आज एप्रिल दुई तारिक सन् २०२४, यो वर्षको ईस्टर होलिडे सकेर काममा फिर्दै छु, याउ मा तेईको एम टी आर इस्टेसन “ए” ओरिपरि छुट्टी सकेर काम फिर्दै गर्नेहरूको चाप बढेको छ ।

सानो ब्याग भिरेर ढोका कुर्ने चिनिया दिदीबहिनीहरू उस्तै गरी बाटोभरि ग्राहकको पर्खाइमा ओहोरदोहोर गरिरहेछन् । आफ्नै जिन्दगीको तलुवा खियाएर सडक नापिरहने यी दिदीबहिनीहरूको बाध्यता हो कि रहर हो यो पेशा ? म थाहा नपाएरै सोचमग्न मात्र छुइन । हरेक दिन देखिने यी निराश अनि बेचैन  अनुहारहरूसित हैरान पनि छु ।

डुल्नु घुम्नुमै व्यस्त शरीरले आराम नपाए पनि मनले चाहिँ थकाइ मेटेको महसुस गरें मैले । मान्छेको मन बिना कुनै रोकतोक आफ्नो खुसी चरा झैं घरी यता, घरी उता उडिहिंड्दा अर्काको अधीनमा काम गर्दाको जस्तो थकाइ कहाँ लाग्दो रैछ र ?

हिजोसम्म साथीहरूसँग रमाइलो गरेको जम्मै सिनारियोहरू झलझली आँखामा झुण्ड्याएर काममा फर्किरहँदा मलाई चर्चित नेपाली उखान “घुमिफिरी रुम्जाटार” हाम्रो जिन्दगीमा हाबी भैरहेको भान भो ।

हरेक वर्ष जस्तै यो वर्ष पनि ३१ मार्च २०२४ आइतबारका दिन हङकङ साहित्यिक साझा शृङ्खलाद्वारा १३० औं शृङ्खला विशेष ‘साहित्यिक पदयात्रा-३, २०२४’ हङकङकै एक सुन्दर टापु ‘ग्रास आइल्याण्ड’ (ताप मुन) को भ्रमण गर्दै साहित्यिक एवं साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भनी तय गरिएको थियो ।

उक्त पदयात्रामा आफै खानापिना बनाएर बोक्ने निर्णय भएकोले  मेरो भागमा परेको चाम्ब्रेको समान तयार गर्नु र ड्युटी १० बजेसम्म पर्नुले अघिल्लो दिनदेखि नै निक्कै चटारो खेपेको थिएँ ।

तरै पनि अरू साथीहरू कति उत्साहित थिए थाहा भएन । म भने त्यो रमाइलो पदयात्राको निम्ति हप्ता त के महिनौंदेखि उत्साहित थिएँ । उहिले १९९६,९७ तिर हामी हङकङ आउँदा नेपालीहरूको हङकङ आगमनको सुरुवाती दिन भएर हो  कि ! यस्ता रमाइला क्रियाकलाप केही हुन्थेन । आउने बेला अलिअलि ऋण बान पनि प्रायले गरेरै आएका थियौं, त्यो ऋण तिरिसक्ने र केही पैसा कमाउने धुनमा मात्र सीमित रह्यौं सायद !

हङकङ जन्म थलो भैकन पनि बाबा आमाले आफ्नो पल्टन घरमा बस्ने तीन वर्षको अवधि सकेर आफ्नो देश फिर्दा हामी सँगै हङकङ सरकारले लिखित रूपमा दिएको हाम्रो जन्म दर्ता पनि च्यापेर देश पुर्याएका थिए । हामी हुर्केर उतै लेख पढ गरेर आउँदा हामीलाई न जन्मथलोले चिन्यो, न भाषा लिपि नै जान्ने भयौं । देश त हाम्रो छँदै थिएन, न जन्मिँदा, न हुर्केर आउँदा । अर्काको देशलाई आफ्नो कर्म थलोको रूपम स्विकारेर बस्दै आएको बर्षौंपछि आज भोलि रमाउन सिकेका रैछौँ नेपालीले ।

