नदेखिने कुराहरू नै देख्न आतुर बन्छ यो मन ।

सुख्खा मरुभूमि तर सुगन्धित छ साउदी अरेबिया । बेग्लै शान र संस्कारमा सगबगाइरहेछ साउदी अरेबिया । साउदी अरेबिया, मरुभूमिको तातो बालुवाबाट ऊर्जा फैलाउँछ, शुष्क र बेस्वादको बालुवाकणमा गुलियो डेट्स लहलह पार्छ, सत्र ठाउँमा बाङ्गिएको कुरूप ऊँटबाट अमृतमय दुग्धधारा झार्छ ।

इस्लाम धर्मलाई कठोर र अप्ठेराको संज्ञा दिन सकिन्छ । यो धर्म लचक छैन तर नियम, कानून । प्रणालीमा गति लिने कुनै धर्म छ भने त्यो इस्लाम धर्म नै हुनुपर्छ ।

साउदी अरेबिया इस्लाम धर्मको पवित्र नूर हो, सम्पूर्ण मुसलमानका लागि नूतन कोहीनुर हो । इस्लाम धर्मकै सबैभन्दा पवित्र धार्मिक स्थल मक्का र मदिना आफ्नै आँगनमा बोकेको साउदी अरेबिया विश्वका अरबौं इस्लाम धर्मावम्बीहरूको आस्था र श्रद्धाको केन्द्र हो ।

बिहान नुहाइधुवाइ र योग गरिसक्नासाथ मेरो आँखा कोठाको कुनामा रहेको इटरनल साउदी अरेबिया नामक पुस्तकमा टाँसिन्छन् । साउदी अरेबियाको सम्पूर्ण पक्षलाई सचित्र वर्णन गर्न सफल छन् प्रसिद्ध लेखक रिक गोल्ट त्यो पुस्तकमा । सार्वजनिकस्थल र समारोहको तस्वीर खिच्न नपाइने, विदेशीहरूलाई जहाँतहीँ घुमफिर गर्न इजाजत नदिइने साउदी अरेबियाका विस्तृत पक्षहरूको सचित्र वर्णन गर्न सक्नुलाई रिक गोल्टको सफलता मान्नुपर्छ, गोल्टको साउदी राजपरिवारसँगको घनिष्ठ सम्बन्धले यसमा सहयोग मिलेको हुनुपर्छ ।

रिक गोल्टको मेहनतले मलाई साउदी अरेबिया चिन्न मद्दत मिल्यो । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भनेझैं कैयौं युग बालुवाको फोस्रो थुप्रो मात्र बनिरह्यो साउदी अरेबिया । तेलको महत्त्व बुझ्ने बित्तिकै उसले पानीभन्दा धेरै इन्धन निकाल्न थाल्यो । देशको अर्थतन्त्रको ५८% हिस्सा पेट्रोलियम पदार्थको उत्पादनले ओगटेपछि विश्वलाई इन्धनले सिञ्चन गर्न समर्थ भयो । अनि भएन त ‘सुनारको सयचोट लोहारको एक चोट ।’

अरेबियाली जनजीवन, संस्कार र सामाजिक चरित्रको छुट्टै नमूना बोकेको साउदी अरेबिया विश्वका अन्य समुदायभन्दा फरक चित्र चम्काउँदै छ ।

सन् १९३२ मा आधुनिक साउदी अरेबियाको स्थापना भएपछि अब्दुल अजिज, साउद, फैजल, खालिद, फाद र अब्दुल्लाहजस्ता शासकले आफ्नो वर्चस्व फैलाए । राजा अब्दुल अजिजको देशको एकीकरण र स्थापना गर्दा देशले इन्धन उत्पादनमा तहल्का मच्चाउला भन्ने शायदै सोचेका थिए होलान् ।

शुरूशुरूमा मरुभूमि अर्थतन्त्र छोहोरा र ऊँटको दूधमा मात्र निर्भर रही येनकेन जीवन धानेको साउदी अरेबिया मरुभूमिको मुटु साबित होला भन्ने धेरैको अडकल थिएन । परिवर्तनशीलता नै सर्वोच्च शक्ति हो । परिवर्तनले भिखमङ्गालाई अमिर र अमिरलाई पाताल पुऱ्याउन कत्तिबेर लाग्दछ र ? हुने बेलामा सफलता धुरीबाट बर्सन्छ र डोकामा दूध दुहे पनि अडिन्छ भनेको त्यही होला शायद ।

कुवेत, कतार, युनाइटेड अरब इमिरेट्स र यमनले घेरेको साउदी अरेबियाको सुन्दरता जमीन र समुद्रले सजाएका छन् । एशिया र अफ्रिकाबीचको र युरोपबाट समेत टाढा नभएकाले विश्वको सबै मुलुकसँग हातेमालो गर्न त्यो अधिराज्यलाई कति सजिलो छ कति । स्वेज नहरको निर्माण पश्चात् त्यो पक्ष अझ चम्केको छ । एकातिर अरेबियाली सागरको भँगालाले म्वाइँ खाने अर्कोतिर लालसागर अँगाल्नाले पनि साउदी अरेबिया दुई प्रेमिका बीचको दमदार मायालु बनेको छ ।

