म एकछिन उज्यालोको भ्रान्तिमा हराएँ । जीवन भन्नु नै उज्यालो हो । अँध्यारो साम्राज्य त कसले पो काखी च्याप्छ र !
झल्याँस्सिएर दायाँबायाँ नियालेँ, मेरा अभिभावक थिएनन् । म जसको साथ लागेर आएँ, उनैलाई नदेख्दा झ्याप्पै निराशाले छोप्यो । कहाँ बस्छस्, के खान्छस्, कसरी सुत्छस्; केही नसोधी बिलाए, बूढाबूढी ? आफ्नो थन्को आफैँ लाउन नसक्ने उमेर कहाँ हो र ! तैपनि, अभिभावकको साथ छुट्दा कस्तो हुँदो रहेछ, महसूस गर्दै छु । मैले अझै केहीबेर गुरुबा र मुवाँलाई खोज्न आँखा डुलाएँ । अहँ ! फेला पारिनँ ।
मनले अनेक सोच्यो – त्यत्रो मायाले काखी च्यापेर ल्याएका बूढाबूढीले यो विरानो शहरमा अलपत्रै छोडे । त्यो पनि रेलको टेसनमा; त्यहीँ छुटेको एउटा डब्बाजस्तै भएँ म । अघि भख्खरको रामरमिता, उत्सुकता, फुरुङ्ग ओइलायो । पानीको मूलजस्तै भुलभुलाएको माया पनि घटीबढी हुन्छ र ? ‘बास र खानाको बस्तोबस्ती यस्तो रहेछ, तिम्रो र हाम्रो बास फरक पर्ने भयो’ भनेको भए त हुने नि ! बूढाबूढीले त्यति पनि भनेनन् !
म एक्कैपटक बालमनमा ओर्लिएर घोरिइरहेँ – बजारको भीडमा हराएको बच्चोजस्तै, मेला हेर्न जाँदा छुटेको । के गरुँ, कसो गरुँ भयो । आँत रसायो, मन खिन्न भयो । यसो हुनलाई उमेरका अङ्कहरूले कहाँ छेक्दा रहेछन् र ! कि मैले बढ्तै स्नेहको राप खोजेँ ! यो उमेरमा पनि यस्तो ? खासमा जीवनका हरेक पलमा बाआमा अर्थात् अभिभावकको अभाव उस्तै गहिरो खड्किँदो रहेछ, जसरी बालउमेरमा रुँदै आमाको गुन्यू समातेर हिँडिन्छ । बाल्यकाल, युवाकाल, तन्नेरीकाल वा प्रौढकाल जेसुकै होस्, बाआमाबिना मान्छे सधैँ अधुरो हुँदो रहेछ ।
झ्वाट्ट गुरुबाले दमकमै भनेको सम्झेँ – खानाको व्यवस्था उतै हुन्छ । बास बसेको तिर्नुपला है ।
मलाई त्यसमा आपत्ति थिएन तर बूढाबूढी ‘जान्छु’ नभनी बिलाए ।
प्रायः अपरिचितहरूबाट घेरिएको छु । मेरै छेउका कवि मोहराज वाल्ल र ट्वाल्ल छन् । आशा छ, पक्कै कसैले बासस्थानतिर घिच्याउला ! मोहराज र म मुखामुख गर्दै छौँ । उनै सेता कुर्ता–सुरुवाल र स्पोर्ट सुजवाली श्वेताङ्गाना हामीतिर सोझिइन् । कहीँ जान खोजेको तर ठाउँको यकिन नभएझैँ म ढुङ्गे सुटकेस घिसार्दै खुट्टा तन्याकतुनुक गर्दै छु । यस्तैमा काका उमेरका एक व्यक्ति मेरो हातबाट सुटकेस खोसेर गुडाउँदै अगाडि बढे । काकाले मेरो भारी घिच्याएकामा सङ्कोच लाग्यो । ‘हैन सर मै घिसार्छु नि’ नभन्दै उनी दश पाइला पर पुगिसक्छन् ।
