लामो समय प्राध्यापन सेवामा कार्यरत रहेर हाल अवकाशप्राप्त जीवन बिताइरहनु भएको खेमराज पोखरेलको कृतिहरू मध्ये एक हो – ‘एकालाप’ ।

यस लघुकथा संग्रहमा लेखकले आफ्नो जीवन भोगाइ तथा अमेरिका बसाइँको क्रममा त्यहाँ देखेका र भोगेका यावत् कुरालाई प्रस्तुत गरेका छन् । ७१ ओटा लघुकथा रहेको उक्त संग्रहको आवरण निकै आकर्षक रहेको छ । एक मानवीय आकृति कुर्सीमा बसेर एकालाप गरिरहेको दृश्यले पाठकलाई किताबका पाना पल्टाउनबाट टक्क रोकाउँछ र सोच्न बाध्य बनाउँछ ।

लेखकका हर भावनामा लेखक एक्लै  आलाप गरिरहेको कुरा लघुकथामा प्रस्तुत गरिएको छ । सबै लघुकथाको शीर्षक एकबाट शुरू भएको छ ‌। पोखरेलले जीवनका घुम्तीहरूलाई एकसँग तुलना गर्ने जमर्को गर्नुभएको पाइन्छ । मानिसको भावना एक्लो छ, जीवनमा अनेकौं आफन्त इष्टमित्र साथीभाइसँग बिछोडिने र जोडिने क्रम जारी हुन्छ । अन्तत्व व्यक्ति एक्लै हो र एक्लै हुनुको बोध नै एकालाप हो भन्ने अर्थमा सम्पूर्ण लघुकथाको सामूहिक प्रतिनिधित्व हुने गरेर एकालाप शीर्षक राखिएको छ । जुन सान्दर्भिक छ ।

‘एकालाप’ भित्रका हरेक लघुकथा संक्षिप्त आयाममा रहेका र उम्दा देखिन्छन् । अध्ययन पश्चात पाठकलाई एक प्रकारको झड्का लाग्छ । ऊ  एकैछिन घोरिन बाध्य हुन्छ अनि मात्र एकैछिन मस्तिष्क मन्थन गरेपछि लघुकथाले  दिन खोजेको सन्देश पाठकले प्राप्त गर्दछ । यो विशेषताले भरिपूर्ण एकालाप भित्र पाठकले पनि एकैछिन एकालाप गर्नु पर्ने अवस्था देखिन्छ ।

परिवेशका रूपमा नेपाल, अमेरिकाका विभिन्न  स्थान  र समयका रूपमा दिउँसो, बिहान आएका छन् । कथानकले मागेअनुसारको परिवेश लघुकथामा पाइन्छ ।

लघुकथाभित्र अधिकांश पात्रमा कथाकार स्वयंको उपस्थिति भेटिन्छ । कृतिभित्रको कथानकलाई हेर्दा धेरै कथाहरू एक घटनामा संरचित छन् भने थोरै कथा मात्र दुई घटनामा घटित रहेका छन् । मानवीय जीवन जगतका भोगाइ समेटेर बिम्बात्मक रूपमा कथालाई टुंग्याउनु कथाकारको खुबी र कथाप्रतिको गहन अध्ययन भएको कुरा प्रष्टिन्छ ।

‘एकालाप’का विषयवस्तुमा विविधता भेटिन्छन् । यसभित्र विदेशी संस्कृति, रहनसहन, धर्म, प्रेम, राजनीति, मनोविज्ञान, दुःख, पीडा, सामाजिक विकृति, विसङ्गति, अमेरिकाको स्वतन्त्रता, विवाह, सम्भोग, डिभोर्स, महिला अधिकार, यौनकुण्ठा आदिलाई विषयवस्तु बनाइएको छ । जसरी बहुरङ्गी फूलहरूले बगैंचालाई  सुन्दर र आकर्षक देखाउँछ त्यसरी नै विविधतायुक्त विषयवस्तुको संयोजनले लघुकथासंग्रहलाई  सुन्दर बनाएको छ ।