नयाँ ठाउँको भ्रमण गर्दा यथाशक्य सान्दर्भिक रचनाहरू अध्ययन गर्ने र स्थानीय मान्छेसँग सोधखोज गर्ने मेरो बानी नै छ । अध्ययन, भ्रमण र स्थानीयता उजागर गर्नाले ज्ञानको फलक विस्तृत हुन्छ । मान्छे गणनाभन्दा गुणतिर अघि बढ्दछ । मेरो कुरा राजदूत अवुलेस ठकुराई ठीक मान्दै हुनुहुन्थ्यो । उहाँ आफैं प्राध्यापन पेसाबाट कूटनीतिकर्ममा कुलेसो खन्नु भएकाले हरेक विषयमा तथ्य र कारणहरूलाई ठीक ढङ्गमा विश्लेषण गर्नुहुन्थ्यो ।

‘धर्मान्धतालाई धोएर पखाल्नुपर्छ’ राजदूतका भनाइमा मैले सही थापें ।

‘मान्छे नामको जोसुकै साउदी अरेबियाली पनि इस्लाम बनेर जन्मन्छ र इस्लाम भएर नै मर्दछ’ मेरो बुझाइ सही मान्नुभयो ठकुराईले ।

‘मुसलमान जुम्लाको होस् वा जेनेभाको, रसियाको होस् वा रियादको एउटै आचरण, एकै विश्वास र एकै व्यवहारबाट विचलित बन्दैन । धर्म भनेको मौसमअनुसारको ट्युनिक पनि त होइन, पानी पर्दा र जाडो बढ्दा फरक ढङ्गले पहिरने’ धर्मलाई स्थिर र एकै रूपमा परिभाषित गर्न चाहनुहुन्थ्यो राजदूत ।

‘धर्म परिवर्तनशील पनि हुनुपर्दछ । विश्वासको सूत्र हो धर्म, जुन स्थान, समय र समुदाय अनुसार फरक रङ र रूपमा अङ्गाल्न पाउनुपर्दछ । त्यसो नहुने हो भने मुसलमान किन सिया र सुन्नीका पाटामा विभाजित हुन्थ्यो ? इसाईहरू किन क्याथोलिक र प्रोटेस्टेन्टमा बाँडिएर फरक पाइला फैलाउँथ्यो ?’ मेरा तर्कलाई ठाडो अस्वीकार गर्नुभएन ठकुराईले ।

‘सत्य र वास्तविकता’ भन्ने इस्लाम धर्मको पहिलो निचोडमा वैज्ञानिकता खोजिनुपर्छ ।’ मैले धर्म विश्वास मात्र नभै व्यवहार पनि हो भन्नेमा जोड दिएँ । ‘कुनै पनि सत्य प्रमाणित नभएसम्म सत्य हुँदैन’ भन्ने इस्लाम धर्मको विश्वासमा ‘ईश्वर नभएर पनि ईश्वर छ’ भन्दै समाजलाई डोऱ्याउने काइदा चमत्कारपूर्ण लाग्दछ । एकता र सर्वव्यापकतालाई विश्वासको घेराभित्र नसमेटेको भए इस्लामिक सम्प्रभूता कसरी कायम हुन्थ्यो र साउदी अरेबियामा ।

‘तर जे भए पनि धर्म र ईश्वर मान्छेले जन्माएको हो, धर्मकै नाममा बिचल्लीमा पर्नु हुँदैन मान्छे ‘ – राजदूत ठकुराई र म एउटा ठम्याइमा पुग्छौं ।

बिहानी नास्ता खाएपछि राजदूतसँगै मुसेलादबाट दूतावास रहेको स्थान सुलेमान पुग्यौं । दूतावासका मिनिस्टर काउन्सेलर प्रकाश सुवेदी, प्रथम सचिव लोकबहादुर थापा, सहचारी विश्व पनेरु, सचिव मुसा, अनुवादक एम रहमान, तृतीय सचिव घनश्याम तुलाधरसँग नेपाल र साउदी अरेबियाका समसामयिक घटनाका बारेमा कुराकानी गरियो । लेखापरीक्षण र सम्परीक्षणका कामले गति लियो राम्रैसँग ।

अमेरिका, बेलायत, फ्रान्सको तुलनामा साउदी अरेबियामा सरुवा भएकोमा दूतावासका कर्मचारीहरूमा केही गुनासा रहेको जस्तो लाग्यो । नेपालमा भए कहिले हिमालको हिउँ माड्ने, कहिले तराईका काँडा फाँड्ने काममै चित्त बुझाउनु पर्ने कर्मचारीलाई महङ्गो विदेशी मुद्रामा तलब खाएर इज्जत र शानको जीवन बिताउँदा पनि सुद्धि नखुल्नुलाई भने छरपष्ट पारें मैले कर्मचारी माझमा ।

पेसा, सम्पत्ति र शान जति छ त्यतिले चित्त बुझ्दैन मान्छेलाई ।

रियाद शहरस्थित ला सानी नामक एउटा पाकिस्तानी होटेलमा दिउँसोको खाना खाने बन्दोबस्त मिलाइएको रहेछ । राजदूत र सबै कर्मचारी कारद्वारा त्यसतर्फ लाग्यौं । करीब दश मिनेटको दूरी रहेछ ला सानी पुग्न ।

शहरभर असंख्य सवारी साधनको सिलि‌ङमिलिङ थियो। असंख्य सवारी साधनहरूको ओहोरदोहोर पनि सडकको फराकिलोपन र गुणस्तरीय ट्राफिक प्रणालीको कारण कोही पनि कसैका लागि घच्चा साबित हुन सक्तैनथ्यो ।

