‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – माणिकरत्न शाक्यको ‘उही..’, विमल वैद्यको ‘युगको तटमा उभिएर’, डा. हरिकुमार श्रेष्ठको ‘फर्मोसाबाट नेपाली सुस्केरा’, मोदनाथ महरट्टाको ‘जेल डायरी’ ।
= = = =
१. उही.. — माणिकरत्न शाक्य

हास्यव्यङ्ग्यका खोजकर्ता, लेखक तथा सम्पादक माणिकरत्न शाक्यकृत पुस्तक हो — “उही..” ।
पुस्तक ९६ पृष्ठमा मौलाएको छ । यसमा ‘सिन्दूर’, ‘नानीछोरी’, ‘उसकी स्वास्नी’, ‘दोष कसको ?’, ‘अलपत्र ः प्रेमपत्र’, ‘ऊ..ऊ..को ?’, ‘रामविलासको रामकहानी’ लगायत २२ वटा कथा संग्रहित छन् । ‘उही..’ कथासंग्रहमा लेखकको प्रस्तुति नौलोपन तथा पात्रको यौनमनोविज्ञान पनि समेटिएको पाइन्छ ।
मन्तव्यमा प्रा.डा. दयाराम श्रेष्ठ ‘संभव’ उल्लेख गर्छन्, “माणिकरत्न शाक्यले ‘सिन्दूर’ शीर्षकको कथामा लेखेका छन् – संसार प्रेममा अडिएको छ । यस कथनलाई ‘हव’ (Hub) बनाएर उनले लेखेका धेरै कथाहरू यस संग्रहमा परेका छन् । उनलाई देखावटी वा पाखण्डी प्रेममा कति पनि विश्वास छैन, उनी अन्तर्हृदयदेखि उद्भत प्रेम प्रणयको पक्षधर भएकाले नै उनले ‘सिन्दूर’, ‘मोड ः भित्रबाहिर’ जस्ता कथाहरूमा नारी जातिको मनभित्रका शुद्ध र पवित्र प्रेम प्रणयबाट उत्पन्न समर्पण भाव, त्याग र उत्सर्गका परिणामलाई प्रस्तुत गरेका हुन् ।”
पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “बेलुका राष्ट्रिय झोलसहित विभिन्न परिकारहरू बनाएर राखेका रैछन् । गएँ, बसें, कुराकानी गर्दै, खाँदै थिएँ । तिनीहरूले उपद्रो गरेबापतको खाना खाँदैछस् सनकमान भनेर दिमागमा एक्कासि झड्का हान्यो । त्यो दिनको घटना सम्झिन पुगेँ । त्यसपछि मलाई उल्टी आउलाआउला जस्तो भयो । खानै सकिनँ । मेरो दशा देखेर घरबेटी आमैले भनिन्– के भो तपाईंलाई । मैले भनें– के हुनु नि ? तपाईंहरूको कथा सम्झेर वाकवाकी लाग्यो नि ।”
“विषयमा विविधता छ । अभाव, गरिबी, आन्तरिक द्वन्द्व, सशस्त्र द्वन्द्व, सपना, धोकाजस्ता धरातलमा अधिकांश कथाहरू उनिएका छन् । यी कथाहरू पढ्दा कथा पढिरहेको आभास नभएर बरु हाम्रै वरिपरि कुनै घटना घटिरहेको पो हो कि भन्ने आभास हुन्छ । कथाका विषयवस्तुका दृष्टिले यौन विषय अलि बढी फैलिएर कथाका पात्रहरूको जीवनका मोड र घुम्तीहरूमा बढी नै ताउरमाउरका साथ आएका छन् । यौनको चासनीमा भिजेको कथा मन पराउनेहरूका लागि यस सङ्ग्रहमा खुराक यथेष्ट छन् । त्यसपछि जागिरे जीवन र जागिरेहरू पनि कथामा बाक्लै भेटिन्छन् ।” भूमिकामा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ लेख्छन्, “…कथाले लघुकथाको बान्की त बोकेको छ नै, साथै लघुकथामा हुनुपर्ने झट्का दिने अन्त्य पनि अधिकांश कथामा पाइन्छन् । त्यसैले जेजस्तो विषयवस्तु भए तापनि कथा पढ्न सुरु गरिसकेपछि कथाको अन्त्यसम्म कथाले पाठकलाई तानेर लान्छ नै ।”
भुँडीपुराणबाट प्रकाशित यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।
= = = =
२. युगको तटमा उभिएर — विमल वैद्य

‘गोप्य कोठा हुनु भनेको
इमानलाई लिलामीमा राख्नु हो
