त्यो सुनौलो बिहानी, घमाइलो दिन । हल्का धुम्मिएको ट्याङ्लाफाँटको आकाश अनि मन्द–मन्द चलेको सिरोटोले मनमा चञ्चलता उत्पन्न गरिदिएको थियो । गृहजिल्ला स्याङ्जाबाट आएका युवा कवि मित्र मिलन समिरलाई मोटरसाइकलको पछाडि ‘लोड’ गरेर म ट्याङ्लाफाँटको फन्को मारिरहेको थिएँ । मित्रकै आज्ञा अनुसार हामी ट्याङ्ला चोकबाट प्रा. डा. गोविन्दराज भट्टराईको घरतिर मोडियौं । गुरु र गुरुआमाको स्नेहपूर्ण आतिथ्यले हृदय पुतली जस्तै फुरफुर नाच्न थाल्यो । उहाँहरूको समिपमा उभिँदा मन हर्षविभोर भयो ।

हामीले केहीबेर बातचितमै बितायौं । चियाको चुस्कीमा भुल्यौं । ऋचाजी मार्फत ‘क्लिक क्लिक’ दुई–चार प्रति फोटो खिचायौं । गफिइरहँदा सेतो कलेवरका केही थान पुस्तक हामीसामु आइपुगे । आवरणको पाना पल्टाएर गुरुआमाले लेख्नुभयो– स्रष्टा श्री लक्ष्मण वियोगीमा सप्रेम । अलि तल ‘अ’ मात्र बुझिने उहाँको हस्ताक्षर सहीछाप जस्तै ठप्प बस्यो, त्यसको मुनि मिति बस्यो– २०७८/०९/२५ । आवरणमा लेखिएको थियो, स्मृतिलोकको यात्रा । पुछारमा ‘डा. अञ्जना वस्ती (भट्टराई)’ थियो ।

उपहार पाएर केही सेकेण्ड त म फुरुङ्ग परेँ । तर, नामको पछाडि स्रष्टा लेखिँदा; लाज, संकोच र अज्ञानताको तुँवालोले यसरी छोप्यो कि म निकैबेर दृष्टिविहीनझैँ अचल भएँ । भाषाका जननी, विद्वताका खानी, पाश्चात्य र पूर्वीय साहित्य सर्लक्क पिएर ज्ञानदर्शन बाँडिरहेका गुरुवरको सामु मेरो के हाल भयो होला ! विश्वविद्यालयमा दशकौं शिक्षाको ज्योति बालेका÷बालिरहेका महान दार्शनिकद्वय सुकरातका अगाडि उत्तरआधुनिक सुक्ष्मदर्शक यन्त्रले समेत ठम्याउन नसक्ने म अकिंचन कण यसरी लल्याकलुलुक भएँ– मेरो यो विरूप त्यही क्षण नजिकै साउती मारिरहने समयले मात्र हेक्का राख्यो होला !

गुरु–गुरुआमालाई हृदयबाट श्रद्धा अर्पण गरेर म लुसुक्क बाहिरिएँ । पुस्तकको सुन्दर कलेवर मस्तिष्किमा टाँसियो । मनमा एक खालको तीव्र उत्सुकता बढिरह्यो, कतिबेला पुस्तकका पाना पल्टाउँ । म मोटरसाइकलमा कुदिरहेको थिएँ तर हृदयचक्षु पुस्तकका पानाभरि नाचिरहेका थिए ।

प्रवेशारम्भ

पुस्तकका पाना फररर पल्टाउँदै जाँदा आँखा एक्कासी “विस्मृतिमा छेलिएको अतितको सम्झना”मा रोकिए । केहीबेर यही शीर्षकमा घोरिरहेँ । अनि, सुरुदेखि पाना पल्टाउन थालेँ । ‘स्मृतिलोकको यात्रा’ एउटा संस्मरणात्मक संगालो रहेछ । डा. विणा हाङ्गखिमको विश्लेषणात्मक विवेचना ‘स्मृतिसंवादको यात्रामा डा. अञ्जना वस्ती भट्टराई’बाट मेरा आँखाले यात्रा सुरु गरे । आँखा अक्षरहरूमा कुदिरहे, मन त्यहाँभित्रका भावका थुँगा बटुलेर रमाइरह्यो । साँच्चै त्यो संस्मरणात्मक कस्तुरीबाट आत्मज्ञानको सुगन्ध आइरहेको थियो ।

