
‘अनि किन यति ढिलो ?’ त्यस्तै पाँच–दश मिनेटको प्रतीक्षापछि देखिएका रविलाई मैले सोधेँ ।
‘अनि काँ पाउने पाँच बजे उठ्ने भनेको मान्छे पाउने पाँचमै लिन आएपछि कसरी हुन्छ त ?’ रविले हाँस्दै भने ।

रमण जैसेरी
नेबेलहर्न चढेको हौसला थियो अनि ग्रोसक्रोटेनकोप्फ चढ्न नसकेको थकथकी थियो । ग्रोस क्रोटेनकोप्फमा जाने दिनमा रविको मिलेको थिएन । नत्र नेबेलहर्नदेखि नै उनी पदयात्राका लागि इच्छुकमै गनिन्थे । अघिल्लो पटक ट्रेनमा जाँदा ग्रोस क्रोटेनकोप्फसम्म जान नसकिएकोले बिहानै गाडीमा जाने अनि चढ्न नसकेको चुचुरो टेक्ने भनेर मेसेज गरेको थिएँ । त्यसैमा चढ्दा अभ्यास होस् भनेर अघिल्लो साँझ डेकाथ्लनबाट कम्मरपेटी, अंकुशे डोरी, हेल्मेट र पन्जा किनेको थिएँ ।
‘यो सब केको लागि हो ?’ दुई हप्तादेखि पहाड चढ्ने रन्को लागेको बुझेकी सबिताले मेरो किनमेल देखेर सोधेकी थिई ।
मैले ङिच्च हाँसेर टारे पनि उसलाई मनैमन डर लागेको थियो कतै म चुगस्पिच्चे जान्छु कि भनेर । आफ्नो र परिवारको कसम ख्वाएर एक्लै चुगस्पिच्चे नजाने बाचा गराएकी थिई । ग्रोस क्रोटेनकोप्फकै लागि पनि एक्लै जान दिन मानेकी थिइन । उसले विश्वास गर्ने रवि थिए । अनि रवि हिँड्न पनि मनगर्ने र हिँड्न पनि सक्ने मान्छे थिए । नेबलहर्नमा पछिसम्म नथाक्ने र पछिका दिनमा पनि यस्ता यात्राका लागि तयारी रहेको जनाउने उनी पनि थिए ।
ग्रोसक्रोटेनकोप्फको प्रस्ताव उनले सहजै स्वीकारे । अघिल्लो हप्ता जान नपाएको पनि थकथकी हुँदो हो । ट्रेन टिकट जति यात्रा गरे पनि ९ युरो नै थियो । अनि नेपालबाट आएको धेरै नभएकाले काम सुरु भइसकेको थिएन । मेरो सप्ताहन्तको बिदा नै हुने भयो । त्यसैले दुबैको खुब मिलेको थियो । अनि अघिल्लो साँझ मैले पाउने पाँच बजे उठ्ने कुरा गरेको थिए । यात्रा अघि त्यो पनि यस खाले यात्राको अघि तनाब हुनु स्वभाविक हो । मलाई झन् कुनै लामो यात्राको अघि झन् धेरै छटपटी हुन्छ । पाउने पाँचको अलार्म लगाएर सुते पनि अलार्म बज्न निकै अघि उठेँ । अनि एक पटक बिथोलिएको निद्रा फेरि लाग्दैन र केही गरी लागे पनि धेरै सुत्न पाइँदैन भनेर मैले बाटो तताउने निर्णय गरेको थिएँ । भरे पाउने पाँचमा उठ्ने मान्छे पाउने पाँचमा त दैलामै पुगियो । अनि केही बेरको अलमलपछि रवि र स्वस्ती बाहिर आए ।
