आषाढस्य प्रथम दिवसे… असारको पहिलो दिन अर्थात् असार १ गते कालिदासको मेघदूत काव्यको नायक प्रेमको दूत बनेर हिमालय पर्वततिर लागेको थियो । हामी आषाढस्य प्रथम दिवसे सम्झँदै भैरहवाको हप्प तातो यतै छाडेर पाल्पाको रम्भापानीतिर तानिँदै थियौँ । असारको पहिलो दिन किसानका लागि मात्र होइन, कवि, लेखक र संस्कृतिकर्मीका लागि पनि विशेष दिन रहेछ ।
बिहानको साढे पाँच नबज्दै म र सिर्जना भैरहवाको बुद्ध चोकमा पुग्यौँ । यहीं जुट्ने सल्लाह थियो । हामीभन्दा पहिले नै डा. शङ्कर नेपाल, विजय सागर, वनमाली निराकार, रुद्र ज्ञवाली, इन्दिरा ज्ञवाली, डिल्लीराज भट्टराई, युवराज शर्मा खनाल, राधा भट्टराई पुगिसक्नुभएको रहेछ । म पहिलो भइनँ । पुच्छा पनि भइनँ । गुड्न तयार गुडीयानमा रम्भापानीको सांस्कृतिक जागरणका निमित्त साहित्यिक सद्भाव यात्रा लेखिएको ब्यानर टाँस्यौं । सारथि (चालक) छ बज्दा छुट्ने तयारी गर्दै थिए । तिलक लामिछाने हामीलाई बिदाइ गर्न आइपुग्नुभएको थियो । उहाँ जान नपाउने रे ।
६ बज्न १ मिनेट छँदा सिर्जना खनाल आइपुग्नुभयो । बुद्धचोकको नन्दन मिष्टान्न भण्डारलाई बाई गर्दै हाम्रो गुडीयान गुड्यो । अलिक मास्थेर विद्युत् कार्यालयको द्वारनेर रहनुभएको कृष्णप्रसाद बस्यालका साथै पवित्रा बस्याल, अमोघ बस्याल, प्रकृति बस्याल, शान्ति अधिकारी, सुवानी भुसाल, सरु ज्ञवाली हुनुहुन्थ्यो । उहाँहरू पनि गुडीयानको उदरस्थ हुनुभयो ।
मङ्गलापुरबाट रमेश समर्थन र मणिग्राम चोकबाट बुद्धिसागर भट्टराई र ईश्वरीप्रसाद पोखरेल अनि बुटवल योगीकुटीबाट दुर्गा थापा मगर तथा मिलनचोकबाट यज्ञलाल सुवेदी, अजित खनाल र अनिता खनाल गुडीयानभित्र छिरेपछि हाम्रो गणपूरक सङ्ख्या पुग्यो । नारायण भण्डारी एक दिन अगावै पुगिसक्नु भएको सूचना आएको थियो भने नवलपुरबाट ओमप्रकाश अधिकारी उतै उतैबाट पुग्ने कार्यक्रम बनेको थियो ।
बुटवल गोलपार्कबाट उकालो लाग्ने बित्तिकै खाल्डाखुल्डी शुरू भयो । मनमा सिद्धबाबाको पहिरोको त्रास पनि शुरू भयो । सुरुङ खनिंदै छ । त्यो कस्तो हुने हो थाहा छैन । अहिले त पहिरो छ । घरी बाटोमा घरी पाखोमा आँखा लगाउँदै चालकले गाडी गुडाए । हामीले बसेकै ठाउँबाट सिद्धबाबालाई स्वस्ति गर्यौं । दोभान कट्यो कि पहिरोको त्रास हट्यो ।
तिनाउमा बाढी थिएन । सामान्य बहाव थियो । असार लागे पनि बाटोमा धुलो उडेकै थियो । झ्यालछेउमा बस्नुभएको शङ्कर सर बेला बेलामा झ्याल खोल्ने लाउने गर्दै हुनुहुन्थ्यो ।
केराबारी आएपछि गाडी रोकिन्छ भन्ने धेरैलाई लागेको रहेछ । नरोकिएपछि आवाज आयो, शायद रुद्रजीको, “गुरुजी यस्सो रोक्ने होइन ?” कृष्णजीले चालकसँग कुरो मिलाएर भन्नुभयो, “अलिक माथि कालीमाटीमा है । सबैथोक त्यहीं ।”