मैले सानैमा मेरा पिताजीबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे एउटा रोचक कथा सुनेको थिएँ– महाकवि लेख्न बसेपछि वरपर के भइरहेको छ । त्यसबारे हेक्का हुँदैनथ्यो रे ! एक पटक उहाँको निवास डिल्लीबजारकै बाटो भएर बाजागाजाका दुलही (बेहुली) लिन जन्ती हिँडेछन् । महाकवि पिँढीमा बसेर लेखिरहेका रहेछन् । केही जन्तेहरू समूहमा मिसिन छुटेछन् । छुटेकाहरू हतारहतार त्यही बाटो आउँदै गर्दा महाकविलाई पिँढीमा बसेर लेख्दै गरेको देखेर सोधेछन्– कविज्यू यहाँबाट जन्ती गएको देख्नुभो ? उहाँले ‘खोई मलाई त थाहा भएन’ भन्ने जवाफ दिएछन् ।

लक्ष्मण वियोगी

‘स्मृर्तिलोकको यात्रा’ आरभ्म गरेपछि साँच्चिकै पाठकहरू महाकवि जस्तै एकसुरे हुन्छन्, स्मृतिको गल्छीमा डुबिरहन्छन् । पाठकलाई अरू कुराको सायदै हेक्का हुन्छ । पाठक हतारको कामसमेत भुलेर त्यही यात्रामा उडान भरिरहेको हुन्छ, वायुमण्डलमा सिरसिरे हावा टक्क रोकिए जस्तो, त्यही हावामा डुलिहिँडेका पुतलीहरू झुम्मिए जस्तो । पुस्तकभित्रका यात्रा, सहयात्रा, उपयात्राहरूका उकाली–ओराली र भञ्ज्याङहरूमा सुस्ताइरहन्छ । थकाइ मारिरहन्छ, पीपलका लहरामा पिङ खेलिरहन्छ ।

अक्षरहरू छामिरहँदा आँखा अविराम दौडिरहने । भावलाई मनको उच्चाशनमा अविचलित राखिरहने क्षमता भेटिन्छ, पुस्तकमा । पाठकलाई पठनको चौतारीमा बसाइरहन सक्ने यस कृतिको सबैभन्दा ठूलो तागत हो भन्ने मैले अनुभूत गरेँ ।

‘स्मृतिलोकको यात्रा’ले धनकुटाको एउटा सानो भूगोललाई बडो सुललित ढंगले वर्णन गरेको छ । त्यहाँ फलाँटे छ । आत्मारा छ । उहिलेको, आधुनिक रस नपिएको मौलिक धनकुटा बजार छ । लेगुवा र कचिँडे छन् । त्यहाँभित्र तमोर र अरुण नदीले सुसेल्ने मानव सभ्यताका मौलिक मुर्छना भेटिन्छन् ।
सृष्टिको आदिकालदेखि मानव अस्तित्वलाई अक्षुण राखिराख्ने नदी सभ्यता र यसप्रति मानवजातिको लगाव, प्रेम, आत्मियताको साइनो कहिले नचुँडिने गरी गाँसिएको हुन्छ । तिनका प्रशस्त झझल्काहरू अरुण र तमोरका तटीय क्षेत्रमा भेटिन्छन् । स्मृतिलोकको यात्राभित्र यी प्राकृतिक निधिसँगको मानव सभ्यताको आलिङ्न बडो रोचक ढंगले यात्रारत भेटिन्छ ।

धनकुटा बजार अनि त्यही सेरोफेरोको हावापानी, पाखापखेरा, घाँस–दाउरा, रुख विरुवा र तिनको प्राकृतिक सौन्दर्य झल्किएको छ । धनकुटाबाट निस्केको यात्रा कहिले विराटनगर पुग्छ त कहिले झापा । त्यो पाइला दौडाउँदै गतिवान हुन्छ । काठमाडौं उक्लिन्छ । त्यहाँबाट हैदरावाद (भारत) को गाछीबेली पुग्छ । फर्केर त्रिभुवन विश्वविद्यालय भित्रिन्छ । पुनः उही फलाँटे पुग्छ । आत्माराको आँगनमा बाल्यकालको छुनुमुनुमा आल्हादित हुन्छ । यसर्थमा, फलाँटे तथा आत्मारा संस्मरणभित्र धुरीखाँबो बनेर उभिइरहेको प्रतीत हुन्छ । यहाँ, फलाँटे सिंगो धनकुटाको प्रतिनिधि भूगोल बनेर कहिले हराउने र कहिले दृश्यमा झुल्किरहने गरेको छ ।