हामी निकै चाँडै उठेकाले होला रवि गाडीमै बेला बेला निदाए । मलाई गाडी चलाउँदा छेउको मान्छे निदाउँदा पनि फरक पर्दैन । नेपालमा चाहिँ लामो टुरमा जाँदा नसुत्ने मान्छे छेउमा राखेर चलाएको याद छ । अर्को ड्राइभरले रक्सी खाएरै रातभर चलाएको पनि याद छ । मलाई नसुत्ने मान्छे र रक्सी दुबैको आवश्यक पर्दैन । गन्तव्य पुग्ने रन्कोले नै गाडी चलाउने प्रेरणा दिइरहन्छ । जर्मन अटोबानमा १२० प्रति घण्टा देखि २०० सम्मको गतिमा विना अवरोध गाडी हाँक्दै अष्ट्रिया पस्यौँ । ठाउँठाउँमा स्वस्तीसँग आएका ठाउँको परिचय पनि दिँदै गएँ । लेरमुसबाट अघि बढ्दा आँखामा ठूलो आल्प देखा पर्यो ।
‘चुगस्पिच्चे यही हो !’ मैले एकाएक मौनता तोड्दै भनेँ ।
करिब ३ घण्टा जतिको यात्रापछि हामी आइबजे किनारको पार्किङ्गमा पुग्यौँ । त्यहाँ पुगिसकेपछि पनि नभनी सुख थिएन । मैले उनलाई मेरो योजना सुनाएँ ।
‘खासमा आज मेरो चुगस्पिच्चे चढ्ने मन छ । तपाईं आइबजे वरपर हिँड्नुस् । म माथि पुगेर आउँछु । मैले हिजै चढ्न चाहिने सबै सामान पनि किनिसकेको छु ।’ मैले अप्ठ्यारो मान्दै पुरै कुरा सुनाए । मेसेन्जरमा पठाएको सन्देश बिताले हेर्दा भेद खुल्ला भनेर पनि मैले चुगस्पिच्चेको नाम कतै लेखेको थिएन । आउँदा पनि कतै भनेन । कुनै उपयुक्त समयको खोजी गर्दा गर्दै आँखा अगाडि चुगस्पिच्चे देखियो । अनि त्यसको परिचय दिँदा पनि उनले खासै मेसो पाएनन् । कार पार्क गरेपछि भने सबै कुरा सुनाउनै पर्यो ।
चुगस्पिच्चे जर्मनीको सर्वोच्च शिखर हो । यसको चुचुरोमा यस अघि पनि केबलकार चढेर गइसकिएको हो । तर तलैदेखि हिँडेर चढ्ने हुटहुटी करिब १ वर्षदेखि मनमा थियो । २०२२ को गन्तव्यमा यसको चुचुरो टेक्ने पनि थियो । ९ युरो टिकट सुरु भएपछिका हरेक आल्प्सको यात्राले यो चुचुरो टेक्ने सपना नजिक हुँदै गएको लाग्थ्यो । त्यताका अग्ला चुचुराहरु बास्तवमा चुगस्पिच्चे चढ्ने तयारी थियो भन्दो गलत हुने छैन । तर यति चाँडै चुगस्पिच्चे चढिएला भन्ने पनि लागेको थिएन ।
नेबेलहर्न २२२४ मिटर अल्गो मात्रै छ । ग्रोस क्रोटेनकोप्फ २६५६ मिटर अग्लो चुचुरो हो । यो अल्गोए क्षेत्रको सबैभन्दा अग्लो चुचुरो हो । नेबेलहर्न चढेपछि वरपरको सबैभन्दा अग्लो चुचुरो ग्रोस क्रोटेनकोप्फ नै भएकाले त्यसैलाई २५ जुनमा सुसन र सोनमसँग त्यहाँको यात्राको प्रयास गरेको थिएँ । ३५ कि.मि. हिँडिसकेर पनि हामी चुचुरोभन्दा करीब ४ घण्टा वरबाटै फर्केका थियौँ । आँखा अघि मुट्लरकोप्फ थियो । क्राच्चरले पश्चिमको घाम छेकिसकेको थियो । हरेस खाएर फर्किएका थियौँ । त्यो यात्रा पछि भएको नेबेलहर्नको दोश्रो यात्रामा जेआल्पजेको खुसी त थियो तर एक पटक चढिसकेको चुचुरो दोश्रो पटक चढ्दा मनमा उस्तो उपलब्धि गरे जस्तो महसुस भएको थिएन । ग्रोस क्रोटेनकोप्फ नगरी नहुने थियो । त्यसपछि चुगस्पिच्चेका लागि करीब ३ सय मिटरको उचाइ मात्रै बाँकी हुन्थ्यो । त्यसो हुन पाएन । चुगस्पिच्चे अलि अघि नै चढ्ने भइयो ।