कालीमाटीमा गाडी रोकियो । सुकर्म गरियो । चिया, नास्ता खाइयो । बाबु अमोघलाई बटुक खुब मन परेछ । थप पोको पारेको देख्यौं । छेउमा काँक्रा राखिएका थिए बेच्न । भाउताउ भयो । ताजा थिए लिची पनि । भरे फर्किंदा लिने भाका राखियो ।
पाल्पा तानसेनका स्रष्टाहरू बर्तुङ पुग्नुअगावै हाम्रो गुडीयान बर्तुङ पुगेर छेउ लाग्यो । सँगै जाने सल्लाह जो थियो । रामप्रसाद अर्यालले एक छिन पर्खिन भनेपछि हामी ओर्लेर भलाकुसारी गर्ने, सुकर्म गर्ने र फोटो खिच्ने गर्न थाल्यौं । सुकर्म गरेको जनही दश रुपियाँ लाग्यो । बर्तुङबाट तानसेन बजार देखिंदैन । मदनपोखरा आँखैअगाडि देखियो । फोटा खिचियो । साढे आठ बजेको हुँदो हो । नौ बजे तनहुँ पुग्ने लक्ष्य थियो । केही ढिला त हुने नै भयो ।
रम्भापानीलाई केन्द्रमा राखेर पाल्पा र रूपन्देहीका लेखक साहित्यकारका बीचमा सद्भाव विकास गर्ने र रम्भापानीको पर्यटकीय तथा सांस्कृतिक जागरणमा उकेरा लगाउने हाम्रो अभीष्ट थियो ।
तानसेनको गुडीयान बर्तुङ झरेर छेउ लाग्यो । गुडीयानमा रामप्रसाद अर्याल, पुरुषोत्तम अर्याल, उमानाथ आत्रेय, मेघराज शर्मा, गोविन्द नेपाल, धातानन्द शर्मा, सुशीला श्रेष्ठ, रमा पन्त, दयाराम देवकोटा, सीताराम घिमिरे, रामचन्द्र नेपाल, लक्षिमा ज्ञवाली, गुणवती केसी, पदम गैरे, हिमा पोखरेल, गुणाकर भुसाल, केशव नेपाल, डा. टङ्कप्रसाद पन्थ, सोमनाथ अर्याल, गोपालप्रसाद बस्याल, आयाम कार्की, विन्दु केसी, सन्तोष खनाल, युवराज पौडेल, कृष्ण थापा, रोहित ज्ञवाली, आर.बी. निश्चल, तोयनाथ बेलबासे, शिव कार्की, जगन्नाथ काफ्ले, होमनाथ शर्मा काफ्ले आदि हुनुहुँदो रहेछ । अधिकांश ख्यातिप्राप्त कवि, लेखक । अभिवादन आदानप्रदान भयो । हाई हलो भयो । कोही साइनो, शीत आदि सूक्ष्म नयाँ विधाका पनि । हरिप्रसाद भट्टराई, गोविन्दप्रसाद खनाल, सरोज काफ्ले भने पोखराथोकबाट चढ्ने जानकारी पायौँ ।
नारायण अधिकारी, रेखिराम राना, प्रेम खराल, राजेश अर्याल, गोविन्द भट्टराई, पुष्कर रेग्मी, राजेन्द्रगोपाल सिंह भटभटे (बाइक) चढेर आउने रे । कृष्णकला भण्डारी रामपुरतिरबाट आउने रे ।
बर्तुङबाट दुई वटा गुडीयान सँगसँगै छुटे । माडी फाँट यस क्षेत्रको अन्नभण्डार हो । धान रोपिइसकेको थिएन । यस अन्नभण्डारलाई दाहिने पार्दै तेर्सो तर घुमाउरो बाटो आर्यभन्ज्याङ पुगेर दुई हाँगा फाट्यो । एउटा मूल हाँगो तल राम्दीतिर ओरालियो भने अर्को सानो हाँगो अलिक साँघुरिएर रामपुरतिर उकालियो । हाम्रो गन्तव्य आर्यभन्ज्याङबाट त्यस्तै १३ किमी पूर्वमा रहेको ताहुँसम्मको मात्र हो ।