गोप्य कोठामा छिर्नु भनेको
बेइमानीलाई धाप मार्नु हो
यस्ता कोठाहरू
यो युगको आँखामा बिझाउने कसिङ्गर हुन् ।’
यो विमल वैद्यको ‘गोप्य कोठा’ कविताको कवितांश हो ।
कवि विमल वैद्यको नयाँ कवितासंग्रह हो — “युगको तटमा उभिएर” । जसमा ‘गोप्य कोठा’ सहित ‘आगो बर्सिरहेको समयछेउ’, ‘छुटेर जानेहरू’, ‘रातो गुलाफ’, ‘आत्सम्मान’, ‘आवाजका लस्करहरू’, ‘रङ्गिन साँझ’ र अन्य ३१ थान कविता संग्रहित छन् ।
“यसअघि तीन कवितासंग्रहमार्फत समयसँग संवाद गर्न कविताको फाँटमा देखिएका कवि विमल वैद्य आफ्नो चौथो संग्रह ‘युगको तटमा उभिएरमा’ आइपुग्दा निकै परिपक्व र जिम्मेवार भएर देखा परेका छन् । आफूले बाँचेको समय, व्यतीत गरेको उमेर र देखे भोगेको इतिहासका विभिन्न मोडहरूले उनका कविता अनुप्राणित छन् ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा तुलसी दिवस लेख्छन्, “तिनले नेपाली राजनीतिको विसङ्गति र इतिहासका विपर्यासहरूलाई राम्रोसँग सहतमा ल्याएका छन् भने आफ्नो राष्ट्र, माटो र परिवारप्रतिको जिम्मेवारीलाई सर्वोपरी मानेका छन् । सामाजिक–राजनीतिक विषयका अतिरिक्त यी कवितामा प्रेम, जीवन–दर्शन, मिलन र विछोडका जोडघटाउ, भुइँमान्छेका दर्द र पीडा, भोक र शोकका नसुनिएका आर्तनाद, रित्तिँदै गएका गाउँठाउँका कथा–व्यथा र परिवर्तित समयका स्वभावलाई पनि केन्द्रीय कथ्य बनाइएको छ । विमलका कवितामा नेपालको सुदूरपूर्वी पहाडको भाषा, लवज, कथन, पात्र, विश्वासधारा र बिम्बहरूको बाहुल्य छ । यस स्थानीयताको रङले उनका कवितालाई निजत्व र पहिचान दिएको छ ।”
कृष्ण धरावासी उल्लेख गर्छन्, “चालीसको दशकदेखि नेपाली कवितामा निरन्तर सिर्जनशील कविको नाम हो विमल वैद्य । इलामलाई कार्यक्षेत्र बनाएर कवितामा कालिक चेतना भर्न सशक्त कलमका धनी बनेका हुन् उनी । मानवअधिकार र स्वतन्त्रताको पक्षमा हरेक आन्दोलनले उनलाई सडकमा भेटिरहन्थ्यो । उनी कवितालाई बौद्धिक लठ्ठी मात्र नबनाई कलात्मक सौन्दर्यले भरिपूर्ण विद्रोहको आवाज पनि बनाउँछन् । हरेक विसङ्गति उनका काव्यिक प्रहारका निसाना हुन् । देशको सुदूर पूर्वी पहाडमा झुल्किएको कलिलो काव्यिक सूर्य अब नेपाली कविता यात्राको मध्यान्हमा उभिन पुगेको छ ।”
आत्मस्वीकृतिमा कवि लेख्छन्, “अक्षरहरूसँगको प्रेममा हराएको पनि निकै समयहरू बितेछन् । थोरै समय पत्रकारिताका नाममा र धेरै त लेखन, अर्थात् कविताको नाममा खर्चिइयो । यस अवधिमा अक्षरहरूसँग खेलिरहँदा इत्रिन कहिल्यै मन लागेन । अक्षरहरूको मान खस्ला कि भन्ने कुरामा सधैँ सचेत रहेन प्रयत्न रहिरह्यो ।”
पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको हो । ९८ पृष्ठमा बुनिएको यस संग्रहको मूल्य २ सय ७५ रुपियाँ रहेको छ ।
= = = =
३. फर्मोसाबाट नेपाली सुस्केरा — डा. हरिकुमार श्रेष्ठ

अनुसन्धानात्मक काम तथा समाज सेवामा रुचि राख्ने कवि तथा लेखक डा. हरिकुमार श्रेष्ठकृत पुस्तक हो – “फर्मोसाबाट नेपाली सुस्केरा” ।
