काठमाडौंको जडीबुटीबाट मंसीर २४ गते हामी च्योर्दोङ यात्रामा निस्क्यौं । हामी इलेक्ट्रिक माइक्रो बसमा चढ्दा बिहानको ठिक ९ बजेको थियो । मलाई अघिल्लो राति ९ बजे मात्र पत्रकार अमृत भादगाउँले दाइले च्योर्दोङ यात्राका लागि प्रेमपूर्ण खबर सुनाउनु भएको थियो ।

मेरा निम्ति दोलखाको यात्रा पहिलो पटकको थियो । त्यसैले जिरी पनि पहिलो पल्ट पुग्दै थिएँ । नयाँ ठाउँ, नयाँ साथी र नयाँ अनुभूतिको अवसर थियो यो । मन उत्साहित थियो ।

जिरीका तन्नेरी उद्यमी लिलाराम खड्काको नेतृत्वमा नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान शुभारम्भ गरिएको हो । पर्यटन प्रवर्द्धन मञ्च नेपालको ब्यानरमा आयोजित पहिलो यात्रामा जाने अवसर पाइयो ।

दोलखा–काठमाडौं रूटमा चलिरहने इलेक्ट्रिक भ्यानले नेपालका निम्ति राम्रो सन्देश दिइरहेका रहेछन् । राज्यको नीति र नेतृत्व सही लगाममा हिंडेको खण्डमा इन्धन आयातले भइरहेको व्यापार घाटा कम गर्न सकिने सम्भावना धेरै टाढा रहेनछ । पर्यावरणमैत्री सवारी, देशमै उत्पादन भएको विद्युतको खपत र अर्थतन्त्र सुधारका निम्ति इभी गाडी निकै उपयोगी हुने कुरा अग्ला पहाडमा निर्बाध घुइँकिइरहेका भ्यानको दगुराइबाट सहजै अनुमान लगाउन सकिन्थ्यो ।

एउटा भ्यानमा हामी दश जना सवार थियौँ । अग्ला हिमालमा पुगेर साइकल कुदाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका साइकल यात्रीहरू रञ्जन राजभण्डारी, गोपाल श्रेष्ठ, सुदिप पौडेल र चन्दा खड्का च्योर्दोङ डाँडामा साइकल दगुराउने जोशका साथ यात्रामा हुनुहुन्थ्यो । उज्वल र सिर्जना पनि सँगै थिए । हाम्रो गाडीको छतमा ४ ओटा साइकल राखिएको थियो ।

टोनी हेगनका कारण स्विस सरकारले दोलखाको विकासमा पुर्‍याएको योगदानका बारेमा पत्रकार मित्र राजकुमार गजुरेलले वेलावेलामा अनकौं किस्सा सुनाए । जे होस, यात्रा रमाइलो बन्यो ।

बाटोभरि अनेकौं दृश्यपान गर्दै हाम्रो टोली अघि बढिरहेको थियो । ट्राभल राइटर गुरिल्ला (सुरेन्द्र राना मगर)को शैली बेग्लै छ । त्यो जाँगरले यात्रा जोशिलो हुने नै भयो । रमाइलो माहौल बीचमा उकालीओराली, घुम्ती र भन्ज्याङ पार गर्दै हामी यात्रारत थियौँ ।

मौसम खुलेको थियो । इन्द्रावती, भोटेकोशी, सुनकोशी, तामाकोशी लगायत अनेक खोला र नदी तर्दै साँझ हामी जिरी पुग्यौँ  ।

अपार पर्यटकीय सम्पदाले जो कोहीको मन पुलकित बनाउन सक्ने स्रोत छ दोलखासँग । नेपालको स्विजरल्यान्ड भनेर चिनिने जिरीले हामी पुग्दा अँध्यारोको पछ्यौरी ओढिसकेको थियो । अँध्यारोमै ठडिएका अग्ला पहाड । टाढासम्म देखिने बिजुलीको उज्यालोले रातको सुन्दरता बढाइरहेको थियो ।

हामी ‘गौरी हिमाल होटल’मा बास बस्ने भयौँ । त्यहीँ भेटिनुभयो पर्यटन अभियन्ता लिलाराम खड्का । काठमाडौंबाट अघिल्लो दिन जन्मथलो जिरी पुगेर यात्राको सबै चाँजोपाँजो उहाँले नै मिलाइरहनु भएको थियो । उहाँ ‘जाऔं है च्योर्दोङ अभियान’का कमान्डर हुनुहुन्छ । देशलाई धेरै लिलारामहरूको खाँचो छ भन्ने कुरा उहाँको गाउँ प्रतिको प्रेमले आभास दिलाइरहेको थियो ।

