
“विसं २०८२ असार २८ गते शुक्रवार राति छाउगोठमा सर्पले डस्दा कृष्णपूर नगरपालिका वडा नम्बर -१, निगाली, बस्ने २८ वर्षीय कमला दमाईको मृत्यु” – समाचार देशभर र देशबाहिरका मिडियामा छापिन्छ, विभिन्न तर्कवितर्कहरू हुन्छन्, केही लेखहरू छापिन्छन् कुनै पत्रिकाहरूमा सन्देशमूलक कार्टून पनि छापिन्छन् केही दिनपछि हेडलाइन र सामाजिक सञ्जालका पोस्टहरूले बिस्तारै अर्को लय समात्छन् ।
त्यसको दुई महिना पनि नबित्दै भदौ १३, २०८२ मा अर्को समाचार देशैभरि फैलिन्छ “पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका -६ का गोरे भण्डारीकी ७ वर्षीय छोरी कविताको छाउगोठमा सुतेको बेला ढुङ्गाले किचेर मृत्यु । उक्त घटनामा घाइते भएकी आमालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ ।”
आजकल छाउपडीका समाचार पनि राष्ट्रिय दैनिक र बीबीसीले छापिरहन्छन् । हामी त त्यो समाजबाट आउँछौं जहाँ महिनावारी भएको बेला किताब छुनुहुँदैन सरस्वती माता रिसाउँछिन् भनेर सिकाइन्थ्यो । देश त पूरै छुइएछ, मन्दिर, भण्डार, देवालय, शक्तिपीठ कताकता पुगिसक्यो होला छाउपडीको हावा । बस् मनमनै बोलिरहेँ । खासै बोल्न मन थिएन । खबर नौलो पनि थिएन ।
कानूनी व्यवस्थामा कागज छाउपडीले रङ्गिएको इतिहास चाहिँ यसअघि नै छ भन्ने जानकारी भने मलाई थियो । सर्वोच्च अदालतद्वारा छाउपडी प्रथा रोक्न सरकारलाई आदेश मिति: विसं २०६२ वैशाख १९ गते । तत्कालीन श्री ५ सरकारद्वारा छाउपडी प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आदेश मिति: वि.सं २०६२ वैशाख २६ गते । आदेश दिएर पनि नमानेपछि कसको के लाग्यो र ? राज्यले दिने भनेको आदेशै त हो गर्ने भनेको घोषणा नै त हो ।
राज्यले फिल्डमा गएर काम गरेन भन्ने व्यङ्ग्य गरेको लाग्यो होला, होइन ? अब, दुईवटा थप समाचारहरू सुनाउँछु । वि.सं २०७६ साल माघ ७ गते ‘राष्ट्रिय दैनिकहरू फेरि छाउ हुन्छन्’ र छाप्छन् समाचार, “महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहितको टोलीको उपस्थितिमा छाउपडी प्रथा अन्त्यका लागि जारी भएको घोषणापत्रमा माघ १५ गतेभित्र अछाम जिल्लाका सबै वडा, फागुन १५ गतेभित्र सबै पालिका र फागुन मसान्तभित्र जिल्लालाई पूर्ण छाउपडी मुक्त जिल्ला घोषणा गर्ने उल्लेख गरिएको हो ।” फलस्वरूप: नेपालको पहिलो पूर्ण छाउपडी मुक्त जिल्ला अछाम बन्यो । आयोगका परीक्षाको लागि एउटा सामान्य ज्ञानको प्रश्न थपियो । प्रश्न उठ्यो होला तपाईंको मनमा अछाम पूर्ण छाउपडी मुक्त जिल्ला २०७६ मै घोषणा भइसक्दा २०८२ सम्म आइरहने छाउगोठ र सर्पदंशका घटना के हुन् त फेरि ? पञ्चदेवल विनायक नगरपालिका अछाममा पर्दैन ? म दोस्रो प्रश्नको जवाफ दिन्छु, “हो पर्छ ।”
२७ फेब्रुअरी २०२१ मा बीबीसी न्युज नेपालीले बोल्ड लेटरमा सरकारको बोल्ड कार्यान्वयनको खबर छाप्छ, “गत वर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ ।”
अब कसले भन्छ सरकार ‘एक्सन ओरिएन्टेड्’ भएन भनेर ? छाउगोठ भत्काएर पनि नहट्ने कस्तो जिद्दी छाउपडी रहेछ । शायद, सरकारको छाउपडी अन्त्य गर्नुपर्ने घोषणा कार्यान्वयनमा केही कसुर छोड्यो कि सम्बन्धित निकायहरूलाई कार्यान्वयन गराउन आदेशपत्र जारी गर्न चुक्यो कि ?
