नवाेदित लेखककाे उत्कृष्ट एक कृतिलाई प्रदान गर्नेगरी साहित्यपाेस्ट अनलाइन पत्रिकाले यसै वर्षदेखि स्थापना गरेका “साहित्यपाेस्ट उत्तम कृति पुरस्कार”ले नेपाली साहित्यमा राम्रै तरङ्ग ल्यायाे । सुरूमा २७ पुस्तममध्येबाट दश पुस्तककाे छनाेट गरिएकाेमा, पुनः दश कृतिबाट उत्कृष्ट तीन कृतिकाे छनाेट गरिएकाे समचार देखेपछि एउटा पुस्तककाे शीर्षकले तान्याे मलाई । मर्फिन ।

मर्फिन लक्ष्मण अधिकारीकाे कथासङ्ग्रह रहेछ । पुरस्कारकाे उपाधि हात पार्न चुके पनि यस कृति पुरस्कारकाे बलियो दाबेदार भएर नै नेपाल विद्या, रहरसँगै उत्कृष्ट तीनमा पर्न सफल भएकाे हाे । अचम्म त के लाग्याे भने, खारिएकाे लेखनी भएकाे यस कृति अधिकारीकाे पुस्तकाकारका रूपमा पहिलाे प्रकाशित कृति रहेछ ।

जब मानिसलाई असाध्य रोगले गाँज्न थाल्छ तब उमेरमै उसले जीवनको उत्तरार्ध कल्पना गर्छ । भौतिक पीडाका अनगिन्ती भारी बोकेर उकालो उक्लिरहनुभन्दा बीचको कुनै चौतारोमा बिसाएर निदाउनु श्रेयष्कर ठान्छ, सायद । यस्तो बेलामा कसैले ‘मर्फिन’ दियो (ख्वायो) भने उसले एकै मिनेट भए पनि पीडा भुलेर सन्तुष्टिको सास फेर्न सक्छ । जीवन बाँकी रहेको सुखानुभूति गर्न सक्छ ।

साँच्चै भनौं– ‘मर्फिन’ निभ्न लागेको जीवनको दियोका लागि थपिएको तेल हो । एक सेकेन्ड, मिनेट, घन्टा, दिन वा महिना जतिसुकै आयु लम्बियोस्, यसले जीवनप्रतिको मधुरो जिजीविषालाई चहकिलो पार्न सक्छ । स्वासप्रस्वासका धमनी र स्नायु रेसालाई केहीक्षण भए पनि सक्रिय बनाउनुमा नै मर्फिनको शक्ति लुकेको हुन्छ ।

मानव इतिहास (जीवन) मा भौतिक पीडाभन्दा अझ ठूलो मानसिक चोट हुन्छ । आजको प्रविधिको युगमा मानव शरीरका प्रायः भौतिक चोट वा रोगको उपचार छ । तिनको उपचारबाट जीवनयात्राले नयाँ लिक समात्न सक्छ । नयाँ सौन्दर्य भर्न सक्छ । अनि, हातबाट फुत्किसकेको जीवनको चंगालाई पुनः समातेर उडाउन थाल्छ । तर, मानसिक, भावनात्मक र मनोवैज्ञानिक व्यथाको खास उपचार सायदै होला ।

लक्ष्मण वियोगी

युग र प्रविधिले भित्र्याएका ओखतीले सिकिस्त भावनाको चैतन्यलाई मत्थर पार्न त सक्ला । तर, दिगो उपचार गरेर निर्मूलै पार्ने तागत कमै हुन्छ । यी र यस्तै पीडाको एउटा अचुक ओखती हो, सिर्जना वा साहित्य । दुखेका मन, रुझेका हृदय र छटपटिएका मानसिक चेतनामा मलम लगाएर शीतल बनाउने शक्ति सिर्जनामा हुन्छ । यही साहित्य सिर्जनाको अलग्गै गोरेटो खनेर पीडा भरिएका मनलाई सान्त्वना दिन कथाको ‘मर्फिन’ बोकेर उदाएका छन्, कथाकार लक्ष्मण अधिकारी ।

धरातल

नेपाली आधुनिक कथाका पिता गुरुप्रसाद मैनाली मानिन्छन् । यही बिन्दुमा टेकेर हेर्दा आधुनिक कथा–यात्राले शताब्दी पार गरिसकेको छ । त्यसयता सामाजिक, राजनीतिक, यौनमनोवैज्ञानिक, युद्ध–अपराध एवं द्वन्द्वका प्रशस्त कथा लेखिएको पाइन्छ । साहित्य–भण्डारमा वाल, यौवन र प्रौढका मनोभावना समेटिने असंख्य आख्यान जन्मिए । यद्यपि, मानिसको जीवनमा सबैभन्दा बढी महत्त्व ओगट्ने स्वास्थ्य क्षेत्रका कथा कमै लेखिए होलान् ।

