घरपरिवार र बाआमाको न्यानो मायाले मलाई उहिले छोडेको हो । रहरले छोड्यो वा बाध्यताले, म बुझ्न सक्दिनँ ।
मेरा बा मधुमल्लाकै भ्याग्रे खोलामा जाल थाप्थे । पानी जमेका तलाउतिर माछाका भुरा बटुल्थे । अनि हामी चार दिदी–बहिनी र एक भाइको पेटमा चारो हाल्थे । आमा बालाई सघाउँथिन् । मेरो आँखैअघि दुई दिदीको बिहे भयो । ती नरोइकन पोइको हात समातेर गए ।
देउती र मैनाले आफ्ना दुःख र अभावका डाला बाआमाकै घर छोडे । शैला दिदीलाई जोगबनीपारिको टिप्पुवाले टिप्यो । उनको भाग दुःख पनि खाप्पियो । मेरा तीन दिदीहरू अभावको भुमरीबाट तरे । बाँकी चार सदस्यमा त्यो बाँडियो । सबैभन्दा गह्रुंगो भारी बाको टाउकामा थियो । त्यसैले उनी बिहान उजेलो नखस्दै बाहिरिन्थे । र, साँझ छिप्पिएर काठ भएपछि फिर्थे ।
भाइ र मेरो उमेर ६ वर्ष फरक छ । म १८ वर्षकी भइसकेँ । अब मलाई चार वर्षअघि सिलाइदिएको फ्रक काम नलाग्ने भाको छ । दिदीहरूको जडौरी पातलो टिसर्टले मेरो छातीको इज्जत छोप्न सकेको छैन ।
मेरो छाती कँसिलो हुँदै गएको छ । पाखुरा र पिँडौला मोटाउँदैछन् । मैले लगाउने कपडा साँघुरिँदै छन् । मेरो कम्मरमाथि र मुनि बैंशको तरेली परेको छ । मसँग गतिलो एक जोर कुर्ता सुरुवाल छैन । समाते च्यातिने फ्रक र टिसर्टले मलाई पाउ छोपौं कि घाउ छोपौं हुन्छ ।
…
दुई दिनअघि म मधुमल्लाबाट झिकाइएँ । एक दिन विराटनगर बसेँ । त्यहाँ मेरो जाँच लिइयो । म जाँचमा पास भएँ । र, काठमाडौँ लैजान ठिक्क पारिएँ । घाँस खान नपाएर भोकाएकी पाठी हरियो देखेर लोभिएँ ।
दिन घर्किँदै थियो । म रहरको झोला काखी च्यापेर तेर्सै–तेर्सो बसपार्कतिर हिँडेकी थिएँ । सँगै थिए, सुलोचना र सुमना दिदी ।
म घरकी र टोलकी कान्छी । अब सुलोचना दिदी, उनका लोग्ने, सुमना दिदी र काठमाडौँका टोलेहरूकी पनि कान्छी भएँ । मेरो नाम बसुधा हो । तर, मधुमल्ला हुँदै विराटनगर र काठमाडौँसम्म म कान्छी नै भएकी छु ।
बाको माछा थाप्ने जालबाट बसाइँ गएर अर्को किनारमा पुगेकी छु । त्यहाँ भोकले पेट बटार्दैन । अभावले भाँडा बजाउँदैन । दाल, चामल र तरकारीको रास हुन्छ । म आफैं त्यसको रखनधरन गर्छु । पकाउँछु, ख्वाउँछु र खान्छु । कैले कसो मजदुरीको ब्याज बाआमालाई पनि पठाउँछु ।
बाआमा पनि खुसी भाको थाहा छ । भन्छन् रे– ठूलै घरमा पुगिछ, कान्छी । अब खान–लाउनले मर्दिन !
