कसको शोक–सभा ?
हरिराजको ?
कहिले बाँचेको थियो र हरिराज ?
उसलाई त म बारम्बार मरेकै देख्छु । के गर्दा बाँचेको हुन्छ, र के गरे मरेको ठहर्छ त्यति पनि थाह नहोला त हरिराजलाई ? ठीक छ, सांसारिक अर्थमा उसको भौतिक शरीर ढल्यो रे, तर बाँचेको हुनलाई त धेरै घटकहरु कारक बन्छन् नि ! त्यसैले उसले बाँच्नुभन्दा मर्नु बढी गरेको छ भन्ने मेरो हेक्का छ ।
तँ प्रश्न गर्लास् कसरी ? यसका धेरै उत्तर छन् । तँ सुन्दै जा म भन्दै जान्छु । उसले लेख्यो– ‘व्यवस्थाको विरोध देशको विरोध होइन । देश रहे सुहाउने व्यवस्था ल्याउन सकिन्छ । घर हुनुपर्छ मन परेको रङ्ग पोत्न सकिन्छ । भित्र पसेर कोठाको आकार–प्रकारमा हेरफेर गर्न मिल्छ ।’
उसका यी विचार मान्य थिएनन् । असामयिक कुरा बोल्नु र बोलेको गलत ठहर्नु मरे बराबर होइन र ! एक–एक वाक्यमा मान्छे बाँचेको ठहर्छ । एउटै वाक्यले मान्छे मरेको पनि ठहर्छ । कम्रेडले घर–घर ग्याँस पुर्याउँछु भन्यो, ऊ बाँच्यो कि मर्यो ? इच्छुमतीमा पानीजहाज आयो । हामी चढेर मानसरोवरको यात्रामा निस्क्यौं भने यो सत्य भाषणमा ऊ मर्यो कि बाँच्यो ? तैँ भन् के ऊ नबाँच्दो हो त १०८ धार्नीको कमलपुष्पको मालाले अभिनन्दन गरिंदो हो ? के सोच्याछस् कदाचित् तेरो मनमा यो प्रश्न उठ्तैन कि त्यो भन्दा बढी त चितामा पुगेपछि पनि माला अर्पण गरिन्छ नि ! अनि ?
अप्रिय वाचाल, सुन् । प्रश्न गर्न सजिलो छ । तर प्रश्न त्यो हो जसको उत्तर अपेक्षित ढंगको हुन्छ । प्रश्नका लागि प्रश्न र उत्तरका लागि उत्तर, त जति पनि गर्न सकिन्छ । भन्लास् भाउजु आमा बराबर हुन् त्यसो भए दाजुलाई मार पर्दैन ? कस्तो प्रश्न ? त्यसैले सावधानी अँगाल्नै पर्छ, छाडा हुन पाइँदैन । अँ, राजनीतिमा पसेर छाडा हुन पाइएला, सबैतिर होइन ।
संवत २०५१ तिरकै कुरा हो । व्यवस्थाको जलसमाधि गराएर हरिराज आफू पनि सँगै मरेकै हो । मलाई लाग्छ त्यो उसको दिवास्वप्न हो । साहित्यका पृष्ठमा स्कूले केटाकेटीको भ्रमणमा प्रणय र यौवनकेलिको प्रसंगभित्र व्यवस्थाको पतन गराएर उसले आफैंलाई मारेको थिएन र ? बारम्बार मृत्युवरण गर्दै हिंड्ने मनोवृत्तिको विकास उसमा भयो कसरी ? कहीं खद्योतप्रकाश नक्शालीको जस्तै उसको जीवनमा नक्शालीहरुको छाया परेको त होइन ! असुरवृत्ति त नभनौं त्यो वृत्ति अरुमा खोजौंला फेरि पनि हरिराजमा अपराधी मनोवृत्तिको छाया परेको हो भन्न नसकिने होला त ? यस्ता कयौं क्षण र घटनामा हरिराज मरिसकेको छ । कतिपटक शोक मनाउने ? कि ‘बेतलवी शहीद’ बनाएर सम्मानित गराउने हो ? कि १७०३ बनाएर माओको कोषमा प्रवेश गराउने ? मृत्यु तथ्याङ्क विभाग के भन्छ ? कि शहीद निर्माण योजनालाई सोध्ने ?
