मानिसमा जिज्ञासु स्वभाव हुने भएकाले नयाँ ठाउँका बारेमा जान्नु, हेर्नु, मनोरम दृश्यमा हराउन खोज्नु स्वाभाविकै हो । मलाई पनि प्रकृतिमा हराउन मन लाग्छ तर समयको अभाव भनौँ वा के भनूँ प्रकृतिको विचरण गरी अघाउन्जेल सौन्दर्य पान गर्नबाट वञ्चित नै रहेँ ।

यसपालि भने भगवान्ले बोलाउनुभएको रहेछ क्यारे । एक दिन साथीले तँ मुस्ताङ जान्छेस् भनेर मेसेन्जरमा फोन गरिन् । मैले जान पाए त हुन्थ्यो भनेर फोन राखेँ । मेरो विद्यालयमा परीक्षाको नतिजा प्रकाशनपछि केही समयमा फुर्सद हुने भएकाले घुम्न जाने योजना बनाएँ । मेरी सहकर्मी साथी कोपिला सुवेदीलाई पनि एक पटक सोधेँ । उहाँ पनि जान्छु भन्नुभयो । मैले साथीलाई म र मेरी छोरी हिमानी, कोपिला सुवेदी र छोरी निहारिका जान्छौँ भनी खबर गरेँ ।

उनले महेन्द्र आदर्श मा. वि. इमाडोलका शिक्षक सुन्दर के. सी.को नेतृत्वमा विद्यालयका प्रधानाध्यापक एकबहादुर भण्डारी,उदीप श्रेष्ठ,उपेन्द्र घिमिरे, अनन्त बर्तौला, रश्मी सेढाईँ, मङ्गला बिष्ट, रमिला लुङ्गेली मगर, शोभाखर भुसाल, अञ्जना शाह, अञ्जनी महर्जन, सर्मिला घिमिरे जुनु थापा मगर लगायत २८ जनाको समूह रहेको र शुभलक्ष्मी ट्राभल्स एन्ड टुरको बसमा जाने जानकारी गराइन् । उनले यात्रा चार रात पाँच दिनको हुने भएकाले त्यहीअनुसार लत्ताकपडा मिलाउन पनि सुझाइन् । उनले हामीलाई लैजानु पर्ने सामान र यात्राको समय तालिका पनि पठाइन् ।

हामी त्यही समय तालिकाअनुसार २०८० चैत्र २४ गते शनिबार बिहान पाँच बजे कलङ्की पुग्यौँ । करिब साँढे पाँच बजे हामी त्यहाँबाट पाँच दिने यात्राको शुभारम्भ गर्यौं । नागढुङ्गाको ओरालो लागेपछि मेरो पेटमा हुँडली मच्चिन थाल्यो । हत्तपत्त प्लास्टिकको थैलो मागेर विसर्जन गरेपछि भुँडीदेवी त सिमलको भुवाजस्तो हलुको र शान्त भइन् । तल पुगेपछि नेपालको पहिलो सुरुङ मार्ग हेरी त्यसको बारेमा टीकाटिप्पणी गर्दै अघि बढ्यौँ । भुँडीदेवीले प्रसादको माग गरेका कारण खाजा खाई पुनः यात्रामा तल्लीन भयौँ ।

कुरिनटारमा खाना खाई आजको यात्रा म्याग्दीको बेनीमा बिसौनी भएकाले गाडी तीव्र गतिमा दौडन थाल्यो । हामी भने खाल्डाखुल्डी बाटोमा गाडीको छतसँग मितेरी लगाउँदै टाउकामा ससाना मकैका ठेट्ना उठाउँदै धादिङ्, चितवन, तनहुँ पुग्दै गर्दा उपेन्द्र घिमिरे सरले बन्दीपुर र त्यहाँको सौन्दर्यको बारेमा वर्णन गर्नुहुँदा मलाई त्यहीँ ओर्लिएर बन्दीपुरतिर जाऊँ जाऊँ नलागेको होइन तर कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ हुने भएकाले म मनलाई मनाउन बाध्य भएँ ।

