साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सेवोटेज किरातेश्वर !

धारावाहिक उपन्यास

Chovar Blues Mobile Size

 

अहिलेसम्म कति हजार किलोमिटर यात्रा सम्पन्न भयो, रेकर्ड राखेको छैन । जाडो छल्न फेरि एकपटक हजारौं किलोमिटर नाघेर यायावर श्लेषमान्तक माथि आयो । बर्ड–साइट एङ्गललाई जुम इन गर्दा देखियो छेउमै डङ्गर गिद्ध उग्राइरहेको । छेउमै खान नपाएको बालक । पुलिट्जर पुरस्कारको नियति । कसैले बुझे पनि नबुझे पनि पङ्खबिनाको पन्छी भएर उड्नुको मजा बेग्लै छ ।

उड्दा–उड्दै थाकेर झरे पनि डर थिएन । सङ्गीतको समुद्रमा चौबीस घण्टा पौडी खेल्ने विश्वको पहिलो मान्छेको नयाँ रेकर्ड संस्थागत हुने थियो ।

‘प्रभु तिमी मेरो माया गर स्वीकार ! तिमीबिना केही छैन जीवनको सार । ज्ञान छैन भक्ति छैन अनाथ छु नाथ, चिन्नु मैले कहिले तिम्रा रूप हजार ? निरपेक्ष के गरेको लीला तिमीले ? अधर्म छ शिवजीलाई मार्न तयार !’

सोच्दा–सोच्दै मैले झल्याँस्स सम्झिएँ, म को हुँ ? यो के सोचिरहको छु ? कसले मार्न सक्छ शिवजीलाई ?
त्यतिबेलासम्म भीडभित्र भीडबाट अलग्गिसकेको थिएँ म । मोबाइल आफैं सुइझ्याप । पाश्र्वमा भक्ति–सङ्गीत गुञ्जिरहेको थियो । ‘जे गर्छन् उनै गरुन्, छ लीला उनैको । जान्दिनँ अरू त केही म, छ कृपा उनैको ।’

नन्दी, भृङ्गी, नाङ्गा–बाबा, गणहरू मस्त थिए, आफ्नो संसार सजाउँदै । नजाने कुन ध्येय थियो ? सायद चिन्नुथियो उज्यालो । खोज्नुथियो देउता । बुझ्नुथियो शिव । गहिरिनुथियो, आफूभित्र । सोध्नुथियो, त्योभन्दा उता के छ ?

sagarmani mobile size

कथाले मागेपछि म एकोहोरिएँ । पात्रहरू बढ्न थाले । अध्यात्म र भोगी मन फ्युजन भयो । भीडमा नचिनिएपछि मुखुन्डोको आवश्यकता रहेन । एक्लो हुनुको मजा बेग्लै छ । जे बोले पनि भयो । जे सोधे पनि भयो । जे लेखे पनि भयो । जे गरे पनि भयो । जे खाए पनि भयो । जता थुके पनि भयो । कति आनन्द !

राणा शासनकै बेला । ‘मैले गरिखाएको देख्न नसक्ने यहाँका मान्छेहरू, थुक्क ! भन्दै धनकुटाको भीरगाउँलाई थुकेर हिँडनुभएको थियो रे मेरो हजुरबुबा,’ आमाले भन्नुभएको । त्यही अभिशप्त भीरगाउँसँग जोडिएको मेरो कार्मिक सम्बन्ध सम्झाउने पनि कोही थिएन छेउछाउमा ।

अपाङ्ग सबलाङ्ग विचारहरू भाङले लठ्ठ भए । असक्षम होइन, अक्षम हो भनेर प्रुफ मिलाउन पनि झ्याउ लाग्न थाल्यो । अश्लील भनिएका शब्दहरू भोगिने सघन खतरा छेउमै थियो । ‘गाँजा खाए राजा, सिगरेट खाए चोर । खैनी खाए चुतिया, थुके सारा ओर,’ लाइभ क्यामेराअगाडि गेरुवस्त्र बेरेका नाङ्गा–बाबा सिकारु भक्तलाई सम्झाउँदै थिए । छेउमा मान्छे डढेको धूँवाको उकसमुकुस साक्षी थियो ।