साँघुरो बाटो ठुला गुडीयान ! उताबाट आउनेलाई अलिक फराक ठाउँ खोजेर जान दिनुपर्ने । ठाउँ ठाउँमा जोल्टिङ उस्तै । बाटो चौडा गर्ने भनेर जताततै खनेको भएपछि यहाँ त्यो छुट्ने कुरै भएन । गुडीयानले त्यो पनि सह्यो । रम्भाको मार्सीडाँडा पुग्दा रुद्र ज्ञवाली र इन्दिरा ज्ञवाली एकाएक उत्साहित हुनुभयो । एउटाको ससुराली र अर्काको माइत यहींनेर रहेछ । धेरैचोटि ओहोरदोहोर गरेको बाटो । अनि नहुनु कसरी ? यो मयाले दिएका सिरम्ला, कि त खाउँला कि पैंचो तिरम्ला भनेर कसले हो, गीत फुत्काएको मात्र के थियो, राधा भट्टराईले भोलेबाबाको झोलीबाट सिरम्ला बाँड्न थाल्नुभयो । मैले पनि बुकाएँ, जति चबायो उति मिठो । पेटपूजा गर्ने बेला भएकै थियो ।
बाटोभरि सम्झँदै थिएँ, त्रिभुवन विश्वविद्यालयका यतिखेरका उपकुलपति केशरजङ्ग बराल मगरको जन्मथलो यही रम्भा हो । धन्य रम्भा !
यस्सो हेर्दा तनहुँ बजार ग्रामीण क्षेत्रको ससानो सुन्दर बस्ती । भौतिक रूपमा ससानो भए पनि प्राचीनता, समावेशिता, ऐतिहासिकताका दृष्टिले ठुलो बजार, मान्छे हजारभन्दा पनि कम । समुद्र सतहदेखि १३७० मिटरको उचाइमा अवस्थित रहेछ तनहुँ । मगर, नेवार, बाहुन, क्षेत्री, गन्धर्व, दमाई, कामी आदि जातजाति र समुदायले उर्वरा बनाएर बसेको सानो नेपाल रहेछ तनहुँ ।
के हो तनहुँ भनेको ? जिज्ञासा मनमा तीव्र थियो । यस क्षेत्रमा प्रशस्त बाँस हुँदो रहेछ । बाँसको तामा खाइँदो रहेछ, अचार या तरकारी बनाएर । मगरको हूक अर्थात् तामा र अरूको तामा मिलाएर तामाहूक भएछ पछि त्यही छोटिएर तनहुँ बनेको हो भन्ने लोकविश्वास रहेछ । सोध्दै जाँदा थाहा भयो । यो त तामेबास रहेछ । ताहुँमा दशैं, तिहार, तिज, गाईजात्रा, रोपाइँजात्रा, घाँटु, नाचन (ठुलो नाच) आदि चाडपर्व र जात्रा मनाइँदो रहेछ । यो संस्कृतिको जिउँदो संग्रहालय रहेछ ।
तनहुँ गाउँले बस्ती भए पनि यहाँका घरहरू सबै शहरबजारका जस्ता पक्का छन् । तनहुँ पुगेपछि हामीले बालप्रसाद श्रेष्ठको बालु व्यस्त होटेलमा पालैपालो खाना खायौं । भोक मीठो हो कि खाना या यहाँको पानी नै मीठो हो हामीले ध्यान दिनै सकेनौं । होटेलमा होइन, घरमा खाए जस्तो लाग्यो ।
रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, ताहुँको आयोजना र निमन्त्रणा तथा प्रश्रित प्रतिष्ठान नेपालको संयोजनमा हामी २०८१ असारको पहिलो दिन तनहुँ पुगेका हौँ । रम्भापानी र यसको सेरोफेरोको धार्मिक–प्राकृतिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले यसको स्थापना एक दशक अघि २०७१ मा भएको रहेछ । यसले यस क्षेत्रको पर्यटकीय र सांस्कृतिक स्थलको अवलोकन गर्न आउने पर्यटकका लागि तनहुँ बजारको रानाटोलमा, फोक्सिङकोटको झोकेदीमा र रानीवासमा गरी तीन ठाउँमा ४ दिनको होमस्टे (घरबास) को व्यवस्था गरेको रहेछ । अध्यक्ष विनोद श्रेष्ठबाट थाहा भयो । यी चार दिनको बसाइमा रम्भादेवी मन्दिरको दर्शन, सेनवंशी राजा हेमकर्णको गृष्मकालीन दरबारको भग्नावशेष, थामडाँडा गढी, नाचन डाँडा, सती ढुङ्गा, वाकुम