कास्कीको लुम्ले पुग्दा सुप्रसिद्ध गीत ‘मुटु छुने लुम्लेको हावाले’ भन्ने गीत गुनगुनाउँदै खाजा खान ओर्लिका थियौँ । जति सुन्दर ठाउँ र गीत थियो त्यसको विपरीत खाजा पसल्नीको व्यवहार थियो । त्यसैले खाजा पनि राम्रोसँग नखाई बसमा चढ्यौँ । म झ्यालपट्टि बसेकाले छोरीलाई त्यहाँको सौन्दर्यको दृश्य कैद गर्न आग्रह गरिरहेँ । हामी बाटोमा प्रकृतिको अनुपम सौन्दर्यको वर्णन गर्दै पर्वत हुँदै कालीगण्डीको किनारै किनार बागलुङ पुग्यौँ । त्यसपछि बागलुङ र पर्वत जोड्ने लामो पुलमा केही तस्बिर लियौँ र कालिकाको आरतीमा उपस्थित भयौँ । साँझ पनि परिसकेको र सबै चराचुरुङ्गी आआफ्नो बासस्थानमा परिवारसँग रमाउन थालेकाले होला कि गाडीको आवाज बाहेक अरू केही ध्वनि श्रवण हुन सकेन । हामी निर्धारित समयभन्दा अलि ढिला बेनी पुग्यौँ र सुस्तायौँ ।

चैत्र २५ गते आइतबार हामीले बेनीमा रहेको गलेश्वर महादेवको दर्शन ग¥यौँ । आहा ! अद्भुत मन्दिर एउटै ढुङ्गामा सबै भगवान्का मन्दिर रहेछ । यति सुरम्य कि सायद भगवान्सँग साक्षात्कार हुने स्वर्ग भनेको यही रहेछ कि जस्तो अनुभूति भयो । त्यसपछि मैले कालीगण्डकीको काखमा रहेको तातोपानी र कालीगण्डकीको सुसाइमा एकछिन् डुबुल्की मारेँ ।

हामी त्यहाँबाट मुस्ताङको यात्राका लागि गाडी चढ्यौँ । कच्ची बाटो, अन्तिमको सिटको बसाइले गाडीको छतसँगको मितेरी त कति हो कति । कृष्णगण्डकीको किनारै किनार जाँदा बाटैभरिको प्राकृतिक छटाले मोहनी लगाइरहेको वेलामा करिब ७५ मिटरको उचाइबाट बग्दै आफ्नो रूपको जादुले जोकोहीलाई पनि लठ्याउने मोहिनी रुप्से झरनामा गएर डुबुल्की मार्यौं । झरनाको चिसो पानी भन्ने गीत गुनगुनाउँदै केही तस्बिर र दृश्य कैद गरी कालीगण्डकीको गहिरो गल्छी पनि अवलोकन गर्यौं ।

त्यति धेरै पहाडको यात्रा नगरेकी म र मेरीलाई बाटो देखेर डर लागेको थियो । त्यसैले मैले बस  कालीगण्डकीमा खस्ला कि भनेर अगाडिको सिटलाई च्याप्प समातेँ र छोरीलाई पनि समात्न लगाएँ । एकछिनपछि मलाई आफ्नो बेकुफीमा हाँसो उठ्यो किनकि त्यहाँबाट बस खस्यो भने त चिनोबानो रहने थिएन । हामीले अगाडिको सिट समात्नु त हुटिट्याउँले आकाश थामेको छु भन्ने भ्रम पाल्नु जस्तै थियो । त्यसपछि घासामा गएर खाना खायौँ । भोक मिठो कि भोजन थियो भेउ पाइनँ तर खाना यति मिठो थियो कि आजसम्म पनि जिब्रोमा नै झुन्डिएको महसुस भइरहेको छ ।

खानापछि लेते हुँदै स्याउको लागि प्रख्यात मार्फा पुग्यौँ । मार्फा सौन्दर्य अतुलनीय रहेछ । मलाई स्याउका ती रुखहरूले फलेको समयमा फेरि आऊ है भनेर निम्ता दिइरहेको आभास भइरहेको थियो । एकैनासका घर, घरमाथि दाउराका हार, बस्नको लागि याकको छालासहितको रौँले मेचमाथि गलैँचाको काम गरेको, सफा गल्ली, पसल अत्यन्तै राम्रो रहेछन् । पानी परेकाले हामी केहीबेर त्यहीँ अलमलियौँ ।

