
मुस्किलले पाइला सार्दै मानिसहरू बन्दीपुर माथिको थानीमाईसम्मका कठिन उकालोमा चढिरहेका छन् । त्यहाँबाट अर्को सुन्दरताको आँखीझ्याल खुल्छ ।
बन्दीपुरमा हामी पुग्दा साँझ ओर्लिन लागिसकेको थियो । त्यही गोधूली प्रहरको पूजा–आराधनाले बन्दीपुर झनै सजिएको देखियो । यौटा पृथक स्वरूप र संरचनाको जीवन्त मौलिकताले सुशोभित पुरानो बस्ती । रङ्गीचङ्गी फूलैफूलले सिँगारिएका बिछट्टका घर–आँगन । तिनका लतालहरा लहरिँदै घरका छानासम्मै आकासिएका । फुल्दै, झुल्दै आफू–आफैँमा रमाउँदै ती फूलका लहराको यात्राले घरका भर्याङ चढेर फैलिँदा पूरै बजार उस्तै शोभायमान । अनि तिनले सहरी स्वरूप र बन्दीपुरकै पहिचान रङ्गीन फूलबारीको रूपमा हेर्न पाइयो । त्यसले बन्दीपुरलाई नै आकर्षक पारिदिएको देखियो । अन्ततः सुगन्धमय सुन्दरताको सजावटले सानो, शान्त र सुन्दर बजारका रूपमा बन्दीपुर पाइयो ।
बन्दीपुरको विशेषता पुराना घरहरूको संरक्षण र फूलहरूको हेरचाह निकै प्रशंसनीय लाग्यो । साँझको दृश्य, बत्तीको झिलिमिली र त्यस्तै सजिसजाउ बस्तीबसोबासमा पुग्दा आरामको बिसौनी बिर्साइदियो । बरू झोला थन्क्याएर बजार घुम्नुको हतारोले विश्रामको पाटो ओझेलियो । बन्दीपुरका रात्रीकालीन सुन्दरतालाई आँखाले चुम्नुको लोभमा पाइला बिरानो ठाउँको चक्कर मार्न लम्कियो ।
बन्दीपुरमा पराइ थिएनन्, त्यहाँ सबै आफन्तजस्ता आत्मीय साथी सहयोगी भेटियो । वल्लोटोल, पल्लोटोल, माथ्लो र तल्लोटोल सबै चहारियो । जता पुगे पनि, जहाँ हेरे पनि रङ्गीबिरङ्गीकाे अनेकौँ फूलहरूको लहराउँदो जवानी मस्किँदै, लच्किँदै आँखाहरूलाई आफूतिर आकर्षित गर्दै सप्रेम उपस्थित भइरहेकाे देखियो । ढुङ्गा बिछ्याइएका बाटो र सिँढीहरूसँगै घर–घरैमा अतिथि सेवा–सत्कारका सुविधा उपलब्ध हुने प्रत्यक्ष देख्न पाइयो ।
स्थानीय परिकारका खानपानको पनि बेग्लै कुरा । घुम्दै जाँदा जता पनि अघाउँजी पेटमा पनि खाइहालु लाग्ने सेलरोटीहरू । लोकल चियाको घुट्कीमा सेलरोटीको स्वादै अर्कै हुने रहेछ । एकदमै स्वादिष्ट काँडेदार सेल । कति मीठो रोटी र कति मीठो मित्र–मिजास स्थानीयको । बन्दीपुर घुमेर कदापि तृप्त भइएन । बन्दीपुरमा हेरेर थाकिएन । हाम्रा सारा तनाव र हैरानीहरू एक सुखद यात्राको गन्तव्य प्राप्तिमा परिणत भयो ।
बन्दीपुरको साँझ सकिएर रात नजिकिँदै गर्दा झन् प्रशस्त आन्तरिक पर्यटकहरू रमाउँदै, घुम्दै गरेको भेटियो । खानेपिउने, गफिने र घुम्ने क्रम त छँदै छ । तस्बिरको सम्झना मात्र होइन भिडियो खिच्ने र टिकटकको रमाइलोमा मस्त हुनेहरू पनि त्यहाँ त्यतिबेला धेरै भेटियो । अन्ततः दिनभरिको यात्राले थकित भएर बन्दीपुरमा पाइला टेक्दा र आँखा डुलाउँदा आनन्दित भइयो । कार्यालय, घरपरिवार आदिका सारा व्यस्तताहरूलाई बिर्सेर साह्रै मज्जाले रमाइयो । यात्रामा यसरी रमाउन सक्नुको प्राप्ति नै ठूलो उपलब्धि पनि हो ।
