“सम्बोधिका मेरो हृदयमा कोरिएको बिम्ब हो । कतै मूर्त, कतै अमूर्त । धेरैजसो वास्तविक, केही काल्पनिक ।” यो मुक्तककारको बकपत्र हो । सम्बोधिका ईश्वरमणिको हृदयमा कोरिएको त्यस्तो बिम्ब हो, जो मूर्तताको महलमा अमूर्तताको लिउनले लिपिएको छ ।

मुक्तककार ईश्वरमणि अधिकारी साहित्यिक फाँटमा नौलो नाम हैन । यसभन्दा पहिल्यै “समयको तस्बिर“ कवितासङ्ग्रह र “हृदयको आलाप” गजलसङ्ग्रह प्रकाशित गरेर आफूलाई चिनाइसकेका छन् । पोखरेली युवा सांस्कृतिक परिवारसँग लामो समयसम्म आबद्ध भएका मात्रै हैनन्, नेतृत्व समेत दिएर आफ्नो साङ्गठनिक कुशलता देखाइसकेका छन् र अहिले पोखराका साहित्यिक प्रेक्षालयहरूमा सशक्त समालोचकको रूपमा पनि ख्याति कमाइसकेका छन् । उनको दोस्रो कृति प्रकाशनको लामो अन्तरालपछि तेस्रो कृतिका रूपमा प्राचीनकाल देखिकै लोकप्रिय विधा मुक्तक सङ्ग्रह ल्याएका हुन् ।

पद र पहुँच रहुन्जेल मान सम्मान हुन्छ 

चर्चा, प्रतिष्ठा, पुरस्कार र मङ्गलगान हुन्छ 

जिन्दगीबाट यी सब घटाउनुस् महोदय 

अब जति बच्छ, त्यही नै पहिचान हुन्छ ।

सङ्ग्रहको पहिलो मुक्तक नै यति सशक्त भएपछि अरू मुक्तक कस्ता होलान् भनेर उत्सुकता जाग्नु स्वाभाविकै हो । जीवनको ठोस यथार्थ पनि यही नै हो । पद र शक्तिमा छउन्जेल मानिसले अरूलाई छ्यास्सै मान्दैन । तर पद फुत्केपछि एक्कासि आकाशबाट धर्तीमा झरेजस्तै महसुस हुन्छ । फुक्लेको हलो झैँ हुन्छ । फलस्वरूप के हुन्छ ? त्यो व्यक्तिपिच्छे फरक भोगाई हुनसक्छ ।

मुक्तकका बारेमा स्रष्टा आफैँ बोल्न रुचाउँदैनन् ।  केवल यति भन्छन् कि “मुक्तकहरू नै बोल्नेछन् । म आफूसित संवादका लागि अक्षरहरूको आराधना गर्छु ।” तर उनका मुक्तकहरू भने बोल्नुपर्ने कुरा बोलिरहेका हुन्छन् । कतै प्रत्यक्ष रूपमा र कतै परोक्ष रूपमा । कतै नरम भाषामा, त कतै कडै भाषामा । तर उनका बहुसङ्ख्यक मुक्तकहरूले प्रेमको भाषा नै बोल्छन् । किनभने यो सम्बोधिका हो । ईश्वरमणिकी सम्बोधिका । तैपनि केही मुक्तकहरूले राजनीति पनि बोल्छन् र जीवन दर्शन उनका मुक्तकहरूको आधारभूमि हो । हुन त सङ्ग्रहको नामबाटै बुझ्नेले कुरा बुझिहाल्छन् कि यो सङ्ग्रह “प्रेम गीत “ हो ।

आँखा-आँखा जुध्नु र मन पराउनु एकसाथ थियो

तिमी मुस्कुराउनु र जून उदाउनु एकसाथ थियो

घरीघरी सम्झिन्छु र झन् रोमाञ्चित हुन्छु म

मैले घुम्टो खोल्नु र तिमी लजाउनु एकसाथ थियो ।

प्रेममा यस्ता रोमाञ्चक क्षणहरू मात्र हुँदैनन् । गुनासो, घुर्की, ईर्ष्या, बेचैनी, वियोग, राग-विराग, छलकपट, कुण्ठा , भोगेच्छा आदि अनेक भावहरू हुन्छन् र सङ्ग्रहका मुक्तकहरूले सबै भावहरू प्रकट गर्ने कुरामा कञ्जुस्याइँ गरेका छैनन् । सङ्ग्रहमा रुवाई शैलीका मुक्तकहरू मात्र सङ्ग्रहित गरिएको छन् । अहिले नेपाली मुक्तक जगतमा रुवाइ शैलीका मुक्तकहरूकै वर्चस्व देखिन्छ । हुनु पनि स्वाभाविकै हो ।