७९ पृष्ठमा मौलाएको यस पुस्तकमा ‘सहिद’, ‘एन.आर.एन हामी’, ‘सुधारिएको एक पुजारी’, ‘छाया’, ‘पुनर्मिलन’, ‘देश कहाँ मुस्कुराउँछ’, ‘मर्स्याङ्दी’, ‘पीडा र चाहना’, ‘निकास’लगायत ४७ थान कविता सङ्ग्रहित छन् ।
शुभकामनामा जीवा लामिछाने लेख्छन्, “ विदेशमा बस्दा पनि राष्ट्रप्रतिको चासो र माया कति हुँदो रहेछ भन्ने सन्देश यस पुस्तकमा समेटिएका विषयवस्तुले दिएको छ । यस पुस्तकमा कविले राष्ट्रियताका सवालमा उठेका मुद्दाहरू, देशका विषम परिस्थितिहरू, माया र सामाजिक कुराहरूलाई यथार्थ चित्रण गर्ने प्रयास गरेको पाइन्छ । देशमा विद्यमान विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण र दमनबाट कसरी समाज र देशलाई रूपान्तरण गर्न सकिन्छ भन्ने सोचहरू प्रस्तुत भएको पाइन्छ । त्यसैले यी विविध विषयवस्तुहरूलाई समेटी कवितारूपी साहित्यिक फूलको सिर्जना गर्न गरिएको यो प्रयासप्रति म डा. श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”
ज्ञानेन्द्र गदाल लेख्छन्, “कवि हरिकुमार श्रेष्ठद्वारा लिखित प्रस्तुत कवितासंग्रहमा प्रवासी जीवनको पीडा, स्वदेशी माटोप्रतिको मोह, मानवीय जीवनका भोगाइ आदिको यथार्थ चित्रण गरिएको पाइन्छ । यसका साथै मानवसमाजलाई एकताको मालामा गरिन यही सुझाव र आग्रहसमेत गरिएको छ । यसै सङ्ग्रहबाट सानो अंश उदृत गर्दछु ।
खोला पानी धमिलिंदा त माछा मार्ने ओइरो ।
वास्तविकता बुझ्दै जाँदा रहस्य झन् गहिरो ।।
भाइ फुटे गवार लुटे भन्थे नि हाम्रा बाले ।
हुन्नौं सफल हामी कोही मनमा रिस पाले ।। (एनआरएनए हामी, पृष्ठ ६)
प्रस्तुत सङ्ग्रहले कवि हरिकुमार श्रेष्ठको साहित्यिक व्यक्तित्वमा निश्चय पनि नयाँ उचाइ थपिनेछ । उनको लेखनप्रतिभा उच्च छ भन्ने यथार्थलाई यस सङ्ग्रहले प्रष्ट पार्ने कुराप्रति म विश्वस्त छ । भविष्यमा उनको साहित्यिक प्रतिभा अझ परिष्कृत हुँदै जाओस् ।”
कवि लेख्छन्, “ जीवनमा निकै नै उतारचढाव आइरहन्छ । जस्तै: कहिले क्रोध त कहिले रुणिकता, कहिले सुख त कहिले शोक, कहिले शान्ति त कहिले अशान्ति, कहिले त कहिले बिछोड, कहिले मित्रता त कहिले शत्रुता । त्यसैले मैले जस्तो देखेको भोगेको थिएँ, त्यसलाई त्यसरी नै प्रस्तुत गर्ने जमर्को गरेको छ । यसमा मैले दशमा बस्दा पनि देशको अवस्थाबाट कहिल्यै पनि टाढा भएर बस्न सकेको थिइनँ । त्यसैले यसमा मैले राष्ट्रियताका सवालमा उठेका मुद्दाहरू, देशका अन्य विषम परिस्थिति, माया, सामाजिक कुराहरूलाई यथार्थ चित्रण गर्ने प्रयास गरेको छु ।”
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषबाट प्रकाशन गरिएको यस कवितासंग्रहको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
= = = =
४. जेल डायरी — मोदनाथ मरहट्टा

कवि तथा निबन्धकार मोदनाथ मरहट्टाको संस्मरणात्मक कृति हो – “जेल डायरी” । यो उहाँको चौथो कृति हो ।
यसमा ‘जेल पठाउने चिठी’, ‘हिरासतमा दैनिकीको सुरुआत’, ‘इच्छुकको मृत्युपर्वमा शान्ति डकार्नेहरू’, ‘अनेक उद्देश्य छन् सिर्जनाका’, ‘बेपत्ता छन् राजेन्द्र, बेखर छ उनको प्रतिभा’, ‘रातभर पाण्डुलिपिको सम्पादनमा घनश्याम’ आदि २५ थान शीर्षक समावेश छन् ।