स्मृतिका बिम्बहरू

‘खानेकुरा कहिल्यै नफ्याक्नु अन्नले सराप्छ’ मानव सभ्यताको इतिहासलाई जिवन्त राख्न यो वाक्यको तुलनीय अर्को उत्पत्ति भएको छैन होला । के आज परिवर्तनको रेल समातेर आधुनिकतामा बेतोडले कुदेको समाजले यसको भेउ पाउँछ होला ? हिजो हुने खाने र हुँदा खानेले अन्नको मर्मलाई साँच्चै बुझेका थिए । कतिपय हुँदा खाने वा गरीखाने वर्गलाई अन्नरूपी भगवानले अस्तित्वको मालामा गाँस्दै गाँस्दै ल्याएर आजको स्वरूपमा उभ्याए होलान् ।

स्मृतिलोकको यात्रा यही वास्तविक धरातलमा उभिएर अगाडि बढेको छ । फलाँटेको घरको मुल ढोकाबाट सुरु भएको जीवनको नागबेली यात्राले अनगिन्ती मानवजातिको अस्तित्वलाई अक्षुण राख्ने वास्तविकता बोकेर हिँडेको छ । अलिकति खन्दै, अलिकति भत्काउँदै, अलिकति सम्याउँदै, ओरालो झर्दै त कहिले नाके उकालो चढ्दै गोरेटो बनाउँदै हिँडेकी ‘सानीकेटी’ले देशकै जेठो विश्वविद्यालयको प्राध्यापकको चुली चुम्न सक्नुलाई साँच्चै आश्चार्य मान्नुपर्छ ।

समयले पिँठ्यू फर्काएर हिँडिसक्यो । अब कहाँ भेटिएला– पूजा चौको, भ¥याङ, लिस्नो, पानी अट्ने गग्रेटो, खड्कुलो, पित्तले भड्डु, जस्केलो, जुठेल्नो, पराल, खोसेला, कोठेबारी, पानीका कुवाहरू । सालघारी, सल्लाघारी, बाँसघारी, वरपीपल चौतारो र त्यही चौतारमा सुस्ताएर सुसेलेका जीवनका अनगिन्ती भाकाहरू समयले कहाँ छोप्यो होला कुन्नी ! स्कूलको, कक्षाकोठाको भुइँमा बोरा ओछ्याएर बसेको । त्यही भुइँले सिकाएको कखरा, धुलो–मैलोमा नाचेका मारुनी, झ्याउरे, धान नाच, संगिनी, सालीज्यू र सालैजोहरू पनि समयको बतासले उठाएर अदृश्य लोकतिर पुर्यायो कुन्नी !

विश्वका महान चिन्तक ज्याक डेरिडाको नवनिर्माण वा विनिर्माण वा उत्तरआधुनिकताले मानवजीवनको त्यो मौलिक कलेवरलाई विकासको साँचोमा ढालिसक्यो, सायद । त्यसैले त अचेल सहरमा मात्र कहाँ हो र, गाउँमा पनि देखिँदैनन, सुनिँदैनन जीवनका मौलिक पदचापहरू । झरनाको छङ्छङ्, कलकल पानीको बगाई, तमोर र अरुणको सुसाई, भोगटे र सुन्तलाबारी पनि विनिर्माणले छोपिसकेको छ । विनिर्माणको यो सिलसिला अटुट् र अनवरत नदीको बगाई पनि होला !

विकट गाउँको ढुंग्यानी पाखोलाई ‘सधैं पदैल नै हिँड, पिँठ्यूँमा एक मनको भारी बोकेर लेक–बेँसी गर, तेरा लागि परिवर्तन त्यही हो’ भन्ने अधिकार कसैलाई होला र ? हिमालको छनोमुनि चौंरी चराउने शेर्पा दाइलाई पनि औल–याममा खर्कतिर चौंरी बाँधेर हाट झर्न मन लाग्छ होला । सररर मोटर चढेर हाटमा जिम्मु बेच्ने उसको चाहनालाई रोक्ने अधिकार कसैलाई होला र ?