शहरको कुनाकाप्चा चाहार्दा एक जना पनि सडक किनारमा हिंडेको देखिएन । सडकहरूमा मान्छे नहिंड्ने भएकाले होला सडकपेटी पनि बनाइएको रहेनछ । सडकका सबै भाग पूरै पिचले ढाकिएका थिए । घरका प्रत्येक सदस्यको छुट्टाछट्टै कार हुने भएकाले होला शहरमा बस सेवा सञ्चालन गरिएको रहेनछ । आफ्नो निजी सवारी साधन नहुने नेपाली जस्ता विदेशीहरू भने अन्न भकारी छेउको भोको पुतली बन्न बाध्य बन्दारहेछन् ।

पाकिस्तानी होटलमा अरबी पोसाक पहिरेका केही युवकहरू खाना खाँदै थिए । हामी पुगेपछि जऱ्याकजुरुक्क उठेर बाहिरिए । ‘तीन बजे सलह हुँदैछ । त्यसैले छिटो खाना खाइसक्नुपर्छ ।’ राजदूतले हतारको सङ्केत गर्नुभयो । इस्लामी धर्मअनुसार दिनको पाँच पटक अल्लाहलाई पुकार्नुपर्छ, जसलाई सलह भनिन्छ । बिहान चार बजे, दिउँसो बाह्र बजे र अपराह्न तीन बजे जो जहाँ भए पनि अनिवार्य रूपमा सलहमा भाग लिनुपर्ने रहेछ । सलहको समयमा होटलहरू र डिपार्टमेन्टल स्टोरहरू बन्द गरिंदा रहेछन् ।

पेटमा खाना चाङ लाईनसक्तै होटलका कर्मचारीले सलहको समय हुन लागेको सङ्केत गरे र हातमुख धुन दौडिए । त्यहाँ बसिरहे हामी पनि सलहमा सामेल हुनुपर्दथ्यो । छिटोछिटो खाना खाएर होटलबाट बाहिरियौं । सलहको स्याईंसुइँले आफूले खाएको बिरियानी, फलफूलको सलाद, सेवाई र जूसको स्वाद भने होटलबाट बाहिरिएपछि मात्र सम्झँदै मीठो मान्दै गर्नुर्यो ।

‘माछा र कुखुरा सुलुसुलु निल्नुभयो होला हगि तपाईंहरूले हतारमा ?’ मैले प्रकाशजीलाई गाडीभित्र कोट्याएँ । ‘साँच्चै ऊँट बनियो ऊँट बनियो आज । होटलमा खाना, बाटामा उग्राइ’ कस्तो बेलामा खान पुगिएछ’ अरूलाईझैं प्रकाशजीलाई पनि केहीबेर अघिको खाना निल्नु न ओकल्नु भएको रहेछ ।

पान पाए पाताल पुग्न पछि नपर्ने जनार्दनजी हाम्रै साथमै हुनुहुन्थ्यो । कतार र इजिप्टमा जस्तै साउदी अरेबियामा पनि पान खाए र किनबेच गरे प्रहरीले पुल्टुङ ख्वाउने । धुर्तका हजार दाउ भनेझैं जनार्दनजीले कतार र इजिप्टमा पनि लुकिचोरी पान खाइसक्नु भएको थियो ।

‘पान पाइँदैन यहाँ ?’ स्याउँस्याउँ मन शब्दमा परिणत भयो। जनार्दनजीको ।

‘खोज्नुपर्छ’ – मानबहादुरजीको जवाफ ।

‘त्यसो भए त्यतैतिर जाऊँ न ?’ लिंडे बच्चा बन्नुभयो जनादर्नजी । हारा बजारतर्फ हुइँकियो गाडी ।

जनार्दनजी र मानबहादुरजीको गाडी छोडेर हाराको एउटा कुनातिर कुलेलम ठोक्नुभयो । ‘जे भए पनि छिमेकी भनेका छिमेकी नै हुन् क्या, एक भारती र एक ब‌ङ्गाली भाइको साझेदारी पान पसल रहेछ गल्लीको कोठाभित्र, उनीहरूले दिए बरा’ गाडीभित्र पसेपछि अमृत निलेझैं मक्खिनुभयो भित्र । ‘छेकिएर खानुहोस् है, बाहिरबाट प्रहरीले देख्यो भने तुरुन्तै चौखुऱ्याउँछ’ – संशयमा पर्नुभयो मानबहादुर । प्याजी रङको रुमालले नाकदेखि घाँटीसम्म छोपेर भैंसीको मुखमा साग परेझैं पानलाई पेटपाताल पार्नुभयो मित्रले ।

‘खत बेहोर्ने लत नछाड्ने’ मान्छेको कहाँ कमी छ र यो संसारमा ।

साँझ सुनकेस्राझैं चम्कियो रियाद शहर ।

दूतावासका दुई मित्र मेरा सिर्जनाहरूसँग परिचित हुनु हुँदोरहेछ ।

‘हामी पनि पात्र बनिएला नि हजूरका सिर्जनाहरूमा लोकबहादुरजीको जिज्ञासा ।

‘जरूर’ – मेरो जवाफ ।

‘साहित्य भन्ने बित्तिकै मलाई त काम पाइनस् बुहारी कुन्नी के कन्या भनेझैं लाग्दछ । मान्छेहरू किन बेफ्वाँकमा साहित्य लेखेर समय बर्बाद पार्दछन् ? बेलायतमा सात महीना बस्दा मैले न पत्र लेखें न एउटा कविता नै’ साहित्यलाई श्रीखण्ठ ठान्ने सबैलाई खुर्पाको बिँडले हान्ने हिम्मत गर्नुभयो उद्धवजीले ।