कथाकारहरूले आफ्ना सिर्जनामा विभिन्न कोण, घटना, विषयवस्तु वा परिदृष्य कैद गर्न प्रशस्तै स्वास्थ्य विषय उल्लेख गरेको पाइन्छ । तर, सिंगो मानवीय स्वास्थ्य, स्वास्थ्य क्षेत्र, डाक्टर, नर्स, अस्पताल र त्यहाँभित्रका अदृष्य विषयलाई पर्दाबाहिर ल्याउने जमर्को सायदै भयो होला । यहाँ, समाजको एउटा पाटोमा सधैं सेतो पर्दाभित्र छोपिएर, लुकेर र लुकाइएर राखेको तथ्य उजागर गरेका छन्, अधिकारीले ।

सम्भवतः त्यो सेतो पर्दाभित्रको कालो कर्तुत् होला । त्यहाँभित्रका जाल–झेल, बेथिति, अन्याय, अत्याचार र कतिपय अवस्थामा अस्पतालभित्र सधैं शंकास्पदरूपमा रहिरहने अपराधलाई ‘मर्फिन’ले पर्दाफास गर्ने प्रयास गरेको छ । समाजमा नखोलिएका र खोल्न हिम्मत नगरिएका यी बन्द ढोकाहरू खोलिएका छन् । इतिहास अझ भनौं हिजोले खन्न नसकेको कथाको एउटा अलग्गै गोरेटो खनेर अगाडि बढ्ने हिम्मत गरेको देखिन्छ, कथाकार अधिकारीले ।

पौराणिक, धार्मिक अर्थात् अध्यात्मिक दृष्टिले निर्जीव मन्दिरभित्र भगवान हुन्छन् । तिनको आर्शिवादले सृष्टि चलेको मान्यता राखिन्छ । तर, विज्ञानको युगमा अस्पतालहरू मन्दिर हुन्, डाक्टर तथा नर्स देवता । एउटा रोगी मानिसलाई चिकित्सकको उपचारले मात्र सन्चो बनाउन सक्छ । नर्सको स्नेही स्पर्शले उसमा सुधारका संकेत देखिँदै जान्छन् । आजको युगको मान्छेले सोच्ने, कल्पना गर्ने र अनुभूत गर्ने विषय यिनै हुन् ।

यी बुझाई र भावनाभन्दा पर रहेर पनि अस्पतालले काम गर्न सक्छन् भन्ने कल्पना सामान्य व्यक्तिले गर्न सक्दैन । हो, यही कल्पनाभन्दा बाहिरका विषय पनि उजागर गरेको छ ‘मर्फिन’ले । स्वास्थ्य विज्ञानका क्षेत्रमा कस्ता वा कतिसम्मका घटना घटिरहेका हुन्छन्, घट्छन वा घटिरहनेछन् भन्ने कुरा आमसर्वसाधारणले मर्फिन पढेपछि महसुस गर्नेछन् ।

कथाहरूमा अस्पताल वा डाक्टरले पूरा गर्नुपर्ने र गरेका कतव्र्य एवं धर्मलाई बडो शालिनताका साथ उठाइएको छ । अर्कोतिर, तिनका अन्तस्करणमा भरिएका स्वार्थका घडा, अमानवीय व्यवहार र अत्याचारलाई पनि निकै संयम तरिकाले कथामा बुनिएको छ ।

मर्फिनभित्र बालक, किशोर, यौवन, प्रौढ र बृद्ध हरेक उमेरका व्यक्तिसँग मिल्ने घटनाक्रम छन् । यसैले यी कथाहरू हरेक उमेर समूहका आफ्ना व्याथा जस्ता पनि लाग्छन् । कतिपयले अस्पतालभित्र आफैंमाथि घटित घटना सिनेमाको रिलझैँ घुमेको अनुभूति गर्लान् । कथा पढिरहँदा त्यहाँभित्रको पात्र ‘म आफैं हु’ भन्ने भावको गहिराइमा डुबाउन सक्नु सायद लेखकको क्षमता हो । अधिकारीले मर्फिनमार्फत आफूलाई त्यो लेखकको पंक्तिमा उभ्याएको पाइन्छ ।