यसमा लेखकले पात्र सम्पादनलाई विशेष ख्याल गरेको देखिन्छ । प्राय लघुकथामा लघुकथाकार (खेम) आफैं पात्रका रूपमा उपस्थित भएका कारण  लघुकथा थप जीवन्त बनेको छ । “जोनसले मलाई पनि कुर्सी देखाएर छुरीकाँटा दिँदै भन्यो, ‘खेम ! तिमी यहाँ बस ।’ ( एक अट्टहास : ७ ),

मानवीकृत समयले भन्यो, ‘ के समस्या पर्यो र मलाई सम्झिस्  खेम ?’ ( एक समय : ९),

मेरो रुन्चे र चौलानी जस्तो पयाँलो अनुहार देखेर भन्यो, ‘के भयो खेम ?’(एक यात्रा : १३),

जोन्सनले त्यहाँ उपस्थित सबैलाई सम्बोधन गर्‍यो र भन्यो, ‘खेम नेपालको हो ।’

परिवेश सुहाउँदा पात्रहरूको चयनले लघुकथालाई यथार्थ बनाएको छ ।

‘एकालाप’को बलियो पक्ष भनेको छोटाछोटा संवादहरू नै हुन् । सहज बोलीचालीको भाषा प्रयोग गर्दै लेखिएका लघुकथामा व्यङ्ग्य, प्रतीक र स्वैरकल्पना  शैलीको प्रयोगले लघुकथालाई सुन्दर बनाएको छ । अमेरिकाको बसाइ  भएकाले हुनसक्छ हाई ड्याड, गर्लफ्रेन्ड, वाईबर्थ, ह्यार्यास, टेन्सन, ह्याप्पी, स्कड, गिभिङ, चियर्स, रिलिजियस, एम्ब्यासडर, मर्सिडिज, लाइफ आदि ) को प्रयोग भएको पाइन्छ । यसले सामान्य पाठकमा अन्योल सिर्जना गर्नसक्छ ।

त्यसैगरी बिम्ब र प्रतीकको अधिक प्रयोगले सबै लघुकथाहरू बोधगम्य हुन सकेका छैनन् । एक वरदान, एक सिकन्दर, एक लाइफ, एक मुक्ति, एक फर्मूला जस्ता लघुकथाको भाव निकै चोटिलो भईकन पनि रसस्वादन गर्नका लागि पाठक केहीबेर घोत्लिनै पर्छ ।

सङ्गृहीत लघुकथामा स्वतन्त्रता, नारी हक-अधिकारको कुरा उठाउँदै आमजनतालाई समाज रूपान्तरणको पाठ सिकाउन कोशिश गरेका छन् ।

‘एक सूर्य’ले अमेरिकाको स्वतन्त्रतालाई छोरो मार्फत देखाइएको छ । बरु बाबुलाई आफ्नै जन्मभूमि पाकिस्तान पठाइदिने तर सम्पत्तिमा लोभिएर जिम्मेवारी नसमाल्ने छोराको भनाइबाट अमेरिकाको स्वतन्त्रतालाई स्पष्ट बुझिन्छ ।

‘एक पुल’मा देश प्रेमको भाव दर्शाइएको छ । आफू अमेरिकन माग्ने मान्छेको तुलनामा सम्पन्न भईकन पनि देश छोडेर हिंडेकोमा म पात्रलाई ग्लानि भएको देखिन्छ यो कुरा लघुकथामा यसरी प्रस्तुत गरिएको छ : “यो बेला मैले आफैंले आफ्नो देश काम नलाग्ने भनेर छोडेर अमेरिका आएको सम्झें ।”(४)