त्यसपछि सदरमुकाम जोमसोमको विमानस्थल हे¥यौँ र अनेक दृश्यावलोकन गर्दै हामी धुम्बा ताल पुग्यौँ जुन सौन्दर्यको खानी रहेछ । हावा धेरै चल्ने रहेछ । हामी क्यामेरामा केही दृश्यलाई कैद गरेर छुसाङ फर्कियौँ । साथीहरूको छुसाङ बसाइ अविस्मरणीय रह्यो । आगो बालेर गीतको लयमा रमाउनुभयो तर मलाई सन्चो नभएको कारण मेरी साथी रमुका थापा मगर, कोपिला सुवेदी र दुई छोरी कोठामा नै बस्यौँ । मैले गर्दा साथीहरू पनि कोठामा नै बस्नुपर्दा मलाई अलि नमज्जा लागेको थियो तर व्यक्त गरिनँ । छोरीले खाना खाइन् तर मैले तातोपानी मात्र पिएर सुतेँ ।

चैत्र २६ गते सोमबार बिहान चार बजे नै माथिल्लो मुस्ताङको यात्रा सुरु भयो । हामी जति माथि जान्छौँ त्यति अनौठा दृश्यहरू देखिन्छन् । वास्तवमा माथिल्लो मुस्ताङ अद्भुत रहेछ र नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेछ भन्ने आभास भयो । जति माथि जान्छौँ त्यति नै पहाडीमाला, गुफा, समथर भूभाग देखियो । प्रकृतिले लामो समय लगाएर एक एक परीक्षण गरी बनाएका बालुवा र ससाना चिल्ला ढुङ्गाका कलात्मक थुम्का र ती थुम्कामा रहेका आँखीझ्याल जस्ता अत्यन्तै सुन्दर, मनमोहक एकैनासका प्वालहरू, त्यसभित्र लुकेका विभिन्न विचित्रका गुफाहरू ।

शिरमा हिराजडित हिउँको मजेत्रो गुथेकी, भित्र युरेनियम लगायतका अनेक खनिज धातुहरूलाई कलात्मक रत्नजडित चौबन्दीले छपक्क छोपेकी, जडीबुटीको पोटुका टमक्क पारेर कसेकी, चटक्क कम्मर छिनेकी र कम्मरभन्दा तल घुर्मैलो रङको घरबुना, कतै कतै ससाना फूलबुट्टा भरेको लामो धोती लगाएर मोहिनी कौमार्य आँखी झ्यालबाट सूर्य दर्शमा आतुर रहेकी प्रतीत भइरह्यो मलाई । आहा ! कुन शब्दले बयान गरूँ म तिम्रो रुपसी ? मैले बयान गर्ने शब्द नै भेट्टाउन सकिनँ । रुपसीका ती फुलबुट्टे घरबुना धोतीमा आकर्षित ती हिउँका सन्तान चौँरी, याक, च्याङ्ग्रा, भेडाको त वर्णन गरी साध्य छैन र मलाई रुपसीको आँगनमा चरेका ती जनावर देखी भित्री कुनै भागमा ईर्ष्याको भाव पैदा भयो र बसभित्रबाट क्यामेरामा कैद गरेँ । रुपसीको पगरी छुने इच्छा भयो जति नजिक जान्छु त्यति असहजता महसुस भयो । साथीकी छोरी निहारिकालाई लेक लाग्यो । मेरी छोरीलाई पनि  अलिअलि लेक लाग्न सुरु भएको थियो ।