घर, आँगन, पेटीपर्खाल, गल्ली र चोकका पुरानै संरचना यथावत रहेछ । तिनलाई जतनजगेडा गर्न बजारक्षेत्रमा सवारी साधन निषेध गरिएको रहेछ । स्थानीय स्तरबाट यस किसिमको अनुकरणीय कामले बन्दीपुरको विरासतलाई ज्यूँका त्यूँ राख्न फलदायी भूमिका खेलेको प्रत्यक्ष देखियो । बजारमा कलात्मक झ्याल–ढोकायुक्त इँटा, काठ, ढुङ्गा र माटोले बनाइएका दोहोरीलत घरहरू । कतिपय घरहरू डेढसय वर्ष पुरानोसमेत रहेछन् । तिनै अधिकांश घरहरूमा होटल, रेस्टुरेन्ट खोलिएका छन् । बजारको चहलपहल हेर्दै होटलकै आँगनमा बसेर आरामले खानपिन गर्न पाइने सुविधा उपलब्ध हुने रहेछ ।
वास्तवमा जीवन भन्नु एक अन्तहीन यात्रा हो । हिँडेर कहिल्यै सकिँदैन र पुगेर कहिल्यै पनि पुगिँदैन । हिँड्नुपर्ने ठाउँ र पुग्नुपर्ने गन्तव्य सधैँ बाँकी नै रहिरहन्छ । तथापि यात्रा भन्नु जीवनको एक अनिवार्य पाठशाला पनि हो । किनभने यात्राले नै हामीलाई संसार चिनाउँछ, फरक भूगोल, संस्कृति र जीवनशैलीसँग साक्षात्कार गराउँछ । पाइला–पदचापका डोबहरू अनि तिनै पैतालाले खनिएका डोबहरूका पल–पल स्मृति र अनुभूतिका विराट आयामहरूको एक भिन्न सिलसिलाले बुनिएको हाम्रो सुन्दर जीवन र सुखद यात्रा ।
जीवनमा यात्राहरू कैयौँ हुन्छन् । कति हिँडिन्छ कति जीवनमा । कति हिँडिएको छ हिँड्न थालेदेखि यता । यद्यपि हिँडाइपछि त्यसलाई त्यत्तिकै बिर्सिइन्छ र बिर्सिएको पनि छ । परन्तु कतिपय हिँडाइ र यात्राहरू खास हुन्छन् । कठिन भए पनि नभए पनि तिनै यात्राका खास सम्झनाहरूमध्ये बन्दीपुर यात्रा हाम्रा लागि विशेष भइदियो । किनभने दुई दिन बिदाको सदुपयोग गर्दै यो भ्रमणमा कार्यालयका लगभग हामी सबै १० जना (जनप्रतिनिधि र कर्मचारी) को सहभागिता थियो ।
घुमाइको घुलमिलले थाहा हुन्छ कि को कस्तो हो र कसको स्वभाव कस्तो छ भन्ने कुरा । त्यसर्थ सहकर्मी चिन्ने र बुझ्ने गतिलो अवसर पनि हो यात्रा । परन्तु यात्रामा नाच्ने, गाउने, गफिने र रमाउने आदत छैन भने केही मज्जा हुँदैन सायद । हामीमध्ये कोही पनि यसमा सामेल नभए तापनि हामीले हाम्रो यात्रालाई रमाइलो गरेरै फर्कियौँ । भनौँ भने हाम्रो यात्रा फिक्का, खल्लो र बेस्वादको भएन ।
शताब्दी पुरानो बस्ती बन्दीपुर प्रिय गन्तव्यका रूपमा भनौँ भने नेपालीको मनमा सूचीकृत नै भइसकेको छ । अझ ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरको मौलिकता मैलिएको छैन । रानीकै रूप–सौन्दर्यमा विद्यमान बन्दीपुरको आकर्षणले आगन्तुकहरूलाई आमन्त्रित गर्न थालेको भने दुई दशक पनि मुश्किलले पुगेको छ । पुरानो बन्दीपुरको अस्तित्वलाई पुनर्जीवित गर्न शिक्षाविद् चीजकुमार श्रेष्ठको योगदानलाई आज पनि बन्दीपुरेहरू सम्झिरहन्छन् । त्यसपछि सन्तकुमार श्रेष्ठ, डा. मदन पिया र नमस्तेलाल श्रेष्ठको भूमिकाले बन्दीपुरलाई शिक्षा, स्वास्थ्य, सरसफाइमा नेतृत्व प्रदान गरी नमुना बजारका रूपमा स्थापित गराउन पहल थाल्यो । त्यसो त, यसमा गैरआवासीय नेपालीको पनि देन रहेको कुरा बन्दीपुरबासी बताउँछन् ।