कार पार्कमा चुगस्पिच्चेको सूचना पाएर एकछिन अलमलको अवस्था भयो । मैले बिहानै खानको लागि भुटेको भात बोकेर लगेको थिएँ । मैले सके जति आफू खाएर उनलाई पनि केही छोडेँ । पूर्वतयारीका लागि हेरेको भिडियोमा पर्याप्त पानी लगेर जाने सुझाइएको थियो भने अनावश्यक भार सबै कम गर्न भनिएको थियो । खासमा युट्युबका भिडियो पनि यो यात्राका लागि प्रेरणा दिने श्रोत मध्ये पर्छन् । ४० नाघेका एक जोडीको भिडियो हेरेको थिएँ जसमा उनले सबै बाटोका बारेमा बयान गर्दै माथि सम्मका मुख्य मुख्य ठाउँहरु देखाएका थिए । केही ठाउँहरुले आङ सिरिङ्ग गरे पनि उमेरका हिसाबले सकिन्छ भन्ने थियो । फेरि हामीसँग ओबस्र्टडोर्फको ३ पटकको यात्राको अनुभव थियो जहाँ हामीले सुरुमा २६ कि.मि.को यात्रा तय गरेका थियौँ भने पछिल्ला दुई पटक ३५ किमीको यात्रा तय गरेका थियौँ । ती यात्राहरुले हामीलाई आल्प्सहरुसँग अभ्यस्त बनाएको विश्वास गर्न चाहन्थ्यौँ । अनि तुलनात्मक रुपमा जवान र बलिया भएको पनि मान्थ्यौँ ।
‘तपाईँ नत्र जति सक्नु हुन्छ माथि जानुस् । अनि फर्केर ताल वरपर घुम्नु होला । ममाथि पुगेर केबलकारमा तल आउँछु ।’
करिब सवा आठ भएको हुँदो हो । घाम पनि पुरै लागेको थिएन । तल वरपर डुल्न त्यति समय लाग्दैन थियो । अनि जाडामा ताल वरपर घुमेर पनि फाइदा थिएन । त्यसैले केही समय पनि कटोस् भन्ने उद्देश्यले आफूसँगैको बाटामा केही बेर हिँड्न सुझाव गरेको थिएँ । आफूलाई साथी पनि हुन्थ्यो । अनि केही गरी नसकिने जस्तो भएमा सँगै फर्कन पनि हुन्थ्यो । त्यसैले सँगै जाने प्रस्ताब गरेँ । उनले पनि त्यो मजाले स्वीकारे ।
हामी गाडी पार्कमा छोडेर ताल छेऊ पुग्यौँ । त्यहाँबाट जंगलको बाटो हुँदै चुगस्पिच्चेका लागि अघि बढ्यौँ । ५ देखि ६ घण्टा समय लाग्ने भनिएकोले समयको पनि ख्याल होस् भनेर हामीले यात्राको सुरुवातमा दुबैको तस्बिर लियौँ । त्यो तस्बिर मा ८:४५ बजेको थियो । यो तस्बिर लिनको कारण के पनि हो भन्दा पछि ती यात्राको बारेमा लेख्न चाह्यो भने समय र स्थानको सम्झनाका लागि ती बलियो आधार हुन्छन् । जस्तो कि यो लेख मैले करीब ३ महिनापछि लेख्दा पनि मलाई हाम्रो यात्राको सुरुवात कहिले भएको हो भनेर हेर्न पर्यो भने त्यो तस्बिर लिएको स्थान र समय हेरे पुग्छ । लेख्नेका लागि योभन्दा राम्रो अरु के हुन्थ्यो ।