सुरुका दिनमा महा दुःख पाएर आफूलाई स्थापित गरेका थियौं हङकङमा । कल्पना त जो कोहीले पनि गर्न सकिन्छ, अहिले जस्तो नेपाली पनि थिएनन् त्यसबेला,  चाइनिजहरू अंग्रेजी पटक्कै नबोल्ने हुनाले किनमेल गरिखानु सजिलो थिएन । हाम्रा बाबा आमा अनभिज्ञ थिए, यसरी भविष्यमा यहाँ जन्मेकाले हङकङ आइडी पाउँछन् भनेर ।

नत्र नेपाल लगेर पनि ती जन्म दर्ताहरू जोगाएर राख्थे होलान् । पछि हङकङ आउन पाउने नियम  सुनेपछि यहाँ जन्मने अधिकांशले पल्टन घरमा हुने आफ्ना आफन्तलाई फेरि जन्मदर्ता निकाली मागेर त्यसैको आधारमा कागजपत्र बनाएर आएका थिए । मेरै श्रीमानको पनि जन्मदर्ता थिएन, चाहिन्छ भनेर बाबालाई सोध्दा थाहा भएन खोई कता गयो गयो ? भन्नुभयो ।

त्यसपछि सेकंग क्यापमा कार्यरत मामा खेमराज मादेन मार्फत फेरि मगायौं । त्यसबेला मामाले अन्जान ठाउँमा सहयोग गरेर ठूलै गुण लगाउनु भएको थियो ।

बाबालाई सोध्दा हाम्रो जन्मथलो भएर पनि शिक्षा दीक्षा यहाँ नलिएकोले यहाँको ठाउँ र भाषासित अनविज्ञ हामीलाई के थाहा यसरी पैसा र काम भन्दा पर… रमणीय प्रकृतिको काखमा हाइकिङ र पिकनिक जस्ता रमाइला स्पटहरू पनि हुन्छन् भनेर ।

अहिले त समय बद्लिएको रैछ । रमाइलो गर्दै जिउन सिकिसकेछन् यहाँका नेपालीहरूले । बद्लिएको समयको बुईं चढेर म पनि साहित्यकार साथीहरू सँगसँगै उड्दै छु हाइकिङ (पदयात्रा) मा ।

केही दिन अघि नै टिबी याक्खा भाइले, हामी भेला हुने ठाउँको ठेगाना र समय तालिका शृङ्खलाको मेसेन्जर ग्रुपमा पोस्ट गर्नु भएको थियो । टिबी याक्खा यस्तो व्यक्ति हुन् जोसले जे आइपरे पनि निर्धक्क सँग समाधान गर्छन् । शालीन, मिजासिलो, हँसिलो र अल्सी नमानी काम गर्ने आदतको म फ्यान हुँ, “हुने बिरुवाको चिल्लो पात” भने झैं उहाँको सानी छोरी सुनिष्का याक्खा पनि शृङ्खलाको बाल कवि हुन् । उनी शृङ्खलाको कुनै प्रोग्राम मिस गर्दिनन् ।

बल्लतल्ल तातो चाम्ब्रे बोकेर हान्निएँ एम टी आर स्टेसनतिर । सुनिता जी नाइट ड्युटी सकेर सुत्दै नसुती आउँदै हुनुहुन्थ्यो । अरुणाजी तात्तातो आलुदम बोकेर पूर्णिमा जी र कल्पना काफ्ले बहिनीलाई जोर्डनमा कुर्दैछु भन्नु हुन्थ्यो । पूर्णिमाजीले अघि नै म जोर्डन पुगेर सेलरोटी पिकअप गरेर आउँछु भनी ग्रुपमा मेसेज पोस्ट गरेको देखेकी थिएँ । पूर्णिमाको भागमा सेलरोटी परेको रहेछ भनेर त्यसबेला मात्र थाहा पाएँ । म सेलरोटीको भुक्त भोगीलाई पूर्णिमाको त्यो मेसेज देखेर मुखै रसायो ।