‘तपाईंलाई के कविता, के रमिता, बिनासित्ती किन बेलायतको गफ हाँक्नुहुन्छ ? हाम्रो झापाकी गोठमा बाँधेको भैंसीले पनि सात वर्षसम्म एउटा कविता लेखेको छैन, तपाईंले सात महीनामा के लेख्नु ?’ जनार्दनजीले झड्याम्म हान्नु भएको झापडले निचोरेको कागती बन्यो उद्धवजीको अनुहार ।

नारायणीभन्दा छ खण्ड फऱ्याक बगेको भेटियो मध्य रियादको सडक । पानीझैं तीनतीन खण्डमा आम्नेसाम्ने दौडने चिल्ला गाडीहरूको लर्कन देखियो। ‘यो कुन स्ट्रिट हो ? एउटा घुमाउरो मोडमा पुगेपछिको मेरो प्रश्न। ‘डक्टर अब्दूल रहमान हस्पिटल रोड’ – हाजिरी जवाफ शैलीमा छोटो उत्तर लोकबहादुरजीबाट ।

‘जे कुराको पनि नालिबेली चाहिन्छ दामोदरजीलिाई’ जनार्दनजीबाट उद्धवजीको खुसुक्क कान टोक्ने प्रयास ।

‘केही कुरा जान्न र बुभन नै नखोज्ने भए घरमै बसे भै’गो नि, किन गल्ली डुलुवाझैं कुइँकुइँ गर्दै हिंड्नु’ शब्दको बाघेझापु मेरो । बर्सिन लागेको मेघ मडारिएको बेला हुरीको लाँकुरीझैं लुरुक्क पर्नुभयो कानटोकुवा ।

फ्लोरेन्श नाइटिङ्गेल श्वेत वस्त्रमा सजिएझैं सेतो रङ्गमा ठिङ्ग उभिएको डक्टर अब्दुल रहमान हस्पिटलको ऊर्जाशील ज्योतिले उज्यालो बन्यो हामीहरूको अनुहार ।

‘ओहो कति अग्ला टावरहरू, हाम्रै फूलचोकी र नागार्जुनका चुचुराजस्ता’ मेरा मुखले फुत्त बयान गर्यो दृश्यको । भेडाबथान माझ दुई मान्छे उभिएझैं देखियो किङ टावर र फैजल टावर । ती दुबैलाई किनार पारेर अनन्त बगिरहेछ किङ फाद हाइवे । अग्लाइ र बगाइ दुवैको लक्ष्य समृद्धि, दुवै अस्पष्टबाट स्पष्टको खोजीमा । जिन्दगी मोड हो । मोडलाई मस्ती नठान्नेले अन्ततः निहुरनै पर्छ ।

अल उरोन्बोह रोडको मोडबाट मक्काह रोडतर्फ मोडिंदा सोचें ‘मोड छैन भने गन्तव्य छैन, गन्तव्य छैन भने जीवनको कुनै गीत छैन ।’

हामीलाई बोक्ने गाडी साउनको सालीनदीझैं बग्यो । साउदी फन्ड फर डेभलपमेन्ट निधारमा लेखेको जखमले भवनले मन तान्यो हाम्रो । आँगनभरि गाडीको बिस्कुन सुकाएर भेडाको बथानमा हात्तीझैं उभिरहेको रहेछ त्यो भवन ।

‘लौ हाम्रा सबै आँखीझ्यालहरू त यी महाशयले पो अँगालेछन्’ अलि अघिल्तिर कुम र काँध वरिपरि देशेमरु झ्या बोकेको जङ्गबहादुरे भवनलाई जिस्क्याउन खोजें मैले । टाउकामा नारदको जस्तो स्थिर टुपी र सुहाउँदो रङमा अङ्ग सजाएको त्यो स्यानो पहाड त गृह मन्त्रालय पो रहेछ ।

‘लौ माऱ्या’ – हाँकिरहेको मुसा गतिको गाडीलाई टक्क रोकेर घडघडाउनुभयो मानबहादुरजी ।

सडक बीचका रोड मार्करमाथि मुख र पुच्छरले म्वाइँ खाइरहेका रहेछन् दुई गाडीले । दुवैबाट फेटाधारी दुई मनुवा काली गण्डकीको खोचमा झरना हुत्तिएझैं ओर्लिए । ‘लौ अब मुक्काको’ बर्सात् हुने भयो’ गाडी दुर्घटना हुने बित्तिकै झगडा देखेको मेरो मानसिकतामा यस्तै आशङ्का उब्जियो । यथार्थमा कहाँ त्यस्तो भयो र ? उल्टो उनीहरूले हात मिलाए । अँगालो मारे। धेरै समयपछि भेटेको आफन्तझैं माया साटासाट गरे । तुरुन्तै झल्कियो प्रहरीजत्था । स्थितिको छानबिन गर्यो । त्यसमा दुवै पक्षको कुनै आग्रह देखिएन । शान्त र शालीनता प्रकट भइरह्यो । हामीकहाँ जस्तो दुर्घटनालाई नै नियत मान्ने र दुर्घटनापछि दुवै पक्षले दुश्चेष्टा दन्काउने दुष्कर्मको छनकसम्म त्यहाँ देखिएन ।