मैले उनैलाई पच्छ्याएँ । भ्रमण दलका सदस्यहरू को कसको पछि लाग्नुपर्ने हो, लागे । रेलको टेसन हुँदै काकाले हिँडाइरहेका छन् । म बच्चो झैँ उनकै पाइतालाका डाम टेक्दै छु ।
हिँड्दा–हिँड्दै म उनको शिरदेखि पाउसम्मको फोटो खिच्छु – न अग्लो न होंचो, ठिक्कको कद । कालो पेन्ट र कोठेदार पूराबाहुले कमिज । सफाचट अनुहार, ओठमाथि बडो होसियारीसाथ चिटिक्क मिलाइएका काला जुँगा । आँखा गर्दनको भर्याङ उक्लेर माथिल्लो टापुमा पुगे । कानका जरा र घाँटीको भिरालो भित्तामा एक चौथाइमात्र कालो कपाल लर्केको । त्यहाँभन्दा माथिल्लो क्षेत्रफल पूरै खाली–खाली । लाग्यो– उमेर, ज्ञान, विद्वता र अनुभवले रित्याएको ठाउँमा फेरि पालुवा पलाउँदैनन् ।
अहिलेसम्म मैले उनको नाम सोधेको छैन, न उनले भनेका छन् । भित्रीबाटोतिर छिराउँदै, बिजुली भर्याङ उकाल्दै र झार्दै काकाले टेसनबाहिर निकाले । त्यहाँ ठिङ्ग अटो उभिएको छ– चालक सिटमा बसेर ध्वाँसे रङको अनुहारले चोर आँखा फ्याँकिरहेको । छेउमा एक–दुई निजी मोटर छन् । अरू को–को के–केमा चढे हेक्का भएन । म अटोभित्र बसेँ । सँगै बसे, मोहराज । छिनको छिनमै हामी हित्तचित्तका दौँतरी भएका छौँ ।
रेल टेसनबाट हामीलाई उठाएको अटोले एउटा गुचुमुच्चको बजारमा ल्याएर खन्यायो । एकछिन त ठानेँ – हामी उता ‘टेसन’मा थुप्रिएको फोहोरको डङ्गुर हौँ, मान्छे–बजारमा ल्याएर यसले डम्प गर्यो ।
अटोबाट नओर्लिँदै उनै श्वेताङ्गना झुल्किइन् । मेरो सुटकेस गुडाउने काका नजिकै सरेर ‘ल सिर्जना अब तपाईँको जिम्मा’ भन्दै बिदा भए । थाहा भयो – ती श्वेताङ्गनाको नाम सिर्जना रहेछ ।
हामी उभिइरहेकै छौँ, बजारको बलेँसीमा । जहाँ होटेलै होटेलको लश्कर छ । छिपिइसकेको साँझमा टाउको आकाशतिर उचालेँ, छेवैको एउटा भित्तेबोर्डमा ‘गिताञ्जली होटेल एन्ड लाज’ लेखिएको छ । सायद आजको बास यहीँ हुनेछ । यत्ति नसोच्दै भ्रमणटोली होटेलभित्र प्रवेशियो । सिर्जनाले को कहाँ बस्ने व्यवस्था मिलाइन् ।
