब्द र अर्थको सहभावले बुनिएको यस वस्तुमा बिट आवश्यक छ, अन्यथा यो ओइरिने जोखिम ब्युँतिरहन्छ । यसर्थ, च्याटजिपिटीको यस युगमा साहित्य नामको यस कठिन, जटिल र व्यापक नाङ्लोको महता उजिल्याउन सिर्जनात्मक एवं विमर्शात्मक परिदृश्यहरू आवश्यक पर्दछन् । सिर्जनात्मक परिदृश्यको हकमा आजभोलि म ‘ठप्पै’ हुनाले विमर्शात्मक परिदृश्य खिच्न खोजिरहेको छु । यस शब्दपट्याँस नामको विमर्शात्मक परिदृश्यमा एकाध प्रश्न र एकाध उत्तरहरू रहनेछन् ।

कथन:

प्रथमतः पूर्वकथनलाई सविस्तार व्याख्या गरौँ ।

कविता लेख्न छाडेपछि कविताबारे आल्तुफाल्तु प्रश्न गर्नु मेरो पछिल्लो दैनिकी बनेको छ । कविता लेख्न छाड्नुको कारण ‘लेखेर मात्रै कविता हुँदैन’ भन्ने धीरगम्भीर पाराको ठिस बुझाइ र टिठलाग्दो काइते मनोदशा हाबी हुनु हो । भन्नलाई के लाज, तोरीलाहुरे कविता लेखेर बद्मानी र बेइज्जती खेप्नु भन्दा राम्रा कविता लेखिरहेकाहरूप्रति ईर्ष्या र द्वेष जस्तो ‘प्रतिष्ठित समकालीन मनोराग’ पाल्दै उनीहरूतर्फ दिक्कैलाग्दो प्रश्न तेर्साउनु पो मजा लागिरहेछ । अर्काको बारीको काँक्रो नपाएपछि चोरी औँलो तेर्साउनु नै ठिक ! यसलाई कविता लेख्न नसकिरहेको यस पङ्क्तिकारको एउटा निन्दनीय अड्चन वा घोप्टे पारा मान्दिदा अलि सहज होला !

अझ, लाजै पचाएर भन्नुपर्दा- औँलोको टुप्पोमा एकाएक काव्यिक चाउरीपना आइपरेपछि देखिएको ‘दुई चिया चम्चा बराबर भ्यासलिन प्रयोग गरौँ’ भन्ने चिकित्सकीय उपचारपद्धति हो, यो । अझ, यस्तो चाउरीपन निकै नभएपछि एउटा पाकेको एभोकार्डोमा दुई चिया चम्चा बराबर बदाम तेल दलेर औँलोको टुप्पो हुँदै हृदयसम्म देखिएको साहित्यिक सुक्खापनलाई चिल्लो पार्ने मेलोमेसो पनि हो, यो ।

भन्नुस्, लेख्न सकिनँ भनेर हृदयमा मडारिएको चैतको हुरीलाई सामसुम पार्ने तौरतरिका ।

मोही पार्नेले नौनी दलेजस्तो !
मह काढ्नेले हात चाटेजस्तो !
अचार बनाउने औँलो चुसेजस्तो !

– एउटा आफूनुकुल परिस्थितिको खोजी ! सायद पाठक झुक्क्याउने आँट पनि !..

यति भनिसकेपछि, यस शृङ्खलाले साहित्यिक अन्तर्वार्ता विधाको कट्टु तान्दिएको छ भन्नेमा त कुनै शङ्कै रहेन । तर, नेपाली साहित्यलाई नांगेझार पार्नु यस शृङ्खलाको सोचविचार होइन । उद्देश्य होइन । अठोट होइन । हठ होइन ।..

नेपाली समाजका अनेकन् किसिमका नूतन र पुरातन चिन्तनबिच भीषण सङ्घर्ष भइरहँदा  सांस्कृतिक–साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टा–द्रष्टाहरूलाई जिस्काउन मन लागेर यति गरेको ! एउटा साहित्यिक व्यक्तिलाई राजनीतिक, सामाजिक वा सांस्कृतिक विषयमा केरकार गर्नुभन्दा उसको साहित्यिक जीवनमै देखापरिरहेका कैयौँ विरोधाभासहरूलाई कोट्याइदिऊ न भनेर यति गरेको ! उसको हृदयमा जमेको लुतो कन्याइदिऊ न भनेर । उसलाई चिरिक्क चिमोटिदिऊ न भनेर । प्याट्ट हिर्काइदिऊ न भनेर । च्याट्ट उसको साहित्यिक खानपिनमा चोखे ल्याइदिऊ न त भनेर । फ्याट्ट मुखाले भई खाऊ न त भनेर ! ..