दुर्घटना हुने बित्तिकै सारा दम्भ छोडेर दुवै पक्ष आलिङ्गनबद्ध बनेपछि किन निम्तिन्थ्यो र द्वन्द्व । ‘हजुरले कहिल्यै मान्छेलाई मृत्युदण्ड दिएको देख्नुभएको छ ?’ लोकबहादुरजीको प्रश्न ।

‘अहँ, छैन’ मेरो जवाफ ।

‘हेर्न जाने हो ?’ फेरि लोकबहादुरजी ।

‘मान्छे मारेको के हेर्नु ? मैले त फिलिममा कत्ति हेरेको छु’ जनार्दनजीको राय ।

मृत्युको पञ्जामुनि हुरुक्कै भएर निस्सासिइरहेको मान्छेको मनस्थितिलाई उसको अनुहारमा हेर्न चाहन्थें म । जघन्य अपराधपछि मृत्युवरण गर्नेको जीवनको अन्तिम क्षणलाई हेर्न चाहन्थें म ।

‘जाऊँ न हुँदैन ?’ सर्वसम्पतिबाट प्रस्ताव स्वीकृति । धीरा मस्जिदतर्फ मोडियो हाम्रो समूह ।

साउदी अरेबियामा जघन्य अपराध गर्नेलाई धिरा मस्जिद अघिल्तिरको चोकमा सार्वजनिक मृत्युदण्ड दिने प्रचलन रहेछ । कसैले इस्लामी कानून बर्खिलाप हुने काम गर्यो, लागू औषधी सेवन गर्यो र बलात्कार गर्यो भने धिरा चोक नै उसको अन्तिम गन्तव्य हुने रहेछ । मान्छेलाई दुई टुक्रा पारेर मार्ने भएकाले चपचप स्क्वायर नामले पनि चिन्दा रहेछन्जअंग्रेजहरू । रियाद शहरको माझमा रहेको चपचप स्क्वायर सफा रहेछ । धूलोको नाम निसाना छैन । वरिपरि घरहरू, छेउमा न्यायालय र एउटा कुनामा विशाल मस्जिद । बीचमा सिङ्गमरमर बिछ्याइएको चौकुने खाली भुइँ, खाली भुइँको पूर्वी दिशामा मृत्युदण्ड दिइने मौलो ।

हामी धिरा स्क्वायर पुग्दा असंख्य मान्छेहरू ओहोर दोहोर गरिरहेथे । मान्छेहरूको ध्यान मृत्युदण्डको मौलोतिर केन्द्रित थियो ।

हेर्दहेर्दै मस्जिदतिरबाट केही मान्छेहरू निस्किए । काला कपडाले शिरदेखि पाउसम्म ढाकेका केही मान्छेहरू हातमा हतियार बोकेर डरलाग्दो यमदूतको भेषमा देखा पर्दछन् । जल्लादहरू मृत्युको फैसलामा दर्ता भएकाहरूको अगुवाइ गर्दछन् । एक्कै छिनपछि मृत्युको मुखमा पस्न बाध्य अपराधीहरू जल्लादहरूको घेरासँगै धिरा चोकमा प्रवेश गर्छन् । जल्लादहरूको मुखबाट शब्दवाणहरू बर्सन्छन् । उनीहरूको मुखबाट कहिले अल्लाह निस्कन्छ त कहिले अरिङ्गाले गाली । निमेषमै टाउको एकातिर र गिंड अर्कातिर हुन्छ । अपराधीको । शरीरका दुई टुक्रालाई कपडाले बेरिन्छ र अन्यत्र लगिन्छ । मृत्युदण्डको मौलोमा क्षणभरमै पानीका फोहोरा उठ्छन् । रगत पखाल्छ फोहोराले र सिनित्त पारेर लैजान्छ जमिनको गर्भमा ।

‘दोषीको प्राण पनि त्यसै गरी बिलीन हुन्छ होला अनन्तमा’ मृत्युदण्डको प्रत्यक्ष वर्णन सुनाउनुहुन्छ लोकबहादुरजी ।

‘चोरी गर्नेको दायाँ हात छिनालिन्छ, अरू अपराधीको अपराधअनुसार धिरा स्क्वायरले अङ्गभङ्ग गराउँछ, प्राण पखेरु उडाउँछ, त्यसैले यहाँ चोरी डकैती सुन्दै सुनिँदैन, हत्या, हिंसा, बलात्कार, लागू औषध कारोबार सुन्न गाह्रो छ’ थप्नुहुन्छ प्रकाशजी ।

पहिलोपटक आँखा खोलेर संसार देखाउने अस्पताल कत्ति छन् कति रिया‌द्मा । मृत्युलाई छाम्दै सधैंका लागि जीवनको तेल सुकाउने मृत्युको मझेरी पनि लमतन्न छ धिरामा ।

‘मृत्यु शाश्वत सत्य हो र जीवनको अन्धाकारमा टाँसिएर उज्यालो उन्मुख गराउने अग्रज पनि । मृत्यु महा-डर पनि हो, जीवनको ठूलो दुर्घटना पनि । कसैले गरेको महान् गल्तीका लागि महाडरलाई नै मारिदिनु सच्चिने मौकाबाट वञ्चित गर्नु हो । मृत्युदण्डले स्वयम्लाई सच्याउँदैन अरूलाई कठोर भयको भुमरीमा धकेल्छ मात्र ।’ मृत्युदण्डलाई यस ढङ्गमा पनि सोचे मैले ।

