बाल मनोविज्ञानले शिशुदेखि किशोरकाल सम्मका बालबालिकाको मानसिक अवस्थालाई अध्ययन गर्दछ । बच्चाको मन र व्यवहारको अध्ययन नै वास्तवमा बाल मनोविज्ञान हो । यसका दुई पत्र हुन्छन् । एउटा हो जसले बालक/बालिकाको मानसिक अवस्था अनुकूल हुनेगरी आवश्यक सामग्रीमा जोड दिन्छ । त्यस्तै अर्को हो बाल मनोविकास जसमा उमेर अनुसार सामाग्रीहरूको माध्यमबाट सिक्ने-सिकाउने प्रक्रिया हुन्छ ।

शैक्षिक मनोविज्ञान पनि मनोविकास अन्तर्गत पर्दछ, जसमा मानिसले उमेर अनुसारको वातावरणमा कसरी सिक्छन् र कसरी शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने अध्ययन गरिन्छ ।

‘शैक्षिक मनोविज्ञान’ दुई शब्दहरू मिलेर बनेको छ- ‘शिक्षा’ र ‘मनोविज्ञान’ । यसमा व्यक्तिको व्यवहार, मानसिक प्रक्रिया र अनुभवहरूलाई शैक्षिक परिस्थितिहरू अनुसार अध्ययन गरिन्छ । शैक्षिक मनोविज्ञानको उद्देश्य शिक्षणको प्रभावकारी प्रविधिहरूको प्रयोग गर्दै विद्यार्थीको क्षमता र रुचिहरूको मिहिन मूल्याङ्कन गर्नु हो । यस प्रकारको मूल्याङ्कनले विद्यार्थीको मानसिक स्तर र झुकाव थाहा हुन्छ । जसबाट शिक्षण र सिक्ने प्रक्रियामा सुधार गर्न सकिन्छ ।

समष्टिमा भन्नुपर्दा, शैक्षिक मनोविज्ञान शिक्षाका आन्तरिक क्षमता र रुचिसँग सम्बन्धित समस्याहरूबारे छलफल, विश्लेषण र समाधान गर्ने विज्ञान हो । शिक्षा मनोविज्ञानबाट कहिल्यै अलग भएको छैन । मनोविज्ञानको रूपमा होस् वा दर्शनको रूपमा होस्, शिक्षाको माध्यमबाट व्यक्तिको क्षमता विकासमा गुणात्मक परिवर्तन हुन जान्छ, जसले समग्र समाज र जगतलाई अन्धकारबाट मुक्ति दिन अहम् भूमिका खेल्छ ।

शैक्षिक मनोविज्ञानको विश्लेषण गर्न मनोविद् स्किनरले निम्न तथ्यहरूलाई औंल्याएका छन् :-

१. शैक्षिक मनोविज्ञानको अन्तर तत्त्व वा केन्द्र मानव व्यवहार हो । बालबालिकाहरूले घरको वातावरणबाट जति कुराहरू सिकेका हुन्छन्, झन्डै त्यति नै राम्रा-नराम्रा कुराहरू साथीभाइको सङ्गत र स्कूलबाट सिकिरहेका हुन्छन् । सानो उमेरमा विद्यार्थीले आफूले सिक्ने कुराको आफैँ छनौट गर्न सक्दैनन् । स्कूलमा हुने औपचारिक वा अनौपचारिक गतिविधि जसबाट विद्यार्थीले क्रमशः सिकिरहेका हुन्छन् । घरमा अभिभावकबाट पनि सिकिरहेका हुन्छन् । आफूलाई लाग्ने ठक्कर र जैविक अनुभूतिबाट पनि सिकिरहेका हुन्छन् । स्कूलको पाठ्यक्रमबाट पनि गुरुद्वारा मार्गदर्शन पाइरहेका हुन्छन् । कतिपय स्कूलमा गुरुले विद्यार्थीको पठन संस्कृति अनुसार अतिरिक्त स्तरीय कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई उमेर अनुकूल चेतना दिँदै जान्छन् । तर कतिपय स्कूलहरूमा विद्यार्थीलाई उनीहरूको वृतिविकासमा उमेर अनुसारका कार्यक्रम गर्न नजानेर विद्यार्थीले गलत बाटो समात्न पुग्दछन् ।