मेरा छातीका फूलले मसँग गुनासो गर्दैनन् । नितम्ब, जाँघ, तिघ्रा र पिँडौंला सुकिलो सुरुवालमा लुकेका छन् । अझ खुट्टामा पाउँजु छन् । म भाग्यमानी रैछु । रछ्यानमा फालिएकी माझीकी छोरी यस्ती भएँ । यहाँ मैले जूनको कल्पना गरे जूनै पाएँ, घाम सोचे घामै ।
आज मसँग पेटलाई चाहिने र बजारमा पाइने सबै थोक छ । जवानी धोई पखाली गरेर चम्काउने चिजको खाँचो छैन । तर, म खुसी हुन सकेकी छैन । त्यहाँ फुक्काफाल भएर बैंशको फक्रिँदो बगैंचा हेर्ने देउराली छैन । देउरालीबाट अझ टाढा हेर्ने क्षितिज छैन । त्यसैले कहिले काहीँ म निस्सासिन्छु । पाक्छु र आफैंले निचोरेर पीप बगाउँछु ।
म दुई पानी मिचेर चौलानी फालेको चामलझैं सेती छु । छतमा बस्दा बाटो हिँड्ने ठिटाले डेरा आँखा लाउँछन् । म मस्किदिन्छु । ठिटाहरू सन्तुष्टिको चरमोत्कर्ष कल्पिँदै लम्किन्छन् ।
अस्ति विराटनगरबाट सुलोचना दिदीको भदाहा आथ्यो । उसले पनि मलाई तिर्खालु आँखाले हेथ्र्यो । उसका काला गुच्चाजस्ता आँखा मेरो छातीका दुइटा गुलाबमा टासिइरहन्थे । ऊ अघाउन्जेल गुलाबको सुगन्ध पिउँथ्यो । र, भन्थ्यो– कान्छी दिदी भोक लाग्यो ।
केही दिनमा भदाहा गयो । उसको हेराइमा क्षणिक उत्तेजना थियो । उसमा तिर्खा थियो, तिर्खा मेटेपछि खोलो बिर्सिने नियत । भोक मेटेपछि थालै मिल्काउने उसको कुटिलता मैले राम्रो बुझेकी थिएँ । घर छोडेको दिन नै मैले उसको अनुहार बिर्सिदिएँ ।
…
सुलोचना दिदीका आठ र दुई वर्षका छोरा छन्, समिप र सलोन । तिनको स्याहारसुहार, कपडा धोउ, खाना पकाउ, ख्वाउमै मेरा दिन बल्ने र निभ्ने गर्छन् । दिदीका लोग्ने, जसलाई मैले भिनाजू नातो लाकी छु । उनी पेशाले डाक्टर हुन् रे !
कस्ता डाक्टर, कहाँ काम गर्छन् ? मैले कहिले चासो लिइनँ । त्यो खोजीनीतिमा मेरो सरोकार थिएन । तर, सधैं जिल्लातिर डुलिहिँड्थे । घरमा थपिएका छन्, भिनाजुका बाआमा । म यी साराका लागि खटिनुपर्छ । घोटिनुपर्छ र खिइनुपरेको छ ।
कहिले काहीँ त लाग्छ– म नोकर्नी हुनकै लागि दुःखी मझिनीको कोखबाट जन्मेँछु ।
भिनाजु छिल्लिएका छन् । लत्रिँदै र ओइलाउँदै गएका दिदीका फूलबाट उनका आँखा मेरो कँसिलो छातितिर बसाइँ सरेको चाल पाउँछु । उनी कान्छी भन्दै आफ्नो हात मेरो छातीमा पु¥याउन भ्याउँछन् । म ‘ह्या भिनाजु’ भन्दै कुइनाले बोसे भुँडीमा हान्दिन्छु । घरि घरि आँखा तर्दिन्छु । अनि उनी अलि हच्किन्छन् ।
दिदी आर्मी अस्पतालकी नर्स हुन्, पद कर्णेल रे । भ्याउँदा मलाई निकै सहयोग गर्छिन् । माया गर्छिन्, आफ्नै छोरी जस्तै । तर, प्रायः दिदीको ‘नाइट ड्युटी’ पर्छ । रातभरि खटेर बिहान आउँछिन् । अनि आधा दिनसम्म सुतिरहन्छिन् । यस्तोबेला म एक्लैले आकाश थाम्नुपर्छ । यही परिधिभित्र पौडिँदै मैले जीवनको जंघार तर्न बाँकटे हानिरहेकी छु ।