गढी, क्यामेल हिल (घारेपहाड), कराउने पहाड, लुप्च डाँडा, रिमिघा लेक, रानीवास, हुँगी, पिपलडाँडा, हुमिनको अवलोकन भ्रमण गर्न सकिँदो रहेछ । अहिले त एक दिवसीय यात्रामा आएका छौं, हामीलाई पूरै चार दिन यी घरबासमा बसेर यी सबै ठाउँमा घुम्ने–हेर्ने मन छ, रहर छ । समय मिले आइएला फेरि । सहयात्रीको आशय प्रकट भयो । प्रतिष्ठानका अध्यक्ष र पदाधिकारीको स्वागत, सत्कार र सद्भावले हामी भावविभोर भयौं ।
कार्यक्रम रम्भादेवीको आँगनमा हुनु थियो । खाना खाइसकेपछि हामी उकालो लाग्यौं । किसानहरू मकैलाई उकेरा लाउँदै थिए । सहयात्रीमा उत्साह थियो । बजारबाट दश मिनेटको बाटो भनिएको थियो । हिंड्दै गर्दा आधा घण्टा भन्दा बढी लाग्यो पो हामीलाई । पहाडतिर यस्तै हुन्छ । पानी नपरेकाले गर्मी यहाँ पनि हप्पै रहेछ ।
खलखली पसिना काढ्दै हामी मन्दिर परिसरको मूल द्वारमा पुग्यौं । रम्भापानी (रमापानी) मन्दिर प्रवेशद्वार लेखिएको थियो, आधुनिक द्वारको माथि । करिब डेढ किलोमिटर दुरीमा रहेछ रम्भापानी । तनहुँ बजारदेखि धेरै उकालो र थोरै ओरालो हिँडेपछि मन्दिर भेटियो । रम्भापानीको चिसो हावाले सबैका पसिना पुछिदियो ।
घना जङ्गलका बीचमा छ मन्दिर । वनमा २१ किसिमका सुनाखरी, ८२ प्रकारका चराचुरुङ्गी, चितुवा, मृग, स्याल, दुम्सी, खरायो, बनबिरालो रहेछन् । केही दिनअघि वनमा डढेलो लागेको रहेछ । अहिले त समसुम्म थियो, तर पनि हावाले खरानीको गन्ध नाकमा पुर्याउँदै थियो । कैयौँ वृक्षवनस्पति, सुनाखरी र जडीबुटी नष्ट भए होलान् । चिन्ता कति हो कति ।
२०६४ साल असारमा गाउँखाने कथाको स्थलगत संकलन गर्ने उद्देश्यले ताहुँ भएर रामपुर आउजाउ गरे पनि रम्भापानीको अवलोकन गर्ने अवसर जुरेको थिएन । त्यसवेला गाउँखाने कथामात्र मेरो अर्जुनदृष्टिमा थियो । अहिले लाग्दैछ, त्यतिखेरै ताहुँबास गरेको भए कस्तो हुँदो हो । रम्भापानीको सांस्कृतिक र प्राकृतिक वैभवले मनै लोभ्यायो । कवि नीलकण्ठ न्यौपानेले रम्भापानी खण्डकाव्य लेख्नुभएको र २०३८ सालमै छापिएको थियो त्यो । भानुभक्त आज यहाँ आएका भए लेख्दा हुन्–
यति दिन पछि मैले
बल्ल रम्भाजी देख्याँ
पृथिवी तल भरिमा
स्वर्ग हो जानी लेख्याँ ।
पहिले आउन नसकेकोमा पछुतो छैन, आज आउन सकेकोमा खुशी छु । सुखद अनुभूति भइरह्यो । मन्दिरमा पुगेपछि अध्यक्षबाट धेरै कुरा थाहा भयो । रम्भापानीको उत्पत्ति सम्बन्धी धेरै कथा प्रचलित रहेछन् । उत्तरराम चरित्रका अनुसार त्रेता युगमा कालीगण्डकीको किनार हुँदै मुक्तिनाथको यात्रा गर्दा यस ठाउँमा आइपुगेको बेलामा सीताले पानी खान खोज्दा पानी नभेटाएकाले जमिनमा वाण प्रहार गरी पानीको मुहान फुटाई सीताको तिर्खा मेटाइदिएका रहेछन्, रामले । सीताको आग्रहमा पानीको मूल फुटाएकाले यस ठाउँको नाम रमा