“जेलभित्रको जेल । जेल पनि मानिस बस्ने ठाउँ हो । जेलभित्र पनि मानवीय आवश्यकता हुन्छ, बाँच्न पाउनुपर्छ, जेलभित्र कानुनी हत्या वा बेपत्ता पारिनुहुन्न, यो सामान्य कुरा हो । तर, सैनिक हिरासत जेलभित्रका बन्दीहरूलाई चरम पाशविक व्यवहार गरिन्छ । समयमा दिसा–पिसाब गर्न नदिने, हत्या गर्ने यो चरम फासिवाद (?) चरित्र हो । फासिवादभित्र पनि निश्चित नियम होलान् र त्यसलाई तोडेमा दिइने सजायको फेहरिस्त हुँदो हो तर नेपालमा सङ्कटकालीन अवस्थामा फासिवादलाई पनि माथ गर्ने घटना भएका छन् । एउटा स्मरणीय घटना २०५९ भदौ ४ गते मासु खाने दिन थियो । साबिकभन्दा केही ढिला खाना खाएर भित्रै बसिरहेको अवस्थामा एक हुल सैनिक जेलभित्र प्रवेश गरेर जो भेटिन्छ, उसैलाई माथि जेलर अफिसमा लगेर चरम यातना दिन थाले । पिट्दा पिट्दा मूर्च्छा पारेर छाड्ने, कसैको नाक, मुखबाट रगत निकाल्ने जस्ता क्रियाकलाप दिनभरि भइरह्यो । पछि ढिलो गरी बुझ्दा के थाहा भयो भने उक्त रातमा सिन्धुलीको भिमाद चौकीमा छापामारहरूले कब्जा गरेछन् र कैयौँ प्रहरी मारिएछन् । त्यसको बदलामा गोरखा जेल र हिरासतमा चर्को यातना दिइएको रहेछ ।” नरनाथ भरहट्टा उल्लेख गर्छन्, “ अन्त्यमा, भाइ मोदनाथ मरहट्टा जेलभित्र रहँदा वा बाहिर रहँदा हामीबिचमा कहिले फरक दृष्टिकोण भएन र वैमनस्यता पनि छैन । लेख्ने कलामा सधैँ अगाडि मूलधारको प्रगतिवादी साहित्यका कारणले विभिन्न राष्ट्रिय स्तरका सङ्गठनमा समेत आबद्ध छन्, राष्ट्रिय स्तरका पुरस्कार र सम्मानसमेत प्राप्त गरेका छन् । जेलभित्र रहँदा सङ्कलन गरेका केही दैनिकीसँगै मेरा शुभकामनाका केही अनुच्छेद प्रकाशन गर्न लागेकोमा म भाइप्रति शुभेच्छा व्यक्त गर्दछु ।”
आफ्ना कुरामा लेखक पोख्छन्, “ इतिहासका कुनै दिनहरू सम्झने खालका पनि हुन्छन् । हरेक मानव उमेरको एउटा तह पार गरेपछि पेसा व्यवसायमा आबद्ध हुन्छन् । बाल्यकालदेखिका दैनन्दिनी लेखन सङ्कलन गर्न सके त्यो व्यक्तिको जीवन बुझ्न सजिलो हुन्छ तर सबैको त्यस्तो सीप कहाँ हुन्छ र । म अचानक गोरखा झ्यालखानामा पुयाइएँ । त्यहाँ पुगेपछि मलाई लाग्यो म लेखपढ गरेर कैदी जीवन कटाउँछु तर स्थिति सोचेजस्तो भएन । सायद सटकालको बेला भएर होला सुरुमा त्यहाँभित्रका कैदीबन्दीहरूले पनि हामी आस्थाका साथीहरूलाई होच्याउने र खिस्याउने गर्न थाले । कारागारमा पटक–पटक गरेर डेढ सयको सङ्ख्यामा आस्थाका माओवादी साथीहरू जम्मा भएका थिए । जेलभित्र पुगेपछि केही दिन असहज अवस्था बन्यो । जेलमा रहेको सानो पुस्तकालय पनि हटाइएको रहेछ । समय कटाउन खेल्ने पढ्ने, समय काट्ने कुनै साधन नहुँदा उच्चाटलाग्दो वातावरण बन्यो । बाहिर जनसम्पर्क छैन, घरपरिवार र आफन्तहरूले अन्यौलता बोकेर बाँचिरहे । सुरुको तीन महिना एउटा रेडियोबाहेक अरू सूचनाका साधन केही भएन ।”
भुँडीपुराणबाट प्रकाशित १ सय ४० पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३१ जेष्ठ २०८३, आईतवार 