‘कसरी हुन्छ, जो अरूलाई मार्छ, जो अबोध नारीहरूको अस्मितामाथि खेलबाड गरेर चरम आनन्दको अनुभूति गर्छ, जो समाजलाई लागू औषधि र कुकर्मको महाजालमा फसाएर आफू आरामको नाटक रच्छ, समाजमा उसको अस्तित्व टिकाउनु समाजलाई अधोगतितिर धकेल्नु हो । त्यसैले मृत्युदण्डको प्रावधान हुनैपर्छ यो समयमा ।’ मनको अर्को पाटोमा यस्तो तर्क उभियो ।

मैले सन्तति अपहरणमा परेर बगरका बालुवा बनेका बाबुआमा सम्झिएँ । हुर्काइ बढाइ गर्दागर्दैको सन्तान गाँजा चरेस र हिरोइनमा लट्ठिएपछि घर मरुभूमि बन्नेहरू सम्झिएँ । निर्दोष र सुकिलो नारीमाथि भालुकाँडा बर्सिएपछि पूरा जिन्दगी औंसीको रात बनेर इन्तु न चिन्तु बन्नेहरू सम्झिएँ । लाग्यो नृशंस अपराधीले समाजमा दुम्सीकाँडा फ्याँक्न पाउनुहुन्न । मृत्युदण्ड अपराध दोहोरिनबाट रोक्ने अचूक अस्त्र हो, त्यसलाई समाजले छोड्नु हुँदैन’ म हाम्रो समाजको गतिछाडा प्रवृत्तिप्रति अलि बढी नै आक्रोशित बनें । धिरामा दिइने मृत्युदण्डको अनुष्ठानलाई मनमनै समर्थन गरें ।

हामी धिरा चोकमा पुग्दा पानीका कलकलाउँदा फोहरा उर्लिरहेथे । जीवनको मूलस्रोत पानीको मोहकतामा मृत्यु हाँसिरहेथ्यो । चोक सफा, शान्त र शून्य थियो । सफा, शान्त र शून्यताका तरङ्गहरूमा ढलिमली ढल्पलाइरहेथ्यो मृत्यु । आफ्नै टाउको र गिंड छुट्याउन लाम लागिरहेका मान्छेहरूमध्ये कतिले जीवनलाई भ्रम र भ्रान्तिमा परिभाषित गरिरहेका होलान् । न्यायाधीशहरू कानूनका ठेली पल्टाउँछन् । न्यायकर्ममा बरु धेरै अपराधीहरू छुटुन् तर एउटा पनि निरपराधी फाँसीमा नफसोस्, चक्कुले नचाटियोस् भन्ने चिन्तामा छन् उनीहरू । कालो नकाब बेरेका तरबारधारीहरू आदेश र गर्धनको प्रतीक्षामा निस्पृह छन् ।

जीवनको भूल, सजाय र समाप्तिको त्रिवेणी हो धिरा चोक ।

‘यहीं मस्जिद, त्यहीं मृत्युदण्ड, कस्तो विडम्बना’- एक मित्रको लामो सुस्केरा ।

‘मृत्यु नै अन्तिम पवित्र घटना हो । त्यसैले पवित्रस्थलमै मृत्युसँग भेट गर्ने सामाजिक मान्यता हुनुपर्दछ ।’ मित्रको भनाइलाई घुमाउरो खण्डन गरें मैले ।

‘हिन्दूहरूकै पनि पवित्र पाशुपत क्षेत्र र निर्मल नदी किनार दाहसंस्कारका लागि तोकिएका छन्’ – मित्र सुवेदीजी शून्य बन्नुभयो मेरो मथिङ्गलको मोहोरीहरूमा ।

चपचप स्क्वायरमा पाइला चाल्दा सूर्य त्यति चम्केको थिएन, तापक्रम भने छयालीस डिग्री सेन्टिग्रेड देखाइरहेथ्यो थर्मामिटरले । गाडीभित्रको वातानुकूलित वातावरणबाट बाहिरने बित्तिकै आगाको भुङ्ग्रामा पसेजस्तो छटपटी चल्ने ।

साउदी अरेबियाको पहिलो राजा अब्दुल अजिजको पुरानो दरबार हाम्रो अघिल्तिर उभिइरहेको थियो । माटाले बनाइएको गोलो ईंटाभट्टा जस्तो करिब ६० फिट अग्लो एउटा दरबारको परिसरमा उभिदै दरबारसँग चिनाजानी गराउनुभयो प्रकाशजीले । दरबारमा झ्यालहरू छैनन् । चारै दिशामा ठूला ठूला गोलाकार बुर्जाहरू ठडिएका छन् । भित्ताहरूमा ससाना प्वालहरू छन् । सुरक्षाका लागि अत्यन्त प्रभावकारी प्वालहरू । शत्रु आइहाले भित्रबाट छर्लङ्ग देख्न सकिने तर बाहिरबाट कसैले केही देख्न नसकिने ।

वि.सं. २०६१ सालमा मुक्तिनाथ र मुस्ताङ भ्रमण गर्दा कालीगण्डकी किनाराको बस्ती कागबेनीमा त्यस्तो किसिमको दरबार देखेको थिएँ। मुस्ताङ र साउदी अरेबिया दुवै स्थानमा पानी नबर्सने भएकोले त्यस किसिमका माटाका महलहरू जीवन्त बनेका छन् ।