जानेर मिलाए वा नजानेर । मोहराज र म कोठेसाथी भयौँ । उमेर उस्तै, अनुहारको बान्की करीब उस्तै । केटौले उमेरले डाँडो काटेको उहिले हो । अब अल्लारे हुन छुट छैन तर उमेरले मनको अल्लारेलाई थामथुम पार्नै नसक्ने ! किशोरवय र यौवनकालको घुम्ती कटेपछिको उमेरलाई के भन्ने ? सायद अधबैँसे ! आधामात्र बैँस बाँकी रहेकोले यस्तो भनिएको हो ? दिमागले खाएको शब्द भेटिएन । मोहराज र मैले केहीक्षण थोरै कुराकानी, धेरै हेराहेरमै कटायौँ ।
मोहराज बागलुङे, म स्याङ्जाली । आखिर स्याङ्जा हुँदै बगीजाने कालीगण्डकी बागलुङतिरै पुग्छ । उता बागलुङ कालीका छिन्, यता गाह्रौँकालीका र आलमदेवी । हाम्रो लवजको बान्की उस्तै–उस्तै । अहिलेको अहिल्यै लाग्यो – हामी एउटै घरबुनाको लुगा लाएर हुर्केका बालदौँतरी हौँ । समयले जुरायो वा संयोग । एउटै पानीढलोभित्रका हामी निकट हुन गुवाहाटी पुग्नु परेछ ।
ट्वाकट्वाक पार्दै सिर्जना कोठाभित्र छिरिन् र उर्दी गरिन् – हामी १५ मिनेटमा तल लबीमा भेटौँ है ।
मोहराज मसँग कति निकट महसूस गरिरहेका छन् कुन्नि ! म उनीसँग टाँसिएर मोहराजबाट मोह मात्रमा सीमित हुन पुगेँ । मोह अर्थात् आशक्ति । म उनको कविमन, भावना र व्यवहारबाट उनीतिरै मोहित भएछु कि ! हामीले छोटो कुराकानी र हेराहेरसँगै धेरै कुरा सक्यौँ, सिक्यौँ र ताजा भयौँ ।
१५ मिनेट हुँदै थियो कि, फेरि ढोका बज्यो– ट्वाकट्वाक । सिर्जना ताकेता गरिरहेकी थिइन् । उनीसँगै लबीमा ओ ओर्ल्यौं । टोली त्यहीँ जम्मा थियो । अब हूल बजारतिर हिँड्यो । यसको नाम ‘पल्टन बजार’ रहेछ । ‘पल्टन’ अर्थात् पल्टनेहरूले बसाएको होला ! अहिले यसबारे घोरिने र टोलाउने फुर्सद छैन । एउटै काम छ, सिर्जनालाई पच्छ्याउनु ।
केही पर एउटा मन्दिर देखियो, जसको चुच्चे गजुरमुनि नेपाली मन्दिर लेखिएको छ । सिर्जनाले सुनाइन् – सन् १९४६ तिर स्थापित यो मन्दिर यहाँका नेपालीहरूको आस्थाको केन्द्र हो । यहाँ नजिकै नेपाली पढाउन स्कुल खोलिएको छ तर त्यो अहिले जिर्णावस्थामा पुग्यो ।
नेपाली जहाँ पुगे पनि पुर्खाको आस्था, निष्ठा, इमान–जमान, चलन र रैथानेपन बोकेरै जान्छन् । पहाडबाट जानेहरूले थोरै भए पनि फोक्सोमा भरेर चिसो हावा लैजान्छन् । देवी, देउराली, भयाँर, सिमेभूमे, कूलदेउता, कोटघर ओसार्छन् । डोको, नाम्लो, सुपो, चाल्नो, आँसी–खुर्पेटो धरी छोड्दैनन् । यी सबैको अघ्घोरै माया छ, उता पर मूलुकको झिलिमिली पनि नहेरी भएको छैन । सायद नेपालीलाई दोहोरो मायाको रन्कोले कहिल्यै छोड्दैन । यी समयको मझधारमा अड्किइरहन्छन्; न पारि तर्न सक्छन्, न त वारि फर्किन ।