पहाड होस् वा हिमाल, तराई होस् वा बेँसी फराकिलो सडकमा मोटर कुदेको, आफू त्यसैमा चढेर हाट भर्न हिँडेको, देश हिँडेको, परदेश वा मुगलान पुगेको । अरुणको पानीले घोटेर चम्क्याइलो पारेको ढुंगो जस्तै हजार हण्डर र ठक्कर खाएर फेरि त्यही बाटो लाहुरे भेषमा फिरेको देख्ने रहर कसलाई पो हुँदैन र ! हो, समयले हिजोका मौलिक भित्ताहरूमा पक्कै पनि आधुनिक रङ मिसायो होला र कोर्यो होला विनिर्माणको चित्र । यो परिवर्तनशील उभारको परिणति पनि होला ।

स्मृतिलोकको यात्राले तिनै परिवर्तित देउरालीका थुम्काहरूबाट मौलिकताको फाँट देखाएको छ । यान्त्रिक अन्तरिक्षतिर उडिरहेको आजको वायुयान ठिटोलाई झन्डै ४०–५० वर्ष पछाडि फर्काएर लगेको छ । नाभी गाडिएको अगेनो, खाइखेली हुर्केको आँगन र उपल्लो सिँढी चढ्न प्रयोग भएको भर्याङ नर्बिसन पटक–पटक होइन, सयौं पटक झक्झक्याएको छ । सम्भवतः ज्याक डेरिडाले पनि मौलिकताको धर्को मेटेर विनिर्माण गर्न सुझाएका छैनन् होला ।

आफ्नै जीवनका नागबेली घुम्ती, छाँगा–छहरा, लेक–बेँसी, हाटबजार हुँदै आधुनिक सहरसम्मको दूरी भए पनि यति गहनम कृति सिर्जना गर्ने महान सर्जकप्रति आजका कलिला युवाहरूको शिर श्रद्धाले निहुरिनैपर्छ । देब्रेबास, कर्मीटार, सिरुवानी, आत्मारा जस्ता भूगोलको मौलिकतालाई टपक्क टिपेर जस्ताको तस्तै आजको समाजअघिल्तिर राखिदिएको छ, पुस्तकले । यस कृतिले चाखेर, स्वाद लिएर मौलिकताको साँचोमा विनिर्माणको सिर्जनशील फाँट तयार गर्नुपर्ने अभिभारा अबको समयलाई थमाइदिएको छ । यो, त्यो सानो भूगोलको मात्र विषय होइन, सिंगो देशकै साझा वास्तविकताको ऐना हो ।

अतः परिवर्तनको उभारमा टेकेर हिँडिरहे पनि ‘तिमीहरूले ती बाटाहरू, ती घुम्तीहरू, जीवनलाई लयबद्ध गर्ने पुर्खाका ढुंगामा खोपिएका वाणीहरू सम्झिरहनू । तिनलाई मनन् गरिरहनू’ भन्ने यथार्थबोधले पक्कै पनि भोलिको समाजलाई धर्मराउनबाट जोगाउन सक्छ कि ! यही र यस्तै आदर्शलाई पुनर्निर्माण गरेर यसको लयात्मकता र गेयत्मकतालाई परिवर्तनको बाँसुरीले बजाइरह्यो भने समाज विनिर्माणको देउरालीमा मौलिकताको अंश बाँचिरहन्थ्यो ।

शिक्षाको लयत्मकता

जुन घरमा पुर्खाहरूले चेतनाको मौलो गाड्दै आए त्यो घर वा समाज ढेब्री (टुकी) को धिपधिपे उज्यालोमै भए पनि पाइला सार्दै घिस्रिरहन्छ । उज्यालो कहिले मधुरो होला, कहिले चहकिलो तर त्यो निरन्तर बलिरहन्छ चेतनाको पानसबत्तिमा शिक्षाको मटितेल थप्दै । वस्तीका पुर्खाले पनि उहिलेदेखि त्यसरी नै चेतनाको दियालो बाल्दै आएको देखिन्छ ।