उदाहरणको लागि कुनै एक प्रावि स्कूलमा गीत-संगीत कार्यक्रमको आयोजना गरिन्छ । ती गीत सिक्न विद्यार्थीले हप्तौं लगाएर अभ्यास गरिरहेका हुन्छन् । ती विद्यार्थीले आफैं कार्यक्रम बनाउन र उपयुक्त गीतहरूको छनौट गर्न सक्दैनन् । कार्यक्रम बनाउन, कलाकार र गीतहरूको छनौट गर्न गुरुले नै नेतृत्व गरेका हुन्छन् । आफैंले अनुभूत गरेका कुरा, कतिपय स्कूलमा साना साना नानीबाबुलाई प्रेमका गीतहरू कण्ठ गर्न लगाएर नचाइएको पाइन्छ । आठ-दश वर्ष नकाटेका अबोध विद्यार्थीलाई तन्नेरी तरुनी बनाएर यौवनको उछालकुदमा झुम्न लगाइएको पाइन्छ । त्यस्ता गीतमा अझै अभिभावकले थपडी बजाएर प्रोत्साहन गरिरहेको देख्न पाइन्छ । त्यस्ता गीत र नाचबाट ती बालबालिका वा किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ ? कसैलाई त्यसको हेक्का रहेको देखिएन । असल शिक्षकले उचित मार्ग दर्शन गर्ने भनेको यिनै अवस्थाहरूमा हो ।

यौन जोडीहरूले भाइरल बनाएका यस्ता छाडा गीत र नाचहरूलाई अहिलेको उपभोक्तावादी समाजले नियन्त्रण गर्न सकिरहेको देखिँदैन । त्यो अवस्थामा शिक्षकले विद्यार्थीहरू मार्फत सिङ्गो समाजलाई शैक्षिक नेतृत्व प्रदान गर्न सक्छ । छाडा गीतहरूको सट्टा देशभक्तिले ओतप्रोत गीत स्कूले बालबालिकाको दिमागमा राख्न सक्ने हो भने त्यसले उनीहरूको मनोविज्ञानलाई सकारात्मक प्रभाव पार्थ्यो । उनीहरूको बौद्धिक सोचलाई रूपान्तरण गर्न सक्थ्यो । यो कुरा एक शिक्षकले हेक्का राख्न सक्दछ ।

मनोविद्हरूका अनुसार, राम्रा गीत संगीतको प्रभावले मस्तिष्कमा यस्ता हर्मोन उत्पादन हुने गर्दछ जसले बालबालिकामा सकारात्मक गुणको विकास गर्छ । फलस्वरूप, बच्चामा नैतिकता, धैर्य, सहयोग, दया र करुणा जस्ता गुणहरू विकास हुन्छन् । लाज, घिन र सामाजिक उच्छृंखलताबारे उनीहरूले हेक्का राख्न सक्ने हुन्छन् । अरूको भावना बुझ्ने क्षमता विकास हुन्छ ।

बालबच्चाको तीव्र मानसिक अवस्था हुने एउटा निश्चित उमेर हुन्छ । त्यही उमेरभित्र विवेकशील अभिभावकहरूले सन्तानहरूको मानसिक र शारीरिक विकासलाई सही दिशा दिन निरन्तर प्रयास गर्नुपर्छ । यसका लागि बालबालिकाको विकासमा सहयोगी मानिने सबै उपाय अपनाइन्छ । यो कुरा शिक्षक विद्यार्थीको हकमा पनि सत्य हो । तल घर वा स्कूलमा बालबच्चालाई सिकाइमा प्रभाव पार्ने गीत-संगीत र नृत्यबारे केही खुराक राखिएको छ ।

बाल विद्यार्थीहरूलाई सिकाउने गीत कस्तो हुनुपर्छ ?