…
ऊ यो घरमा आएदेखि मलाई एक्लै आकाश बोकूँ–बोकूँ भाको छ । म कसरी यति हलुंगी भएँ ? उसमा के त्यस्तो जादू थियो र ! दुई बीस उमेर छेउ पुग्दा ज्यानमा यतिविधि काउकुती लागेको । उन्मादको नशालु हुरीले जवानीको झ्याल खोलेको छ । सिरसिरे बतासले मेरो भावना उडाएर शैलुङतिर पु¥याएको छ ।
यसको मुली कारण उही हो । म ठोकुवा गर्न सक्छु ।
अग्लो कद, केही लाम्चो अनि साँघुरो मुहार । आँखामा चेन्जेबल चस्मा, छड्के कोरेको चिल्लो कपाल, निकै मिलाएर लगाएको सर्ट–पाइन्ट र गहुँगोरो वर्ण । उसको हुलिया यत्ति हो । उमेर अन्दाजी अठार–बीस वर्ष । त्यो खाइलाग्दो केटोले एक झपटमै मेरो मुटुमा मोहनी वाण हान्यो ।
समिप र सलोनको ट्युसन मास्टर भएर आयो, ऊ । तर, मलाई हृदयको खिल झिकिदिने डाक्टर आएझैँ हुन्छ । भोलिदेखि उसको पढाउने रुटिन सुरु हुँदै थियो, बेलुकी ५ देखि ६ बजेसम्म ।
समिप कक्षा चार र सलोन भर्खर अक्षर चिन्दैछ । ऊ दुवैलाई खुब चनाखो गरी पढाउँछ । ख्याल राख्छ । कहिले त दुई–चार चड्कन हान्छ पनि । यो उसको गतिलो बेतनको लालच हुन सक्छ ।
पिटेको देख्दा मेरा कन्सिरी तात्छन् । किनकि दिदीका छोरा मेरा पनि छोरा भएका छन् । उनीहरू आमालाई भन्दा ज्यादा मलाई माया गर्छन् । र त मेरो कुमारी मातृत्व उनीहरूमा खनिएको छ । म पुरुषसँगको संभोगबिना आमा भएकी छु । यति कल्पिँदा पनि मन उत्फुल्ल हुन्छ ।
म उसलाई उसकै ठाउँमा राखेर नियाल्छु । स्वच्छ भावना, बेदाग अनुहार र स्वार्थको रौंसम्म फेला पार्दिनँ ।
म उसकी पनि कान्छी भएँ । ऊ कान्छी पछाडि दिदीको फुर्को जोड्छ । म बच्चाहरूकी जस्तै उसकी पनि कान्छी दिदी भएँ । तर, उसले ‘दिदी’ भन्दा हृदयको भित्तो नीलकाँडाले कोतरेझैँ हुन्छ । ऊसँग फर्केर नबोलौं हुन्छ ।
ऊ ट्युसन कोठामा छिर्दा कहिलेकाहीँ बच्चा हुँदैनन् । त्यसको रिस ममाथि खन्याउँछ । ऊ दिदी–भिनाजुलाई खुब आदर गर्छ । सम्मान गर्छ । राम्रो पढाउन नसके गाल पर्छ भन्ने उसको भावना म प्रस्ट बुझ्छु ।
घरमा कोही नहुँदा ऊ मलाई घरायसी काममा सघाउँछ पनि । यहाँनिर म उसलाई स्वार्थहीन अनुहार पाउँछु ।
म पुरुष (ऊ) सुगन्धमा लट्ठिँदै गाकी छु । वैंशका खुड्किला उक्लिरहेकी छु । यौवनका फूलले मेरो शरीर ढकमक्कको बगैंचा भाको छ । अझ उसको आगमनले मेरो मन एक तमासको हुन्छ । म निस्फिक्री उडिरहेकी छु, क्षितिज ताकेर उडेकी चरीझैँ ।
मैले आफूलाई छाम्न, मुसार्न थालेकी छु । छातीको वजन टिसर्टले कसिलो पारेर ऐन अगाडि उभिन्छु । आफ्नै अनुहारको वैजनी रंग हेरेर आफैँ लजाउँछु । ममा किन यस्तो उखर्माउलो बढेको हो ? म किन यति निर्लज्ज भाकी छु ?