मन आत्तिएको थियो तर पनि रुपसीको सौन्दर्य पान गर्ने लालसा ममा जागिरह्यो । एकै ठाउँमा हिमाच्छादित शिखरका लहर, कुममा पहाडीमाला र पाउमा समथर भूभाग देख्दा एकै ठाउँमा हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्ने तिर्सना मेटियो । कच्ची बाटो, कतै कतै खोलाको बगर र पुल बन्दै गरेकाले खोलैबाट जाँदा भने निकै कठिन, केही ठाउँमा साँघुरो बाटो, बाटोको तलमाथि समतल भूभागमा ससाना तिखा काँडा बिरुवा लहरै, टाढाबाट हेर्दा थुन्सेमा गाईवस्तुको मल लगेर बारीमा थुपुक्क थुपुक्क हार मिलाएर राखेको जस्तो पङ्क्तिबद्ध आकर्षक देखिने ती दृश्य, लोमान्थाङबाट जति पर जान्छौँ सौन्दर्यमा अझ निखारता । यस्तो ठाउँ एक पटक रुपसीको जादुले स्वर्गको आभास् गराउँछ । मलाई नेपालमा यस्तो ठाउँ पनि रहेछ भनेर आश्चर्य लाग्यो ।

बर्सौंदेखि नेपाल प्राकृतिक दृष्टिकोणले विश्वकै धनी देश भनेर टिभी हेरेर विद्यार्थीलाई रटाइरहेकी म त्यस्तो सौन्दर्य देख्दा त धनी मात्र होइन महाधनी रहेछ भन्ने आभास भयो । हामीले ठाउँ ठाउँमा ओर्लिएर तस्बिर लिने काम गरिरह्यौँ । बाटोको तलमाथि समथर भूभागमा बौद्ध मार्गीहरूले गाडेका झण्डा, टाँगेका ध्वजापताकाले यो निर्जन र मरुभूमि होइन है भन्ने सङ्केत गरिरहेको थियो । लोमान्थाङसम्म मात्र खेतीयोग्य जमिन होला भन्ने अनुमान गरिरहेकी करिब ३८०० मिटरको उचाइमा रहेका भूभागमा पनि वर्षमा एक बाली हुने कुरा त्यहाँ सुरक्षामा तैनाथ एक सुरक्षाकर्मीले बताउँदा म खुसी भएँ । यहाँ बसोबास गर्ने मानिस के खालान् भन्ने मेरो अन्तर्मनको प्रश्नको उत्तर पाएपछि म खुसी भएँ । त्यहाँ हामी बाइस जना महिला र दश जना पुरुष भनेर टिपोट गराएपछि कोरला नाकातिर हुँइकियौँ । सुन्दर के.सी. सरले नानीहरूको अक्सिजनको स्तर नाप्नुभयो र अक्सिजनको स्तर केही कम भए पनि डराउनु पर्दैन भन्नुभयो ।

हामी तीनचार जना बाहेक अपरिचित थियौँ तर त्यस्तो महसुस भने बसमा सबार सहयात्रीले कहिल्यै गराउनुभएन । अपरिचयमा पनि आफ्नोपनको भाव थियो हामीमा । लेक लाग्यो भने ल्वाङ, पोलेको अदुवा, एउटा सानो मरिच मुखमा राख्नुपर्छ भनेर रश्मी सेढाईँ म्यामले पहिले नै जानकारी गराउनुभएको थियो । मैले नानीहरू ल्वाङ मुखमा राख्न लगाएँ र आफूले पनि राखेँ । त्यहाँ जाँदा जुनसुकै मौसममा पनि तातो ज्याकेट लगायतका ताता लुगाहरू लैजानुपर्ने रहेछ । आफू बसेको ठाउँ गर्मी छ भनेर लुगा लगिएन भने त बरबाद हुने रहेछ । हेर्दा हट्टाकट्टा देखिए पनि लेक लाग्न सक्ने रहेछ । त्यसका लागि सावधानी अपनाउनुपर्ने रहेछ । साना उमेरका केटाकेटी र अलि उमेर पाकिसकेका मानिस लैजाँदा विशेष ख्याल गर्नुपर्ने रहेछ । मैले त्यस्तो अनुभूति गरेँ ।