मर्फिनमा २१ वटा कथा संग्रहित छन् । त्यहाँभित्र परिवार छ । समाज छ । माया–प्रेम र विरह छ । विछोड एवं वियोगका नमीठा घटाना छन् । अन्याय, अत्याचार र स्वार्थका अनेक शृंखला छन् । बुनिएका, कथिएका वा प्रस्तुत गरिएका कतिपय वियोगका घटनाहरू संयोगमा पुगेर टुंगिएका छन् । र, कथाको अन्त्यमा एउटा संयोगको मीठो अनुभूत गर्न सकिन्छ । यी सबै रहेर पनि कथाहरू स्वास्थ्य विज्ञानको सेरोफेरभित्रै अटाएका छन् ।

कथा र पात्रहरू

कथाहरू जति छोटा र मीठा छन् पात्रहरू त्यति नै सरल भेटिन्छन् । र, हरेक कथाले एउटा–एउटा सन्देश बोकेका छन् । समाजलाई सकारात्मक सोचतिर डो¥याउने डोरी बाटिएको छ । जस्तै; पहिलो कथा ‘थुना परेको राजा’मा आयुषको सशक्त अभिव्यक्ति छ– ठूलो डाक्टर हुनभन्दा असल बुबा बन्न कठिन हो, जो असल बुबा बन्न सक्दैन, ऊ कसरी असल बुबा हुन सक्छ ?

यो कथामा बुबाको वात्सल्य प्रेमको अभाव छचल्किएको छ । आमा र बुबाको ममता र प्रेमको रेखांकन गरेर त्यसको आ–आफ्नै महत्व दर्साइएको छ । यहाँ, त्यो भन्दा महत्वपूर्ण बिम्बात्मक अर्को अर्थ के छ भने ‘बुबा सधैं नजिक नरहे पनि उनले अगाध र अदृष्य प्रेम गरिरहेका हुन्छन् । दायित्व पनि निर्वाहा गरिरहेका हुन्छन्’ भन्ने । कथाको अन्त्यमा— गुँडनजिक घुमिरहेको बाजलाई लखेटेर भाले कागले बच्चाहरू जोगाउन खोजेको छ । आयुषले भाले कागको ठाउँमा आफ्नो बुबालाई कल्पना गरेर आत्मसन्तृष्टिमा मुस्कुराउँछ ।

यसैगरी, ‘मान्छेको आयुमा जीवन जिउने आत्मविश्वास सकारात्मक सोच छ । जीवन जिउने कलाका दुई फरक नमुना छन् । जहाँ, आमोद मर्छु भन्ने चिन्ता र नकारात्मक सोचका कारण तोकिएको दिन नै मर्छ । तर, केशरीले रोगलाई जितेर आत्मविश्वास दरिलो बनाउँछे । र, क्यान्सर जस्तो असाध्य रोगलाई पेलेर चुँड्न लागेको जीवनको धागोलाई बलियो बनाउन सक्षम हुन्छे ।

‘मी टु’मा डाक्टरको सेतो पोषाकभित्रका कर्तुत र बलात्कारी प्रवृत्ति उदांगो पारिएको छ । ‘मृगौला चोर’ले सम्पत्तिको आशक्तिमा अन्धो भएको गोकुलले त्यो हासिल गर्न डाक्टरसँग मिलेर आफ्नै श्रीमतीको मृगौला बेच्छ । समाजभित्र मृगौला चोरीका घटना नयाँ होइनन् तर कतिपय यस्ता घटनामा अस्पताल सञ्चालक नभई डाक्टर र गिरोहको मिलेमतो हुन्छ भन्ने पक्षलाई बलियो तर्कका साथ उभ्याइएको छ ।

जेनिफर कथामा लेखकको कथा भन्ने शैली बडो सुन्दर छ । ‘कसैको मायामा गाँसिनु भनेको गाह्रो होइन रहेछ, त्यसलाई कायम राख्न सक्नुचाहिँ गाह्रो रहेछ’ यो वाक्यले वास्तविक प्रेमलाई उद्घाटित गरेको छ । विछोडिइसकेको डा. अर्जित र टेलिभिजनमा सौन्दर्य कार्यक्रमकी प्रस्तोता जेनिफरको प्रेममा धर्म तगरो बन्छ तर एकाएक संयोगमा टुंगिन्छ । यसले पाठकलाई एउटा आत्मसन्तृष्टि दिलाउँछ ।