त्यसैगरी ‘एक भेद’मा मान्छेले लिङ्गका आधारमा विभेद गर्ने गरेको कुरालाई देखाइएको छ । महिला वर्गले प्रकृतिले दिएको अधिकार समेत पुरुषले दिएको ठानी पुरुषको भर परेकाले कहिल्यै स्वतन्त्र हुन नसकेको कुराप्रति व्यङ्ग्य गरिएको छ । ‘एक अट्टहास’मा सबै ठाउँ र परिवेशमा एउटै खानपान र व्यवहार नचल्ने कुरालाई चित्रण गरिएको छ ।

‘एक समय’मा सर्वे सरुवा मानिएको समयसँग पनि आफ्नो भविष्यवाणी छैन भन्ने कुरा “मनुष्य ! म बलवान छु । तर स्वयं मैलाई यसका बारेमा केही थाहा हुँदैन ।”(१०) प्रस्तुत गरेबाट स्पष्ट देखिन्छ । ‘एक अस्तित्व’ मा जति नै सुखसुविधा, माया, प्रेम, आरम, ऐस, सम्पत्ति पाए पनि घरमा मात्र सीमित हुने नारी एक किसिमको कैदी  भएको कुरालाई प्रस्तुत गर्दै नारी स्वतन्त्रतालाई जोड दिइएको पाइन्छ।

‘एक यात्रा’ मा जिन्दगी एक यात्रा भएकाले यात्राका क्रममा भेटिएका स्वार्थी यात्री  र जीवनमा कुनै पीरचिन्ता नलीकन आनन्दका साथ अगाडि बढ्नुपर्ने कुरालाई प्रस्तुत गरिएको छ । ‘एक विजय’ले नारी हक अधिकारका लागि हिजोको परम्परामा साथ दिने र पुरुषसत्ताको पछि लाग्ने गलत कार्य महिलाले गरिरहेसम्म आममहिला वर्गले परम्परादेखि बोकेर ल्याएको आफ्नै वैचारिक लाशमाथि विजय प्राप्त गर्न सक्दैनन् तबसम्म उनीहरूको स्तर माथि उठ्न सक्दैन भन्ने यथार्थतालाई प्रस्तुत गरेको छ ।

‘एक सिर्जना’ मा मानिसको तन एउटा मात्र भए पनि उसले अनेक सिर्जना गर्न सक्छ अरूलाई आदर्शको पाठ पढाउने मानिस आफै गलत काम गरिरहेको हुन्छ । उसको अनेक रूप हुन्छ र उसलाई अनेक संज्ञाले चिनिन्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

‘एक पीडा’ मा एनआरएनको चुनावमा मानिसले देखाएको कुकुर बिरालोको व्यवहारले शिर झुकाउनु परेको वास्तविकतालाई प्रस्तुत गरिएको छ । ‘एक भर्जिन’मा नेपालको संस्कार बेग्लै भएको तर अमेरिकामा विवाह अगाडि नै शारीरिक सम्भोग गर्ने कुरा सामान्य भएको यथार्थ  प्रस्तुत गर्दै नेपालमा पनि चालीस वर्षमा विवाह गर्ने केटो भर्जिङ नबसेको कुरा प्रस्तुत गरिएको छ ।

‘एक लाश’मा नेपाल सरकारले मानवीय अस्तित्वलाई नबुझेको प्रसङ्ग उठाउँदै धेरैको मृत्युबाट बनेको सरकारले राम्रो काम गर्न नसकेको प्रति व्यंग्य गरिएको छ । ‘एक आनन्द’मा विगतका कुरालाई सम्झेर रमाउनुपर्ने यथार्थ देखाउँदै यहाँ समाजले हेर्ने दृष्टिकोण तथा यथार्थको परिवेश फरक हुने कुरालाई प्रस्तुत गरिएको छ।