सेताम्मे हिमाललाई तलतिर छोड्दै इन्द्रपुरीतिर गइरहेको आभास भइरह्यो । ती सेताम्मे हिमालका फेदमा च्याङ्ग्रा रमाइरहेका थिए । हामी छुसाङबाट सातआठ घण्टाको बसको यात्रापछि करिब १२ बजेतिर हामी कोरोला नाका समुद्र सतहदेखि ४६६० मिटरको उचाइमा पुग्यौँ । त्यहाँ पुग्दा त मलाई अर्कै संसारमा आइपुगेको भान भयो । वरिपरि हिमाल बिचमा तराईको जस्तो समथर भूभाग, चीनको भूभागमा आकर्षक भवन तर नेपाली राष्ट्रसेवक सुरक्षाकर्मी खुला ठाउँमा बसेको  देख्दा भने मनमा खिन्नता छायो ।

त्यहाँ सीमा छुट्याउनका लागि तारबार गरिएको रहेछ । त्यहाँ नेपाली झण्डा लिएर राष्ट्रिय गान गाउनुपर्ने रहेछ । सुन्दर सरहरूले झण्डा लैजानुभएको रहेछ । त्यहाँ पुगेर झण्डा देखाउँदा मलाई किन हो कुन्नि देशप्रति झनै गर्व लाग्यो । हावा बेसरी चल्दो रहेछ । म ती सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेर मेरी छोरीलाई श्वासप्रश्वासमा समस्या भएपछि बसमा चढेँ । साथीहरूले सिमानामा धेरै तस्बिर र भिडियो पनि खिच्नुभयो । सुन्दर के. सी. सर फोटो र भिडियो खिच्न सौखिन हुनुहुँदो रहेछ । सीमा स्तम्भभन्दा पर जान नपाइने रहेछ ।

त्यहाँ एकपटक सबै नेपाली नागरिक पुग्नैपर्ने ठाउँ रहेछ । त्यहाँ पुगेपछि नेपाल नै स्वर्ग हो भन्ने प्रमाणित हुने रहेछ । मरेपछि कथित स्वर्गको कल्पना गर्ने हामी कस्तुरीले विना नचिनेर भौँतारिए झैँ भौँतारिएका रहेछौँ । इन्द्रपुर, कैलाश र विष्णुलोक त्यहीँ छ । गन्धर्वको सङ्गीत अनि अप्सराको नृत्य उपल्लो मुस्ताङमा छ । हामी नेपाली स्वर्गमा बसेर स्वर्गको खोजीमा हराइरहेका रहेछौँ । मैले उपेन्द्र घिमिरे सरसँग ती बालुवा र ससाना चिप्ला ढुङ्गाले बनेका र शरीरभरि आँखीझ्यालजस्ता प्वाँल रहेका बालुवाको पहाडीमाला कसरी अडिएको होला भनेर बारम्बार जिज्ञासा राखेर छलफल पनि गरेँ । साँच्चै उपल्लो मुस्ताङ नेपालको अद्भूत र बेग्लै संसार रहेछ । बस्न मन लाग्दा लाग्दै पनि तीव्र गतिमा चलेको हावा र लेक लागेका कारण हामी सीमा नाकाबाट छिट्टै फर्कियौँ र फेरि छुसाङ हुँदै मुक्तिनाथतिरको बाटो ततायौँ ।

बिचबिचमा सुन्दर के.सी. सर र प्रधानाध्यापक एकबहादुर भण्डारी सरले त्यहाँको भौगोलिक अवस्था, यात्राको दुरीका बारेमा जानकारी गराउनुहुन्थ्यो । विशेषगरी  सुन्दर के. सी. सरले एउटा कुशल पथप्रदर्शकको भूमिका निर्वाह गर्नुभएको थियो । साथीहरूले घरबाट बनाएर र किनेर लैजानु भएका्े मिठा मिठा खानेकुरा पनि खाँदै यात्रा ग¥यौँ । मुक्तिनाथ जाने बाटो पनि कच्ची, पुल नभई खोलाबाटै जानुपर्ने रहेछ । कतैकतै डर लागेको थियो तर कागबेनीबाट माथितिर लागेपछि पिच भएको अत्यन्तै राम्रो रहेछ । प्र.अ. एकबहादुर भण्डारी सरले भक्तजनहरू अबको केही समयमा नै मुक्तिनाथको मन्दिर आइपुग्छ भनेर उद्घोष गर्नुभयो । हामी त हिमालको फेदीमा पो पुगेछौँ । नानीहरू नजिकै हिमाल देखेर खुसी भए । भगवान्ले केटाकेटी खुसी भएका देख्नुभएछ क्यारे यिनीहरूलाई अझै खुसी दिन्छु भन्ने सोचेर साँझमा त फुरुरु हिउँ पारिदिनुभयो । यो म, मेरी छोरी, रमुका, छोरो, कोपिला म्याम र छोरी निहारिकाका लागि भगवान्को उपहार थियो किनकि हामीले पहिलो पटक हिउँ छुन र हिउँ खेल्न पाएका थियौँ । त्यहाँ राम्रा राम्रा होटल रहेछन् । त्यस दिन हामी एउटा होटलमा विश्राम लियौँ ।