३१ तारिक छुट्टी लिनको निम्ति मैले अघिल्लो हप्ता छुट्टी नबसी लगातार काम गरेकीले थकान त बेहिसाब थियो शरीरमा तर, पनि पदयात्राको उत्साह र उमङ्गले थकान भुलेर टिबी भाइको उर्दीलाई पालना गर्न मोबाइलमा सात बजेको आलारम सेट गरेर ओछ्यान पसेकी थिएँ ।

तर, ओछ्यान पसेर पनि निक्कैबेर मनले भोलिको योजनाहरू बुनिरह्यो, निदाउन खोजे पनि निद्रा नलागेपछि उठेर एकछिन मोबाइलमा सेभ भएका कविताहरू

हेरें किनकि मलाई थाहा थियो भोलि मलाई पनि कविता वाचन गर्न लाउनु नै हुनेछ भनेर ।

सोचाइ बढेपछि केही पछाडिका कविताहरू अगाडी सारेर फाइलमा  सेभ गरें अनि पल्टिएँ ओछ्यानमा । थकानको सामु निद्रा देवीले हार खानै पर्‍यो क्यारे फुस्स निदाएछु, गुड मर्निङ् इज सेभेन ओक्लक्क नाउँ भनेर मेरो मोबाइलको भाले बसेपछि हाई….काढ्दै उठेर आल्रम निभाएँ ।

अघिल्लो दिनै भिजाएर राखेको चामलमा घ्यू खारेर जिरा पड्काएँ । अनि फुस्स बेसार हालेर सिटी लाएपछि तयार भैगो चाम्ब्रे । तर  म मान्छे पो (अंग्रेजीमा एज युजल) भने झैं नेपालीमा संधैं झैं तयार हुन घन्टौं लाग्यो ।

हतारो माथि झोला भित्र बोकेको तातो चाम्ब्रेले ढाड डामेर पसिनै पसिना रेल चढेर डाइमनड हील पुगेँ । एग्जिट ‘सी’ मै साथि मन्जु थापा र एकजना बहिनीलाई भेटें । बहिनी कला,भाइ खेम अनि गाम्देन शैलेन्द्र भाइ अघि नै ताततातो कुखुराको मासु बोकेर डाइमनड हीलमा हामीलाई कुरिरहेका थिए।

चिनेका एक हुल र नचिनेका एक हुल गरी जम्मा दुई दर्जन जति पदयात्री आइसकेका थिए । त्यसदिन हामीले एक अर्कालाई चिन्न बोलिरहनु अथवा परिचय गरिरहन जरुरी थिएन । हामीले लगाइरहेको शृङ्खलाको लोगो र नाम अंकित त्यो सेतो टि-सर्टले हामीलाई आजको पदयात्री हौँ भनी चिनाई मात्र रहेको थिएन, हङकङको भिडभाडमा हामीलाई एकत्रित पनि गरिरहेको थियो ।

बिहान १०.२० बजे “डाइमनड हील” एम टी आर ( रेल ) इस्टेसन एग्जिट सी वन बाहिरको प्राङ्गणमा भेला भएर पद यात्रा अघि बढाउने भनी जारी गर्नु भएको उर्दी अनुरूप सबै भेला भैयो, शृङ्खलाको संयोजक रमण गुरुङ, सल्लाहकार सुनिता गिरी, सह संयोजक अरुण शर्मा, सल्लाहकार पूर्णिमा जी शाह र नेपाल बाट भर्खर आइपुग्नु भएकी बहिनी कल्पना काफ्ले सँग सँगै जस्तो आइपुग्नु भो । हस्याङफस्याङ गर्दै केहीछिन पछि संरक्षक तथा सल्लाहकार दाजु गुरुङ दाइ र टिबी याक्खा भाइ पनि आइपुग्नु भो साथमा नानी सुनिष्का याक्खा पनि थिइन् ।

“होइन सधैँ भाइ त आर्मी टाइममा हिँड्ने मान्छे आज के भो ?” मैले टिबी भाइलाई जिस्काएँ । भाइले खुसुक्कै कानमा ”दाजु दाइ नाइट ड्युटीबाट आएर मज्जैले सुताउनु भएछ नि पर्खंदै ढिलो भो’ भन्नु भो म पहिले रमणजीको कविता कृति (आकार हामीले हिंडेर आएको बाटोको) प्रोग्राममा मुख्य सभापति नै आई नपुगेर हैरान भएको रमाइलो पल सम्झेर मज्जाले हाँसे । त्यसदिन पनि ड्युटीबाट आएर एकछिन सुताउने क्रममा दाइ निक्कैबेर निदाउनु भएको कुरो पछि सुनेका थियौं ।