अब्दुलको दरबारभित्र पनि अवलोकन गर्ने मनसुवा थियो हाम्रो । तर एक्लै दरबार पस्न पाइँदो रहेनछ मङ्गलवार । दम्पति हुनुपर्ने रहेछ । टाउकोदेखि गोलिगाँठासम्म नै सेतो रङ्गले ढाकिएका पुरुष र कालो रङ्गको बुर्काद्वारा ढाकिएका महिलाहरूको जोडीको भने भीड लागिरहेको थियो ।

‘हैन कविजी, एउटी बुर्काधारीलाई च्याप्नुपर्छ कि क्या हो दरबारका कुनाकाप्चा चाहार्न ?’ – एक मित्रको उठान ।

‘दरबारभित्र होइन धिराभित्र जाने र उतैबाट उँभो लाग्ने विचार आयो कि कसो, हामी त्यसो हुन कहाँ दिन्छौँ र ?’ हाँसोको फोहोरा छुट्‌यो र हावाभरि फैलियो ।

दरबार पस्नसक्ने कुरै भएन । लोप्रेकान लगाउँदै लर्कियौं शहरमा । साउदी अरेबियामा होटल र सार्वजनिक स्थलहरूमा दम्पति र व्यक्तिका लागि छुट्टाछुट्टै स्थान आरक्षण गरिएको हुने रहेछ । कसैले त्यसलाई तलबितल पार्न खोज्यो भने धूलिमाटी बनाएर मजैले उडाइन्छ । उम्कने मौकै हुँदैन ।

रियादलाई तस्वीरमा सँगाल्न चाहन्थें म । सार्वजनिक स्थलको कतै पनि तस्वीर खिच्न नपाइने त्यहाँको चलनले पक्षघात भएझैं हल न चल बनाइरह्यो मेरो क्यामेरालाई । बिचरा मनले सकी नसकी स्मृति बिम्बमा उताऱ्या रियादका रङ्गहरूलाई ।

राता र पहेंला रङ्गका चम्किला बत्तीको बिस्कुन ओढेर साँझ जुरुक्क उठ्यो शहर । बाक्लो – शहरलाई साँझमा उचाइबाट नियाल्दा नूतन र रोमाञ्चक अर्थ खुल्न सक्तछ । ‘अब हामी किडम टावरको सय तला माथिबाट रियाद शहरलाई सिंहावलोकन गर्नेछौं’ मेरो मन नै बुझेझैं कुशल पथप्रदर्शकको शैलीमा प्रकट हुनुभयो प्रकाशजी ।

‘ओहो, ‘आँ गर्दा अलङ्कार बुझ्ने हुनुहुँदोरहेछ प्रकाशजी तपाईं’ मैले मित्रको चतुऱ्याइँलाई सलाम चढाएँ ।

‘त्यति पनि नबुझे कसरी कुटनीतिज्ञ बनेर बाँच्नु नि ।’ आफ्नो पेसाको महत्त्वलाई उजिल्याउन खोज्नुभयो लोकबहादुरजीले ।

हामी किङ फाद रोडमा फर्कियौं । प्रवेश टिकट खरिद गरियो । अल वालेदिन तलाल नामका साउदी महाजन एक्लैले निर्माण गराएको किडम टावरको उचाइ र भव्यताको जति वर्णन पनि कम नै हुन्छ । लिफ्ट चढेर सय तलामाथि पुग्नु आफैंमा रोमहर्षक यात्रा हुन्छ । सयौं तलामाथिबाट रियाद शहरमा आँखा दौडाउँदा धरहराको आँगनभरि सयपत्री र लालुपाते ढकमक्क फुलेझैं देखियो । जताततै राताम्य, जतासुकै गतिशील र पहेंलपुर। आँखाले भ्याएसम्म रियाद फैलिरहेथ्यो । फैलिएको रियाद पूरै सप्तरङ्गी बिजुलीले ढकमक्क फक्रिरहेथ्यो। शहर देख्दा लाग्थ्यो सूर्यले त्यति रातसम्म अस्ताउन बिर्सिएको थियो ।

अत्यन्त कुशलतापूर्वक तयार गरिएको गुरु योजना पश्चात् शहर जन्मिएकाले सडकले शहरलाई राम्ररी चिरेको थियो। जतासुकै टिप्न ठीकक पारिएको जिरेनियमको ब्याड जस्तो थियो अथवा भदौमा ढकमक्क फक्रेका गोलमोहर बोटहरूलाई ठूलो चौरमा वर्गाकार ढङ्गले गुचुमुच्च सजाएजस्तो थियो। एकातर्फबाट रातो र अर्कोतर्फबाट पहेंलो प्रकाशको नदी बगिरहेको थियो सडकभरि । सवारी साधनको पछिल्लो बत्ती रातो र पहेंलो हुने भएकाले त्यस्तो बिम्ब बनिरहेको थियो, आँखाको डिसले भ्याएसम्म ।