किनभने मुक्तकका बारेमा गरिएको “पोखरा घोषणा-२०६५”ले रुवाइ शैलीलाई मानक मुक्तक मानेको छ । यसले मुक्तकलाई एउटा घेरोमा बाँधेको छ । जसलाई अनुशासनको सीमारेखा पनि भन्न सकिन्छ । रुवाइ शैली आजभन्दा अठारसय वर्ष पहिला अरबी कवि रौदकीले प्रयोग गरेका हुन् । तर यसलाई प्रसिद्धि दिलाए उमर खैयामले । भारतसम्म आउँदा यो रुवाइ नै रह्यो । नेपालमा पसेपछि मुक्तक नाम लिन पुग्यो ।

हुन त मुक्तक शब्दका लागि हामी अरबी या फारसीहरूको ऋणी हुनुपर्ने कुरा छैन । किनभने मुक्तक शब्द र अर्थ पूर्वीय वाङ्गमयका विद्वानहरूले दिने मात्र हैन, व्यापक प्रयोग पनि गरिसकेका थिए । मुक्तक शब्द नै “मुक्त” शब्दमा “कन्” प्रत्यय लागेको र मुक्त अर्थ स्वतन्त्र हुने भएकोले यो स्वतन्त्र विधा हो । एक श्लोकदेखि सात आठ श्लोकसम्मको लघु काव्यलाई मुक्तक मानिएको छ ।

आकाशमा बिजुली चम्केर जगतलाई चमत्कृत गरे झैँ चमत्कृत पार्ने लघु काव्यलाई मुक्तक भनिएको छ र ऋग्वेददेखि नै यस्ता काव्य लेखिँदै आइएको छ । त्यसैले मुक्तकका विषयमा अध्ययन र अनुसन्धान गर्ने विद्वानहरू चतुष्पदीय रुवाई शैलीलाई मात्र मुक्तक मानेर सीमित घेरामा कुण्ठित पार्न चाहँदैनन् । तैपनि स्रष्टाहरू भनेँ यसै शैलीलाई मानक मानेर मुक्तक लेखनको अभ्यास गरिरहेका छन् । तर हामीले भुल्न हुँदैन कि साहित्यकार स्वयं अनुशासित प्राणी नभै विद्रोही प्राणी हो । नियम भङ्ग गरी बेनियममा चल्नु उसको धर्म हो ।

मुक्तककार ईश्वरमणिका मुक्तकहरूले रुवाइ शैलीलाई आत्मसात् गरे पनि चारै पङ्क्ति मिटरमा भनेँ लेखेका छैनन् । उनले आफ्नै शैली र लयमा लेखेका छन् । उनका मुक्तक प्राविधिक रूपमा रुवाई शैलीमा लेखिएको भए पनि भावगत रूपमा हेर्दा हाइकुका नजिक भएको अनुभूति हुन्छ । किनभने सर्सर्ती पढ्दा भन्दा ध्यान दिएर गहिरोसँग पढ्दा लामो समयसम्म लट्ठ्याइरहने स्वाद भेटिन्छ । कतिपय मुक्तकहरूमा गहिरो जीवन दर्शन पनि पाइन्छ । जस्तै,

ऊ जे देखिन्छ, त्यो ऊ होइन

ऊ जे लेखिन्छ, त्यो ऊ होइन

सङ्गत गर्नेहरू प्रायः यसै भन्छन्

ऊ जे भेटिन्छ, त्यो ऊ होइन ।

गणितमा विद्यावारिधि गरेका स्रष्टा साहित्य र दर्शन भनेपछि भुतुक्कै हुन्छन् । त्यसैले उनीभित्र साहित्य छ र साहित्यभित्र दर्शन छ । तर राजनीति पनि उनको रुचिको विषय हो । त्यसो भएकोले सङ्ग्रहभित्र देश र राजनीति नबोल्ने त कुरै हुँदैन । वर्तमान घातप्रतिघात, अविश्वास, भ्रष्टाचार, दुराचार, विसङ्गति, निराशा, त्रासदी, गुनासो, सामाजिक बेचैनी , युवा पलायन आदिलाई छेड हान्ने मुक्तकहरू पनि प्रशस्तै छन् । यो कृति हरेक कोणबाट हेर्दा पठनीय र सङ्ग्रहणीय मानक मुक्तक कृति हो भन्ने मेरो ठम्याइ छ ।

जाँदाजाँदै यौटा वीर रसले भरिएको मुक्तक पस्किन्छु यस सङ्ग्रहबाट…

जहाँनेर लडायौ, त्यहीँनेर टेक्छु र ठडिन्छु

जहाँबाट धकेल्यौ, त्यहीँ फर्कन्छु र अडिन्छु 

छुरा लुकाएर बगलीमा, कति ढुक्छौ बाटो

सक्छौ आऊ, निर्धक्क तिम्रै अघि उभिन्छु ।