त्यो मन्दिर त्यसैको अंश । अनि नेपाली स्कुल भाषाप्रतिको अनुरागको रूपक होला तर जिर्ण छ भन्दा खल्लो लाग्यो ।
२० औँ शताब्दीको आदिमै निर्मित नेपाली मन्दिर पर देशमा नेपालीलाई जोड्ने सेतु रहेछ । भगवान शिव र अन्य हिन्दू देवताप्रति समर्पित यसको वास्तुकला परम्परागत नेपाली शैलीकै छ । यो नेपाली र रैथानेबासीबीचको सांस्कृतिक जोडाइ रहेछ । थाहा पाउँदा हर्षविभोर भएँ । यस्तै–यस्तैले त परभूमिमा हाम्रो अस्तित्व जिउँदै छ । विशेषतः दशैँ, शिवरात्री र तीजजस्ता चाडपर्वमा मेला लाग्छ रे ! सिर्जनालाई सुनिरहँदा मेरा नेत्रालयमा भक्तजन र भजनेको भीड जम्मा भयो । उनीहरूका ओठ चलिरहेका छन्:
हे शिव ! कसले जप्छ हरि
मनमा पिर नपरी …
…
मन्दिरमा जडित अनेक रङका बत्ती हेरेर एकछिन रमाइयो । पेटमा आन्द्राले पिङ खेल्ने बेला भएछ । खान र फाल्न नपर्ने भए, यो सृष्टि कस्तो हुन्थ्यो होला ! म एकछिन आफ्नै सिल्ली कुराले हाँसेँ । समय घर्किँदै छ । अब भातबजार जानु छ । पेटको भकुण्डो भरेर एकछिन सुस्ताउनु छ । बिहान उठेर अरू के–के कामका सूची छन् । यी भ्याउन समयको पुच्छर नसमाती कहाँ भयो र ! गुवाहाटीमा रात पिङ खेलिरहेको छ । मेरो मन समयको वायुपङ्खी घोडामा धौलागिरि हिमालको फेदीतिर पुग्यो । फेदीमा टुसुक्क बसेर झ्याउरे भाका गुनगुनायो :
एक दिन मोर्न नपर्नी भए
कसलाई वास्ता हुन्थ्यो र समय …
म गीतबाट नउत्रिँदै सिर्जनाले झस्काइन् । बजारको झिलिमिलीमा झिलमिलाउँदै टोली भातबजार हिँड्यो । माथि–माथि उचालिएका घर अर्थात् व्यावसायिक नाम ‘होटेल’; तिनका चोटा–कोठामा राता, सेता, हरिया, नीला बत्तीहरू बलीरहेका छन् । नीला बत्तीभित्र काम पनि नीलै हुन्छ कि ! दिमागले के–केसम्म सोच्न भ्याएको ! मनमा यत्ति कुरा खेलाउँदैमा हामी मध्यबजारको भात होटेलमा छिर्यौँ ।
त्यो नेपालीकै रैछ । कस्तो होला, यो जाति ? जहाँ पुगे पनि आफ्नै खोज्ने । त्यस्तै हुनुपर्ने । सायद पुर्खा र जरोकिलोको माया होला; जातीय धर्म पनि । छिनमै भुँडी टुमटुम भयो । आँखामा भाते निद्रा टाँसियो । हामी ओछ्यान खोज्दै फर्कियौँ ।