किङ्डम टावरका पहिलोदेखि उनान्सय तलासम्म व्यापारिक पसलहरू, कार्यालयहरू, होटेल र रेस्टुरेन्टहरू छन् । हरेक तला र हरेक कक्षमा मान्छेको घुइँचोले मेलोबाटो पाउन गाह्रो पर्नेरहेछ । सडकहरूमा गाडीबाहेक मान्छे देखिंदैन । किङ्डम टावरमा जम्मा भएको भीड देख्दा त्यति धेरै मान्छे कुन बाटोबाट भित्रिए होलान् जस्तो लाग्दछ । जति भीड भए पनि एउटी महिला पनि एक्लै हिंडेको देखिंदैन । त्यहाँको परम्पराअनुसार कुनै पनि नारी पति वा पुत्रबाहेक अरू पुरुषसँग घरबाहिर हिँड्न नपाइने भएकाले नारी एक्लै बाहिरिनु भनेको वितण्डा निम्त्याउनु मात्र हो रहेछ । महिलालाई कुनै पुरुषले आँखा लगायो भने ऊ धानभित्रको घुनपुत्ला बन्न पुग्ने रहेछ । शिरदेखि पैतालासम्म नै कालो बुर्काले बेरिएका महिलाहरू औंसीको दोछायाँमा काला आकृति चल्मलाए झैं देखिएका थिए ।

लिफ्टले हामीलाई आकाशतिर उँभो लगाउँदै थियो । पचासौं तलामा लिफ्टले एक निमेष विश्राम लिंदै थियो ।

‘ए सर, अलि भित्तो लाग्नुहोस् है भित्तो ।’ लोकबहादुरजीले हताश स्वरमा हामीलाई कुनातिर कोच्नुभयो ।

‘के भयो हँ ?’ एक्कासि दुर्घटनाको आभासमा प्रश्न कोरलैं मैले ।

‘ढोकाबाट छिरेकी देख्नु भएन । त्यता नहेर्नुस् र छोइएला पनि, विचार पुऱ्याउनुस् है’ – प्रकाशजीलाई पीर थियो, कतै हाम्रा आँखा छाडा बनेर उनीमाथि ओर्लिन्छन् कि भन्ने । बीस एक्काइस बर्से युवकसाथ एउटी बुर्काधारीको प्रवेशले मौन सनसनी फैलिसकेको थियो त्यहाँ । लिफ्टमा रहेका साउदी अरेबियाली पुरुषहरू र हामी सबै हतारहतार कुना च्यापेर तर्कियौं ।

मान्छे देखेर मान्छे भाग्नुपर्ने त्यो कस्तो चलन ? मान्छेलाई छोइएला र हेरिएला भनेर त्राहिमाम् बन्नुपर्ने त्यो कस्तो नियति । आफ्ना इच्छा, चाहना र खुशीहरूलाई खुम्च्याएर सधैं काला कलेवरभित्र कोचिएर टुलुटुलु बाह्य संसार हेर्दै थुक निलिरहनुपर्ने कस्तो बाध्यता । बुर्काभित्रको आधा आकाशसँग मन साट्न चाहन्थें म । सम्भव थिएन त्यहाँ कसैगरे पनि ।

सय तलामाथिको अट्टालिकाबाट चियाउँदा रङैरङको चम्किलो कोलाज बनिरहेथ्यो रियाद । पूर्णेको जून जस्तै जगमग बनिरहेथ्यो मन । शहर सुन्दर, शान्त र विशाल छ, सत्यम् शिवम् सुन्दरम्‌को एकाकार बनेको छ । एक्कासि त्यो उज्यालो चिर्दै मन ग्वङ्गबुँ पुग्यो, जितपुरफेदी पुग्यो मानेभन्ज्याङदेखि दार्जुलाको डीलसम्म पुग्यो । त्यहाँ जतासुकै लोडसेडिङको टि कारबाहीमा परेका जनपदहरूको कालाम्य थियो । आफ्नै बन्धु बान्धव बर आमाको अनुहार छाम्न पनि हम्मेहम्मे थियो । जेद्दाचभरि छरिएको जूनमा समेत हाम्रै अँध्याराले ग्रहण लगाउन थाल्यो खुरुखुरु ।

रियाद वरिपरि मरुभूमि छ जस्तो लाग्दैन साँझमा । साँझमा रियाद ऊँटको छुनुमुनु जस्तो लाग्दछ । डेट्सको डङ्‌गुरजस्तो लाग्दछ ।

काला बुर्काले टुपीदेखि पाइतालासम्म बेरेका महिलाहरू पतिसँग हिंडिरहेको देख्दा यन्त्र मानवको चुरीफुरी जस्तो लाग्यो मलाई । उनीहरूको मन पनि भुर्रर संसारभरि फैलिन चाहँदो हो । त्यो मानव-मन उन्मुक्त फल्न र देखिन चाहँदो हो डेट्सका बोटहरूजस्तै ।

घर परिवार र बुर्का बाहिरको संसार शून्य हुनुमा पक्कै पीडा त होला नि । नजिकै उभिएका दुई बुर्काधारीको शरीरबाट फैलिएको अत्तरको गन्धले मेरो नाकका पोरा निसास्सिए । बुर्काभित्रको अत्तरभन्दा बुर्काविनाको स्वच्छ हावा निश्चिय नै सरल, सहज र स्वीकार्य हुन्छ – किङडम टावरको अन्तिम तलामा पुगेपछि सोचें मैले ।

रातमा पनि छर्लङ्ग देखिइरहेछ रियाद शहर । दिनमै पनि कहाँ देख्न पाइयो र बुर्काभित्रका अत्यासहरूलाई ।

मुसेलाद, रियाद, साउदी अरेबिया

(डा. दामोदर पुडासैनी ‘किशोर’को नियात्रासंग्रह ‘नेमेटिएका चित्रहरू’बाट)