सायद घडीलाई पनि हतार हुँदो हो समय बिताउन त्यही भएर सेकेण्ड काँटा निरन्तर छट्पटाइ रहन्छ। प्रत्येक मिनेट, मिनेट काँ
टालाई नयाँ ठाउँमा सारिरहन्छ। लामो समयको मेहनतपछि घण्टा काँटालाई पनि एक खुड्किलो सर्न बाध्य पार्छ तर आज घडीको अल्छीपन हो कि मेरो सोचाइको हो, समय कति पनि दौडेको छैन ।
जसो तसो घिस्रिएर घडीको काँटाहरू साढे बाह्रतिर दगुर्दैछ। मानौं सेकेण्ड काँटा छ्याक छ्याक गर्दै कराएर अर्को दुई काँटालाई पनि सँगै कुद्ने हौसला दिइरहेको छ तर ती दुई घमण्डी छन् अर्थात उनीहरूको अस्तित्व नै यही हो, अर्थात उनीहरू आफ्नो क्षमताभन्दा अघि बढ्न सक्दैनन् कि त आफ्नो जिम्मेवारी मात्र पुरा गर्छन् या भनौं उनीहरुलाई थाहा छ कि जति चुरिफुरी गरे पनि कोही आफ्नो क्षमताभन्दा बाहिर जान सक्दैनन्। यस्ता नानाथरीका कुरा मनमा खेलाएर रातिसम्म बस्नु मेरो निद्राको शत्रु हो। यस्ता विभिन्न शत्रुसँगै राति अबेरसम्म बस्नु चुरोटको मात्रा पनि बढ्नु हो ।
लगभग रातको एक बज्दो हो । कोठाको झ्यालको पर्दा खोलेर हेरेँ । सडकका बत्तीहरु एकनासले भुइँतिर टुलुटुल हेरिरहेछ । कुनै बत्ती त्यही घुम्ने किरा फट्याङ्ग्रालाई जिस्क्याउनु हो कि त बिग्रिएको हो, झिपिकझिपिक गर्दैछ। चारैतिर सुनसान सडकका कुकुरहरु पनि शान्त थिए । वरपरका सबै घरका झ्यालहरु अन्धकार । अलि पर तेस्रो तल्लाको छेउको झ्यालमा मधुरो प्रकाश भित्रबाट छरिएको छ। त्यहाँ पनि अर्को कोही मजस्तै व्यक्ति छ अर्थात कुनै जोडी अझै पनि रात्रि क्रिडामा तल्लीन छन् । बाइकमा एक जोडी टाँसिएट हावामै हुर्रिएर गयो । सडकका कुकुरहरूले उठेर एक शब्द भुक्न पनि भ्याएनन् ।
रातको समय चिसो हावाको एक झोक्का झ्यालबाट कोठाभित्र छिर्यो । झ्याल बन्द गरेँ । अब झ्याल बन्द गरेर कोठाभित्र बस्नु फेरि एउटा चुरोट सल्किनु थियो। बत्ति निभाएर जबरजस्ति आखाँ चिम गरेर सुत्नु ओछ्यानसँग जिस्कनु जस्तै थियो । एक चुरोट तानेर सुत्ने निर्णय गरेँ । चुरोट सल्काएँ। दुई पनि नतान्दै फेरि दिउँसोको घटना याद आयो । चाबेलको अस्त-व्यस्त सडकमा बाटो काट्दा मेरो साथसाथै हिँडेकी युवती । को हुन् उनी ? म किन सम्झिऊँ र उनलाई ? बाटोमा भेटेको सबैलाई सम्झेर पनि हुन्छ ? के सबै बटुवाको परिचय खोजु ? अँह तर उनको याद आयो। सेतो जुत्ती,सेतो सुवाल, गुलाफी रंगको कुर्ता, सेतै सलमा सज्जिएर यौवनको मातसँगै हिँडेकी ।
गाडीको डरले हो या मसँग हतासिएर हो बाटोबिचमा मेरो नाडी समात्छे । ओठको मधुरो लाली, गाजल लगाएझैँ कुइरा आँखा, स्पष्ट देखिने गालाको कालो तिल अनि थोरै हाँस्दा देखिने मिलेका दन्त लहर अनि मसँग टाँसिएर हिडेँकी। ओहो ! कसको नजर नअड्किएला एक पटक । वसन्तमा फेरिँदै गरेको नयाँ पालुवा र चैत वैशाखको हुरीबतास, बर्खाको भेल जसरी उर्लिएर आएको जवानी जो कोहीलाई पनि बगाउन सक्थ्यो। उनको मुलायम हत्केलाको स्पर्शले मलाई तरङ्गित बनायो । त्यही स्पर्श सम्झेर म चरम आनन्दमा पुग्न सक्छु । उसको आँखा सम्झेर म लोलाउन सक्छु । हो, उसको लजालु मुस्कान सम्झेर टोलाउन सक्छु।
लगभग बिस-पच्चिस सेकेण्डको समयले मलाई क्षितिजको दुरी पार गरी महासागरको गहिराइमा पुरायो । ऊसँगको केही सेकेण्ड समय मलाई घण्टौ बिताउन मन छ । ऊसँगको केही पाइलाहरू आकाशमा चकिएको बिजुली सरी थियो । केही क्षण म उज्यालोमा थिएँ । असीमित चाहनाहरू आउन थाले तर बिजुली चम्काइपछि ती यादहरू चट्याङ्ग सरी बज्रिन थाल्यो । कति निरस छन् त कति रसिला । कुनै सुन्दर युवती देखेर आफैँभित्र अनेक खुलदुलि हुनु, नयाँ सपना देख्नु र ऊप्रति वासनाको चाहाना आउनु जो कोहीको स्वभाव नहुन सक्छ तर कुनै समयको परिस्थिति र कामको तीव्र उत्कण्ठाले बेला समय म त्यही स्वभावमा पर्छु । यौनलाई लुकाएर मनलाई अशान्ति दिन चाहन्न।
कसैको शरीरमा देखिएको यौवन, कसैको मुस्कानमा देखिएको याैवन, कसैको व्यवहारमा देखिएको यौवन वा त कसैको आँखामा देखिएको यौवनले म तृप्त हुन सक्दिनँ । यसले केवल शारीरिक वासनामा चरम आनन्द दिन सक्ला तर मनभित्रको तृष्णा मेटाउन सक्दैन । हो म त्यही यौवन देख्छु ती युवतीमा । जुन उसको मनदेखि भरिएको छ। त्यसैले म उसलाई सम्झेर मात्र पनि तृप्त हुन सक्छु। उनी एक किरण हुन जसरी वनस्पतीले सूर्य किरणको उपस्थितिमा आफ्नो खानालाई तयार गरी आफ्नो भोक मेटाउँछ, त्यसरी नै उसको केही सेकेण्डको उपस्थितिले मेरो मनको भोक मेटाइदियो।
बाहिरबाट घन्द्राङ्ग आवाज आयो । भित्ताको घडी हेरें, समय लगभग बिहानीको चार बजेछ । पल्लो कोठाको दाइको मर्निङ वाक जाने समय, सायद ऊ बाहिर जुत्ता खोज्दो हो । दाइको नयाँ दिनको सुरूवाती भयो तर मेरो हिजोको पुरानो दिन अझै टुङ्गिएको थिएन। बिहान नौ बजे काममा जानु पर्छ। एक निन्द्रा पनि सुतेको छैन। अब त सुत्नु पर्छ। बिहान चार बजे बत्ति निभाएँ अनि गुटुमुटु भएर फेरि अर्को संसारको यात्रामा निस्किएँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।