
लक्ष्मण वियोगी
त्यसले भन्यो–
आमाको लाश जलाउन पाइनँ
उसले भन्यो–
बाको लाश जलाउन पाइनँ
ऊ, त्यो, उनी, उनीहरू, तिनी, तिनीहरू
सबै लामबद्ध छन्
वाग्मती किनारमा ।
हरेकको अनुहारमा
दगुरिरहेछ, मुश्लो सन्नाटाको
छाँटिएको छ, हृदय वेदनाले
मुटु हो कि कलेजो
चोइटिएको छ, छेउतिर
र गुन्जिरहेछ, विलापको बाँसुरी
ऊ, त्यो, तिनीहरू
पर्खेकै छन्, अझै पालो
चिरनिद्रामा सुतेका
बा, आमा, पति, पत्नी
दाजुभाइ, दिदीबहिनी
अनि, असंख्य आफन्तको
लाशमा दागबत्ती दिन
अलि पर छ, एउटा मसानघाट
जो विद्युतीय ‘शवदाहगृह’ कहलाउँछ
त्यसको चिम्नीबाट फुस्फुसाइरहेछ
अनौंठो दुर्गन्ध मिश्रित धूवाँ
हो, त्यो पनि आफूलाई मालिक ठान्छ
धनी र गरिब छुट्ट्याउँछ
कस्तो विलक्षण प्रतिभा
मुर्दालाई समेत महल र झुपडीको
ट्याग लगाइदिन्छ !
महलवाला सजिलै घाट पुग्छ
ब्रम्हनालमा सुत्छ र पारि तर्छ
विडम्बना !
झुपडीको पिउसो
पालो कुरिरहन्छ, सूर्यास्तसम्म
घाटको मुन्सी डुक्रिन्छ
छाडा साँढे झैं
मिति नपुगी किन ल्याको ?
यहाँ भोकमरीलाई निषेध छ ।
छिनमै ऊ जिब्रो लप्लपाउँछ
प्रवेश पाउने भए रुपियाँले
सुन, चाँदी, हीरा
जे–जे छ, छिरा कन्तुरमा !
सलाम नियति !
जिउँदो वा मरेकोसँग
पनि कुत असुल्ने
अजब तेरो गजब नीति
जिउँदोमा फकाएर हसुर्ने
मरेपछि लछारेर हसुर्ने
लाशमाथि विनिमय कहिलेसम्म ?
उपल्लो चोटामा बसेर
तामेलीको ढ्वाङ फुक्नेहरू
कहिलेसम्म हिटलरे बनिरहने
र, मारिरहने निर्धा यहुदीहरू
जसले कुतको हिसाब दिएनन्
तिनलाई, बाँच्ने हक त दिएनौं
मरेपछि जल्ने हकसमेत खोस्यौ ??
विराजमान छ, पल्लो पट्टी
आराध्यदेवको फूली भिरेको
भीमकाय मुर्ति
त्यसकै पैतालामुनि
खात हुन्छ, मुर्दाको
ती जलाइन्छन्, पोलिन्छन्, डढाइन्छन्
कसरी छुट्ट्याउँछस्
धनी र गरिबको अस्तु ?
के आधारले पठाउँछस्
नर्क र स्वर्ग ?
तँलाई पनि रुपियाँकै सिरानी
प्यारो रैछ, हगी !
तँ भाङ र धतुरोमा होइन
हीरा–मोतिमै लठ्ठिदो रहेछस्
नत्र, हे पशुपतिनाथ !
कहिलेसम्म हेरिरहन्छस्
यसरी मुर्दाको व्यापार ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