उत्तर आधुनिकतावादले नेपाली समाजले जन्माएको तमाम प्राज्ञिक कौतुहलताहरूमध्ये मेरो प्रिय साहित्यिक कौतुहलतालाई बुझाऊ न त भनेर पनि यसो गरेको ! कविताबारे बहस (समालोचना ?) गरिरहनेहरूले कविको हेराई, बुझाई, भोगाइबारे बहस गर्न अल्छी गरिरहेको चाल पाएर यो फन्टुसगिरि गरेको ! समकालीन विचार, विमर्श, चिन्तन, दर्शन, कला, साहित्य, भाषा, जीवनपद्धति, संस्कृति, चाडपर्व, उपभोग संस्कृति, राजनीति, शिक्षा, विकासका नीति, अभ्यास, आयाम आदिआदिबारे सोचविचार गरेर नदुखेको टाउको दुखाउनु भन्दा यस्तै गरेर पनि दिन बियाँल्न सकिन्छ कि भन्ने लागेर पनि यसो गरेको ! सजिलो बाटो खोजेको ! किनभने, कविता लेखिरहने कविलाई जिस्काउनु भनेको सामाजिक व्यवहारिकतालाई बुझ्नु हो । यसमा सबैको मतैक्य छ कि ‘कविता समाजको दार्शनिक मूल खाँबो हो’, यसैले समाजको गतिशीलता र सजीवता चिन्नलाई कविता वा कविसँग ठोक्किनुपर्छ ।

यसो किन गरेको भन्ने सम्बन्धमा अझ बताउँदा- समकालीन कविता पढिरहेको तर विवेचना गर्न अल्छी लागिरहँदा पनि समकालीन कविलाई चाहिँ पढौँ न त भन्ने लागेकाले यो टपरटुइयाँ गरेको ! कविता पढिरहँदा कविलाई पनि त पढिन्छ नि । अनि पढिएका कविताबारे कविसँग नै ठोक्किनु गलत पनि त होइन (सही पनि होइन) । कि कसो हाउ ?

थप भनौँ, नेपाली सांस्कृतिक, सामाजिक अवस्थाको लथालिङ्गता देखेर साहित्यले खुच्चिङ मारिरहेको त छैन भन्ने संशयको पिलो हृदयमा उठेर पनि यसो गरेको हुँ । यसो गर्दा अन्यथा  गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो !’

फेरी, लोकतान्त्रिक समयका कवि, साहित्यकारलाई प्रश्न गर्नु साह्रो बोर काम हो किनभने जिज्ञासा र उत्साह नै शिथिल भएको समय हो यो । जीवनमुखी (भौतिकवाद) र आदर्शमुखी (साम्यवाद) यसबेलामा प्रश्न गर्नु र उत्तर दिनु दुवै अन्धविश्वास, रुढीवाद, पुरोहितवाद  भइरहेको नयाँनौलो थोक रहेन । यसप्रकारको समकालीन परिस्थितिजन्य भावभूमिमा निरन्तर काव्य साधना गरिरहेकाहरूले सङ्कीर्णतामाथि प्रहार एवं विकीर्णता र अनेकताप्रति सचेतता देखाइरहेका छन् भने यसप्रकारको झर्कोलाग्दो प्रश्न गर्नु पनि ठिकै हुन्छ कि लागेर यसो गरेको ! भन्नुस्, एउटा काव्यिकावेग मेरो !

फेरी, प्रश्न र उत्तर ‘प्रश्न र उत्तर मात्रै नहोस्’ भन्ने आशावादी उद्गार पनि मकन कति छ कति । भन्नुस्, जसरी पनि अबजसे बनिछाड्ने मनोरोग पालि बसेको छु । हाय.. एउटा अपजस्याहा प्रवृत्ति मेरो !

कथनभूमि:

अब प्रश्नको रचनागर्भ (कथनभूमि) के थियो भन्नेबारे केहीबेर गनगन गरौँ । भन्नुस्, अनावश्यक स्पष्टीकरण दिइहाल्ने समकालीन साहित्यिक प्रवृत्तिको प्रतिनिधित्व गरौँ । भन्नुस्, कविता सुन्न बस्नुभएको तपाईँलाई सुरुमा एउटा मुक्तक झटारो हानिहालौँ ।