जंगलको बाटो सजिलै थियो । बिस्तारै उकालो नि आयो । अनि बीचमा सडकजस्तै चौडा चौर र छेउमा जंगलको बाटो आयो । चौर हिउँदमा स्कि खेल्ने ठाउँ थियो । हिउँ पग्लेर चौर बनेको थियो । अनि जंगलको बाटो चाहिँ खास बाटो थियो । हामी माथि उक्लँदा मान्छे खासै थिएनन् । युट्युबमा पनि अन्य बाटाको भिडियो बढी थियो । यो बाटो ८ कि.मि. लामो मात्रै भए पनि एकदमै ठाडो उकालो भएको बाटो भएकोले प्रायःले यो बाटो रोज्दैन थिए । हामी भने बिना अनुभव पहिलो पटक चढ्दै यही बाटो रोजेका थियौँ । यसको फाइदा छोटो हुनु थियो । अनि चढ्न लाग्ने समय पनि थोरै भएकाले हामी आराम गरेर फेरि स्टुटगार्ट पुग्न सक्थ्यौँ ।
‘मेरो पेटी तलै छुटेछ ।’ निकै बेर एक्लै हिँडेपछि एक जना तल ओर्लनेसँग कुरा गर्दा उसले फर्किनका कारण सुनायो । ‘निकै माथि पुगिसकेको थिएँ । अब आजलाई भयो ।’ उसले थप्यो ।
यात्राका क्रममा मैले जानेको भनेको यस्ता कुराकानी नै यात्राका पछिसम्म सम्झने क्षणहरु हुन्छन् । त्यसैले यात्राका क्रममा सकेसम्म धेरै कुराकानी गर्ने रहर हुन्छ । अनि यात्राका क्रममा गरिने कुराकानीबाट यात्राका बारेमा ताजा जानकारी पनि लिन सकिन्छ । उसले पेटी छुटेकाले फर्केको भनेपछि पेटी नभई जान नमिल्ने रहेछ भन्ने कुरामा थप बल पुग्यो । मैले त ल्याएको थिएँ तर रविसँग पेटी थिएन । मलाई आफ्नो स्वार्थका लागि रविलाई खाली दुःख दिए जस्तो पनि लागिरहेको थियो । अनि झुटो बोलेर या सूचना लुकाएर त्यहाँसम्म ल्याएकोमा ग्लानि बोध पनि भइरहेको थियो ।
त्यत्तिकैमा हाम्रो पछि पछि एक जना जवान देखियो । हामी जंगलको बाटामा रहेकाले र हाम्रो पहिलो यात्रा भएकोले बाटो भुलिन सक्छौँ भन्ने थियो । हुन त हातमा भएको मोबाइलमा अफलाइन नक्सा मज्जाले हेर्न सकिन्थ्यो । र पनि मान्छे हुनुले अर्कै आड दिलाउँथ्यो ।
‘हामी मध्यरातमा माथि उक्लेर सूर्योदयको बेला चुचुरामा पुगेका छौँ ।’ उसले चुगस्पिच्चेसँगको अनुभव सुनाउँदै गर्दा भनेको थियो । कति पटकको यात्रा हो त्यसले समेत उसले दिएका जानकारीमा आधिकारिकता थप्न सक्थ्यो । अनि उसले गरेका यात्राको समयले त्यसमा बल पुर्याउँथ्यो ।
‘म आज बिना पेटी नै चढ्छु । मसँग भएको भए दिन्थेँ । हेल्मेटसम्म त छ नि ?’ चढ्न आवश्यक कुराको बारेमा जानकारी लिँदा उसले सुनायो ।
मनमा केही आशा जाग्यो । बाटो उति असहज नभएको अनि आफू पनि पेटी नलगाई यात्रा गर्न लागेको भनेपछि हामी पनि सक्छौँ कि भन्ने भयो । कारण हामीसँग केही अनुभव पनि थियो अनि चुगस्पिच्चेका लागि तय गर्नुपर्ने भन्दा ३ देखि ४ गुणा बढी हिँडेको पनि धेरै भएको थिएन । खाली डर भनेको त्यो भीर उक्लनका लागि थियो । त्यही अन्तिम भीरमै सबैले पेटी र अंकुशीको प्रयोग गर्थे । अनि साँघुरो गुफा जस्तो भएर जाने बाटामा हेलमेट नलगाई प्राय चढ्दैन थिए । समस्या भनेको माथि चढ्ने कसैले कुनै एक ढुङ्गा गल्तीले पनि तल खसाल्यो भने तल हुनेका लागि त्यो निकै घातक हुन सक्थ्यो । त्यसैले पनि हेल्मेट बिनाको जोखिम मोल्न गाह्रै हुन्थ्यो ।