मिति २०७५/१२/१० मा राष्ट्रिय मानव अधिकार आयोगले च.नं १८०९ को पत्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा उल्लेख गरेको विषय छ, “छाउपडी प्रथा अन्त्यका सम्बन्धमा नेपालको संविधान तथा अन्य प्रचलित कानूनको व्यवस्था गरेका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न,गराउन… ।”
विसं २०७५/१२/१४ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा, लाई “सिफारिस कार्यान्वयन गर्ने सम्बन्धमा” आदेशानुसार अनुरोध गर्दछ । मिति २०७६ वैशाख २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा, ले च.नं ५८३ को पत्र मार्फत सुदूरपश्चिम र कर्णालीका सबै स्थानीय तहहरूलाई आदेशानुसार निर्णय कार्यान्वयनको अनुरोध गर्दछ ।
यी अध्ययनलाई सामग्री मानेर हेर्दा सरकारलाई धेरै दोष लगाइहाल्नुपर्ने कारणहरू देखिँदैनन् । राज्यका तीन वटै अङ्गहरू संवेदनशील भएकै देखियो । नीति निर्माण, कार्यान्वयनको लागि पहल, छुवाछूत विरुद्धको संवैधानिक व्यवस्थाको व्याख्या गरेकै छ । संविधानकै धाारा ३८ मा महिलाको हक छ, राष्ट्रिय महिला आयोग छुट्टै संवैधानिक निकायको रूपमा कार्यरत छ । सरकारले आधारभूत शिक्षा अनिवार्य र नि:शुल्क गरेकै छ, माध्यमिक शिक्षा नि:शुल्क छ । प्रत्येक विद्यालयमा सेनिटरी प्याडहरू नि:शुल्क वितरण हुन्छन् ।
अशिक्षाकै कारणले छाउपडी बढी प्रचलनमा छ भन्ने अर्को भाष्य निर्माण गरिएको छ । म दुई वटा घटना सुनाउँछु । केही वर्षअघि एउटा पसलमा म प्याड किन्न जाँदा एक जना छात्रा आफ्नो समाजशास्त्रको शोधपत्र तयार गरिरहेकी थिइन्, जब प्याड लिएर पैसा हातमा दिन खोजेँ उनले आफू व्रत बसेको भएर मलाई पैसा टेबलमा राख्न भनिन् । म फेरि आफ्नो बाल्यकालमा फर्किएँ ।
एक पटक म मीतआमाको घर जाँदा साउनको महिना बिहानै उहाँ घाममा घाँस सुकाइराख्नुभएको थियो । गाई भोकले कराइरहँदा पनि घाँस गाईलाई नदिएर सुकाउनुको कारण सोध्दा थाहा भयो घाँसमा शीत परेको रहेछ । शीत परेकै घाँस गाईलाई दिइयो भने जुनजुन देउताको थानमा गाईको दूध चढाइन्छ ती देउताहरू रिसाउँछन् । एक पटक यसरी नै ‘लसपस’हुँदा गाईले एक हप्तासम्म दूधको सट्टा रगत दिएको कुरा पनि सुनाउनु भयो । मैले पनि घाँस सुकाउन सघाएकी थिएँ । यी दुई घटनामा शिक्षितले मान्छेलाई गरेको व्यवहार र अशिक्षितले गाईलाई गरेको व्यवहारमा मैले खासै फरक देखिनँ ।
पोहोर साल डोटीबाट धनगढी फर्किँदा एक जना म्यामसँग भेट भयो । स्थायी शिक्षक भएर गएको तीन वर्ष बितिसक्दा पनि कार्यक्षेत्रमा एक पटक पनि महिनावारी नभएको सुनाउनुभयो । उहाँको बच्चा सानै भएकोले एक्लै सुत्न पनि नसक्ने बच्चासँगै गोठमा सुत्न पनि सर्पको र जङ्गली जनावरको डर हुने, फेरि महिनावारी लामो बिदा भए घर जान मिल्ने, यसको लागि मेडिकल सहयोग लिने कुरा बताउनुभयो । यो सुन्दा मन फेरि दुख्यो ।