मभित्रको यो चर्तिकला दिदीले थाहा पाइन् भने ? भिनाजु वा घरका अरूले देखे भने ? अनि टोले गफको गतिलो मसला भयो भने ! म झसँग हुन्छु । अनि सम्हालिने प्रयास गर्छु । किन ऊ मेरो उमेरमा बहार बनेर आयो होला ! म चकित र दिग्भ्रमित हुन्छु ।
ऊ झरी बनेर आयो । मेरो बाँझो र निरस वदन रसिलो भयो । उसको सेचनले ममा बोट उम्रियो । कोपिला लायो । र, पूर्ण तारुण्यले भरिएको फूल फक्र्यो । बिस्तारै ममा गुलाबको बगैंचा बन्यो । अपसोच यो बगैंचा उसले देखे पनि नदेखेझैँ गर्छ । यतिबेला ममा पीडाको बाढी उर्लेर आफैंलाई बगाउँछ ।
ऊ आएदेखि मेरो जीवनले गन्तव्यको नयाँ गोरेटो फेला पारेको छ । दिनरात कल्पनाको क्यानभासमा म प्रेमको कुचीले उसको सुकिलो अनुहार कोरिरहन्छु । सपना र विपनामा उसकै सम्झनाको झोलुंगोमा हल्लिरहन्छु । अनेकगरि आफ्नो मुहार ऊ समक्ष प्रदर्शित गर्छु ।
मानौं– मेरा लागि ऊ खुला प्रदर्शनी केन्द्र हो । त्यहाँ मेरो प्रेम, यौवन, वैंश र उन्मादका स्टल छन् । तर, ऊ ती स्टल हेर्दै नहेरी अगाडि बढ्छ । मलाई निराश पार्छ । अनि म पानीबिनाको माछी झैँ छटपटिन्छु ।
ऊ एकोहोरे छ । आउँछ, बच्चाहरूसँग बोल्छ । एक घन्टा पढाउँछ । चिया–खाजा दिए खान्छ । नत्र लुरुक्क निस्कन्छ र भन्छ– कान्छी दिदी म गएँ है ।
म उसको दाँजोमा आफूलाई उभ्याउने चेष्टा गर्छु । ऊ चम्किलो । सल्काइलो, पढेलेखेको छ । म पाँच कक्षा पढेकी माझीकी छोरी । ऊ त मेरो सपना मात्र हो, आकाशको तारा । जसलाई मैले कहिले छुन सकूला र ! ऊ मेरा लागि सागरको मणि हो । ममा पौडिने कला छैन र टिप्न पनि सक्दिनँ ।
म फगत एउटा कल्पनाको रेलमा कुदिरहेकी छु । त्यो कहाँ पुग्छ ? कहाँ रोकिन्छ ? कुन प्लेटफार्ममा मलाई झारिदिन्छ ? म फेरि रित्तो प्लेटफार्म कुरेर कति दिन बाँचिरहुँला वा एक्लै आफ्नो बाटो समातौंला ? यी सबले मेरो हृदय भरिएर आउँछ । अनि म कोठामा एक्लिन्छु । गलाबाट धेरै बेरसम्म हिक्क–हिक्क थामिदैन ।
एक मन विरक्त लाग्छ, उप्रति आक्रोस पनि– मेरो शिथिल यौवनको समुद्रमा ढुंगा फाल्दिएकोमा । ऊ एक्कासी किन आयो, बहार बनेर ! जवानीको खोरियामा पानी पारिदियो । त्यहाँ फूलैफूलको फूलबारी बनाइदियो । मलाई उसको कल्पनाले कहिले त रात–रातभरि निद्रा पर्दैन ।
…
म भान्छामा एकोहोरिरहेकी हुन्छु । बाहिर पानी पर्न लागेको मेसो पाउँदिनँ । हावा–हुण्डरीले एकैछिनमा पानीका थोपा खसाल्छ । ऊ कताबाट दौडिँदै आइपुग्छ । छतमा सुकाएका कपडा पोको पारेर कोठामा ल्याएर फ्याँक्छ । अनि ऊ ममा गालीका असिना झार्छ– पानी आउने थाहा भएपछि लुगा उठाउनु पर्दैन ? यो घरका मान्छेको ताल नै अर्कै …