सबै गीत नराम्रा हुँदैनन् । बाल मस्तिष्कको लागि मात्र नभएर मानसिक स्वास्थ्यको लागि पनि संगीत सुन्नु,नाच्नु,गाउनु आवश्यक छ । यसले बालविवेकलाई तीखो बनाउन मद्दत गर्छ । मनोविद्का रायअनुसार, गीत, संगीत पनि चैतन्य विकासको लागि महत्त्वपूर्ण आहार हो । बालबालिकाको जीवनोपयोगी र प्रेरणा अनुकूल उचित संगीत शिक्षा दिनुपर्छ । संगीतका शब्द, त्यसको प्रेरणा र ज्ञान उनीहरूको व्यक्तित्व निर्माणमा सहायक बनोस् । यो कुरा शिक्षक वा अभिभावकले हेक्का राख्नुपर्छ । उमेर अनुसार गीत संगीतको भाव पोषण गराउन सक्नुपर्छ ।

भनिन्छ, जब तपाईं आफ्नो आँखाबाट बच्चासँग कुरा गर्नुहुन्छ, गाउनुहुन्छ वा नृत्य गर्नुहुन्छ, यसले उनीहरूमा सही प्रभाव पार्छ । तर गुरु वा अभिभावकमा बालबालिकालाई सिकाउने विषयवस्तुको छनौट-कला छैन भने त्यस्तो शिक्षकले हजारौं केटाकेटीको भविष्य अँध्यारोमा पुरिदिन सक्छ ।

२. शैक्षिक मनोविज्ञान खोज र अवलोकन मार्फत प्राप्त तथ्यहरूको आत्मिक संग्रह हो । शिक्षकले विद्यार्थीलाई राम्रा कुराहरू सिक्ने जागरण ल्याएर सधैँ जिज्ञासु बनाइराख्नु पर्छ । प्रवासमा रहेका नेपालीका नानीबाबुलाई नेपाली भाषा पढाउँदा मातृभाषाको महत्त्व बोध गराउन सक्नुपर्छ । ‘पढाइ, सिक्नको लागि हो’ भन्ने हेतुमा सधैँ चनाखो हुनुपर्छ । घरमा होस् वा स्कूलमा कसरी पढाउने वा सिकाउने, कुन कुन विषयवस्तु उनीहरूको क्षमता विकासमा सहायक हुन सक्छन्, कस्ता अतिरिक्त क्रियाकलापले सिकाइमा सकारात्मक प्रभाव पार्दछ, कुन उमेरकालाई कस्ता खाले गीत संगीत वा नाचको महत्त्व हुन्छ, एक शिक्षक आफैंले यस्तो आत्मज्ञान विद्यार्थीमा वितरण गर्दा समाजले क्रमशः अश्लीलता रूपी फोहरलाई बहिष्करण गर्दै लैजान्छ ।

३. शैक्षिक मनोविज्ञानमा भण्डारण गरिएको ज्ञानलाई उनीहरूकै जीवनमा घटेका व्यावहारिक उदाहरणहरू दिएर सिकाउनु पर्छ । यो कुरा शिक्षकको हकमा बढी लागू हुन्छ । शिक्षकले कार्यक्रममा आफैं नाङ्गो नाच मन पराउँछ भने उसले विद्यार्थीलाई कपडा लगाएर नाच भन्न सक्दैन । शिक्षक र विद्यार्थीको बीच सम्बन्ध आदर्श बन्न सक्यो भने विद्यार्थीले गुरुको स्वाभिमानमाथि गर्व गर्न सक्ने हुन्छ । गुरुले समाजका राम्रा-नराम्रा प्रथा वा प्रचलनलाई अनुसरण गर्ने कामभन्दा समाज रूपान्तरण गर्ने शिक्षा विद्यार्थीलाई दिनुपर्छ । त्यसले विद्यार्थीलाई नयाँ खोजको लागि प्रेरणा दिन्छ र ती अनुभवहरू गुरु चेलाका लागि मात्र नभएर सिङ्गो समुदायका लागि मार्गदर्शक सिद्धान्त बन्छन् ।