चैत्र २७ गते बिहान पाँच बजे नुहाइधुवाई गरी मुक्तिनाथको दर्शनका लागि गयौँ । मलाई सिँढी चढ्ने वेलामा गाह्रो भयो । म र छोरी नजाने सोच्दै थियौँ । तँ आँट म पुर्याउँछु भन्नुहुन्छ रे भगवान्ले । त्यसैले होला त्यहाँ मन्दिरमा हिँडेर जान नसक्नेका लागि डोली र घोडाको पनि व्यवस्था रहेछ । मेरी छोरीले घोडा चढ्न मानिन् र म सिँढीमा नै बसिरहेँ । केही बेरपछि साथी कोपिला सुवेदी तलै लिन आइपुग्नुभएछ । मुखमा ल्वाङ र सुकुमेल राखेर बिस्तारै छोरीको हात समात्दै आधा घण्टा लगाएर भगवान्को मन्दिर परिसरमा पुगेँ । साथीहरू १०८ धारा र कुण्डमा पनि नुहाई भगवान्को दर्शनका लागि लाममा बसिसक्नुभएछ । म र कोपिला म्याम दुइटी छोरीलाई एक ठाउँमा राखेर धारातिर गयौँ । आहा ! कति सुन्दर ठाउँ रहेछ । मन्दिरको माथि हिमाल, वरिपरि लेकाली पीपलका रूखहरू, मन्दिरलाई १०८ धारा र दुई कुण्डले घेरेको अति मनोरम ठाउँ । आन्तरिक र बाह्र पर्यटक (बाह्य पर्यटक विशेषगरी भारतबाट आउने) को खचाखच थियो ।

मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरूका लागि महत्त्वपूर्ण तीर्थस्थल रहेछ । मुक्तिनाथलाई हिन्दुहरूले भगवान् नारायण भनी पुज्छन् भने बौद्धमार्गीहरू तिब्बती भाषामा छुमिङ ग्यात्सा (नेपाली भाषामा सय पानी) भनी पुज्दा रहेछन् । त्यहाँ हिन्दु पुरुष र बौद्धमार्गी महिला पुजारीले पूजा गर्दा रहेछन् । धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरण रहेछ मुक्तिनाथ । नजिकै ज्वालामाईको मन्दिर भए पनि मेरी छोरीलाई लेक लागेकाले दर्शन गर्न जान सकेनौँ । त्यति धेरै आन्तरिक र बाह्य पर्यटक आउने र आम्दानी पनि प्रशस्त हुने ठाउँमा मन्दिर परिसर सरसफाइ नभएको देख्दा मलाई खिन्न लाग्यो । मुक्तिनाथ क्षेत्रको विकास गर्न सके रोजगारी सिर्जना गर्न सकिने रहेछ । यसतर्फ सरकारले वेलैमा सोचोस् भन्ने लाग्यो ।

हामी तल ओर्लिएपछि छोरी  हिमानीलाई श्वासप्रश्वासमा अलि सहज भयो र केही तस्बिर लियौँ र होटलमा आएर खाने खानेले खाएर नखानेका लागि पोको पारेर कागबेनीमा श्राद्ध गर्नका लागि ओरालो झ¥यौँ । बिचमा ओर्लिएर केही सुन्दर तस्बिर कैद गरी पुनः बसमा चढ्यौँ र कागबेनी पुग्यौँ । त्यहाँ केही साथीहरूले श्राद्ध गर्नुभयो मैले भने पितृहरूलाई जल चढाएर बत्ती बाली नदीमा बगाइदिएँ ।