पृथ्वीनारायण शाहद्वारा काठमाडौँ उपत्यकामा आक्रमण गरिँदा भक्तपुरबाट स्थानीय प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू भागेर बन्दीपुर आएको इतिहास छ । त्यसैले बन्दीपुर बजार तिनै नेवारहरूले बसाएका हुन् । तिनले निकै शान्त र सुन्दर पहाडमाथि आफ्ना घर, बाटो, चोक भक्तपुरकै शैलीमा बनाए । यसरी पुराना घर त्यसमाथि फूलैफूलका बोटविरुवाले सिँगारिएको तथा धुवाँधुलोबाट अलग्ग राख्दा बन्दीपुर बजारको सुन्दरतामा सुगन्ध थपियो । नभन्दै आज यहाँ विदेशीभन्दा नेपालीको बढी भीड लाग्दोरहेछ ।
कुनै समयमा यस क्षेत्रकै ठूलो व्यापारिक केन्द्रका रूपमा बन्दीपुर स्थापित थियो । पहाडबाट तराई झर्ने र तराईबाट पहाड चढ्ने प्रमुख व्यापारिक नाका नै बन्दीपुर थियो । तनहुँको सदरमुकाम बन्दीपुरलाई वि.सं. २०२५ सालमा दमौली सारिएपछि बन्दीपुरको चहलपहल सबै सिद्धियो । स्थानीय नेवारहरू परम्परागत व्यापार गरेर त्यहाँ बस्न नसकेपछि नारायणगढ, दमौली, आँबुखैरेनी, पोखरा र काठमाडौँतिर झर्न थाले । अन्ततः बन्दीपुर एक्लियो । चहलपहल केही नभएपछि बन्दीपुर सुनसान र निर्जन हुन पुग्यो । वर्षौंपश्चात् आज स्थानीय बन्दीपुरेहरूकै पहलमा पुरानो बन्दीपुर पुनः पर्यटकीय गन्तव्यका साथ आफ्नो मौलिक विरासत बचाउन लागिपरेको छ । आज कैयौँ पर्यटकका मनमा बन्दीपुरले आफ्नो ठाउँ बनाएको हामीले पनि मनन गर्यौं ।
मुस्किलले पाइला सार्दै मानिसहरू बन्दीपुर माथिको थानीमाईसम्मका कठिन उकालोमा चढिरहेका छन् । त्यहाँबाट अर्को सुन्दरताको आँखीझ्याल खुल्छ । हिमाली छटा र पहाडी क्षितिजहरूका छताछुल्ल दृश्य त्यहीँबाट धित् मरुञ्ज्याल देख्न पाइन्छ । मर्स्याङ्दी नदीको बहाव र तनहुँका विभिन्न फाँटहरूको रमणीय पाटो त्यहाँबाट नियाल्न सकिन्छ । हामी त्यहाँ पुग्दा हुस्सुका थुप्रोले डम्म ढाकेर पहाड र गाउँघरहरू हराएका थिए । केहीछिनमा बिस्तारै बादल हट्दै जाँदा देखिएको मनमोहक प्राकृतिक विम्ब एक सौन्दर्य–साक्षात्कारको अपूर्व दर्शन थियो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार करिब चार सय वर्षपहिले भक्तपुर र कीर्तिपुरबाट आएका नेवारहरूले बसालेको बस्ती नै आजको बन्दीपुर हो । यहाँ अझै पनि त्यस बेलाका घरहरू सुरक्षित र संरक्षित छन् । भक्तपुरे शैलीका चिटिक्क परेका तिनै घरहरू बन्दीपुरको आकर्षण बनेका छन् । ती घरहरू बन्दीपुरका ऐतिहासिक सम्पदा पनि हुन् । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय बोकेका छन् । बन्दीपुर पहिला कास्की, लमजुङ, गोरखा र तनहुँको मुख्य व्यापारिक केन्द्र थियो । ती जिल्लाहरू मात्र होइन हिमाली जिल्ला मनाङको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो र तराई प्रवेश गर्ने नाका नै बन्दीपुर थियो ।