आज सिर्जना पनि यही होटेलमा बस्ने रहिछन्; हामी नजिकैको पल्लो कोठामा । भोलि बिहानै ६ बजे भेट्ने बाचासहित बिदा भइन् । मोह र मैले उनलाइ शुभरात्री भन्यौँ । उनको बाचाल स्वभाव, फुर्ती, ज्यानका अङ्ग–अङ्गमा भरिएको ऊर्जा, अग्रजलाई श्रद्धा र अनुजलाई स्नेह गर्ने उनको शैली मलाई औधी मन पर्यो ।
मोह र म कोठा छिरेर आ–आफ्ना भागका खाटमा टुसुक्कियौँ । केहीबेर वार्तालापमा हरायौँ । उनले एक–दुई कविता सुनाए, मैले ढङ्ग नपुगेका केही लेखोट बाचेँ । उनको बाबु घर कहिले आउछस् ? शीर्षकको कविताले मेरो हृदय द्रविभूत भयो । कवितामा उनले बासँगको विछोडको मर्म उतारेका छन् ।
कविताको सार यस्तो हुन्छ – मोह सानै हुँदा बा केरला (भारत) हिँडे । बासँग उनको रसरबस नै भएन । जब बा सधैँका लागि केरला छोडेर नेपाल फर्किए । मोह जीवन, जगत र भविष्यको राजमार्गमा दौडिन शहर हिँडिसकेका हुन्छन् । छोराछोरीका लागि बाको स्नेह, कदरखुट्टी चढेर पिङ खेल्ने चाह र चोर औंला समातेर हिँड्ने रहर साँच्दा–साँच्दै उनी तरुण भइसक्छन् । त्यो अभाव र तृष्णाको अङ्खरा हृदयमा अड्याएर काठमान्डू उक्लेका उनलाई बासँगको विछोडले हुरुक्क बनाउँछ ।
खासमा हामी मध्यम बर्गीय परिवारको बाध्यता त्यस्तै हो । उनलाई सुनिरहँदा मैले पनि बा सम्झिएँ । मेरो (हाम्रो) हाल त्यस्तै थियो । मैले बाको स्नेहको न्यानो सायदै पाएँ । बरु पिडौँला र कन्नातिर दुई–चार सुम्लाका छाप बसे होलान् । सम्भवतः बाको न्यानो राप नतापेरै बाल्यकालको घुम्ती कट्यो ।
…
मोह र म सुत्ने दुइटा खाट समिपै छन् । उनी पल्लोमा ढल्के म, वल्लोमा । विरानो शहरमा निद्रा नजिक आइरहेको छैन ।
यो मेसिन युग हो । म यन्त्र (मोबाइल) को ढोका खोलेर भित्र पसेँ; ‘पल्टन बजार’को तथ्य खोज्न । पल्टन पक्कै ‘प्लाटुन’ शब्दको विस्थारित रूप हो; जो नेपाली जिब्रोले फट्कार्छ । यो बजार कसरी बस्यो ? यतिविधि नेपालीको बसोबास कसरी जम्यो ? आजको भीडतन्त्रसम्म कसरी पुग्यो ? यसबारे जान्न उत्सुक थिएँ ।
घरीघरी बाहिरको होहल्ला तिखारिएर कोठाभित्र छिर्छ । त्यसलाई सुन्न छोडेर घोरिँदै केही उत्खनन् गर्ने प्रयास गर्छु : यस्तै ‘पल्टन बजार’ उत्तराखण्डको देहरादुनमा समेत रहेछ । म ढुक्क भएँ, यो नेपालीहरूले नै राखेको नाम रहेछ । यसको सुरुवात कसरी भयो ? यसबारे धेरै लेखियो, पढिएको होला । तथापि, ‘पल्टन बजार’ र नेपालीको इतिहास मसिनो गरी केलाउने शोध–कृति नभएको हो कि !