पछिल्ला पुस्ताहरूले दियालोलाई राँकोमा परिणत गर्दै घरमात्र नभएर समाजका धेरै अनुहारलाई बाटो देखाउने काम गरे । पिता संस्कृतका विद्वान हुनु डा. वस्ती (भट्टराई) का लागि एउटा अलौकिक अवसर प्राप्त हुनु जस्तै मान्नुपर्छ । घरमा संस्कृतका श्लोक, ख्याति कमाएका कविहरूका कविता गाउँदै हुर्कन पाउनु कम्ती आनन्दको विषय होइन ।

चराचुरुङ्गीहरूले बचेरलाई चिरबिराउन सिकाउनु, खहरे खोला तथा नदी अनेक धुन, ताल र मुर्छनामा रम्दै बगिरहनु एवम् बतासले सुसेली हाल्नु प्रकृतिप्रदत्त नियम हुन् । यहाँ वस्तीहरूको कुलीन वंशमा डा. अञ्जनाका पिताको जन्म हुनु र उहाँ संस्कृतका प्रकाण्ड विद्वान हुनुले शिक्षारम्भ प्राकृतिक लयमै सुरु भएको सिद्ध हुन्छ ।

शैशवकाल अनेकन अभावका भूमरीमा रिङ्नु परेको सत्यता बोध गराइएको छ । विद्यालय शिक्षारम्भसँगै पाँच पैसामा पाइने हाँडीमा पकाएको चना र एक मुठी भुजा खान नपाउनुले मध्यमवर्गीय परिवारको आर्थिक हैसियतलाई छर्लङ्ग पारेको छ । हुन त, देशका अधिकांश निम्न र मध्यमवर्गीय पारिवारको वास्तविकता यही नै हो । र, आज पनि उफ्रिहाल्ने गरी कुनै परिवर्तन देखिएको छैन । यद्यपि, माता–पिता कुलीन र शिक्षित हुनु र अभिभावकले शिक्षाको दियालो जलाएकै कारण पाइलाहरू अँध्यारा गल्लीहरूमा पर्न पाएनन् ।

सर्जकका बालशखाहरू वा दौंतरीहरू आज पनि त्यतै उतै आत्मारामा छुटे होलान् । धनकुटातिरै रोकिए होलान् । कति जीवनको उत्तरार्धको घाम ताप्दै फलाँटेतिर भाका फेरि फेरि सुसेली हालिरहेका होलान् । कति त कम्मरमा १२ हाते पटुकी बाँधेर बेँसीबाट भारी खेप्तै होलान् । नखेपेर पो के गर्नु सास धान्नु छ, एउटा अदृश्य जिजीविषालाई सक्दो तन्काउँदै लैजानु छ ।

उनीहरू प्रा.डा. अञ्जना वस्ती (भट्टराई) हुन पाएनन्/सकेनन् । कारण, तिनका पुर्खाहरूका आँगनमा शिक्षाको दियालो चम्किनै पाएन होला । अनेक प्रयत्न गर्दा पनि चेतनाले बाटो बिराएन होला, त्यो बिर्सेर पनि कसैका घरमा ढिप्किएन होला । पिताजीले सल्लो बालेर बाटो उज्यालो पारिरहनु र माताजीले हात समातेर शिक्षाको गोरेटोमा हिँडाइरहनु पक्कै पनि देवयात्रा थियो कि !

आज आधुनिक शिक्षाको राग अलापिरहनेहरू समेत कमैले चुम्न सक्ने विश्वविद्यालयको त्यो उपल्लो चुलीमा आफूलाई पु¥याउन सक्नुमा पुर्खा, माता–पिताको देवतुल्य आर्शिवाद सेतु बनेको हुनुपर्छ । यति मात्र नभई विद्याव्यसनमा रमाइरहने, नयाँ–नयाँ खोज, अनुसन्धान र नवनिर्माणको गोरेटो आविष्कार गरिरहने जीवनसाथीको साथ प्राप्त हुनु एवम् कुममा कुम जोडेर सहयात्रा गर्न पाउनु पनि ‘सुकर्म’कै फल हुनुपर्छ । सायद, यस्तो संयोग संसारका हजारा जोडी मध्ये एकलाई मात्र प्राप्त हुन्छ होला !