जंगल सकिएर गिट्टी नै गिट्टीको भीर आयो । आक्कल झुक्कल रुख थिए । पछि फर्कँदा आइबजे देखिन्थ्यो । घाम पनि केही माथि पुगि सकेको थियो हाम्रा अघिल्तिर पनि भारतीयजस्ता देखिने ४ जना थिए । उनीहरुले बोलेको भाषा नबुझिएर कतै पूर्वी युरोपका कुनै देशका हुन् कि भन्ने पनि लागेको थियो । उनीहरु मध्ये कसैले पनि हेल्मेट लगाएको थिएन । अलिछिन अलमल मानेर उनीहरुसँग कुरा थालेँ । डेनमार्क, नेदल्र्याण्ड र अन्य देश गरेर चारै जना एक साथीलाई भेट्न आएका रहेछन् । भेट्न आएको साथी चाहिँ नभएपछि जर्मनी बस्ने साथीले पहिले आफू गइसकेको भएर चुगस्पिच्चे ल्याएको रहेछ । उनीहरुसँग बुझ्दा कसैले पनि हेल्मेट र पेटी लिएर आएको थिएन । अनि क्लेटरस्टाइग भनिने यस्ता उकालाको कठिनाइको तहमा यो सजिलै क्लेटरस्टाइगमा गनिँदो रहेछ । यो सबै जानकारीले हौसला निक्कै बढ्यो । मराठी चलचित्रका अनुभव र जानेको ‘आता माजी सटकली’को संवाद सुनाउँदै उनीहरुसँग केही बेर हिँड्यौँ । त्यसपछि हामी अघि पर्यौँ । उनीहरु पछिपछि भए ।
करिब अढाई घण्टापछि हामी वीनर–न्वेयस्टेटर–ह्युटे मा पुग्यौँ । यात्रीहरुका लागि सुत्नेदेखि लिएर खाने र पिउने व्यवस्था भएका यस्ता ह्युटेहरु हामीले ओबस्र्टडोर्फतिरको यात्रामा पनि देखेका थियौँ । तर यो अलि अग्लो ठाउँमा थियो । २ हजार २ सय १३ मिटरको उचाइ भनेको लगभग हामीले दुई पटक चढेको नेबलेहर्नको उचाइ थियो । त्यो हामीले अढाइ घण्टामै पार गरिसकेका थियौँ । अब सामुन्ने क्लेटरस्टाइगमाथि बाँकी थियो । आरोहीहरु त्यहीँ पेटी र हेल्मेट कस्दै थिए । केही बियरका चुस्कि लिँदै थिए भने केही खाना खाइरहेका थिए । बाटामा कुरा गरेका एक आरोही त्यता भेटिए । हामी तलै टन्न खाएर आएका थियौँ । पिउनलाई पनि खासै बानी नपरेका रविलाई उकाला अघि पिउने मन थिएन ।
‘तपाईं जानुस्, म यतै बाट फर्किन्छु ।’ उनले एकछिन आफू अघिको अजंगको उकालो देखेपछि सुनाए ।
म हुन त एक्लै चढ्छु भनेर आएको थिएँ । तर जब मैले गाडीबाटै चुगस्पिच्चे पहिलो पटक देखेको थिएँ मलाई आफ्नै क्षमतामा शंका लागेको थियो । यति अजंगको पहाड थियो कि म त्यसलाई छिचाल्न सकौँला भन्ने रत्ति भर पनि विश्वास थिएन । तर जति सकिन्छ गर्दै जाउँ भन्दै हिँड्दा करिब आधा बाटो त सकिसकेको थियो । उचाइकै हिसाबले हेर्न हो भने पनि ९९० मिटरको उचाइबाट करिब १ हजार २ सय मिटर माथिसम्म पुगि पनि सकेका थियौँ । बाँकी भनेको ७ सय ५० मिटर थियो । तर त्यो ठाडै उकालो थियो । अनि रवि हुनुले एक फरक किसिमको आड भरोसा पनि थपिएको थियो । उनी नै फर्कने भनेपछि म अलमलमा परेँ ।