‘एक आरक्षण’ मा महिलाको नाममा आरक्षण दिने गरेको तर महिलालाई चाहिने शक्ति, अधिकार, अवसर र महिला अस्तित्व चाहिँ आफ्नै हातमा राखिएको यथार्थताप्रति तीखो वाण हानेका छन् लेखकले । ‘एक पश्चगमन’ मा महिला उन्मुक्तिको बाधक महिला नै हो किनकि पुरुषले गर्ने निर्णयमा आफ्नो अलिकति पनि हिस्सा नखोज्ने महिलाको प्रवृत्ति नै महिला पछि पर्नुको मुख्य कारण हो भन्ने कुरा यसरी प्रस्तुत गरिएको छ : “जेसिकाले मुन्टो ठाडो पारेर भनिन्, ‘महिलाका लागि पनि पुरुषले गर्ने निर्णय र निर्णयमा आफ्नो सेयर नखोज्ने महिला प्रवृत्ति नै पश्चगमन हो र महिला उन्मुक्तिको बाधक हो ।’ (४८)

‘एक घर’ मा अमेरिकामा सातौं पुस्तादेखि आफ्नो घर नभए पनि मानिस खुशी हुने तर नेपालमा भने मानिसलाई जीवनभरको एउटै चाहना घर रहेको हुन्छ । नेपाली र विदेशीका घरप्रतिको दृष्टिकोण यहाँ प्रस्तुत गरिएको छ । ‘एक दान’ मा आफ्ना वृद्ध आमाबुबालाई बाचुन्जेल सन्तानले ख्याल नगरेको तर मरेपछि दान, भोज भतेर गरेर पुण्य कमाउँछु भनी गरेका कार्यप्रति कथाले झटारो हानेको छ ।

‘एक चस्मा’ ले गुन्डा र आतंकवादीले गाडीमा आगो लगाइदिएर मानिसको मृत्यु हुँदाखेरि मृतकको परिवारलाई सरकारले नहेरेको यथार्थ प्रस्तुत गर्दै आँखाको उपचार गर्ने डाक्टरलाई त सरकारले नहेरेको अवस्थामा  एक वृद्ध महिलालाई सरकारले कसरी देख्छ भन्ने यथार्थ कथामा प्रस्तुत गरिएको छ । ‘एक मनोविज्ञानमा’ महिलाको मनोविज्ञान सिग्मण्ड फ्रायडले समेत जान्न नसकेको यथार्थतालाई “फ्रायडले भन्यो, ‘उफ, मान्छे !  मैले जिन्दगीभरि महिलाको मनोविज्ञान जान्न खोजें ।  जानेको भए म किन महिलाविहीन हुन्थे ?'(८८) भन्दै रहस्यपूर्ण व्यक्त गरेका छन् ।

यसरी लघुकथाले समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वासप्रति व्यंग्य गरेका छन् । महिला अधिकार र स्वतन्त्रतालाई घन्काएका छन् र प्रगतिवादी स्वरलाई बुलन्द बनाएका छन् ।

पृथक विषयवस्तुलाई आकर्षक तरिकाले प्रस्तुत गरिएको उक्त लघुकथासंग्रहमा अमेरिकाको परिवेशमा लेखिएका लघुकथाहरू धेरै छन् । समसामयिक विषयवस्तुलाई आफ्नो तीखो कलमले फरक शैलीबाट गहकिला सन्देश छर्न सफल छन् लघुकथाकार । विदेशी संस्कृति, त्यहाँको रहनसहन, सामाजिक अवस्था र आधुनिक युगमा बढ्दै गएको सम्बन्ध विच्छेदको समस्यालाई प्रस्तुत गरिएको उक्त लघुकथा संग्रहमा मानिसभित्रको यौनकुण्ठलाई चित्रण गरिएको छ भने देश प्रेमको भावनालाई पनि प्रस्तुत गरिएको छ ।

हरेक पाठकलाई दोहोर्‍याई तेहर्‍याई पढ्न प्रेरित गर्ने लघुकथाकारको यो जस्तै लघुकथाकृति बारम्बार जन्मिरहुन् हार्दिक शुभकामना ।