धिरज बाबा साक्षात अगाडि थिए ।
मैले चिनें, उनले चिनेनन् । केहीबेर सुफी सिद्धान्त, रुमीले गरेको व्याख्या, सुनें । रुमीले गरेको व्याख्या, (गीता–मिथकसँग मिल्दोजुल्दो) हजार पानाको किताबमा समेटिएको व्याख्या, जसको सबै पाना खाली । आफूखुसी जे लेखे पनि हुने । जे व्याख्या गरे पनि हुने । जे अनुभव गरे पनि बिन्दास । नेपालको प्रजातन्त्रको जेरोक्स कपि ।

सुफी सुन्दा–सुन्दै साफीको झोल सम्झिएँ । चिराइतो दबाइ, रगतका भाइरसहरू सफा गर्ने चूक । मन चेक–अप गराउन बाँकी छ, कुनै ठुलै रोग लागेको पो छ कि ? थाहा भयो भने के गर्ने ? किन थाहा पाउने ? आफूलाई मभित्र समाहित गरिसकेपछि । बेलामा खानु पनि परेन । सुत्नु पनि परेन । बोल्नु, लेख्नु, नुहाउनु, ढाँट्नु केही गर्नुपरेन । कुतर्कहरूको सहारा पनि चाहिएन । साक्षी राख्नुपरेन । अन्तर्मनको यात्रा जति गरे पनि भयो ।

लेख्नकै लागि सञ्जीव उप्रेती खरानीका पछि लागेको प्रसङ्ग सुन्दै–सुनाउँदै आयो । बिरुपाक्षभन्दा निकैमाथि सामान्य विशेषता भएको मान्छे, नजिकै कहिले यता कहिले उता, फेरि यता फेरि उता गरिरहेको रहेछ । घण्टौं । त्यसरी ऊ कहाँ जान हिँडिरहेको थियो ? कसले त्यसरी घुमिफिरी रुम्जाटार हुन आदेश दिएको थियो । के ऊ साँच्चिकै पागल थियो ? कि कोही प्रेमी थियो ? आखिर के थियो यो घनचक्करको रहस्य ? कि ऊ पनि कसैद्वारा श्रापित थियो ? नाजवाफ घनचक्करको कथा सुनियो केहीबेर ।

गौरीघाटतिरबाट उल्लु कराएको आवाज आइरहेको बेला माथि किरातेश्वरमा नौ बजेको थियो ।
‘माथि जाने बाटो यताबाट,’ कोही शिवभक्त अनुग्रहित भयो ।

‘ए, यताबाट रहेछ, उकालो लाग्ने ठाउँ !, ढिलो–चाँडो मात्र हो, आखिर सबै जाने बाटो उही हो,’ तत्काल मनले केही बुझ–बुझे जस्तो गयो । तर, यहाँबाट माथि जाने कि तल जाने कि कता जाने ? म अलमलमा परेको बुझिदिने त्यहाँ कोही थिएन । मजा आइरहेको थियो ।
‘दोधारैमा अल्झाइराख एक–दुई दिन अरू । खुल्नुभन्दा रहस्यमै मजा हुन्छ बरु,’ वातावरण मायालु, सङ्गीतमय छ । ‘वासना बाधा छन् जीवनमा, मन लागोस् प्रभु चरणमा । दर्शन प्रभुको म पाउँ हर्दम्, घरमा बसुँ या वनमा ।’

मन लागेर होइन, निद्रा नलागेर फिलिङ मिल्यो । केहीबेर पत्रकार विशाल खत्री जोगी भएको, बहुलाएको र चिर निद्रामा परेको चर्चा चल्यो । अच्युतम् भट्टराई ‘ज्ञानमित्र’ बनेको र साथीभाइले त्यस्तो नाम नराख्न आग्रह गर्दा नमानेको, बरु ऊ झन् रहस्यमय हुँदै गएको सन्दर्भ आयो । किरातेश्वरबाट ज्ञानमित्र यो वर्ष चाँडै फर्किए पनि बीचमा साथीहरूसँग टाढिँदै र परमात्मासँग नजिकिँदै गएको सुखानुभूति थियो ।

