१.
उड, हिँड, दगुर या निदाऊ, म दोबाटो हुँ
तिमी चाहे पर्ख या जाऊ, म दोबाटो हुँ

फटयांग्रो होइन, भ्यागुतो होइन, सर्प होइन
तिम्रो खाद्यचक्र, खाऊ या नखाऊ, म दोबाटो हुँ

कहाँसम्म हो ? कहिले फर्किन्छौ भनेनौ
तिमी बाडुल्की हौं, सताऊ, म दोबाटो हुँ

कान छोप, मुख थुन, नाक समाऊ, हुन्छ
तर, हृदय उघार, आँखा उजिल्याऊ, म दोबाटो हुँ

 

२.
आएकी रहिछौ, बतायौ ! दु:ख लाग्यो
बिर्सिँदै थिएँ, सम्झायौ ! दु:ख लाग्यो

केके बटुल्यौ ? केके पायौ ? छोड न
फेरि आँखा भिजायौ ? दुःख लाग्यो

औँलासम्म है भन्दै थिएँ, मानेनौ
फेरि डुडेल्नो समायौ ? दु:ख लाग्यो

चप्पल छन्, पैताला छन्, बाटो पुरिए
फेरि विगत कोट्यायौ ! दु:ख लाग्यो

कसिएका थियौँ र त, फुत्किएथ्यौँ हिजो
फेरि अँगालो फैलायौ ? दु:ख लाग्यो

 

३.
एउटा बेस्वादिलो स्वाद, हृदयले रुचाइरहने
तिम्रो बारे कविता लेख्ने, अनि गुनगुनाइरहने !

बाँचुन्जेल मारिरहने, मारेपछि चिता चुमिरहने
दुनियाँ एक मसान हो, आफ्नो रीत चलाइरहने !

कोइलीले ‘कौ हौ’ भनिरहेकै छ, के पो भनूँ ?
म ‘मैं हूँ’ भन्थेँ, हो कि होइन पो ? मन डराइरहने !

तिमीलाई भेटेर खुसी लाग्यो यार, राम्रो गरिरहेछौ
चङ्गा उडाएको हो भनिरहने, चट्याङ समाइरहने !

 

४.
आकाशदेखि धरतीसम्म खनिएको छ
दु:खका बादल सदैव चुहिएको छ

एउटा रुझेको प्वाँख, यद्यपि उडिरहेछ
कसैले चरा देखेर गुलेली सम्झिएको छ

मलाई पनि त रोबोट हौँ लाग्छ, लागिरहन्छ
तिमीलाई देख्दा यो तर्कना बल्झिएको छ

कसले फुकेको होला, कसले निभाउला ?
ढुङ्गाको ओदानमा ढुङ्गै पकाइएको छ

बल्छ भनौँ- बल्दैन; बल्दैन भनौँ – बलिदिन्छ
प्रेमको झरीमा यो ‘सलाई हृदय’ कोरिएको छ ।

 

५.
अँध्यारोले बोलाएको होला
उसको हृदय उज्यालो होला !

यो प्रश्न होइन, प्रतिप्रश्न होइन
कालो कति सेतो होला ?

मलाई आकाश कुल्चिनु छ
दुबो किन यसो भन्दो होला ?

सबै कमिला थाकेका छन्
फट्यांग्रो पक्कै हलुंगो होला !

 

६.
किला ठोकिएको थियो, अब निक्लिएको छ
यो समय हो, जो मसँगै फर्किएको छ !

मानेँ, गँड्यौलाहरू आकाशबाटै झरेका हुन्
भुँईको भ्यागुतोले आफ्नो भोक सम्झिएको छ !

मरेको भनेछन् ? भनून्, यो हाम्रो आदत हो
हाच्छ्यूँ गर्दाखेर पनि एउटा पाना पल्टिएको छ !

हिँडिसक्यो अरे ? ठिक छ, कहीँ पुगेर फर्कियोस्
यो बाटोले पनि धेरै पैतालाहरू कुल्चिएको छ !

ताल्चा ठोकिएको ढोकाबाहिर चप्पल राखिएको छ
हैरान छु, भित्र को छ ? बाहिर को पर्खिएको छ ?