तँ अझै सिद्धिएको छैन हरिराज ? २०४७ मा पनि मरेकै हो ऊ । यद्यपि १२ वर्षपछि दरबारमा हत्या उत्सव चल्यो । किन्तु उसैबेला उसले त्यो खबर संचार गरिसकेको थियो । राजनीतिक पन्थका सुधीहरुले त्यो ध्वनि बुझ्नै चाहेनन् कि ! ‘स्वप्नभङ्ग’ को प्रसंग फेरि कतै होला । किन्तु सम्राट धर्मध्वज, साम्राज्ञी अग्निगर्भा र युवराजसँग ऊ २०४७ मा पनि मरेकै हो ।
एक पटक प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पनि बचाएकै हुन् । नत्र त्यहाँ उसैको ‘स्वप्नभङ्ग’ हुन्थ्यो । अंशतः श्रीप्रसाद गौतम (गो.प.) ले पनि उसलाई जोगाएकै हुन् । त्यो अर्कै कथा हुन्छ । यो पनि सत्य हो– हरिराजको जीवन र मृत्युमा मात्रै उसको दोष या योग छैन । हामी धेरै त्यस पन्थका भागी भएका छौं । मलाई अझै सम्झना छ– वासुदेव लुइँटेलले पनि उसलाई शहीद हुनबाट जोगाएकै हुन् । त्यसको कथा पनि पठनीय छ ।
यो झन् रोचक र झन् पेचिलो छ । यस अर्थमा हरिराजले कुलपति नरेन्द्रराज प्रसाईंप्रति शतशः कृतज्ञता ज्ञापन गर्नैपर्छ । साम्राज्ञी अग्निगर्भालाई श्यामा बनाएको सत्यता दरबारमा पुगेको भए ताप्लेजुङ जिल्लाले पनि शहीद जन्माएको गौरव लिने थियो । त्यसैले हरिराजलाई जोगाइराख्न उनको हात छ नभन्ने किन ? साहित्यको विपठनमा विशेष पठन र गलत पठन दुवै मान्य र ग्राह्य छन् कि होइन र ? विपठन गरिएकै कारण ‘पिंजराको सुगा’ले दीर्घजीवन पाएको हो भने कृष्णलाल अधिकारीको मत्युले । गजब छैन ?
मृत्यु सन्दर्भ हरिराजका लागि मात्र घटित हुने होइन । अरुभन्दा बढी र असान्दर्भिक ढंगले हरिराजले मृत्यु भोग्यो होला त्यो अर्को पक्ष हो, किन्तु मरेर बाँचेको देखिन्छ भने सामान्य ठान्नु कसरी ? यदि तँ सत्य सुन्न सक्छस् भने म सीधै र स्पष्ट शब्दमा भन्छु– हरिराज त्यस दिन ठूलो मृत्यु मर्यो ।
त्यो कसरी ?
खनुपरुदे प्रसाईं, नरेन्द्र र हरिराज एकै ठाउँ थिए– नरेन्द्रको घरको छतमा । नरेन्द्रले बडो सुन्दर ढंगले हरिराजको लेख वाचन गरे । खनुपरुदेज्यूले लेख मनपराउनु भयो । तर नरेन्द्रको टिप्पणी थियो– ‘यो लेख छाप्न सक्तिनँ, यसमा राजालाई पढाएको छ । राजालाई सबै कुरा थाहा हुन्छ । सिकाउन मिल्दैन ।’ लेखमा यायावर, योगीको उद्बोधन सन्देश थियो– सिंहको क्षेत्रमा स्याल नायक हुन सक्तैन । सिंहले ब्यूँझिने वेला भो ।
दरबारमा मृत्यु उत्सव घट्यो । अलिकपछि भेट हुनासाथ नरेन्द्रराज प्रसाईंलाई भन्यो– ‘भाइ, त्यो लेख छापिदिएको भए दरबारले सतर्कता लिने थियो कि ! कसै न कसैले त त्यस्तो लेख बारे दरबारमा कुरा बुझाउँथ्यो नि ! जोगिने यत्न गरिंदो हो ।’ मेरो गुनासो त्यति मात्र हो । हो, यायावर योगीहरु नदेखी–नदेखी धेरै कुरा देख्ने गर्छन् । तर यो कुरा मान्न लोक तयार छैन l
मजाको कुरा पनि छ । हरिराज मरेर पनि बाँचेको छ दण्ड भोग्न । किन थाह छ ? राष्ट्रदेवको वाहन नन्दी पेन्सन लिएर दक्षिणतर्फको मैदानको हरियाली चर्न हिंडेको छ– शिवलाई एक्लै पारेर र उनी पनि ठाउँ छोडेर हिंडेका छन् एक्लै एक्लै विरक्त भएर । आमालाई कहाँ पुर्याए पशुसन्तानले थाहै पाएनन् शिवले ।
अनि हरिराज बाँचेको छ कसरी भन्नु ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।