हरेक वर्ष राज्यले वार्षिक बजेटको ठूलो हिस्सा शिक्षामा लगाउँछ । त्यो कहाँ सर्छ ? कता पोखिन्छ ? पाखा पखेरातिर एक–एक बुर्की छरेर तारे होटलमा तथ्यांकको फेहरिस्त उतार्नेमाथि नै राज्यले न्याय गर्छ । एउटा विनिर्माणको कोरा तथ्यांक बन्छ अनि अनुगमन नामको लाखु फेरि त्यता फर्केर जाँदैन । यही कारण हो कि, अझै पनि पहाडका वनपाखामा, पहराका कम्चेरामा वनफूल बनेर अनि हिमालका फेदीतिर हिउँफूल बनेर, तराईका दबदबे हिलोमा कमलझैँ धेरै अञ्जनाहरू फुली बसेकै छन् । ती फूलहरू त्यहीँ फुल्छन्, त्यहीँ जोवनको एक झिल्को रुमानी कसीमा उद्देलित हुन्छन्, मुस्कुराउँछन् । त्यहीँ झर्छन् र त्यहीँ बिलाएर सकिन्छन् ।

‘स्मृतिलोकको यात्रा’ले देशका हरेक पहराका वनफूलहरू, हिउँफूलहरू, लालीगुराँस र लेकमा सुगन्ध छरिरहने सुनगाभाहरू, कमल फूलहरू पनि प्रा.डा. अञ्जना वस्ती (भट्टराई) बन्न सक्छन्, बन्नुपर्छ भन्ने दिशानिर्देश गरेको छ । हिजोका पुर्खाले शिक्षाको ज्योति बाल्न बिर्सिए भने आजकाले नर्बिउन् । समाजको खोरियामा चेतनाको बीउ छरेर शिक्षाका बेर्नाहरू उमार्न सुदूर गाउँका आजका बाबुआमाहरू किमार्थ चुक्नुहुँदैन । यही नै हो– अभाव, अशिक्षा र गरिबीको घाट तारेर नयाँ संसार देखाउने डुंगिया ।

सायद, यही लय समातेर होला कचिँडेबाट प्रखर नारी हस्ताक्षरको रूपमा झमक घिमिरे उदाइन् । पहेंलो घामको राँको बोकेर उदाएकी असाधारण क्षमतायुक्त झमक आज देशका कुना–कन्दरामा पुगेकी छन् । चेतनाको झ्याली पिटिरहेकी छन् र यो आवाज अन्तर्राष्ट्रिय गाउँहरूसम्म सुनाइरहेकी छन् ।

देउरालीलाई फूलपाती

स्मृतिलोकको यात्रा डा. अञ्जना वस्ती (भट्टराई) को आत्मालाप हो । उहाँको मन मन्थन हो । यो कोठेबारीको कथा हो । यहाँ पानी पँधेराको, ढुंगाको माटाको, चौतारीको, हावाको, चिउरीबासको ओरालोको, सर्दू खोलाको, गडतिरको कथा छ । साँघुरी वारि धारापानीमा, साँघुरी भञ्ज्याङमा नाचिरहने त्यो ‘सानीकेटी’को’ व्यथा पनि छ । झीरमा उनिएका अनेकन पीरका स्मृति बिम्बहरू समेत छन् ।

प्वाक्क बोल्न सजिलो होला, यी र यस्तो परिवेश त सबैको हुन्छ नि ! एउटा खुट्टामा चप्पल, चुँडेको तुना समातेर दौडेको क्षण, खरबारीमा घाँस काटेको, डाँडामा उभिएर सुसेलेको मायाको मुरली जीवनमा एक पटक हरेकले सुनेकै त हुन्छ नि ! के नौंलो भयो र ?