पानी रहन गएको रहेछ । अहिले पनि यस ठाउँमा पानीको पौल छ । यो साँच्चै हो भने अयोध्यापुरी चितवनमै रहेको पनि साँचो हो । टाढा जानु पर्दैन । चितवनको अयोध्यापुरीबाट मुक्तिनाथ जाने उस बेलाको बाटो यही हुनु सम्भव छ । यसको पूर्वमा रामपुर छ । पश्चिमोत्तरमा राम्दी, स्याङ्जामा रामबाच्छा छ । पोखरामा रामघाट छ । यस्ता धेरै स्थाननाममा राम शब्द पाइन्छ । जनकपुरदेखि अयोध्यापुरी हुँदै मुक्तिनाथ र दामोदर कुण्डसम्मै सीताराम परिपथ (सीताराम सर्किट) बनोस् । रम्भापानी मध्य विश्रामस्थल बनोस् । पोखरा आश्रयस्थल बनोस् । आस्था खोपीको देउता होइन, विकासको आधार बनोस् ।
यही पर्वतमालामा लेमढेङ डाँडा पर्दछ, जहाँबाट अरुण खोला, पूर्वखोला र तिनाउ खोलाको उत्पत्ति भएको मानिँदो रहेछ ।
रम्भादेवीकै नामबाट गाउँपालिकाको नाम रम्भा गाउँपालिका रहन गएको रहेछ । साविकका हुँगी, फोक्सिङकोट, पिपलडाँडा, हुमिन, ताहुँ र हेक्लाङ गाविसको वडा नं. ९ समेत मिलेर यो गाउँपालिका बनेको रहेछ । प्रकृति र संस्कृतिले सम्पन्न पाएँ मैले, रम्भा गाउँपालिकालाई । अध्यक्ष विष्णु भण्डारीले यसको नेतृत्व पाउनुभएको छ ।
विनोद श्रेष्ठका अनुसार एक साधु परमहंसलाई सपनामा रम्भादेवी प्रकट भई यहाँबाट मेरो शिला खोजी यसै ठाउँमा प्रतिष्ठापन गरेर पूजाआजा चलाउन भने । सोअनुसार खोजी गर्दा शालिग्राम शिला भेटियो र सोही स्थानमा प्रतिष्ठापन गरी पूजाआजाको प्रबन्ध गरे । यहाँ पूजाअर्चना गर्नाले मनले चिताएको पुग्ने विश्वासमा अहिले पनि टाढा टाढाबाट भक्तजनको लर्को लाग्छ । फलफूल, मिठाइ, रोट चढाउँछन् । खानेले पञ्चबलि पनि चढाउँछन् ।
मन्दिरमा एउटा शिलालेख छ । यसबाट वि.सं. १९६२ मा फिरन्ता जोगी अम्बरानन्द यतिले मन्दिरको पूजाआजा चलाउन पर्याप्त जग्गाजमिन (गुठी) को व्यवस्था मिलाएको देखिन आउँछ । उद्यमी हरि पाण्डे र उनका पिता पद्मराज पाण्डेको पहलमा मात्र मन्दिर व्यवस्थापन आजको अवस्थामा आएको रहेछ । तपस्वी स्वामी परमहंसले सेनवंशी राजा गन्धर्व सेनलाई रम्भादेवीको शक्तिको परिचय दिएपछि देवीको प्रकृति स्वरूप चिल्लो लाम्चो कालो लोहोरो जस्तो शिलामूर्तिमा पूर्ण आस्था र विश्वास सहित पूजा अर्चना गर्ने परम्परा बसेको मानिएको छ । यो मन्दिर पाल्पा र छिमेकी जिल्लाका शक्ति पूजकहरूका लागि विशेष आस्थाको केन्द्र रहेछ ।
रम्भापानीमा अपार जलभण्डार छ । यहाँबाट धेरै खोलानालाको उत्पत्ति भएको छ । यो भनाइ हो कवि नीलकण्ठ न्यौपानेको । रम्भासँग नीलकण्ठ न्यौपानेको गहिरो नाता छ । उहाँले पढ्न आओस् भनेर यहीं २०२२ सालमा नौ दिनसम्म कठोर तपः साधना गर्नुभएको हो । उहाँका अनुसार रम्भाका प्रतापले शास्त्री परीक्षाको नतिजा प्रकाशित भएकै दिनदेखि उहाँले रम्भा माविमै शिक्षण सेवा गर्ने मौका पाउनुभयो, जहाँ उहाँले २३ वर्ष पढाउनुभयो । रम्भा मावि ताहुँ बजारमै रहेछ ।