रहस्यमय लीला चलिरहेको छ ।
‘जय शम्भो !’ छेउमै मैले नचिनेको एउटा करायो ।
‘गाँजा कम भो !’ अर्कोले उल्यायो ।
‘धर्म निरपेक्षता मूर्दावाद !’ जोडले फेरि त्यही चिच्यायो ।
‘हा हा हा हा !’ साथीले खिल्ली उडायो ।

‘पागल भइसकेछ, जे पनि बोल्न थाल्यो अब,’ आर्यघाट छेउमा धुनी ताप्दै, आँखा राता पारेको अर्को भलाद्मी बोल्यो । पृष्ठभूमिमा तीन दिनको निरन्तरता सम्झाउँदै सुफी भजन चलिरहेको थियो । तु माने या ना माने भगवान्, मै तो तेरा भक्त बन गया । ‘कहाँबाट आयौं हामी कहाँ जानुपर्छ ? कसलाई सोध्ने, कसलाई बुझ्ने, कसले भन्न सक्छ ?’

शिवजीका अनेक रूप छन् । कतै तान्डव कतै चुप छन् । धर्ममा के हुँदै छ अचेल ? कुप्रचार चलेका खुब छन् । भक्तहरू पनि कस्ता–कस्ता ? कोही धूर्त कोही बेकुफ छन् । जीवनभर केही छैन शिव ! मरेपछि सम्मान र धूप छन् ।

तानपुरा बज्दाबज्दै शिवभक्तले लुकाएको आनन्दको शक्ति निस्तेज पार्ने राज्यको कथित दायित्व सम्झने बेला भएछ । बेलैमा किरातेश्वर सेवोटेज गर्न तानाबाना बुन्न थालियो ।

‘दिन ढल्दै आयो, रात बढ्दै आयो । हेर घाम अस्तायो, रात पर्दै आयो ।’
‘वाह ! वाह ! क्या बात !’ बुझे पनि, नबुझे पनि, साँच्चिकै हिप्पीहरूको मन छोयो । भाषाको बन्धन थिएन । दुई जोडी जर्मनी मलेवाहरू पनि कृतज्ञ भए ।

‘बाँके बिहारीलालको ?’ जय होस् !
‘सनातन हिन्दू राष्ट्रको ? जय होस् !’
जय गान गर्दै गरेका भारतीय लेखक कृष्णमुरारी सिंह चिनिए । कान्तिपुर एफएमले डायरी अपडेट गरिरहेको थियो, सधैंको वर्ष झैं पशुपतिको जात्रा, सिद्राको व्यापार गर्नेहरू निकै आएका छन् ।
‘मलाई यो ठाउँ विदेश जस्तो लागेन !’
‘किन ?’ म विस्मित भएँ ।
‘कसरी विदेश भन्नु ! हाम्रो त्यहाँ जुन भाषा छ, त्यो यहाँ पनि चल्छ । जुन पैसा छ, त्यो पनि चल्छ । टाटा गाडीकै राज रहेछ । अक्षरहरू पनि उस्तै छन्, सिटी सफारीसमेत देवनागरी लिपिमा लेखेको !’ लेखकले एकेक अनुभव सुनाए ।

फिर्ररर ! फिर्ररर ! एक–एक गर्दै कप्सहरू नजिक हुन थाले । अँध्यारो बढाइँदै थियो । नजरबन्द बाक्लिँदै थियो । चारैतिरबाट शिवभक्तहरू धपाइँदै थिए । मृगस्थलीमा बाँदरहरू सुत्ने बेला हुँदै थियो ।

‘सुनिनस् ! तल ओर्ली भनेको !’
म डराउँदै तल ओर्लें, पवित्र पाशुपत खाल्डोमा ।

सम्पूर्णभक्त सम्झाउँदै थिए, ‘शिवरात्रिमा पशुपति आउने भक्तहरूको जय ! आउन नसक्ने भक्तहरूको पनि जय ! कोही आए कोही गए, बराबरी भए । चिन्ता किन गर्नु ?’

 

bisnuprasad.bg@gmail.com

प्रतिक्रिया
Loading...