म उसका गाली सुनिरहन्छु । गुलिया लाग्छन्, सानैमा बासँग विराटनगर जाँदा खाएको जलेबी जस्तै । उसको मायालु आरिस ममा खनिएको म आनन्द मानेर स्वाद लिइरहन्छु । साँच्चै आज ऊ मेरो मान्छे जस्तै भएको छ ।
ऊ घरकै मालिकजस्तो के–के कुरा फलाकिरहन्छ । म उसका हरेक शब्द सितारको धुन मानेर सुनिरहन्छु । मलाई कम्ता आनन्द आउँदैन । जीवनमा पहिलोपटक कसैले आफ्नो ठानेको अनुभूति हुन्छ ।
हुन पनि ऊ यो घरको सदस्य नै भएको छ । हरेकक्षणमा घरको रेखदेख गर्छ । घरमा पाकेको मीठो–मसिनो उसका लागि छुट्टिँदैन । दिदी–भिनाजु विदेश जाँदा वा फर्किँदा घरकालाई जस्तै उसलाई केही न केही आइपुग्छ ।
उसको गुनगुन अझै चलिरहन्छ । कोठामा पसेर लुगा मिलाउन खोज्छ । म पनि त्यतै छिुर्छु । अचानक उसको दाँहिने हातले मेरो छातिमा स्पर्श गर्छ । मलाई स्वर्णिम आनन्दले लठ्याउँछ । शरीरभरि खुसीको काउकुती सल्बलाउँछ । मैले यो क्रिया अन्तरहृदयले स्वागत गरिरहेकी हुन्छु ।
यतिबेला रेडियो कान्तिपुरमा तारादेवीको सुमधुर गीत बजिरहेको हुन्छ —
हे कान्छा ऽ ऽ ऽ ऽ ठट्टैमा यो वैंश जान लाग्यो …
कोठाबाट फुत्त निस्केको ऊ कति बेला हिँडिसक्छ, थाहै हुँदैन । बाहिर निस्केर च्याउँछु । उसलाई नदेख्दा खल्लो लाग्छ । चिया पनि ख्वाउन पाइनँ । मन दुःखी हुन्छ । आज आफ्नो मान्छे रिसायो भन्ने मलाई ठूलो पीर पर्छ ।
दिनका पखेटा पलाउँदै गए । झर्दै गए, बसन्तमा झरेका पातझैँ । आजदेखि ऊ, ऊबाट ‘मेरो ऊ’मा पदोन्नति भएको छ ।
दिन सकिएर रातको बिर्को खुल्छ । म आफ्नो निजी खाटमा ढल्किन्छु । रात निदाउँदै जान्छ । मलाई उसको सम्झना र कल्पनाले बेस्कन बिउँझाउँछ । यतिका वर्षसम्म एक्लै सुतेको ओछ्यानमा आज एक्लो महसुस भएको छ । खाटका दुवै किनार खुला चौरझैँ बेवारिसे छन् । कुन्नि किन मलाई निद्राको सनासोले च्याप्नै सक्दैन ।
म खाटको बीचमा छु । दुवै किनारमा हसिलो अनुहारमा मेरो ऊ मुस्काइरहेको हुन्छ । म उसलाई पर्खिरहन्छु, अव्यक्त भावनामा डुबेर । मेरो छातीको मखमली गुलाबको तन्नामाथि उसलाई सुताएर ।
रातसँग बिन्ती गर्छु– ऊ आओस् । मेरो वैंशको बगैंचामा निष्फिक्री डुलोस्, भमरा बनेर । मेरो शरीरका हरेक अंगमा उसकै मात्र हक लागोस् । ऊ जीवनको सहयात्री बनोस् । सुख बाँडोस् । दुःख साटोस् । मलाई कहिल्यै एक्लो हुन नदेओस् ।
मेरो घर बसेको देखेर बाआमा भन्लान्– भाग्यमानी रैछे, कान्छी । दुःखी माझीकी छोरीले राजकुमार पाई । अब त सजिलै सास जाला …
…
‘कान्छी ए कान्छी … के भयो यसलाई आज ? किन उठ्न ढिलो गरेकी ?’, दिदीको आवाजले झस्किएँ । उठेर ढोका खोलेँ ।