गाउँहरू पनि चलायमान हुनुपर्छ । यहाँका सुन्दर बस्ती र अग्ला पहाडमा संसारभरिका मान्छेलाई पुर्‍याउन सके पर्यटनबाटै देशलाई योगदान पुर्‍याउन सकिन्छ भनेर उहाँ ‘च्योर्दोङ’ को मात्र होइन, समग्र जिरी र दोलखाकै पर्यटन प्रवद्र्धनमा डेढ दशकदेखि क्रियाशील हुनुहुन्छ । जन्मभूमि प्रतिको उहाँको समर्पणलाई मैले मनमनै सलाम गरें ।

हाम्रो यात्राको दोस्रो दिन । चराहरूले सुनौलो बिहानीमा बिउँझाए । सल्लाका वनमा बिहानको पारिलो घाम पोखिने सुरमा थियो । चिसो बतासले जिरीलाई अँगालेको थियो । हामीले बजारलाई एक फन्को लगायौँ ।

अब उक्लिनु थियो हिलस्टेशन, च्योर्दोङ (३,७००मिटर) । बिहानको चियापान पछि गाडीमा आवश्यक सामान लोड हुँदै थियो । करीब साँढे दश बज्यो । चार वटा बोलेरो जीप जिरीको उकालो चढ्न थाले । सल्ला र उत्तिसको वन छिचोलेर हामी अघि बढ्यौँ । जिरीको सिरानी पटाँसे डाँडामा गुरु रिम्पोचेको मूर्ति निर्माण भइरहेको रहेछ । यो गुरु रिम्पोछेको एसियाकै ठूलो मूर्ति हो भनेर साथीहरू सुनाइरहेका थिए ।  रमणीय डाँडामा केही गुम्बा पनि निर्माणको चरणमा रहेछन् ।

जति उकालो बढ्दै जान्थ्यो, त्यति नै अग्ला डाँडाबाट देखिने टाढाका पहाड थपिँदै थिए । बाटामा चौंरी गोठ थिए । भैंसी चरिरहेका देखिन्थे । लगभग एक घण्टा बढी जीप यात्रापछि हामी क्याङ्सी पोखरीमा पुग्यौँ । फराकिलो डाँडामा अवस्थित मनमोहक सरोवरमा कञ्चन पानी तैरिरहेको थियो ।

जिरेल साथीहरू आफ्ना भारी तयार गर्दै उकालो चढ्न थाले । हामीलाई त्यहाँसम्म पुर्‍याएका बोलेरोहरू त्यहीँबाट फर्किए । हामी पनि बिस्तारै उकालो चढ्न थाल्यौँ ।

जति उकालो चढ्दै गयो त्यति नै हिमाली छायाको आभास भइरहेको थियो । कोणधरी सल्लाका रूख अग्लिएका थिए । गुराँसका बोटमा कोपिला टुसाउने सुरमा थिए । चिसो हावा बढिरह्यो । एक झोंक्का कुहिरो हामीसँगै हिमालमा उक्लिरहेको थियो । हामी तीन हजार मिटर माथि पुगिसकेका थियौँ । फराकिलो चौरमा टलक्क घाम फैलिएको थियो । आँखा अघि नुम्बुर चुली देखियो ।

त्यहाँ हामीले दिउँसोको खाना खायौँ । त्यहीँबाट देखिँदै थियो, च्योर्दोङेश्वर महादेव थान । हावामा फरफराइरहेका लुङ्दारहरू हामीलाई बोलाइरहेका थिए । हामी फेरि उकालो लाग्यौँ ।

हावाले हानेका गुराँसका बोट छड्के परेर निहुरिएका थिए । एकान्त सुसाहट । व्याप्त शून्यता । लम्पसार फैलिएको च्योर्दोङ । यो समग्रताभित्र अनौठो आभास भइरहेको थियो । डाँडामा चौंरी गाई थिएनन् । तर गोठालाका खर्क भने देखिए । भेटिए ।

घाम अस्ताउनु केही बेरअघि, हाम्रा पाइलाले च्योर्दोङको भूमि टेक्न पुगे । साइकलेहरू फराकिला फाँटमा साइकल दगुराउन थाले । आँखाअघि गौरीशङ्कर हिमालको अटल काया उभिएको थियो । घाम छुट्नै लागेका रोल्वालिङ, नुम्बुर र लाङटाङ लगायत टाढासम्म फैलिएका हिमालले सुनौलो पछ्यौरी ओढिरहेका थिए ।

कुनै ओरालोको नदीभन्दा तीव्र गतिको हावाको बहाव थेगिनसक्नु थियो । तल चौंरीको गोठ नजिकै पानीको मुहानमा बरफका च्यादरहरू टल्किँदै थिए । हामी सँगै हिँडेका जिरेल साथीहरू त्यही मुहानबाट ड्रममा पानी बोकिरहेका थिए । कसैले दाउरा जम्मा गरे । कसैले आगो बाले । कसैले टेन्ट लगाउन थाले । सबै साँझको बन्दोबस्तीमा जुटिरहेका थिए ।