मान्छेले भगवान्लाई पनि चोर्दो रहेछ । काठमाडौं उपत्यकाका केही मूर्ति युरोप–अमेरिका पुर्याइएका र यता आएर फिर्ता आउन थालेका खबर त समाचारमा पढे सुनेकै छौं । यहाँ आएर थाहा भयो, रम्भादेवीको प्रतिमा दुई पटकसम्म चोरी भएछ । त्यसैले यतिखेर पूजाका बेलामा डोकामा राखेर ल्याउने लैजाने र बाँकी समय ताहुँ बजारमा राखिंदो रहेछ । अब भने सुरक्षा व्यवस्था मिलाएर यहींको यहीं राख्ने व्यवस्था गर्ने सोच बनाइएको रहेछ । “यहाँको पर्यटन विकास अवश्य हुन्छ किनभने देवी देवता त पर्यटक जस्ता रहेछन् ।” एक सहयात्रीको टिप्पणी सुनेँ । डिल्लीराज भट्टराईको पो हो कि ।
कार्यक्रम शुरू हुँदा ११:३० बजिसकेको थियो शायद । घना वन । घामले माथिबाट हामीलाई लुकेर हेर्दै थिए । रम्भापानी सांस्कृतिक पर्यटन जागरण तथा ज्योतिर्गमय (आत्मकथा) कृतिको लोकार्पण कार्यक्रम हो भने आयोजना रम्भापानी पर्यटन विकास प्रतिष्ठानको हो । भैरहवा, बुटवल, तानसेन, रम्भा र सेरोफेरोका साहित्यकार, संस्कृतिविद्, पत्रकार र स्थानीयको ठुलो उपस्थिति रह्यो । सोचेभन्दा बढीको आगमन भएकाले बसाइ मिलाउन आयोजकलाई धौ धौ भइरहेको थियो । तर मन्दिर हाता भएकाले सबै कुरा सहज थियो ।
कार्यक्रममा कार्यक्रमका सभापति तथा प्रतिष्ठाका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य राख्दै त्यस क्षेत्रको एकीकृत विकाससम्बन्धी ढाँचा प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि, सभाध्यक्ष, संघीय सांसद् नारायणप्रसाद आचार्य, जिल्ला समन्वय प्रमुख टङ्कनाथ खनाल, रम्भा गापाका अध्यक्ष विष्णु भण्डारीबाट नीलकण्ठ न्यौपानेको ज्योतिर्गमय (आत्मकथा) कृति लोकार्पण गर्नुभयो । डा. टङ्कप्रसाद पन्थले समीक्षा गर्दै यस कृतिले नीलकण्ठ न्यौपानेको जीवन र साधनालाई उजागर गरेको बताउनुभयो । सांसद् नारायणप्रसाद आचार्यले रम्भापानी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एक भएको बताउनुभयो । कृतिकार नीलकण्ठ न्यौपानेले यस भव्य कार्यक्रमले गर्दा आफू गौरवान्वित र सम्मानित भएको अनुभूति राख्नुभयो । कसैले फूलमालाले र कसैले खादाले स्वतःस्फूर्त रूपमा नीलकण्ठ न्यौपानेको सम्मान गर्न थाले । बुद्धिसागर भट्टराईले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
पत्रकार रेखिराम राना, साहित्यकार राजेन्द्रगोपाल सिंह, रीता न्यौपाने, राधा भट्टराई, प्रतिष्ठानका सचिव प्रकाश श्रेष्ठ आदिले छोटो छोटो मन्तव्य राख्नुभयो । पत्रकार राजेश अर्यालले सञ्चालन गर्नुभएको सो कार्यक्रम छिटोछिटो सक्नुपर्नाको कारण थियो, रिमिघा लेकको भ्रमण अवलोकन । विशिष्ट अतिथिका मन्तव्य सुन्नबाट हामी वञ्चित तथा हाम्रा रचना सुन्नबाट उहाँहरू वञ्चित ।