परदेशमा हामीले भोगेको यी भोगाइहरू नै हाम्रा शक्ति हुन् यसलाई सकारात्मक र रमाइलो मान्नु पर्छ।

पर्खापर्खीमा हाम्रो झन्डै एक घण्टा समय खर्च भैसकेछ । सबै भेला भैसकेपछि बाँकी समयलाई नखर्चाई कन हतार बाटो लाग्यौं । डाइमण्ड हिलबाट ९६ आर बस चढेर करिब १ घण्टाको यात्रा पश्चात् ओङ सेक पियर फेरी र त्यहाँबाट बोट (पानी जहाज)  चढेर करिब आधा घण्टाको सामुद्रिक यात्रा पश्चात् हामी ग्रास  आइल्याण्ड ओर्लियौं ।

मनभरि उल्लास र उमङ्गको भारी बोकेर ओर्लिएका हामीलाई ग्रास आइल्याण्ड को माटोले स्वागत गरे झैं आनन्द आयो । फेरी बाट साना-साना घर गल्ली अनि गोरेटोहरू पछ्याउँदै करेङ्करेङ उकालो लाग्यौँ । त्यसबेला लहरै सेतो टी-सर्टमा सजिएका पदयात्रीको हुल देखेर त्यहाँका मान्छेले हेर्थे । रमाउनलाई धेरै समय नचाहिँदो रहेछ । हामीसँग जम्मा केही घण्टा बाँकी थियो र पनि निक्कै खुसी थियौँ । त्यो हल्का उकालो चढिरहँदा अरूले के सम्झे थाहा भएन ? मैले चाहिं तारानाथ शर्माको त्यो जमानाको सुदूर पश्चिमको कठिन यात्रा निबन्ध ‘घनघस्याको उकालो’ सम्झेँ । हामी हिंड्दै गरेको ती बाटो अनि ठाउँहरू डडेलधुरा वरिपरिका डाँडा पाखाहरू जस्तै थिए ।

हिँड्दै निक्कै माथि पुगेपछि गाउँघरको जस्तै गोबर छरिएका बारीहरू देखिए, एक साइडमा थुप्रै गाईहरू चर्दै थिए, हामीले गाईहरू सित फोटो खिच्यौं अनि लाग्यौं अघि गैसकेका साथीहरूको हुल पछ्यौंदै । दुईसय मिटर जति हिँडेपछि रमणीय डाँडाको टुप्पामा अवस्थित एउटा प्यागोडा शैलीमा बनेको एउटा सुन्दर पाटी जस्तो घर देखा पर्‍यो । मैले त्यस घरलाई देख्दा, हाम्रो देशले गुमाएको महान् कलाकार ‘अरणिको’ लाई सम्झेँ जसले चाइनामा यस्ता थुप्रै प्यागोडा शैलीका मठ मन्दिर र गुम्बाहरू निर्माण गरेर चर्चा मात्र बटुलेन नेपाललाई नै संसारमा चिनाएको थियो रे । उसको कलालाई चिनेर चाइनिजहरूले छोरी चेली दिएर उतै राखेको र उतै उसको सन्तान फैलिएको इतिहास मात्र आज पढ्न पाउनु हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ ।

हामी त्यहाँ पुग्दा हाम्रा साथीहरू पुगेर खाना खानलाई टेबल पुछपाछ गर्दै गरेको देखेँ । हामी सबैले केही न केही बोकेर आएका थियौँ । सबैले भारी बिसाएर खानेकुरोको बिस्कुन लगायौं । त्यसैबेला देखें, नाइट ड्युटीले थकित सुनिताले पनि चनाको तरकारी बनाएर ल्याउनु भएछ । बिचरा कतिखेर भिजाइन् र पकाइन् त्यो उसकै व्यथा भो । तर अहिलेलाई खान पाइने भो भन्ने लाग्यो । खानै खानाको लाइनमा मैले पनि बिसाएँ तातो चाम्ब्रे । हामी केटी मान्छेहरू जता गएपनि चुला चौका बोकेर हिंड्छौं भने जस्तै सबैले आ-आफ्नो काम सम्हाल्दै खाना बाँड्न थाल्यौं ।