यहाँबाट सूर्यास्तको निकै रमणीय दृश्य देखिँदो रहेछ । पश्चिम क्षितिजमा घामको लाली पुछिन लागेको थियो । डाँडापाखा एकोहोरो सुसाइरहेका थिए । छिनभरमै सूर्यको तेजिलो लप्का आकाशको गहिराइभित्र विलुप्त भयो ।

दिनभरको थकान साँझको सुन्दरताले निलिसकेको थियो । ठूलाठूला दाउराका मुडाहरू सल्किन थाले । जिरीको पहिचान बनिसकेको पदमचालमा (जडीबुटी मिश्रित मदिरा) साथीहरू झुम्मिन थाले ।

अनि त के चाहियो, कोही गाउन थाले । कोही नाच्न । पदमचालको लयसँग साँझको हावा पनि निरीह बन्यो । चिसा लेक, हिमालको मौन हेराइ, आकाशमा टिमटिमाइरहेका ताराहरूको चमकले तीन हजार सात सय मिटर उचाइको शून्यतामा आनन्दको वृष्टि गरिरह्यो ।

हाम्रा पालघरहरू निकै जोरको हावालाई रातभरि थेगिरहे । हावाले एकोहोरो हिर्काइरह्यो ।

बिहानको ब्यूँझाइ कौतुकमय थियो । पूर्वी आकाशको क्षितिजमा उज्यालोको लाली फैलिँदै गर्दा, धेरै साथीहरू टेन्टबाहिर निक्लिसकेका थिए । सबैलाई बिहानको सूर्योदय हेर्नु थियो । जसरी नवदुलहीले घुम्टो उघारे सुटुक्क हेर्छे, उसैगरी सूर्यका किरणहरू फैलिए । हामी नतमस्तक भयौँ ।

बिहानको खाना नखाई हामी ओर्लिने सुरमा थिएनौँ । घामको झुल्कासँगै जिरेल साथीहरूले मुडा जम्मा गरे । च्योर्दोङमै पदमचाल बनाउने योजना थियो । साथमा लगेका भाँडा तयार थिए । क्षणभरमै त्यहीँ भट्टी जोतियो । पदमचाल बनाउन थालियो ।

च्योर्दोङ डाँडाले पर्यटनको अथाह सम्भावना त बोक्छ नै । यसका अलावा हामीले पन्ध्र घण्टा बढी समय त्यहाँ बिताइसकेका थियौँ । हावाको वेग कत्ति पनि घटेको थिएन । हामी डाँडामुनि छेलिँदा पनि कम भएन त्यो वेग । हिउँदमा यसरी बग्ने हावालाई बिजुलीमा रूपान्तरण गर्न सके यहाँको पर्यटन थप उचाइमा पुग्ने थियो । कुनै दिन सरोकारवालाहरूले यस विषयमा विचार पुर्‍याउने छन् भन्ने आशा गरौँ । यही हावाखोरीबाट पर्यटकहरू आनन्दले तृप्त हुनेछन् ।

बिहानको खाना हामीले च्योर्दोङमै खायौँ । हिमाल हेर्दै घाम ताप्यौँ । डोल्पाका पर्यटनकर्मी सेन्दुक लामा पनि हामी सँगै हुनुहुन्थ्यो । उहाँसँग डोल्पामा चौरी चराउँदाका सम्झनाहरू पनि साथमै थिए । हिमाली जीवनको धेरै किस्सा बेलाबखत भनिरहनु हुन्थ्यो । उहाँले फर्किंदा महादेव थानमा लुङ्दार टाँग्नुभयो ।

सुन्दरतामा आस्था मिसिएपछि त्यो अझै सुन्दर बन्दो रहेछ । यो ठाउँ हिन्दू र बौद्धको साझा तीर्थ रहेछ  । यहाँबाट पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमालले देशलाई अँगाले जस्तो लाग्दै थियो ।

हामी दिउँसो एक बजे च्योर्दोङबाट जिरी ओर्लियौँ । साँझ फेरि हामी त्यहीँ बास बस्यौँ ।

भोलिपल्ट बिहान घामको झुल्कोसँगै हामी काठमाडौं फर्किने सुरमा थियौँ । मनभरि हिमाली डाँडा सँगालेर गएकै इभीमा हामी फर्किने भयौँ । यात्राको सारथी बनेर सदाशयता देखाइरहेका सगरमाथा आरोही लालबहादुर जिरेल खादा बोकेर आइपुगे । त्यो प्रेमपूर्ण सम्मानलाई हृदयङ्गम गर्दै हामीले च्योर्दोङ यात्रा यतिमै बिट मार्यौं ।

प्रिय च्योर्दोङ ! नमरी बाँचे कालले साँचे म फेरि आउनेछु तिमीलाई चुम्न  ।