प्रमुख अतिथि अर्थात् कला, कला अर्थात् कपिल लामिछाने, अर्थात् म ले नेपालको समृद्धि प्रकृतिको संरक्षण र संस्कृतिको संवर्द्धनबाट मात्र सम्भव भएको, संस्कृति नै हाम्रो पहिचान भएको हुँदा आआफ्नो स्थानबाट यसमा सबैले साथ, सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
मन्दिरको दर्शन, अवलोकन भयो । कार्यक्रममा प्रसाद स्वरूप रोट र केरा खुवाइयो । गर्मीले आहत गरे पनि वनको चिसो हावाले राहत दिएको थियो । कलकल बगिरहेको मूलको पानीले आँत भिजाइरहेको थियो ।
कति रमाइलो रम्भापानी ! कति सुन्दर रम्भापानी ! मनमोहक रम्भापानी ! तर सौन्दर्यसँग सधैँ रहन लेखेको रैनछ ।
वक्ता र स्रष्टाका नाम कटाएर कार्यक्रम जति छोट्याए पनि कार्यक्रम सक्दा घडीले तीन वटा धर्का कटाइसकेको थियो । सहयात्रीहरू, खासगरी भैरहवाका सहयात्रीहरू हस्याङफस्याङ गरेर ताहुँतिर झर्दै थिए । बाटैमा वनमाली सरले भन्नुभयो, “अब यति बेला रिमिघा लेक गई हुन्न ।”
“त्यहाँ पुग्दै पाँच बज्छ ।” यो आवाज शायद रुद्रजीको हो ।
“त्यहाँ पुग्न घुम्नु, हेर्नु, बुझ्नु अनि फेरि फर्केर भैरहवा कहाँ पुगिन्छ ?” शायद विजय सागरको भनाइ हो यो ।
मलाई पनि यही लागिरहेको थियो । आयोजकले पनि हात झिके ।
रिमिघा लेक घुम्ने धोको हुने हाम्रो अनुहार मलिनो र मन अमिलो भयो ।
केही व्यवस्थापकीय कारणले आँटेताकेको नपुग्ने भयो भनेर सोच्दै ताहुँ बजारमा पुग्दासम्म रिमिघा लेक जान नभ्याइने निश्चित भयो । सहयात्रीमध्ये केही कवि लेखकले ताहुँ बजारमा सडकमै कविता वाचन गर्न थाले । खाने मुखलाई जुँघाले के छेक्थ्यो ? उताको धोको यता आएर पोख्यो । कृष्णप्रसाद बस्यालले भुँडी हल्लाई हल्लाई कविता सुनाएपछि सडक कविता कार्यक्रमको स्वतः उद्घाटन भयो अनि त यो शृंखला लामै चल्यो । मूल कार्यक्रमको पूरक कार्यक्रम जस्तो भयो यो । स्वतःस्फूर्त रूपमा कविहरूले मच्चिई मच्चिई कविता सुनाए, ताहुँबासीलाई, रम्भाबासीलाई, रम्भादेवीलाई, रिमिघालाई । सुनियो कि नाइँ, रिमिघा ?
विनोदप्रसाद श्रेष्ठ, नीलकण्ठ न्यौपाने र तमाम पाल्पाली, रम्भाली, ताहुँली कवि, लेखकबाट अलग हुने मन थिएन । गह्रुङ्गो मन लिएर बिदा हुनै पर्ने रहेछ ।
नारायण भण्डारी अँगाहा खोलातिर लाग्नुभयो । ओमप्रकाश अधिकारी नवलपुरतिर कुद्नुभयो । नीलकण्ठ न्यौपाने हिमसरिता महाकाव्य पूरा गर्न पूर्व खोलातिर झर्नुभयो । कृष्णकला भण्डारी रामपुरतिर लाग्नुभयो । रम्भापानी र रिमिघा लेकसित यहींबाट बिदा माग्दै हामी पनि गुडीयानभित्र पस्यौँ ।
विनोद श्रेष्ठज्यू, यस पटक रम्भादेवी पर्यटकीय र सांस्कृतिक स्थलको पूरा स्वाद लिन भ्याइएन, होमस्टे (घरबास) गर्ने गरी फेरि आम्ला है ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।