अरुणाले पुलाऊ, र चना पस्किन्, आलुदम पूर्णिमाले र मैले कुखुराको मासु र चाम्ब्रे, मञ्जु र उनको साथीले सेलरोटी, अन्य साथीहरूले थालमा थाप्दै दाइभाइ हरूलाई दिनु भो । देबेन्द्र खेरेस सरले पेय पदार्थ ल्याउनु भएछ । बिष्णु मुखिया दिदीले फलफूल, यसरी सबैले एकसाथ बसेर खाना खायौं । सारै रमाइलो भो। अन्य थुप्रै परिकारहरू पनि देखियो र खाइयो तर मलाई सबै थाहा भएन क-कस्ले ल्याएका हुन् ? संयोजक रमण जीले पेपर प्लेट,चम्चा,काँटा र गिलासहरू ल्याउनु भएको थियो ।

हामीले खाना खाँदा त्यहाँ चरिरहेका गाईहरू आएर खोस्न खोजे तर उनीहरूलाई लखेट्दै खानुको विकल्प थिएन । गुल्मी अनलाइनको भाइ नारायण भण्डारी ज्युले दिदी गाईहरूलाई मुसार्दै खाने कुरो दिनु पर्छ नकारात्मक भावहरू जान्छ भन्नु भो । त्यो सुनेपछि आफैलाई मन पर्ने दुई ओटा सेलरोटी बाँकी थियो । त्यै चुँडाउँदै खुलाए उनीहरूले यति मज्जाले खाए कि म सेल नखाई अघाए झैं भो । खुलाई सकेपछि सकारात्मक भाव त होइन, मनमा एक प्रकारको भय पो उत्पन्न भयो । लाग्यो ! कतै मैले खुलाएको यो रोटीले गाईहरू बिमार त पर्ने होइनन् ?

खाना खाएर गीतकार अगम बिकराल ज्युको गीतिसंग्रह एक-एक ओटा हातमा लिएर उफ्रँदै फोटो खिच्यौं । त्यसपछि अझ माथि डाँडा चढ्ने सल्लाह गरेर उकालो लाग्यौं । मान्छेलाई जति माथि गयो उति माथि जान मन लाग्ने रैछ । हङकङ सरकारले बन जंगल जताततै बाटै बाटो बनाइदिएको छ । हाम्रो काम हिँड्ने त हो भन्दै फेरि लागियो उकालो ।

जाँदै गर्दा नरेन्द्र गुरुङ दाजुले भन्नु भो त्यो डाँडा घुमेर यहीं बाटो फिर्ने हो झोला कसैले लैजानु म रुङ्छु । त्यसदिन दाइले दुई भाइ छोराहरू पनि लिएर आउनु भएकोले बच्चाहरू सँग चङ्गा उडाउँदै हुनुहुन्थ्यो । हामीले पनि बच्चाहरू सँग हिंड्नुको अप्ठ्यारोपनलाई बुझेर जाऊँ भनेनौं । बरु बिना सरम झोला कुरुवा पो बनायौं दाइलाई बिचरा ।

झोला छाडेर आएपनि शरीर भारी लाग्यो उकालो चढ्दा । हुनपनि अघि चाम्ब्रे पिठ्यूँमा थियो अहिले पेटमा सर्‍यो फरक त्यति न थियो । साथीहरूको पनि उस्तै हाल त्यसैले सबैको हिंडाइको ताल पनि मिल्यो । माथि पुग्दा बिशुसम दाइ, डोम राना र कमल पौडेल दाइहरू अर्को सुन्दर प्यागोडा शैलीको छानो ओडेको चौतारोमा बसिरहनु भएको थियो । हामी पुगेर एकछिन नाच्यौँ । गाउनेले गीत गाए । गायिका मञ्जु थापा र बहिनी कला राईले टिकटक बनाए । कहीं कहीं त मलाई समेत मोडेल बनाए ।