अध्यक्ष कार्की आफूले बन्दीपुरको मौलिकतालाई जगेर्ना गर्न पहल गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार बन्दीपुरमा नयाँ बन्ने संरचनालाई परम्परागत स्वरूप र संरचनामा बनाउनुपर्ने निर्णय भएको छ । आधुनिक स्रोतसाधन प्रयोग गरिए पनि स्वरूप भने परम्परागत शैलीकै हुनुपर्ने नियम बनेको छ । जस्तो घर बनाउँदा सिमेन्ट, फलामको प्रयोग भए पनि संरचना पुरानै र छानो पनि पुरानै शैलीमा छाउनुपर्ने नियम बनेको छ । ताकि गाउँलेपन र स्वरूप जोगियोस् भन्ने गाउँपालिकाको नीति रहेको उहाँ जानकारी दिनुहुन्छ । त्यसैगरी सकेसम्म नयाँ बनाउनुभन्दा पुरानै संरचनालाई जोगाउने, तिनको मर्मतसम्भार गर्ने गाउँपालिकाको मुख्य नीति रहेको उहाँ बताउनुहुन्छ ।
अध्यक्ष कार्की भन्नुहुन्छ– ‘वास्तवमा आफ्नो गाउँ–ठाउँलाई चिनाउन मात्र होइन बचाउन पनि सामूहिक भावना र सामुदायिक तत्परताले उदाहरणीय काम गर्न सक्छ । अग्लो पहाडमाथि बसेको बस्ती बन्दीपुरलाई प्राकृतिक ‘भ्यु टावर’ पनि भन्ने गरिन्छ । करिब चारसय वर्षअघि बनेका परम्परागत भक्तपुरे शैलीका घरहरू, नेवार तथा मगर कला, संस्कृति, जीवनशैली नै बन्दीपुरलाई सुन्दर बनाउने गहना हुन् ।’
बजारभन्दा केही परको टुँडिखेलबाट तलको पहाड र हिमाल हेर्ने राम्रो स्थान हो । त्यहाँबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश, लाङटाङ आदि हिमश्रृङ्खलाहरू देख्न सकिन्छ । बजारभन्दा केही तल अवस्थित तीनधारा र बरपिपलको चौतारी । त्यही नजिकैको जङ्गल छेउमा बनभोज स्थल । नेवार समुदायको बसोबास हुनुअघि बन्दीपुरमा मगर बस्ती थियो । आज जातीय विविधता देखिन्छ । वस्तुतः गुरुङ, मगर, नेवार, क्षेत्री, बाहुन मिलेर बसेको रङ्गीन फूलबारीजस्तै छ बन्दीपुर ।
बन्दीपुरमा केही धार्मिक सम्पदा स्थलहरू पनि छन् । जस्तै– विन्ध्यवासिनी, थानीमाई, खड्गदेवी, महालक्ष्मी र महादेव मन्दिर । बजारमाथि डाँडामा गुम्बा पनि छ । डाँडामा एउटा शहीद स्मारक पनि बनाइएको रहेछ । बजार नजिकैको गुरुङचे डाँडाबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्न कहलिएको ठाउँ मानिन्छ । बजारकै छेउमा केबुलकारको निर्माण कार्य पनि भइरहेको रहेछ ।
उता थानीमाइ मन्दिरपारि चीनको पर्खालजस्तै बाटो निर्माण भइरहेको देखियो । त्यही रहेछ– मुकुन्देश्वरी गडी करिव ४ कि.मी. लामो पैदल मार्ग । यहाँका ऐतिहासिक स्थलहरूलाई सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने उद्देश्यले पहिलो चरणमा थानीमाईबाट प्याराग्लाइडिङसम्मको प्राम्भिक रेखाङ्कन तथा आधार तयार भइसकेको पनि थाहा भयो । त्यस्तै मगर जातिको बसोबास रहेको मगरगाउँमा सो जातिको मौलिक रहनसहन देख्न सकिन्छ । हुन त बन्दीपुर बजार बस्नुअघि यहाँ मगर जातिकै बाहुल्य थियो रे ।
बन्दीपुर बजारबाट ‘बन्दीपुर’ लेखिएका टिसर्ट, हँसियासहित खुर्पेटो, ताउलो, साना गाग्री, कलश, दियो र गेडागुडी तथा स्थानीय महिलाहरूले बुनेका झोला, टोपी, मफलर र खास्टो कोसेली ल्याउन सकिन्छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