पक्कै पनि हाम्रो समाज विज्ञानमा यी कुराहरू नौला होइनन् । पुरानै हुन्, थोत्रा हुन् । अझ माक्किएका पनि होलान् तर कोही कसैले किन यसलाई यति सस्तो बुझिदिएको होला ? हरेक सचेत वर्ग, शिक्षित वा पढालेखाहरूले आफ्नो जीवनवृतमात्रै कोरेर छोडिदिएको भए आजको सामाजिक संरचनाले पुर्खाको जरो बिर्सिँदैनथ्यो होला । यसलाई भुलेर ‘रुटलेस’को दिशातिर भौंतारिने थिएन होला । ऊ पुर्खाले हालेको जगमा नयाँ पाइनको इँटा थपेर समाजलाई चम्काउन उद्धत हुन्थ्यो होला ।

उध्रेको खरको छानो पुरानै खरबारीको खर काटेर छाउँथ्यो होला । त्यसमा थोरै हिस्सी परेको ढाँचा जोडेर नयाँ बान्कीको तर बाजे वा बराजुकै पालाको झल्को दिने कुँडुले घर बनाउँथ्यो होला । त्यही हुन्थ्यो होला, नवनिर्माणको धुरी । तर खोई त; जानेकाले, मानेकाले बुझेकाले बुझाएकाले वा हाम्रा बा, बडाबा, जिबाहरूले त्यसो गरेनन् वा चाहेर पनि सकेनन् । यसैको परिणाम हो कि, आज हामी परिवर्तनको लहरामा भ्रान्तिको पिङ मच्चाइरहेका छौं ।

यही कारण, आज शहरलाई सुगर भएको छ । कोलस्ट्रोल बढेको छ । ब्लड प्रेसरले गलित बनाएको छ । उक्लिँदो छ पहाडतिर, हिमालका मिनी उपत्यकातिर र खोज्दो छ– मकैका ठेट्ना, कोदोको ढिडोका चोइला, च्याँख्लाको खोले । जुन, हिजो उसले हात्ती हानेर हिँनेको थियो ।

खोजेर कहाँ पाउनु ? कोठेबारी बन्जर बनिसक्यो । पाखा, पखेरा स्यालघारी भयो । कसरी फलाउनु त्यहाँ ढिडो, रोटो र च्याँख्ला ? ती त आज विदेशी मिलमा उत्पादन भएर प्याकेटमा भित्रिन्छन् । र, बिग मार्केट वा सुपरमार्केटका तखतामा टम्म मिलेर बसेका हुन्छन् ।

हो, यहाँ स्मृतिलोकको यात्राले भ्रमबाट बाहिर निकाल्ने चेष्टा गरेको छ । उही कोठेबारीको झझल्को दिलाएको छ । पुर्खाको माटोबाट ओझेल पर्दै आफ्नी मुना छोडेर लाहुर जाने आजका मदनहरू वा मदन छोडेर विदेशिने मुनाहरूलाई त्यतै फर्किन अनुनय गरेको छ । खेतबारी, पाखो, टारी र कोठेबारीको बाँझो फुटाउन आधुनिक हलोको प्रयोग गर्न अह्राएको छ । अभावमा अर्मपर्म, खाँचो खचिलो टार्न चाहिने सम्बन्धको डोरी बाट्न बाबियो रोपिदिएको छ ।

सिङ्गो मुलुकका नयाँ पिँढीलाई भ्रान्तिको बाटोबाट निकालेर पुनर्निर्माणको राजमार्गमा सरिक हुन प्रेरित गरेको छ । स्मृतिलोकको यात्राको गुदी भनेकै यही हो । त्यही हो । जसलाई गुरु–गुरुआमा दुवैको पाइनले स्फटिकजस्तै चम्किलो बनाएको मैले अनुभूत गरेको छु ।

एकल भगिरथ प्रयत्नले विश्व साहित्यलाई आँगनमा ओरालेर त्यसको स्वाद चखाउँदै आली, कान्ला र पखेराभरि नयाँ घरेलु बेर्ना सार्न सिकाउने यो जोडीको जति नै आरधना गरे पनि कम हुन्छ । यी आराध्यदेवको पूजा–अर्चना गर्न चुकियो भने सायद जीवन निराशाको भूमरीमा पोलिएर सकिन सक्छ । स्मृतिलोकको यात्रा जस्तै अनेकन ‘यात्राहरू’ले नयाँ पिँढीलाई झक्झक्याइरहने छ भन्ने मैले प्रार्थना गरिरहेको छु । साहित्याकाशका यी देउरालीलाई हृदयको फूलपाती चढाउँदै यतिबेला बिसाउनीमै रोकिन्छु ।