‘किन, सन्चो भएन ? मलाई डिउटी जान ढिलो भइसक्यो । माथि आइज ।’, बे्रक फास्ट बनाएर दिदीलाई दिएँ । खाएर उनी डिउटी गइन् ।
मेरो ज्यान शिथिल थियो, मन मुर्झाएको । बिहानी कर्म गर्ने ममा जाँगर थिएन । असिनाले चुटेको खेतीझैँ म छरिएर असरल्ल थिएँ । मलाई हिजोदेखि एउटा अनौंठो कल्पनाले डोर्याइरहेको छ । सायद त्यो सत्यको धेरै टाढा थियो ।
जसोतसो बिहान ढल्यो । समिप र सलोन स्कुल गए । म टोलाइरहेँ । हृदयले पुकारा गरेँ, उसैलाई । उसले मेरो मुटुमा कुन बल्छी हान्यो । म रातभर बल्छीमा अल्झिएकी माछीझैँ छटपटाइरहेँ । उसले ममा अनौंठो रोगको बीऊ रोपिदियो ।
अब मलाई छिटो दिन बितोस् भन्ने लाग्यो । किनकि, साँझ परेपछि ऊ आउँथ्यो । आगो दन्केको मेरो हृदय पानी खन्याएर शान्त पाथ्र्यो । जब म भित्र–बाहिर र बार्दली–छत गरिरहन्छु तब बाटो हिँड्ने अल्लारेहरू मास्तिर आँखा फ्याँकेर जिस्किन खोज्छन् । मलाई तिनका आँखा झिकेर गुच्चा खेलूँ झैँ हुन्छ ।
घाम अग्लो न अग्लो बिजुलीको पोलमा ठोक्किएर पश्चिमतिर सरे । अब ऊ आउने बेला भइसकेको हुन्छ । मेरा व्याकुल आँखाले उसको बाटो हेर्छन् । साँझ छिप्पियो । तर, ऊ आएन । मलाई मर्नु न बाँच्नु हुन्छ ।
हिजोको कुनै अन्जान भावावेशले उसलाई रोक्यो कि ? वा ऊ यो घर नफर्किने भयो ? मेरै कारण रोकियो कि ? ऊ किन आएन ? उसका पाइला कता मोडिए ? प्रश्नै प्रश्नका झीरले मुटु घोचिरह्यो ।
म भगवानभक्तिमा साह्रै लीन छु । आजसम्म मेरो भक्तिबाट खुसी भएर भगवानले मलाई अदृष्य शक्ति दिए हुने । यो शक्ति लगाएर म उसलाई खोज्थेँ । परीझैँ उडेर सहरका कुनाकुना चाहर्थेँ । र, फर्काउँथेँ उसका पाइला । अनि कहिले नभाग्ने गरी मुटुमा लुकाएर राख्थेँ । अहँ, ममा कुनै दैवी शक्ति आएन । लाग्यो, कलियुगका भगवान निष्ठुर रैछन् ।
काँडैकाँडाको टाँडमा पिल्सिएर मैले रात काटेँ । भोलिपल्ट पनि उसले यो घरतिर पाइला मोडेन । मलाई पक्का भयो । ऊ मेरै अन्जान क्रियाले विचलित भयो । हप्तादिन मैले उसको अनुहार हेर्न पाइनँ । म रोगाएर ओछ्यान परेको बिरामी भएँ ।
बिहानै दिदीले मेरो अनुहार जाँचिन्, ‘हैन कान्छी तँलाई के भयो ? सन्चो छैन भने हस्पिटल जानुपर्यो । केही भन्दिनस् । बोल्दा पनि बोल्दिनस् ।’
मेरा ओठमा थोरै कृतिम हाँसो लिपियो, ‘केही भाको छैन हो दिदी । राति अल्लि निद्रा परेन । त्यति हो । के भाको छ र !’
…
‘के छ कान्छी दिदी ? सबै ठिक छ नि !’
मलाई अज्ञात भूतले तर्सायो । यसरी हप्तादिनपछि ऊ झुल्कियो । हात–खुट्टाका रौं ठाडा भए । मेरा नसामा सररर खुसी र उन्माद प्रवाह भयो । उसलाई अँगालोमा बेरेर डाँको छोडेर रोऊँ रोऊँ भयो, तर सकिनँ ।
बिस्तारै सोधेँ– कहाँ हराउनु भो यत्रो दिन ?