‘देश लागूऔषध हो तर, सेवन गर्न नजान्नु हाम्रो भुल हो’ भन्दै २ वर्षदेखि देशाटन गरिरहँदा कविता, कथा नपढी सुतेको रात छैन । हरेक रात फरक बिछ्यौनामा पल्टिएर फरक-फरक कविता पढिरहँदा कहिले भुसुक्कै निदाएको छु, कहिले सिङ्गो रातको निन्द्रा गायब भएको छ । मजस्तो भावुक यात्रुलाई ठाउँअनुसारका दन्त्यकथा, पौराणिक कथा र सामाजिक व्यथाले लखेट्नु पनि छँदै छ, त्यसमा अग्रज एवं समकालीन कविहरू देश-विदेशबाट आधुनिकता सुसेल्दै मोबाइल स्क्रिनसम्म आइदिनाले मेरो यात्रा र यात्रा संस्मरण साह्रो रोचक बन्न पुगेको छ । यसरी आइपुगेका कविताहरूमा कतै मानवताको समर्थन छ, कतै विवेकको दादागिरी पनि । तर, प्रायशः कवितामा सामाजिक सङ्कीर्णताको दुहाई र आधुनिकताप्रतिको मोहभंगता भेटिरहेको छु । वासनामय जीवनको क्षणिकता र भोगवादको तुच्छता आदिले कवितामा स्थान पाएको देख्दा डल्लै खुसी भएर अर्को दिनको नक्सा बोकेर रुक्स्याक कस्न हौसिएका घटनाहरू मकन मनग्ये छन् । कविताले जुरुक्क उचालेको ‘कल्पनाको काव्यिक प्रहार’ले भाङ खाएजस्तो भएका शीतलहरी बिहानहरू पनि छन् । फेरी, समसामयिक चेतना र सामाजिक परिवेश भेट्दै नभेटेर रिनिन्न भएका घाम चर्का मध्यान्हहरू पनि ।

फुइँ ल्याएको होइन तर, कविता पढ्ने र पढिरहने आदतका कारण संस्कृति र सभ्यताको उकाली–ओरालीहरू चढ्न मलाई सजिलो भएको छ । कतै लुङ्दर भए, महिनौँ फरफराइरहेँ । कतै देउरालीका ढुङ्गा भएँ, फूलपाती बटुल्दै रहेँ । यसो गरिरहँदा मलाई बोध भएको छ- आफूले लेखेर मात्रै खुसी भइने होइन रहेछ, अरूले लेखिरहेको देखेर बढ्ता प्रफुल्ल भइँदो रहेछ । मुला, एउटा हृदय यसरी पनि बुझ्दो रहेछ !

अनि हृदय बुझेपछि म एउटा निचोडमा पुगेको छु- समाजको यथार्थ र गतिलावस्थालाई नियाल्नका दुई मध्ये एक गरे पुग्ने रहेछ- साहित्य पढ्ने/लेख्ने वा यात्रा गर्ने । पढ्न धेरै कम, लेख्न ठ्वाप्पै भएको मैले जानेर-नजानेर थोरबहुत रूपमा दुवै गरेछु । अलिअलि कविता पढेछु, अलिअलि देश डुलेछु  । यसैले त गाउँगाउँ डुलिहिँड्दा सामाजिक अन्धताले बेस्मारी डामिएको बेला कविताले हृदय सेक्न सकेको छु । यसैले भन्न मन लाग्छ- यात्रामा हिँड्नेले लसुन र तोरीको तेल नै बोक्नुपर्छ भन्ने छैन, ५/१० थान कविता बोकेर एक हप्ता सजिलै काट्न पनि सकिन्छ ।

अनुकथन:

अब यस भूमिकालाई थप लम्बेतान बनाउनु हुँदैन ।

तर, पनि यति चाहिँ भन्नैपर्छ, वर्तमान समयमा कविता लेखिरहँदा एउटा कन्जुस्याइँ गर्नैपर्छ- दार्शनिक पनि भइहाल्न मिल्दैन, राष्ट्रवादी पनि भइदिई हाल्नु हुँदैन । सिद्धान्तवादी भएर पनि धर छैन । स्पष्टीकरण दिँदै हिँड्नु त पाठकले चर्न छाडेका (पढ्न छाडेका) सुख्खा अक्करे भिरबाट फ्याल हान्नु हो । सिधै मृत्यु नशिव ! यस कुरा लेखिरहेकाहरूले बुझेकै हुनुपर्छ, लेख्न छोडेको मैले पनि राम्रैसँग बुझेको छु । तर, आफूले लेख्न छोड्दा पनि समकालीन कविताहरूमा सामाजिक व्यङ्ग्य, हार्दिकता, उदात्तता, विनोद प्रियता आदिआदि मस्तै भेटिदा म फुर्किएको छु । मौलिकताबाट पछाडि नहटीकन उनीहरूले चिन्तनमा चतुरता र रचनात्मकता देखाइरहेको पाउनाले म कविता पढिरहेको छु । फेरी, आशुकवित्वको बोलवालाले निराश भएर घोसेमुन्टो लगाएका क्षणहरू पनि छन्, त्यसबारे अन्यत्र चर्चा गरौँला ।