‘जति सम्म सकिन्छ जाउँ । नसके बरु सँगै फर्कौँला ।’ क्लेटरस्टाइगमा मान्छको ताँती त थियो तर चिनेको मान्छे साथमा हुनुको फरक अर्थ हुन्छ । त्यसैले पनि म उनी अघि बढुन् भन्नेमा थिएँ । बाटामा कुरा भएका आरोहीका अनुसार चढ्न नसुझाइएको भए पनि बिना सामग्री चढ्न चाहिँ सकिन्थ्यो । त्यही आधारहरु तेस्र्याउँदै उनलाई त्यहाँबाट अघि लगेँ । फर्कने बाटो पनि सजिलो भए फर्कन पनि हुन्थ्यो । तर निकै नै अप्ठेरो बाटो पार गरेर गन्तव्यको मुखमै आएर फर्कनु त्यति रमाइलो हुन्थेन । फेरि त्यो दिन नचढे अर्को दिन चढ्ने कुनै आधार पनि थिएन ।
हामी अघि बढ्यौँ । ह्युटेबाट क्लेटर स्टाइगसम्मै पनि १० मिनेट जतिको बाटो थियो । थोरै हिउँ बाँकी रहेको बाटोपछि ठाडै उकालो थियो । त्यो पहाडमा रुखको गोललाई काटेर बनाएको लिस्नो जस्तै पहाडमा फलाम ठोकेर बनाएको सिँडीको बाटो हुँदै हामी माथि उक्ल्यौँ । समाउनका लागि या अंकुशी लगाउनका लागि फलामका डोरी बाटाभरि थिए । हातमा पञ्जा भएकाले ती डोरी समाउन मलाई चाहिँ सहज थियो । रविलाई त्यो सुविधा थिएन । हामी उक्लँदै गर्दा अघि बाटामा भेटेको आरोही हाम्रै छेउबाट हेलमेट, पञ्जा र पेटी केही नलगाएरै सोझै पत्थरहरु उक्लँदै अघि बढ्यो । त्यो देखेर हाम्रो हौसला अझै बढ्यो ।
कठिन मानिएको गुफाको बाटो पनि सहजै कट्यो । सुरुवातमा धेरै मान्छे नदेखिए पनि अब भने बाटामा जामहरु छिचोल्दै जान पथ्र्यो । एक थान महिलाहरुसँग उक्लिँदा उक्लिँदै सगरमाथाको देशबाट आएको भनेपछि उनले ‘सगरमाथाका देशका मान्छे सधैँ त कहाँ देखिन्छ ?’ भन्दै हाम्रो तस्बिर नै लिइन् । सगरमाथा हामीले तस्बिरमा मात्रै देखेका थियौँ । हिमाल आरोहण पहिलो पटक जर्मनी नै गरेका थियौँ । यहाँसम्म कि मैले त हिउँ पनि पहिलो पटक जर्मनीमै देखेको थिएँ । तर भनि त हालियो ! लाज जोगाउनकै लागि पनि हामी थप जाममा परेका ताँती उछिन्दै माथि उक्लियौँ । बाटामा साना केटाकेटी सहितका अभिभावक पनि भेटिए । त्यो देख्दा झन् साहस बढ्दै गयो ।
मोबाइलको कम्पासमा देखिने उचाई हेर्दै यात्राको अन्त्यको अनुमान लगाउँदै अघि बढ्यौँ । झर्ने मान्छेहरुले फरक फरक समय भनि रहन्थे । तलबाट जति सहज देखिँदै थियो माथि त्यस्तो थिएन । सानो देखिने उकालो पनि हिँड्दै जाँदा निकै समय लाग्दै थियो । पाउने १२ बजे जस्तोमा उकालो सुरु गरेका हामी साढे १ बजे माथि पुग्यौँ । चुचुरोमा बनेको घरमै अष्ट्रिया र जर्मनीको छुट्टै भाग छ । हामी अष्ट्रियन चुचुरातिर गयौँ । २ हजार ९ सय ५० मिटरमा रहेको चुचुराको तस्बिरका अघि फोटो खिच्यौँ अनि २ हजार ९ सय ६२ को चुचुरोलाई पछिका लागि थाती रख्यौँ । खासमा सचित र रानु आइबजे आएका बेला हामीलाई पर्खन भनेका थियौँ । तर म र रवि कसैलाई नभनी बिना पूर्व योजना चुगस्पिच्चे चढ्न पुगेका थियौँ । त्यसैले पनि त्यो चुचुरो पछिल्लो पटकका लागि छोडेका थियौँ ।