‘पुरुषत्व’ एउटा बाबु बन्न नसकेको पुरुषको कथा हो । यो सन्तान नहुँदा महिलाले खेप्नुपर्ने सामाजिक लाञ्छनाको वास्तविकता पनि हो । जयन्तको जैविक दोषका कारण कान्ताले भोगेको सामाजिक र मानसिक निर्मम पीडा प्रस्तुत गरिएको छ । डाक्टरी उपचार काम नलागेपछि कान्ता तान्त्रिककोमा जान्छे । गर्भ बस्छ र सन्तान जन्मिन्छ । कहिल्यै बाबु बन्न नसक्ने जयन्तले अन्ततः आफूलाई पारिवारिक सन्बन्धबाट टाढिएको पाउँछ ।

विखण्डन, मुख्यमन्त्रीको मगज, समानुभूतिमा पनि फरक–फरक स्वाद र फरक–परक सन्देश छन् । मुख्यमन्त्रीको मगजमा मस्तिष्क प्रत्यारोपणको परिकल्पना छ । सायद, स्वास्थ्य विज्ञानमा यसको आविष्कार हुँदै होला । यो स्वास्थ्यमा हुँदै गरेको नयाँ आविष्कारको कल्पना र नेपाली राजनीतिप्रति गरिएको तीखो व्यंग्य वाण पनि हो ।

उता समानुभूतिमा डाक्टरको मन ढुंगा हुँदैन । सामान्य मानिसको जस्तै कोमल र भावुक हुन्छ भन्ने अर्थ छ । ‘अस्पताल विरामी निको पार्ने ठाउँ मात्र होइन, मृत्युलाई सहज बनाउने ठाउँ पनि हो’ यसमा डाक्टरहरू जिम्मेवार त हुनैपर्छ । उत्पन्न परिस्थितिलाई सजह बनाउन सक्ने आत्मबल पनि हुनुपर्छ भन्ने भाव छ ।

‘भिनाजुको नाइटी’मा क्यान्सरका कारण निकीको पाठेघर निकालिन्छ । सन्तानको इच्छाका लागि अर्को व्यक्ति (दिदी) कै पाठेघर प्रत्यारोपण गरिन्छ । यो विकसित देशमा भर्खर आविष्कार भएका उपचारका नयाँ पद्धत्तिको कल्पना हो । यस्तै प्रविधिसँग मिल्दोजुल्दो अर्को कथा छ, ‘दोषी मन’ । यसमा चिकित्सा विज्ञानमा हुन सक्ने लिंग प्रत्यारोपणको परिकल्पना छ ।

तीतो प्रेम मीठो प्रेम, सुसाइड नोट, शंकालु लोग्ने, दोषि को, उपचार, गर्भको रहस्य, इन्गेजमेन्ट, भेन्टिलेटर जिन्दगी, वनावटी सौन्दर्य र अतृप्त मुटुसम्म पुग्दा स्वास्थ्य क्षेत्रभित्रका अनेक आयामलाई खोतलिएको छ । डाक्टर तथा नर्सको भावना, गरिबीको पीडा, प्रेमको उत्कर्ष र समाजमा दपेटिएर बसेका कुरीतिमाथि पनि औंला उठाइएको छ ।
‘भेन्टिलेटर जिन्दगी’ मर्फिनभित्रका कथामध्ये एउटा शसक्त कथा हो । विरामी मरिसकेपछि पनि बिल बढाउन अस्पताल र डाक्टरले कसरी घृणित खेल खेल्छन् भन्ने वास्तविकता उजागर गरिएको छ । सम्भवतः यो समाजमा अर्थात् अस्पतालमा घटिरहने र दोहोरिइरहने घटना पनि हो । एउटी इमान्दार नर्सले अस्पतालको बदमासी बाहिर ल्याउन खोज्दा उसलाई डाक्टरले नै रोक्छन् ।

“बचाउन सक्ने सम्पूर्ण सम्भावनाहरू समाप्त भइसक्दा पनि अस्पतालको बिल बढाउनका लागि विरामीलाई भेन्टिलेटरमा अल्झाएर राखिएको थियो ।” यो वाक्य नै यस कथाको सबैभन्दा शक्तिशाली कथन हो । र, यसले कमाउधन्दामा अन्धो भएका अस्पतालहरूको वास्तविकताको अँध्यारो ढोका खोलिदिएको छ ।