कला-साहित्यमा शिथिलता देखियो भन्नेहरू एवं नूतन प्रयोग बढ्दै छ भन्ने दुवै गुटले अनेकन् बहस गरिरहेका छन् । त्यस्ता बहसहरूमा अझ पनि कर्पोरेट लचकता, एकेडेमीगत प्रभाव र वैचारिक तालमेल प्रष्ट देखिरहेको हुन्छु । प्रश्न सोध्ने र दिने दुवैले कतै न कतै भन्न बाँकी राखेर नै भनिरहेका पाउँछु, सीमितता देख्छु ! त्यसलाई भत्काउन आवश्यक भनेर पनि यसो गरेको हुँ । यस प्रयासलाई साहित्य नामको नाङ्लो निफन्दा नाङ्लोबाट निस्किएको ‘पट्याँस, पट्याँस’ मान्दिदा बेस हुन्छ ।

अझ, कला–साहित्यमा ज्ञानात्मक पक्ष अनिवार्य हो कि नैसर्गिक हो भन्ने बहस पनि छँदै छ । यो बहस चाहिँ किनभने राजनीतिक परिवर्तनअनुसार तिनले आफ्नो समय र सन्दर्भको प्रतिनिधित्व गरे कि गरेनन् भनेर हेरिनाले जनताको चेतना र आवश्यकतालाई समृद्ध तुल्याउनु पनि कवि/साहित्यकारको दायित्व हुन् आएको छ । ढाटे मरिजाऊ, यसो गर्न नसकेर पनि मैले कविता नलेखेको हुँ  ।

अनि कविता लेखेर मात्रै हुँदैन, प्रकाशन, बजारीकरण, समालोचना आदि पनि क्रमागत हुन् आउँछन् । अनि यस्तो साह्रोगाह्रो स्थितिमा कोही किन कविता लेख्छ र लेखिरहन्छ भन्ने लागेर यसो गरेको हुँ । यसकारण यसलाई ‘अन्तर्वार्ता विधाको कट्टु तान्ने काम’ भन्दा पनि ‘विविध मतमतान्तरको बटुलाबटुल’ भनेर बुझिदिँदा ठिक हुनेछ । यसो गर्दा अन्यथा  गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो’ ।

कथोपकथन:

गोपी सापकोटासँग शब्दपट्याँस:

गोपी सापकोटा

कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँझैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्‍यो नि, कस्तो लाग्यो र?

म चाहिँ तारिफ सुनेर मक्ख परिन है ।

तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुहोस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार ! 

I read poetry to purify myself; and I seek purity in poems. To me, Poetry is the purest form of Art. मैले भनेजस्ता कविताहरू धेरै भेटिँदैनन् । धेरै कविताहरू पढ्दै जाँदा थोरै मात्र त्यस्ता कविता भेटिन्छन् ।

मलाई सम्झना भएसम्म मैले पढेको पहिलो कविता सायद कल्पना प्रधानद्वारा लिखित ‘मेरो सानो खरायो’ हुनुपर्छ, जुन मैले केटाकेटी हुँदा स्कुलको किताबमा पढेको थिएँ ।

अहिलेसम्म मैले पढ्दा पढ्दै कुनै पनि कविता मिल्काएको छैन । कलापक्ष बलियो रूपमा आएको छ भने जुनकुनै गोत्रका कविता पनि राम्रा हुन्छन् ।

नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् । 

नेपालमा दामी कविहरू धेरै हुनुहुन्छ, यहाँ सबैजनाको नाम लिन सम्भव छैन । मलाई दिनेश अधिकारी, रमेश क्षितिज, डा. खुमनारायण पौडेल, नेत्र एटम, भूपिनका कविताहरू मन पर्छन् । सुरुवाती दिनहरूमा भूपी शेरचन र हरिभक्त कटुवालका कविताहरू खुब पढेको थिएँ र मन पराएको थिएँ । अहिले पनि मन पर्छन् ।

श्रवण मुकारुङ र विप्लव ढकालका कविताले समय बोलेको हुन्छ । नेपाली कवितामा रमेश श्रेष्ठ र मनु मन्जिलको आफ्नै ठाउँ छ । विप्लव प्रतीक र उपेन्द्र सुब्बाका कविताहरू धेरै पाठकहरूले मन पराएको पाइन्छ । विनोदविक्रम केसीका कवितामा ‘एकप्रकारको एग्रेसन’ देखिन्छ । युवाकवि रुपेश श्रेष्ठ मन छुने कविता लेख्छन् । केशव सिलवाल राम्रा कविता लेख्छन् ।