मौसमले चढाइमा त साथ दियो तर चुचुरो नजिक पुग्दा घरिघरि पुरै बाटो ढाकेर निक्कै अत्याएको थियो । माथि नै पनि घरि उघ्रने घरि ढाकिने भएको थियो हामी त्यहाँ हुँदा चुचुरो पुरै ढाकिएको थियो । त्यस्तैमा पनि चुचुरोसम्म पुग्नेको ताँती हेर्न लायक थियो । हात समाउने डोरी र खुट्टा टेक्ने जमिन कतै बाँकी थिएन । हामी माथि पाइने खाना खाएर केबलकारमा तल झर्यौँ । फेरि स्टुटगार्ट पनि त पुग्नु थियो ।
चुचुरो नपुगुन्जेल कसैलाई नभनेका हामीले चुचुरो पुगपछि सोझै फेसबुकमा फोटो हाल्यौँ । केबलकारबाट तल ओर्लेर पारिलो घाम लागेको आइबजेमा पौडन थाल्यौँ । उकालाका सबै थकाइ त्यसैमा पखालिए । हामी चुचुरामा हुँदा ढाकिएको धन चिन्ह तल केहिबेर बस्दा फेरि घामले उघ्रियो । अलि बसेको भए हुन्थ्यो भन्ने त भयो तर हामीले पाएको सफलता नै त्यो दिनको लागि विशेष थियो । आइबजेको नुहाइधुआइपछि लेरमुस हुँदै घरतिर लाग्यौँ । हामी घर पुग्दा त्यस्तै साढे ८ भएको थियो होला । बिना चोटपटक चुगस्पिच्चे चढेर आए पनि घरमा सात खुन त्यसै माफ हुने भइगयो ।
त्यो चढाइ व्यक्तिगत जीवनको निकै ठूलो सफलता भए पनि त्यसले मनमा एक ग्लानिबोध चाहिँ थप्यो । हामी संसारकै सर्वोच्च शिखरको देशबाट आएका मान्छे थियौँ । हाम्रा लागि पहिलो शिखर विदेशी हुनु जरुरी थिएन । चुरे र महाभारतका थुम्काहरु पनि हामीले कम से कम टेकेको हुनुपथ्र्यो । किन यी कुराहरु हाम्रो क्षमता भित्र परेनन् ? किन यी कुराहरु हाम्रो जीवनसँग गाँसिएनन् ? हाम्रा चुरेका पहाडभन्दा साना थुम्कालाई शीर मानेर यत्रा मान्छे चढ्ने व्यवस्था गरिएको छ । हाम्रो देशको त हरेक थुम्का यसरी बिक्न पर्ने हो । अन्नपूर्ण आधार शिविर र सगरमाथा पनि विदेशीकै लागि बढी छन् । जसरी हामी सप्ताहन्तको विदामा बिहान गाडी हाँकेर दिनमा चढेर साँझ घर फक्यौँ, त्यो किन हाम्रा लागि सम्भव भएन । हिमालै नभए पनि तराईकाले चुरे र चुरेकाले महाभारतका चुचुराहरुमा चढ्नेकुरा त सम्भव हुँदो हो । आखिर हाम्रो जीवन शैली पनि हिँडडुल बिहिन हुँदै गइरहेको छ । त्यसमा गति दिन पनि पर्वतारोहण हाम्रो नियमितामा थपिनु पर्ने हो । यस्तै यस्तै प्रश्न र थकथकीले मन भरियो । अनि एक खाले अस्तित्वको संकट पनि उत्पन्न भयो । जर्मनीको सर्वोच्च शिखर त चढियो, अब के ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