‘काम थियो, त्यही भएर आउन सकिनँ ।’, उसले त्योभन्दा बढी बोलेन । कोठामा छि¥यो । बच्चाहरू उफ्रिरहेका थिए ।
‘के छ केटा हो ? म नहुँदा तिमोरलाई त मस्ती भयो होला नि !’
ऊ ढोका थुनेर पढाउन थाल्यो । मैले चिया खाजा बनाएर दिएँ । उसले केही नबोली खायो । कति दिनपछि मैले मेरो मान्छेलाई ख्वाउन पाएँ । उसले खाजा खाइनसकुन्जेल म बसिरहेँ । बच्चाहरू होमवर्क गरिरहे ।
आत्मा बोल्यो– मेरो प्रिय मान्छे, अब मेरो हृदयको ढोका फोरेर तिमी कहीँ नजानू । तिमीबिनाको जीवन म कल्पना गर्न सक्दिनँ । के मलाई घाइते बनाएर तिमीले बाटो मोड्न सक्छौ ?
मेरो आत्माको कुरा सुन्यो कि कुन्नि ? मेरो ऊ मतिर फर्केर मुसुक्क हाँस्यो । भगवान ! मेरो संसार झल्मलायो । मैले उसको त्यो एक टुक्रा मुस्कान अञ्जुलीमा थापेर पिएँ । जुन नसाको बाटो हुँदै कलेजीमा पुग्यो । कल्पिएँ, यो जन्म–जन्मान्तरसम्म बसिरहोस् ।
‘ल म गएँ है ।’
यत्ति भनेर ऊ निस्क्यो । बाटोमा पुगेर माथि हे¥यो । दुवैका आँखा जुधे । उसले फेरि एक थुँगा मुस्कान मतिर फ्याँक्यो । म हर्षविभोर भएँ । मलाई लाग्यो– साँच्चै भगवान रैछन् । उनले मेरो पुकार सुने । ‘मेरो मान्छे’ले मेरो आत्मा सुन्यो । म दुखेको महसुस ग¥यो । र, त दुखेको घाउमा मलम लगायो ।
बीचका दुई–तीन दिन फेरि ऊ आएन । त्यतिन्जेल मैले उसको मुस्कान कल्पेर चित्त बुझाएँ । चौथो दिन ऊ फरक मुद्रामा देखा प¥यो । घरमा दिदी भिनाजु पनि थिए । बन्द ढोकाभित्र दिदी र उसका केही कुरा भए ।
म डर र पीडाले थर्थराएँ । कि उसले मेरा अबोध क्रियाको बेलीविस्तार सुनायो ? वा मेरो चरित्रको पसल फिँजायो ? मैले केही बुझिनँ । बन्द कोठाभित्रका गुनगुन भित्ताले मात्र सुन्यो । मेरा कानले ठम्याउन सकेनन् ।
दिदी–भिनाजु र बाच्चाहरूको अनुहार मलीन देखियो । भिनाजुले हजार–हजारले भरिएको सानो मुठो उसको हातमा राखिदिन्छन् । उसले जतनले आफ्नो निमेक खल्तीमा राख्छ । र, अगाडि लम्किन्छ ।
बच्चाहरूले बाई–बाई सर भन्दै हात हल्लाए । दिदी–भिनाजुले दुःख माने, ‘माया नमार्नुहोला सर, आउँदै गर्नुहोला ।’, भिनाजुका बाआमा पनि मलीन मुद्रामा उभिए । साँच्चै दुई वर्षमा ऊ यो घरका सबैको प्यारो भएको रैछ ।
दिदीसँग बुझ्दा अब ऊ यो घरमा नफर्किने रहेछ । डेरा सरेर अर्कै ठाउँ जाने भएछ । सुनेर मेरो मन भाँच्चियो । वेदनाको झटारोले हानेर मुटु टुक्राटुक्रा भयो । उसले फर्केर मतिर हेर्यो । मेरा ओठ खुलेनन् । नसा–नसामा रगत जम्यो । मुटुको धड्कन रोकिएझैँ भयो ।
ऊ लमक–लमक लम्किँदै अझ अगाडि बढ्दै गयो । यता मेरो हृदयमा बनेको ‘प्रेम घर’को ढोकामा सधैंका लागि भोटे ताल्चा झुन्डियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।