नवराज पराजुली सुन्दर कविता लेख्ने कवि हुन्, तर पछिल्लो समयमा उनी धेरै शब्दहरूसँग खेलेकाले उनका कवितामा विचारको पक्ष हल्का भएजस्तो देखिन्छ ।

समकालीन कवयित्रीहरूको सन्दर्भमा सरिता तिवारीका कविताहरूमा वैचारिक पक्ष बलियो देखिन्छ भने सविता गौतम दाहालका कवितामा भावनात्मक पक्ष बलियो देखिन्छ । सीमा आभास, ज्योति जङ्गल राम्रा कविता लेख्छन् ।

नयाँ कविहरू धेरै आएका छन्, राम्रो लेख्दैछन् । सबैको नाम लिन सम्भव भएन ।

फरेन पोयट्सको कुरा गर्दा- मैले खोजेर पढ्ने कविताको पुस्तक भनेको प्रत्येक वर्ष छापिने The Forward Book of Poetry हो । यसमा बेलायती समकालीन कविहरूका वर्षभरि प्रकाशित कविताहरूबाट छानिएका उत्कृष्ट कविताहरू समावेश हुन्छन् । कवितामा गरिएका नयाँ नयाँ प्रयोगहरू पनि यो सङ्ग्रहमा देख्न पाइन्छ ।

तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको; आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ रु कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार…!

कविले कि त आफ्नै बारेमा लेख्छ, कि आफूले नजिकबाट देखेर महसुस गरेको कुरा लेख्छ । शुरुशुरुमा आफ्ना असफलता र व्यर्थतालाई लेख्न अलि गाह्रो लाग्थ्यो । मान्छेहरूले पढेर आफूलाई कमजोर ठान्छन् कि जस्तो लाग्थ्यो । अचेल चाहिँ जसले आफ्ना असफलताहरूलाई खुलेर लेख्न सक्छ, त्यो मान्छेमा दम छ भन्ने लाग्छ । अर्काको असफलता पढ्दा आफैलाई पढिरहेछु जस्तो लाग्छ । सबै मान्छे सधैँ सफल हुँदैनन् । धेरैले आफ्ना असफलताहरूलाई लेख्दैनन् । जो सफल भएका छन्, उनीहरूसँग धेरै असफलताहरू छन् । उनीहरू तिनै असफलताका भर्‍याङ चढेर नै सफल भएका हुन् ।

समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ ?

कविता लेखेर मैले समाज र मानवताप्रतिको न्यूनतम दायित्व पुरा गरेको भन्ने ठान्नुभएकोमा हार्दिक धन्यवाद । म त आफू विचार र भावनाले उकुसमुकुस भएको बेला कविता लेख्ने गर्छु । कविता लेखेर मैले मेरो दिमागमा भएको ‘मेन्टल ब्ल्केज’लाई खोलेको हुँ । राम्रा कुराले ‘मेन्टल ब्ल्केज’ भएको रहेछ भने राम्रा कविता निस्कन्छन्, झुर कुराले भएको रहेछ भने झुर कविता निस्कन्छन् ।

तपाईँले ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्नु भयो, म थोरै सहमत र थोरै असहमत भएँ । नयाँ जेनेरेशनमा गम्भीर अध्ययनको कमी पाउँछु । तर पनि नयाँ कविहरूले नयाँ नयाँ ट्रेन्डमा कविता लेखेका छन् ।

कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् । 

तपाईँले भन्नु भएजस्तो प्रवृत्ति भएका प्रकाशकहरूलाई मेरो केही भन्नु छैन । प्रकाशन एउटा व्यवसाय हो, जे बिक्छ भन्ने लाग्छ, त्यही छाप्छन् ।

नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औँल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो । मौका नगुमाउनुस् है त ! हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् ! 

समकालीन नेपाली कविता सामाजिक र राजनैतिक विकृतिको वरिपरि घुमेजस्तो लाग्छ । जीवनका शाश्वत सत्य र जीवन दर्शनले प्रभावित कविताहरूको आयु लामो हुन्छ ।

नेपाली कविताका समीक्षकको कुरा काट्ने कुरा नगर्नोस् है । बरु उनीहरूलाई फुर्क्याउने कुरा गर्नुस् ।

आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै ! तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ । 

मसँग त लगानी गर्ने पैसा नै छैन । नत्र साहरुख खानले क्रिकेटको कम्पनी चलाउँदा मैले पनि फुटबलको कम्पनी चलाउँथे नि ।

जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ ! 

कविता गन्थन होइन भन्ने कुरामा म पनि सहमत छु । यस्तो रमाइलो गफ भइरहेको बेला के कविता सुनाउनु खै ।

केही छुट्यो र ?