केही छिन नाचेर ओरालो झर्यौं । झर्दै गर्दा पो देखियो बाटो छेउछाउ थुप्रै पोथ्रा पोथ्री तम्बुहरू जुन त्यहीँ रात काट्ने हिसाबले इष्टर होलिडे मनाउन आउने मान्छेहरूका अस्थायी टहरा थिए ती । तिनै हूलमा दिदी कमला तेम्बे र कवि तथा पत्रकार भेना टंक सम्बाहांफेज्यु र उहाँहरूका छोरा विश्वास, बुहारी र नानीहरू ।

‘यति सानो घरले यत्रो परिवार आँट्छ के भेना ?’ मैले रेला गरेँ ।

भेनाले हाँस्दै ‘अझै एउटी ल्याउँदा पनि अटाउँछ साली बस्ने हो ?’ मलाई हेर्दै भन्नु भो ।

‘हो नि त्यै काम बाँकी छ भेना !’ मैले भने ।

हाम्रो कुरो सुनेर दिदीले हाँस्दै होइन हामी आजै फिर्ने राति नबस्ने भन्नु भो ।

हामी अघि खाना खाएको ठाउँ पुगेर प्यागोडा शैलीको याक्सा ओरिपरि चर्दै गरेका गाईहरूलाई दर्शक बनाएर बाँकी रहेको फर्मल प्रोग्राम सम्पन्न गर्‍यौँ । त्यस दिनको कार्यक्रम टिबी याक्खा भाइले संचालन गर्नु भो दुई ओटा कृति अगम विकरालको गीतिसंग्रह (यादको मुर्चना) र भाबेश भुमिरी र प्रणिता चाम्लिङ्गको (भाबलिपि) को लोकार्पण पनि गरियो । संयोजक रमण गुरुङ ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कवि तथा मुक्तककार कल्पना काफ्ले र विशेष अतिथिमा कमल पौडेल ज्यु हुनुहुन्थ्यो । गीति संग्रह यादको मुर्चनामाथि देबेन्द्र खेरेस ज्युले छोटो समीक्षा गर्नु भएको थियो भने भाव लिपिमाथि बिशुसमज्यूले बोल्नु भएको थियो ।

त्यहाँ उपस्थित कविहरूले प्रकृतिको काखमा उभेर आ-आफ्ना सिर्जना वाचन गर्दै कार्यक्रमको शोभा बढाएका थिए । भने त्यहीँ अन्द स्पट त्यसै दिनको पदयात्रालाई लक्षित गर्दै लेखिएका कविताहरूलाई संरक्षक तथा सल्लाहकार दाजु गुरुङज्युको बाहुलीबाट सम्मान र पुरस्कार समेत दिइएको थियो । साहित्यिक कार्यक्रम पछि गायिका मञ्जु थापाले दोहोरी गीत गाएर सर्माइलो भाइ शैलेन्द्र गाम्देन समेतलाई नचाउनु भो ।

अन्त्यमा त्यहाँ उपस्थित नयाँ मेम्बरहरू र त्यसदिन दुख गरेर खाना पिना ल्याउने सबै दिदीबहिनीहरूलाई धन्यवाद दिंदै संयोजक रमण गुरुङ ज्युले कार्यक्रमको समापन गर्नु भएको थियो । समय अभावले ग्रुप डान्सलाई रोकेर याक्साको सरसफाइ गरी वरी लहरै लाम लागेर ओरालो झर्यौं । तल निलो समुद्र माथि सेतो टी-सर्टमा हामी ख्याल सुन्दर देखिएको थिएन त्यसदिनको वातावरण । यसरी हामीले शृङ्खलाको इतिहासमा अर्को एउटा अविस्मरणीय यात्राको पाना थपेर नमरे बाँचे कालले साँचे फेरि आउने बाचा गर्दै, आ-आफ्नै गन्तव्यतिर अथवा घुमिफिरि रुम्जाटार भने झैं फेरि पानी जहाज चढेर घर फिर्यौं ।