खासमा १९ औँ शताब्दी जतिबेला भारतमा ब्रिटिश राजको दबदबा थियो, त्यतिबेला गुवाहाटीको केन्द्र भागमा सैनिक क्याम्प बसेको रहेछ । तिनका लागि देशका अन्य ठाउँबाट रासन र आवश्यक सरसामान जुटाई गाँस, बास र कपासको व्यवस्था गरियो । ब्रिटिश राजमा नेपालीहरू भर्ती भएर जाने चलन नै थियो । तिनै सैनिकका लागि सरसामान आयात गर्दाको चहलपहलले बजारको आकार लिँदै गयो । ब्रिटिशराजमा भर्ती भएका नेपाली गोर्खाहरूले ‘प्लाटुन’को नाम फेरेर पल्टन बनाए ।
नेपाली नागरिकले बेलायती सेनामा सामेल भई सैन्य सेवा गरेको २ सय वर्ष नाघिसक्यो । सन् १८१६ मा इष्ट इण्डिया कम्पनीसँगको युद्धमा युद्धबन्दी बनाइएका नेपाली फौजका सैनिकलाई एकीकृत गरी सुरुमा ३ हजारको सङ्ख्यामा सिरमौर बटालियन गठन भयो । यो नै कालान्तरमा ‘गोर्खा ब्रिगेड’मा रूपान्तरण भयो । कुनै बेला यही सिरमौर बटालिएनको एउटा टुकटीले गुवाहाटीको रेल टेसन नजिक क्याम्प बनाएर बसेको रहेछ । यही कारण पनि ‘पल्टन बजार’ बसाउन नेपालीको विशेष योगदान रहेको मान्न सकिन्छ ।
विस्तारै यहाँका पहाडी क्षेत्रका चिया बगानमा नेपालीहरू काम गर्न आउन थाले । गोर्खा भर्ती भएर आउने कतिले यतै घरजम बसाए । खासमा नेपाली ‘मुगलानी समुदाय’ पनि हो । सुख काट्ने, खुसी हुने र दुनियाँ देख्ने उत्कण्ठाले उसलाई कहिल्यै छोडेन । ती धन–पैसा र भावी जीवनको कल्पनामा उडेर मुगलानिए । कति फर्किए, कति उतै बसे । कति यतै हराए । यसरी यतै वा उतै बसेका, हराएका वा जरोकिलो गाडेका नेपालीको रगत–पसिनाको एउटा अंश पनि हो भन्ने लाग्यो, पल्टन बजार ।
‘पल्टन बजार’बारे घोरिइरहँदा म उडेर नेपाल फर्केँ । कतै नअल्मलिई सोझै आफ्नै गाउँको थुम्कोमा पुगेर टक्क रोकिएँ :
म गुरुङ गाउँमा जन्मे हुर्केँ । त्यहीँको परिवेशले मलाई सपना देख्ने बनायो । त्यो बेलाको समय सम्झिन्छु – मेरा कति स्कुले साथीहरू ८ पास नगर्दै पल्टन हिँड्ने सुरसार गर्थे । उनीहरूको पढाइ पछिपछि उमेर अघिअघि हिँडिसकेको हुन्थ्यो । म आफूलाई इत्रिको महसूस गर्थेँ । उनीहरू घोर्ले भइसक्थे । अनि ती रातभरि सोल्टिनीसँग रोदी बस्थे र बिहान भाले नबास्दै गाउँबाट ओझेल पर्थे ।
भञ्ज्याङ र देउरालीमा उभिएर तिनका सोल्टिनीहरू घरबुनाको रुमालमा आँशु पोको पारेर फर्किन्थे । ती मेरा दौँतरीहरू रामबाच्छा, वालिङ झरेर पोखरा सोझिन्थे । पोखराको रिक्रुटमा मिसिन्थे वा खस्यौली हुँदै कुनाघाट लगिन्थे । यसरी नेपालका पहाडी गाउँबाट बगेर यता पुगेर थामिएका लाहुरेहरूको सानो अंश पनि होला भन्छु– पल्टन बजार ।
रात छिप्पिँदै छ । पल्लो खाटमा मोह निद्रापुरमा पुगिसके । म भने अझै मेरो गुरुङ गाउँको झझल्को, पल्टन जानेहरूको लीला र यो पल्टन बजारमा हराइरहेको छु ।