छुट्यो नि, प्रश्न नं ११ र त्यसपछिका सबै प्रश्नहरू छुटे । तर थाहा छ, तिनै छुटेका प्रश्नहरूले त हामीलाई बचाइरहेका छन् नि । हामी तिनै छुटेका प्रश्नहरू पछि सोध्नका लागि त बाँचिरहेका छौँ नि । होइन त ? मेरो प्रश्न ।

===

डा. नवीनबन्धु पहाडी ‘दाहाल’सँग शब्दपट्याँस:

डा. नवीनबन्धु पहाडी

डा. नवीनबन्धु पहाडी

कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँझैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्‍यो नि, कस्तो लाग्यो ?

पुराणहरू आफू पनि प्रशंसा खोज्छन्, पूजा खोज्छन् र अर्काको पनि प्रशंसा गरिदिन्छन् । फेरि अहिले उबेलाकाे जस्तो सूक्तिमय कविता पनि छैनन् र कवि पनि त्यसैले कविको भाउ र मूल्य र्‍याप कविताले सस्तो बनाइदियो नि ! शाश्वत कविको लागि त पुराण ठिक हो नि !

तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि  गोत्र भन्नुस् न ! सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार ! 

यो ज्यादै कुरा काट्ने ‘कटुवाले’ नबनाउनुस् न यार । ‘तैट मूला’ भन्ने नारा जाेतारा कविहरू र तिनमा कविता चोक चोक र गल्ली गल्लीमा छन् नि । के गणना गर्नू ! फेरि झोला झोलामा बोकेर अस्ति लिइदिनुस् न भनेर तपाइलाई पनि एउडाे प्रगतिशील कवि र खतरा नारीवादीले भन्नू भा हैन र ? अँ तपाईँलाई थाहै छ नि अनेक विभूषण र पुरस्कार ‘मूला कविता’ले नै पाउने युग हो नि यो । किनकि मूला तरकारीमा, भान्सामै पनि ठिक र सलादमा पनि ठिक हुन्छन् । बरु केही ‘मूलाहरू’ झोला भिरेर ‘कविता किन्दिनुस्’ भन्दै यतै आउँदै छन् । खल्तीमा दाम नभए आँखा छलेर भाग्नुपर्छ !

नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् ।

युगसापेक्ष कविहरू जो सदाबहार चर्चामा छन्, तिनीहरू हामीले मन नपराए पनि गतिला हुन्छन् । मान्नुस्/नमान्नुस् रामायण, मुनामदन, ऋतुविचार, घुम्ने मेचमाथि अन्धो मान्छे युगान्तकारी थिए । आजभोलि त २/४ जनाको मात्रै नाम लिइदिँदा पाप लाग्छ किनकि निकै दर्बिला अक्षरहरू कुदिँदै आएका छन् । सबले आआफ्नो व्रम्हाण्ड बनाउदैछन् । मेरै अगाडि झल्लुदरबार काव्यसिंहासन छ । कविताका बामपुड्के उचाइतिर ध्यान नदिनु नै बेस हैन र !  राजु जी तपाईं युवा हुनुहुन्छ र निराशा, कुण्ठा र हीनताका वाहियात गन्ध लेखेर चाडै रोग र मृत्यु डाक्ने कवि बन्न रहर नगर्नुस् है

तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!

यस्ता लेखन लेख्न सकिन्छ तर व्यथा कति सङ्क्रमित छ र कति लेख्न सकिन्छ भनेर नाप्न कठिन छ ।असफलता र हीनताको मात्रा कति छ भनेर कति गहिराइमा पुगेर त्यो व्यथाले जति सङ्क्रमित हुन सकिन्छ त्यति पोख्न सकिने न हो । अँ पढ्न त मजै आउँछ पढिसकेर पाइने पोषण भने हल्का हुन्छ ।

तपाईं पुरस्कारको लोभ र र्याल काढ्न कवि भएको हो र ?

आशाले लेखेको भए निराशा हुन्छ, आशै नगरी आफ्नो मर्जीले लेख्न थालेको र आफ्नै खुसीले लेख्न थालेको मान्छेलाई पुरस्कारको दौडमा कुद्नु छैन । तपाईँलाई पुरस्कारको लाइनमा बस्नु छ भने मैले देखेको सजिलो उपाय सुटुक्क भनिदिन्छु, ,कान यता थाप्नुस् त । ‘कुनै पुरस्कार गुठीको सञ्चालक समितिमा बस्नुस् र सौदाबाजी गर्नुस्, अथवा गुठीको बारेमा पुराण लेख्नुस्, लगाउनुस् र सट्टेवाजी गर्नुस् ।’ यो वर्ष तपाईँको पुरस्कार पक्का ! योभन्दा गुणस्तर यहाँको पुरस्कारको देख्नुहुन्छ र ?

समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोही प्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको, आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविले  आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ ?

कविता संवेदना पग्लेर लेखिन्छ र पूर्ण दृष्टिका साथ। अल्पदृष्टिले त सीमित वादकाे दास भइहाल्यो नि म दास बन्न रहर गर्दिन ! अँ, नेपाली कविता सामाजिक उत्तरदायित्वका कसीमा हेर्ने हो हालत मिश्रित छ । त्यो दायित्व आचारसंहिता जस्तो रहेछ र नेपाली नेताहरूले संविधानको व्याख्या गरेजस्तो अर्कोलाई देखाउन सामाजिकताको रटान गर्नेछन् । आफूले जति उल्लङ्घन गरे पनि भो ।

कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् ।

यहाँ प्रकाशक पनि छन् र ? म त व्यापारीबाहेक कोही देख्दिन त !

अँ, कविता बुझ्ने हैसियत भए त छाप्थे होलान् नि ! आफैले नबुझ्ने कुराको दुःख तिनले किन बेसाइरहन्थे नि ! तिनले थाहा पाउनु पर्थ्यो नि नुन पसल थाप्नु राम्रो कि सुन पसल ! अहिले नुन पसल बग्रेल्ती छन् । सुन पसल खोज्नुपर्छ ! ताेरीलाहुरेलाई सुनको स्तरीकरण गर्न आउँछ र ?

नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औँल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो ! मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए  नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् !

नेपाली समीक्षकहरूको लहरमा एक्लो वृहस्पति रामकृष्ण शर्मा हुन् जसको आनुवंशिकता बिलाएर गयो, अरू त कि मौसमी गीत गाइदिएका न हुन् । २/४ बेलुका भट्टीमा इन्द्रेनी बनाइदिने समीक्षकहरूको युग हो यार यो !

तपाईं त्यता नलाग्नुस् ल, यहाँ रामकृष्ण शर्माहरूको खाँचो छ ! तारानाथहरू त जति पनि छन् । कहिले दरबारलाई सामान्त देखे र मविवि शाहको कविता र गीतलाई दुर्गन्ध ठाने, उनकै बुहारी चाँदनी शाहलाई गीतकाे महासागर देखे !

छिटोछिटो पुरस्कार पड्काउने र साँझ रङ्गिन बनाउने भए अफर आउँछ,  बकम्फुसेहरूको प्रलापलाई उधुमको कवि भनेर लेख्दिनुस् त !

===

मनोज लोहारसँग शब्दपट्याँस:

कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँझैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्‍यो नि, कस्तो लाग्यो

प्रशंसा जसले गरे पनि खतरनाक कुरा हो । मानिस हुनु मेरो चाहना, रहर थिएन । तर भएँ । यसमा कुनै दु:खमनाउ छैन । तर यो कुनै गतिलो काम हैन । सबै जीव सरहको एक जीव भएँ । कैलेकाही दु:ख चैँ लाग्छ कि म मानिस जस्तो खराब जीव भएँ । विध्वंसक एवं विनाशक जीव भएँ । खैर जे भएँ, त्यो मेरो छनोट हैन । हुनै चाहे म अरू नै जीव हुने थिएँ । कवि हुनु चैँ मेरो छनोट हो । तर यो पनि गजबकै काम हो लाग्दैन । म त कविहरू पनि गएगुज्रेको भेट्छु । यसैले कवि भएकोमा प्रशंसा बोध छैन । सरी पुराण ब्रो…!

तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न ! सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार !

मैले पढ्ने भनेको आफ्नै कुरा गजबसँग भन्न सकियोस् भनेर हो । पहिलोपटक कविता पढेको पाठ्यपुस्तकमै होला हामी सबैले । त्यसपछि बाल कविताहरू पनि पढेँ । त्यसपछि मुनामदन पढेँ । त्यो भयानक पुस्तक पढेपछि मैले छन्दमा कविता पनि लेखेको थिएँ ।

किताब पढेर मैले यस्तो खराब लेख्नु हुन्न भन्ने सिकेको छु । राम्रो लेख्ने उत्प्रेरणा पनि पाएको छु ।

नेपालमा गजब लेख्ने कविहरू पनि छन् । त्यसमध्येको एक मौन आवाजलाई सम्झिन चाहन्छु । अर्को राजु झल्लु पनि हो । सायद त्यो नाम तपाईँको हो ! यस सङ्गै दु:खबोध गर्नुपर्ने कुरा पनि छ- अधिकांश कविहरू खास गतिलो लेख्दैनन् । त्यसमा म पनि पर्छु । यसैले मलाई लाग्छ, ‘हामीले अझै धेरै लेख्नुपर्छ ।’