गाउँमा छाउगोठ सरकारले भत्काए पनि कुखुराको खोरहरूमा सर्पजस्तै घिस्रिएर भित्र पसेर निधार र घुँडा एकापसमा ठोक्किने जस्तो गरी दोब्रिएर प्रत्येक महिना ४ रात महिलाहरूले खोरमा बिताउने कुरा अझै सामान्य छन् । छाउगोठ र कुखुराको खोरमा पनि ‘इन्ट्रा’ छाउपडी कायमै रहेको छ । छाउ भएकी बुहारीलाई छाउ भएकै सासूले छुन मान्दिनन्, आमाले छोरीलाई छुँदिनन्, कथित उपल्लो जाति र कथित तल्लो जातिको महिलाको महिनावारीमा पनि विभेद छ । अरू कुरा छोड्नुस् धनी र गरीबको छाउपडीमा नि विभेद छ ।
पहिलो भेटमा पहिलो प्रश्न पुरुषलाई के सोधिन्छ मलाई थाहा छैन । महिलाहरू सुदूरपश्चिमको पहाडी भूभागमा जानुभयो भने पहिलो प्रश्न आउँछ “चोखी हौ कि ?” यसको मतलब महिनावारी भएको त होइन । मलाई लागेको थियो म डोटी जिल्लाको विकट ठाउँबाट माध्यमिक तह पास गरेर धनगढी, काठमाडौं हुँदै त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागबाट स्नातकोत्तर गरिसक्दा र डोटी जिल्लाकै विकट बस्तीमा माध्यमिक तहको स्थायी शिक्षक बनेर जाँदासम्म समाज परिवर्तन भयो होला । म पहिलो पटक महिनावारी डोटीमा हुँदा जुन अवस्था थियो आज लगभग १६ वर्षसम्म पनि अवस्था त्यस्तै रहेको देख्दा मलाई साँच्चिकै लाग्छ समाज बदल्ने जिम्मा हाम्रै काँधमा रहेछ । हामीले ठाउँ छोड्दैमा समाजले नयाँ आकार नलिने रहेछ ।
म पहिलो पटक महिनावारी हुँदा छाउगोठमा बस्नु नपरे पनि घरभित्रकै एक कुनामा छुट्टिएर, आफू बाहेक कसैलाई नछोएर (रूख, फलफूल, धारा, साग, तरकारी, भान्सा, देवीदेउताको मूर्ति आदि/इत्यादि ) लगभग १२ दिन बसेँ । भान्सा र पूजा गर्ने ठाउँ २२ दिनपछि मात्रै छुनुपर्छ भन्ने मान्यता पछ्याउँदै गर्दा २४ औँ दिनमा फेरि दोस्रो पटकको महिनावारी भएँ र १३ दिनसम्म दोस्रो पटक अलग्गै बस्नुपर्यो । यसरी म ‘एक महिनामा ३५ दिन छाउपडी’ बारेर बसेँ ।
यही कुरा एउटा ठाउँमा सुनाउँदै थिएँ । मेरो कुरा सुन्नुभएछ एक जना ‘भद्र पुरुषले’ । उहाँको मप्रतिको कटाक्ष थियो, “कवि बनिसकेपछि तिमीहरूको काम नै स्टन्ट गर्ने रहेछ । जहिल्यै महिलामाथि विभेद भयो अन्याय भयो भनेर विवाद गर्दै हिँड्ने । तिमीहरू जस्ता साहित्यकारले देश बनाउँदैनौं म लेखेरै दिन्छु । यही पारा रहिराख्यो भने समाजको कुनै पुरुषले झेल्न सक्दैन ।”
ती मान्छे उच्चपदस्थ कर्मचारी थिए त्यो बेला । त्यसैले म भन्छु सिकाइबाट व्यवहारमा परिवर्तन नआउन्जेलसम्म कुनै व्यक्तिलाई शिक्षित नभनी हालौँ ।