पुछारमा

खोलामा फालिएको बल्छीले माछा तानेन भने त्यसको उपादेयता हुँदैन । सिर्जना अर्थात् साहित्यमा पनि पाठकलाई तानेर अड्याइराख्न सक्ने खुबी हुनुपर्छ । पाठकको मन, मुटु र हृदय हल्लाउन सक्ने सिर्जना नै कालजयी हुन्छन् । यहाँ मर्फिनले त्यो सम्भावनाको ढोका खोलेको छ । यति हुँदा–हुँदै पनि यसभित्र ध्यान दिनुपर्ने केही विषय छुटेको पाइन्छ ।
छोटा वाक्य संरचना र शीर्षक आकर्षक छन् । बान्की मिलेको छ । यद्यपि, केही शीर्षक र कथाको भावबीच कहीँ तादम्यता नमिलेको हो कि भन्ने आभास हुन्छ । भाषिक शुद्धताका केही अंश पनि छुटेका छन् । एक–दुई कथामा एउटै पात्रलाई दुई वटा नामले चिनाइएको छ । जस्तै, ‘मृगौला चोर’को ४६औं पृष्ठमा ‘पति गोकुल’ भनिएको छ । त्यसैको पृष्ठ ४८ मा ‘पति अंगुर’ छ ।

अर्को कथा समानुभूतिको पहिलो अनुच्छेदमा गजललाई ‘घाइते मृगको चित्कार’सँग तुलना गरिएको छ । त्यही अनुच्छेदमा गजल वाचन गर्ने शैली वा स्वरलाई ‘संगीतको झङ्कार’को उपमा दिइएको छ । घाइते मृगको चित्कारमा चहर्याउने चोट हुन्छ तर गजलको पीडा हृदयको चोट बिर्साउने हुन्छ ।

चित्कारको पीडा र चोट बिर्साउने पीडा पक्कै एकै हुँदैनन् । यिनलाई एकै रूपमा अथ्र्याउन खोज्नुले कतै वाक्य संरचनामा विरोधाभाष देखिएको हो कि भन्ने बुझिन्छ । यद्यपि, कथाकारको आशय वा विश्लेषण यो नहुन सक्छ । यस्तै, अन्य केही कथामा पनि केही भाषिक त्रुटी वा अस्पष्टता देखिन्छ ।

कथामा प्रयोग भएका शब्दावली स्वास्थ्य क्षेत्रकै छन् । चलनचल्तीमा आएका वा अभ्यस्त शब्दसँग पाठक रत्तिन सक्छन् । कतिपय स्वास्थ्य विज्ञानसँग जोडिएका शब्द भए पनि तिनको नेपालीकरण खोजेर राखिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो । पाठकले स्वास्थ्यका नयाँ नेपाली शब्द जान्ने अवसर पाउँथे ।

अर्कोतर्फ, कथाका पात्र वा अधिकांश विषयवस्तु संभ्रान्त वर्गसँग जोडिएका छन् । सहरी सेरोफेरो छ । उच्च वा सम्भ्रान्त वर्ग वा सहरको मात्र कथा लेखिरहँदा फेरि पनि एउटा वर्ग छुट्छ । एउटा समाज र भूगोल अलग्गिन्छ । कताकता मर्फिनमा त्यसको गन्ध भेटिन्छ । सहरभित्रै पनि चरम अभाव छ । रोग र रोगी छन् । उपचार नपाएर तिनको जीवन सडकमै सकिएका धेरै घटना वा उदाहरण हाम्रै आँखा अगाडि छन् । यी विषय थोरैमात्र छोइएको छ ।

अस्पतालमा बिरामी–बिरामीबीच भेद हुन्छ । यही भेदका कारण गरिब उचित उपचार पाउनबाट बञ्चित हुन्छ । मध्यम, तल्लो र सिमान्तकृत वर्गलाई राम्रो उपचार पाउन सधैं सास्ती खेप्नुपर्छ । दुर्गम ग्रामीण क्षेत्रमा स्वास्थ्यको झन् विकराल अवस्था छ । यी विषय साहित्यमार्फत उठाउन सके अधिकारीले साहित्यमा आफ्नो छुट्टै हस्ताक्षर कोर्न सफल हुने देखिन्छ ।

मर्फिन साहित्यमा स्वास्थ्य विज्ञानलाई टेकेर अगाडि बढेको पहिलो खुड्किलो हो भन्दा अन्यथा नहोला । नेपाली साहित्य र समाजलाई अझै यस्ता कथाको खाँचो छ । एउटै कृतिमा सिंगो समाजका घटना र प्रवृत्ति उतार्न सम्भव हुँदैन । भोलिका लागि यो प्रस्थान बिन्दु भने पक्कै बनेको छ । भोलि जन्मिने ‘मर्फिन’हरूले कथाकार अधिकारीको कथायात्रालाई उचाईमा पुर्याओस् । साहित्यमा चढ्ने प्रयास नगरिएको छुटेको शिखर चुम्ने आधारशिविर तयार होस् ।