४. शैक्षिक मनोविज्ञानले शिक्षाका समस्याहरू समाधान गर्न मौलिक तरीकाहरू प्रस्ताव गरेको छ । सिकाउने-सिक्ने कला, सन्दर्भ सामाग्रीहरूको चयन, अतिरिक्त क्रियाकलापको छनौट, सम्बन्धको विकास, अनुगमन, मूल्याङ्कनको चेत विद्यार्थीको अवस्थाअनुसार शिक्षकले आफैं तय गर्न सक्दछ । त्यसमा कसैले कसैको पूर्ण अनुकरण गर्न जरूरी हुँदैन । प्रवासमा मातृभाषा सिक्ने-सिकाउने क्रममा यी कुरा अझ धेरै सान्दर्भिक हुन्छन् ।

५. शैक्षिक मनोविज्ञानका सिद्धान्त र विधिले शैक्षिक सिद्धान्त र प्रयोगका लागि आधार प्रदान गर्दछ । तर त्यसलाई शिक्षक आफैंले राम्रोसँग बुझ्नुपर्छ । सिँगाने बालबालिकालाई प्रेमका गीतमा नचाउनु भन्दा उमेर अनुसारका प्रयोगात्मक अभ्यासहरू गराएर उनीहरूको क्षमता विकास गर्न सकिन्छ । कतिपय बाल गीत संगीतहरू छन्, छनौट गरेर त्यस्ता नाचगान सिकाउन सकिन्छ ।

६. बच्चाको आत्मिक विकास गर्न नैतिक शिक्षा तथा प्राकृतिक ज्ञान तथा त्यसबाट पाइने कला सिकाउन सकिन्छ । जस्तो योगा वा ध्यान पछि क्लासको शुरूवात गर्ने, तर्क र खोजको लागि प्रेरणा प्रदान गर्न छोटाछोटा सरल बहसहरूको आयोजना गर्ने, वादविवाद र सामान्य ज्ञानका प्रतियोगिताहरूको आयोजना गर्ने, केही आकर्षक कुरा सुनाएर त्यसबाट उत्तर खोज्न सिकाउने जस्ता अभ्यासहरू यस अन्तर्गत पर्दछन् ।

७. बच्चाको वातावरणसँग सद्भाव स्थापित गर्ने कला बारे कमै बहस भएको सुनिन्छ । प्राकृतिक, सामाजिक, नैतिक, आर्थिक र मौसमी ज्ञानको लागि विद्यार्थीलाई जिज्ञासु बनाउनसक्नु एक शिक्षकको अहम् कर्तव्य हो । उदाहरणको लागि युक्रेनको विद्यालयका एक शिक्षकले युद्धको खतराबाट बचाउन हरेक खतराका संकेत बुझ्ने पाठ विद्यार्थीलाई सिकाउँछन् । त्यहाँ साइरनका आवाजहरू बुझ्ने, कस्तो साइरन बज्दा बङ्करभित्र लुक्ने, कसरी घाइते साथीहरूलाई सहयोग गर्ने, सुरक्षाकर्मीको सहयोग कसरी लिने आधारभूत सिकाइहरू स्कूलभित्रै हुन्छन् । नेपालमा खोला, पौडी, वनजङ्गल, जनावर, भूकम्प, पैह्रो, झरी, आगलागी जस्ता कुराहरू बारे बिद्यार्थी अवगत हुनैपर्छ । यी सबैको उपयोगिता र सम्भावित भवितव्यबाट बाँच्ने कला सिक्नु विद्यार्थीको लागि हितकर हुन्छ । प्रकृतिबाट कस्तो समयमा लाभ लिन सकिन्छ, कस्तो समयमा त्यसले हानी गर्छ र हानीबाट बच्ने उपायहरू के के हुन सक्छन् ? बसेको वातावरण अनुसार जिउने र बाँच्ने कलाहरूलाई शिक्षकले सिकाउँदै जानुपर्छ ।

* * * *

सेक्सी गीत, हुटिङ र यौन विकृति :