छाउपडी उत्कर्षमा रहेको स्थानमा बसेर शिक्षा क्षेत्रमा काम गर्न थालेको एक वर्ष बितेछ । आशा लाग्दा कामहरू पनि भएका छन् । महिलाहरू नेतृत्वमा आएको देखेकी छु । सामाजिक कुरीति विरुद्धका मुद्दाहरूमा पुरुष संलग्नता पनि त्यत्तिकै छ । कक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । विद्यालयले नि:शुल्क सेनिटरी प्याडहरू वितरण गर्छ/ हामी गर्छौं । चार दिनसम्म किताब छुनुहुन्न भन्ने सोचाइ परिवर्तन भएर हामी यत्तिसम्म पुगेका छौं । शिक्षाको महत्त्व साँच्चै बुझ्न थालेका छन् मान्छेहरूले । घरदेखि विद्यालय आउने बाटोमा जङ्गल पर्ने ठाउँका विद्यार्थीहरू जङ्गली जनावर विशेषतः भालुको आक्रमणको डरले हिउँदमा किताबसँगै झोलामा ठूलो हँसिया बोकेर आउँछन् तर पढ्न चाहिँ आउँछन् । हामीले आशा गरेको समाज बन्नेछ र हामी बनाउँदैछौं जस्तो पनि लाग्छ ।जब हामी आफू एक्लै हुँदा पनि आफैसँग भित्री मनदेखि नै महिनावारी कुनै पाप, श्राप र अपराध होइन भनी हृदयङ्गम गर्ने अवस्थामा पुग्छौँ तब कुनै कानून, ऐन नियम र सजायको आवश्यकता पर्दैन जस्तो लाग्छ । महिलाभित्रको पितृसत्ता र महिला हुनुमै रहेको ग्लानि भाव कम भइदिने हो भने पनि यो कुरीति अलिक छिटै हटेर जानेछ । छाउगोठ भत्काउनु भन्दा सुरक्षित राखिनुपर्छ । हामीले पछिल्लो पुस्तालाई सिकाउनु छ विचार निर्माणको आधार र हामीले तय गरेको सभ्यताको दूरी ।
कसैलाई कानूनी दण्डसजाय दिएर मात्रै छाउपडी रोकिने कुरामा पनि मलाई त्यति विश्वास छैन । ‘पार्किङ निषेध’ लेखिएको ठाउँमै सबैभन्दा बढी सवारीसाधन पार्किङ गरिने, ‘थुक्न मनाही’ लेखिएकै कुनाहरू थुकले भरिएको हामीले देखिरहेकै हुन्छौं ।छाउपडीविरुद्धको अभ्यास र कानूनी कार्यान्वयनमा पनि यही उदाहरण लागू भएको हो । पहिला मस्तिष्कमा भएको छुवाछूत र विभेद भत्काउनु जरूरी छ । हामी बौद्धिक रूपमा ‘छाउ’ भएका हौं, हाम्रो चेतनामा छाउपडी छ ।
भाषा, साहित्य, लोकबाजा, लोकसंस्कृति, प्राकृतिक सुन्दरता र ऐतिहासिक गरिमाले भरिपूर्ण सुदूरपश्चिम, संस्कृति भित्र लुकेका कुरीतिहरूको अन्त्य गर्दै सुन्दर सुदूरपश्चिम तथा भू-स्वर्गको आफ्नो पहिचान संरक्षणमा अब्बल रहिरहने कुरामा कुनै फरक मत छैन । शक्तिपीठ र देवीहरूको भूमि सुदूरपश्चिम बिस्तारै बुझ्दै जानेछ शक्ति र सृष्टिको सम्बन्ध । एक दिन हामी छाउगोठभित्रै बाट शुरू गर्नेछौं शक्तिको दीप प्रज्वलन । र, कहिल्यै घुम्न जानु नपर्ने सुरक्षित सङ्ग्रहालयको रूपमा रहनेछन् छाउगोठहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