करिब दुईघण्टामा काम सकेर हामी पोखराका लागि अघि बढ्यौँ । हामी फर्किने समयमा बागलुङतिर नगई पर्वत हुँदै पोखरातिर लाग्यौँ । बाटोमा पर्ने घना जङ्गलमा डढेलो लागेको देख्दा मलाई छटपटी भयो ।  यस विषयमा मैले आफ्ना असन्तुष्टि पनि पोखेँ । नेपालीमा चेतना कहिले आउने होला भन्ने लागिरह्यो । मेरो मानसपटलमा एउटै कुरा खेलिरह्यो । त्यहाँ भएका सुत्केरी चरी जो आफ्ना सन्तानका मायामा लुटपुटिँदै थिई, मृग, बाघिनी लगायतका वन्यजन्तुमा कस्तो पीडा भइरहेको होला  न बोकेर दौडन सकिने न छोडेर जान सकिने । बिचरा ! ती आमाहरूका हालत कस्तो होला ? कुनै लहडीले आफ्नो लहडमा लगाइदिएको सानो झिल्कोले ती अबोध र निरापराध वन्यजन्तुको सखाप भयो । मेरो मन भतभती पोलेको थियो तर मैले गर्न सक्ने केही थिएन मात्र मन दुखाएँ ।

करिब आठ बजे राति हामी पोखरा ओर्लियौँ र सामान थन्कोमुन्को लगाएर पोखराको प्रसिद्ध ठाउँ फेवातालको किनारमा (लेक साइड) घुम्न गयौँ । त्यहाँको साङ्गीतिक माहौलले मन पुलकित भयो । करिब एक घण्टाको घुमाइपछि होटलमा खाना खाएर विश्राम गर्यौं ।

चैत्र २८ गते बिहान नुहाइधुवाइ गरी बिन्दबासिनी मन्दिरमा गयौँ पूजाआजा ग¥यौँ र फेवाताल, गुप्तेश्वर मन्दिर, पातले छाँगो लगायतका प्रमुख स्थलको भ्रमण गरी केही किनमेल पनि गर्यौं । म, मेरी छोरी, साथी कोपिला सुवेदी, छोरी निहारिका थापा, रमुका थापा मगर र उनका छोरा सम्राज्ञ भुसाल पहिलो पटक पोखरा पुगेका थियौँ । हामी पोखराको सौन्दर्यमा मोहित हुँदै धेरै तस्बिर लियौँ र होटलमा गएर खाजा खाई काठमाडौँको यात्रामा बस चढ्यौँ । कुरिनटारमा आइपुगेपछि खाना खायौँ र त्यति टाढाको यात्रा र अप्ठेरो बाटो पार गरी सकुशल आइपुगेकोमा खुसीको हाँसो साटासाट गरी एउटा तस्बिर लियौँ । रमुका त्यहीँ दिदीको घरमा बसिन् । हामी त्यहाँबाट छुट्टियौँ ।

करिब नौ बजे कलङ्की आइपुगेपछि सबै साथीहरूसँग बिदाइको हात हल्लाउँदै सधन्यवाद बिदाबारी भयौँ । हाम्रो यात्राभरि पोकापन्तुरा बसबाट ओराल्ने, बसमा राखिदिने ठेक्का जस्तै भएको थियो शोभाखर सरको । उहाँले कलङ्कीमा पनि सामान ट्याक्सीमा राखिदिनुभयो । हामीले आभार व्यक्त गर्यौँ र बिदाबारी भई आआफ्नो बासस्थान आइपुग्यौँ । म र मेरी छोरी हिमानी पौडेल कहिल्यै नसोचेको यात्रा गर्न पाएकोमा महेन्द्र आदर्श मा. वि. परिवार, मेरी परममित्र रमुका थापा मगर, मेरी सहकर्मी कोपिला सुवेदी र छोरी निहारिका, शुभलक्ष्मी ट्राभल्स एन्ड टुरका बस चालक, कर्मचारीलाई धन्यवाद दिन्छौँ ।