आज हाम्रो समुदायका प्राय कार्यक्रमहरू यौन उत्तेजनाको शिकार भएका छन् । अब त नेपाली कार्यक्रमहरूमा जान पनि लाजमर्दो भै सकेको छ । सामाजिक सञ्जाल जस्तै समुदायले गर्ने कार्यक्रम रंग र रमाइलोको बहानामा नैतिक भ्रष्ट उन्मुख छ । स्कूलमा ससाना नानीबाबुलाई लाज पचेका गुरु-गुरुमाले डगी डान्स गर्न उत्प्रेरित गरिरहेका कुरा सञ्जालमा देखिन्छ । त्यस्ता कार्यक्रममा अभिभावकले ताली पिटीपिटी हुटिङ गरिरहेका हुन्छन् । यौन र यौन शिक्षा एउटै कुरा हैनन् भन्ने नबुझेसम्म रतिरागात्मक प्रेमका गीतहरू स्कूल र विद्यापीठहरूमा बज्न छाड्ने छैनन् । उपभोक्तावादी छाडा संस्कृतिले ल्याएका यस्ता विकृतिले हाम्रा छोराछोरीको दिमागमा ज्ञान हैन रतिरागप्रति उत्सुकता भर्दै लगेर पथभ्रष्ट बनाउँदै जान्छ । त्यसैले पवित्र ठाउँहरूलाई ज्ञानप्रति जागरण पैदा गर्ने वातावरणमा ढाल्न शिक्षक जस्तै अभिभावक पनि सचेत हुनु जरूरी छ ।

 

यौनबारे पुरानो परम्परा :

हाम्रो प्राचीन शिक्षा परम्पराले यौन शिक्षालाई न आजको जस्तो रहस्यमय बनाएको थियो न आजकै जस्तो उत्ताउलो र छाडा । पौराणिक कालमा समेत विद्यापीठलाई यौन उत्तेजनाको खेल मैदान बनाउन चाहने व्यक्तिलाई असाध्यै निम्न स्तरको दर्जामा राख्ने गरेको पाइन्छ । सदैव यौन उत्तेजनामा रमाउने पशु बोका भएकोले त्यसलाई पञ्चवलीमा समावेश गरिएको चर्चा पौराणिक ग्रन्थहरूमा पाइन्छ ।

छाडा प्रेम र यौनाचरणको विषयमा कुरा गर्दा पाश्चात्य दर्शनका हस्ती शुकरातलाई पनि सम्झने गरिन्छ । उनले यौनलाई सृष्टि वा प्राकृतिक आवश्यकतासँग जोडेर हेर्नुपर्छ भन्ने मान्यता राख्थे । उनका अनुसार, ‘उत्तम व्यक्तिले जीवनमा एक पटक मात्र सम्भोग गर्नुपर्छ त्यो पनि सन्तानका उद्देश्यले । यो साह्रै असम्भव लाग्छ भने वर्षको एकपटक गरोस्, त्यो पनि ऋतुकालको समयमा । त्यो पनि कम भयो भने महीनाको एक पटक गरोस्, ऋतुकालको समयमा । यसमा पनि ठहर्न नसक्ने व्यक्ति जो छ त्यो पतित हो । त्यसले टाउकामा कात्रो बाँधेर जे मन लाग्छ त्यै गरोस् ।’ यो टाउकाको कात्रो भन्ने कुराले यौन क्रियालाई स्वास्थ्यसित जोडेको देखिन्छ । अझ भनौं भने अकस्मात् मृत्युको अथवा अल्पायुको सङ्केत गरेको देखिन्छ ।

 

कस्ता ठाउँमा गाइन्थ्यो यौन वा रतिरागका गीत ?

हाम्रो परम्परामा यौन गीत संगीत वा यौन उन्मुक्तताको लागि विशेष दिन तोकिएको हुन्थ्यो जसमा सानो उमेरकाले त्यो हेर्न सुन्न पाउँदैनथे । हाम्रो ग्रामीण परिवेशमा महिलाका लागि यौन पर्व रत्यौली अथवा जिउँती हो भने पुरुषका लागि वनमा गाइने फागु अथवा वन फागु हो । जिउँतीमा केवल महिलाको मात्र सहभागीता हुन्छ तर वन फागुमा चाहिँ कहिलेकाहीँ महिला पुरुषको दोहोरी पनि चल्न सक्छ ।