मलाई स्मृतिप्रेमले लट्ठ्याउँछ – गुरुङ गाउँ र दौँतरीहरूको सिको गरेर म पनि झन्डै मुगलानी भएको । एक पटक ८ कक्षा पढ्दा–पढ्दै ठुल्दाइ एकाएक घरबाट हराए । हामी स्कुलबाट फर्किँदा सेती दिदी रुँदै कोइरालाको रुखमा चढेर घाँस झारीरहेकी थिइन् । आमासँग बुझ्दा दाइ र दिदी कल गरेछन् । अनि दाइले घर छोडेछन् ।
दाइ भोलि आएनन्, पर्सि आएनन् । महिनापछि आएनन् । यसरी नै वर्ष बित्यो । रहरले हुर्केको जेठो छोरो यसरी बेपत्तिएपछि आमाको निद्रामात्र होइन, भात, भान्सा, दिन र मेलापात पनि आँशुमा मिसियो । दाइ त्यसरी नै हराए, जसरी मेरा र दाइका दौँतरी स्कुले पढाइको मध्यान्तरमै पढाइ हापेर भर्ती हिँडे । दाइ देशको सिमा काटेर मुगलानिए वा देशभित्रै कुनै अज्ञात कुनामा हराए । त्यसको पत्तोखबर भएन ।
दाइ हिँडेको अर्को बर्खाको एक दिन मेरो मनमा पनि हुण्डरी मच्चियो । मध्यदिन आमा घरमा हुनु हुन्थेन । आमा मात्र होइन, अरू कोही थिएन । दिमाग एक्कासि आमाको कालो बाकसतिर सोझियो । त्यो फोरेर दुई–तीन सय रुपैयाँले खल्ती भरेँ । एक–दुई जोर लुगा घरबुनाको झोलामा हालेँ र घरबाट टाप कसेँ; मुगलाने हुने सपनाको पखेटा हालेर । मैले दाइले देखाएकै बाटो समातेँ । माथिल्लाबारी साइँलोले पनि उचालेर फुर्के रुख चढाकै हो । म लहलहैमा लाहुरे हुने भएँ भनेर मनफूल फुलाउँदै उकालिएँ ।
कुन्नि के भयो ! त्यो दिन साइँलोले अल्मल्यायो । हामीले त्यसै दिन गुरुङ गाउँ कटिसक्नु पथ्र्यो वा सिँगारभञ्ज्याङ नाघेर ओरालो झरिसक्नु पथ्र्यो । सकेसम्म बजारतिर हराइसक्नु पथ्र्यो । जसरी पल्टन जानेहरू गर्थे तर हामीले त्यसो गरेनौँ । मध्यदिन बित्यो । साँझ ओर्लियो । ताराहरू उदाए । झ्याउँकिरी बास्न थाले । त्यो दिन म साइँलो दाइकै घरमा बास बस्ने भएँ । भोलि बिहान झिसमिसेमै हामी लाहुर हिँड्ने मौखिक योजना बन्यो ।
उता बाकस फोरेर छोरो बेपत्ता भएको आमालाई दिउँसै थाहा भइसकेछ । आमालाई छोरो खोज्न हैरान । एउटा छोरो हराएको पीडामा आँशु बगेकै छन्, अर्को बेपत्ता हुने सुर कस्दैछ । कताकता आमाले सुइँको पाउनु भएछ, साइँलो र माइलो (म) मुगलान भासिँदैछन् । मेरी आमाले रोएर जिउ भिजाएको खबर साँझ रतिनी ठूली आमाले सुनाइन् । मलाई मायाले गाली गरिन् । साइँलो (आफ्नो छोरो) लाई धन्नै अगुल्टोले बजाइनन् । म दूध र आँटो खाएर रातेबाकै घरमा सुतेँ, साइँलोसँग ।
बिहान कुखुरो नबास्दै हामी सुतेको ढोका बेसरी ढकढकियो । साइँलो उठेर गजाबार निकाल्यो । अचम्म ! आमाले मलाई च्याप्पै समातेर घ्वाँघ्वाँती रुनुभयो । गालामा मातृत्वका दुई–चार चड्कन बज्रिए । उहाँले झिसमिसेमै घिच्याउँदै घरतिर ओरालो झार्नुभयो ।