पछिल्लो समय पढेर झुर लागेको; संयोग कस्तो भने तपाईँको प्रश्नमा भएको शब्द `मिल्काए´कै थिएँ- विमल निभाको डेकेन्द्र राजवंशीको आत्महत्या भन्ने पुस्तक ! इमानदार उत्तरको लागि गोत्र जस्तो थोत्र कुराको आड के लिनु…अन्य भूमिका बाँध्ने झन्झट पनि पाठकलाई छाड्छु ।

नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् । 

फेरि पनि मौन आवाजको नाम लिन चाहन्छु । अभय श्रेष्ठको नाम लिन चाहन्छु । यस्ता नामहरू गोप्य राख्नुपर्छ भन्ने कवि नवीन अभिलाषीको नाम लिन चाहन्छु । मलाई लाग्छ यी नामहरूले राम्रो लेखेर पनि खास एप्रिसियएट पाएका छैन । बाँकी नाममा वासु शशीको नाम लिन चाहन्छु । लेडी लेखनमा चैँ सरिता तिवारी, पारिजातको नाम लिन चाहन्छु । फरेन पोयट्सको कोटामा चैँ केदारनाथ सिंह प्रिय लाग्छ । अझै धेरै नाम छ । भन्ने नै छु । समय सधैँ छँदै छ ।

तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!

सब्से सजिलो त पढ्नै हो । खोजेको जस्तो नपाउँदा फेरि सब्से गारो यै बन्छ । सन्तुष्टि चैँ आफैँले एउटा कविता लेख्नु र अरूको सिङ्गै सङ्ग्रह पढ्नुमा बराबर मिल्छ । आफूले लेखेको गतिलो भएर त्यस्तो हुने त हैन । सन्तुष्टि सायद पर्सनल कुरा भएर चैँ त्यस्तो हुन्छ होला ।

थप प्रश्नबारे चैँ- मलाई लाग्छ लेख्नु, पढ्नु, डुल्नु र अन्य मरमसलातिर घुमफिर गर्नु व्यक्तिगत मुड/छनोटको कुरा हो । त्यसमा बढी चिन्ता लिनु हुन्न !

समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ

मैले लेख्नुको कारण दायित्वबोधले नै हो । म नलेखी पनि बिन्दास बाँच्न सक्छु । रातभर जागेर सिरिज हेर्न सक्छु । बिदामा बाइकमा बत्तिन सक्छु । कतिपय कुरामा सम्झौता गरेर भए पनि म लेख्छु । मेरो सचेत प्रयत्नले मैले जे भोगेर आए त्यो समाज विघटनमा, सुधारमा थोरै नै सही हात मिलाउँछ जस्तो लाग्छ भने म लेख्छु । लेख्नुमा म अझै जिम्मेवार हुन चाहन्छु । हुने प्रयत्न गर्छु/गरिरहेको छु ।

कविताले ओछ्यान मिलाउन छाडेको कुरा तपाईँको हो । यसमा भन्नू छ- त्यो तपाईँले भनेको हो भने सही भन्नुभयो । थ्यान्क्स बोस…यो बिटर ट्रुथ आयो ।

कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् ।

यसमा म पनि ‘तोरीलाहुरे हुन्’ भन्न चाहन्छु ।

नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औँल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो । मौका नगुमाउनुस् है त ! हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् ! 

नेपालमा समीक्षा र समीक्षक लोपोन्मुख जीव हुन् । समीक्षा र समीक्षक भेट्न टिकट काट्नुपर्छ होला । त्यसपछि केही मिनेट मनोरञ्जन हुन्छ । यी दुर्लभ जीवको संरक्षण गर्नुपर्ने अवस्था छ । यस्तोमा तिनको योगदानको के नै चर्चा गर्नु ?

आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाइराछन् । यस्तै यस्तै । तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ! 

मेरो लगानी पठनमा छ । यो बाहेक त केही छैन । पढ्दापढ्दै कवि भएँ । पढ्दापढ्दै सरकारी सेवामा छिरेँ । अहिले पनि यहीँ काम जारी छ । तर अहिले पठन डिभाईडेड भएर अस्तव्यस्त छ…हेहेहे !

जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !

अरू सब अस्थायी हुन् । कविता गन्थन होइन स्थायी हो । पुरै सहमत बोस….सुनाउन चैँ कुन सुनाऊ तपाईं नै भन्नुस्…. !

केही छुट्यो र

मैले ईन्जोय गरेँ । अरू महसुस हुन पाएन….

(क्रमश:..)