उता घरमा बाको डर । उहाँको अघि पर्यो दुई–चार सुम्ला त नखाई सुखै हुन्थेन । बिहान कलिला घाम उदाउँदै थिए । म बाको डरले घर जानै मानिनँ । तब आमाले पटुकामा घुसारेको आँसी दिँदै भन्नुभयो – एक मुठो घाँस काटेर आइज । त्यतिन्जेल बा स्कुल गइसक्नु हुन्छ ।
म लाहुर भाग्ने कुरो बाले थाहा पाउनु भएन । त्यसलाई आमाले पटुकामा टुटे चुरोट लुकाएझैँ लुकाउनु भयो; जुन कसैले चालै पाउँथेनन् । त्यसरी म दाइजस्तै लाहुर जान वा मुगलानिन सकिनँ । मेरो पढाइ मन्द–मन्द हो । पढाइमा निखार ल्याउन नसकेर हो वा पहाडी खोंचको दुःखबाट उत्रिन म मुगलान जान कस्सिएको थिए तर सफल भइनँ ।
भागेर मुगलान भासिने चाल पाएर हो वा भविष्य देखेर धेरैपछि बाले मलाई लाहुरे बनाउने सोच्नु भएछ । एक पटक भारतको सिमलाबाट हाम्रा मामा पर्ने मोटाघाटा व्यक्ति घर आउँदा भन्नुभयो – माइलाले पढ्न मन गरेन । यसलाई उतै लगेर भर्ती गरिदिनू । ज्यान पनि गँठिलो–गठिँलो छ ।
ती मामाले स्वीकृति जनाए – हुन्छ ।
फेरि, म लाहुर जाने सपना र जपनामा हराएँ । यसपछि भागेर होइन, बाआमाको सल्लाहमै । शरीर गठिँलो पार्नतिर लागेँ । स्कुल जाँदा उकालोबाटो खुब दौडिन थालेँ । खेतका गरा र आलीकान्ला फङ्गाल्न थालेँ । खलगरामा ठेलो फाल्ने सिप सिक्न थालेँ । कोदो रोप्ने समय भक्लक–भक्लक खन्दै चार जनासम्मलाई मेलो पुर्याउने भएँ । पढाइमा पनि ध्यान दिन थालेँ । यसरी दुई तिन्टा हिउँद गए ।
अहँ, ती सिमलाका मामा फर्केर आएनन् । मेरो लाहुरे हुने सपना डढेर खरानी भयो । धेरैपछि बुझेँ । पढ्न ध्यान नदिएको मप्रति बाको त्यो व्याङ्ग्यात्मक प्रहार मात्र थियो ।
म हिजो पल्टन जान नसके पनि आज यो ढलिरहेको रातमा ‘पल्टन बजार’मा छु; बिचोबीच एउटा होटेलको तेस्रो तलाको पश्चिमतिरको अन्तिम कोठाभित्र । जहाँ, दुइटा खाट छन् । सेता तन्ना सेतै सिरक र सिरानी छन् । पल्लो खाटमा मोह अघि नै घुरिसके । म अझै दिनभरि परेड खेलेर थाकेको ज्यानलाई क्याम्पको निजी ओछ्यानमा सुताएको तन्द्रामा छु ।
समयले रातको बाह्र–एक हानिसक्यो कि ! दिउँसोको गर्मी रातको दोस्रो प्रहरसम्म चिसिएको छैन । कोठो चिस्याउन माथि सेतो सिलिङमा कालो पङ्खा घुमिरहेको छ । पङ्खाजस्तै मन ‘पल्टन बजार’तिर फन्को मार्न छोडेको छैन ।
दिमाग हावामा उड्न छोडेर भुइँमा ओर्ल्यो – सिर्जनाजीले भनेकी छन्, बिहान ६ बजे नै भेट्ने । उमानन्दघाट, पार्वती मन्दिर कता–कता घुमाउने भन्दै छन् । अब बलिरहेको बत्ती निभाएर कोल्टे फर्केँ – बिहान सबैरे उठ्ने चराहरूको चिरबिर–चिरबिर कल्पिँदै ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