विवाहका लागि दुलहीका घरतिर दुलाहाका घरबाट जन्ती हिँडेपछि गाइने रतिरागयुक्त गीत र रति अभिनय सितको नाचलाई नै रत्यौली भनिन्छ । विवाहको एक वर्ष पुगेपछि त्यसैगरी रति रागात्मक गीत गाएर जिउँती मेटिन्छ । यस संस्कारले अविवाहित केटीहरूलाई यौन शिक्षाप्रतिको जिज्ञासा जगाइदिन्छ । यसमा महिला मात्र सहभागी हुन्छन् भनिए पनि जिज्ञासु भनौँ वा इतरिएका केटाहरूले लुकीछिपी हेर्ने सुन्ने गर्छन् । हामी सानो छँदा छिहिल्लिएर नाचगान गरिरहेका महिलालाई गाईभैँसीको गोबरको पिच्करिले हानेर हैरान पार्ने कर्म गरेको अहिलेसम्म सम्झनामा छ ।

* * * *

अन्त्यमा, पुरुषको विकृत यौनकुण्ठा, कृत्रिम प्रणय भाव तथा स्त्रीलम्पट प्रवृत्तिलाई प्रोत्साहन दिने यस्ता गीतहरूमा सानासाना बालबालिका र किशोर विद्यार्थीहरूलाई नचाउन सम्बन्धित शिक्षक र अभिभावकले रोक्नु पर्दछ । यसले ती अबोधहरूको दिमागमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । विविध महोत्सवमा भद्दा प्रस्तुतीकरणका लागि उक्साउने, बाध्य पार्ने र त्यसैको हल्ला पिटेर नाफा जुटाउने यी सबै कला उदारवादको हतियार हो । यो पितृसत्ताको जगमा बनेको र उपभोक्तावादी व्यवस्थाले हुर्काएको सोचको उत्पादन हो  । जहाँ जे उत्पादन बिक्छ त्यही उत्पादन बिकाउन हरेक व्यापारी लागेका हुन्छन्  । लैंगिक समानताको अभियानलाई समर्थन गर्ने राम्रा गीत र संगीत पनि छन्,बाल गीत, देशभक्त गीतहरू पनि छन्  ।

निक्की कार्कीले गाएको ‘जेट उडाउँछु …’,  आस्था राउतको स्वरमा रहेको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…’ जस्ता गीतहरूले बाल मस्तिष्कमा राम्रो प्रभाव पार्दछन्  । रामेश, रायन र जीवन शर्माका धेरै देशभक्त गीतहरूले पनि बाल मस्तिष्कमा प्रेरणा जगाउन सक्छन् । यी गीतले नारी आवाज मात्र होइन, आत्मविश्वासलाई उच्च राख्न पनि सहयोग पुर्‍याएका छन्  । बाल साहित्य र संगीत सिर्जनामा सामाजिक, धार्मिक, सांस्कृतिक, कानूनी, नैतिक लगायतका धेरै सीमा हुन्छन् । ती सीमाहरूलाई सचेत शिक्षक र साहित्यकारले उल्लङ्घन गर्दैनन् र गर्नु हुँदैन ।

विद्यार्थीलाई उमेर अनुसारको शिक्षा दिनु भन्दा सानैदेखि यौनवादी कामुक र छाडा प्रेमका गीत संगीत कण्ठ गर्न लगाउने वा नचाउने गर्नाले ती विद्यार्थीको मनोविज्ञान विकृत हुँदै जान्छ । अन्त्यमा उनीहरूले आफ्नो भविष्य बनाउने वेलामा यौनबारे सोच्न थाल्दछन् र बाँकी भविष्य पश्चातापमा बिताउँछन् । तसर्थ विद्यार्थीले ठीक र बेठीक छुट्टयाउन सक्ने नहुन्जेल सिकाइमा अभिभावक र गुरुहरूको अहम् भूमिका हुन्छ । शिक्षकलाई थाह हुनै पर्ने अर्को कुरा, पोर्न साइड वा छाडा गीत संगीतको लत बसेपछि उनीहरूको स्क्रीनमा टक बस्न जान्छ । इलेक्ट्रोनिक स्क्रीन र उपकरणहरूको अत्यधिक प्रयोगले बालबालिकाको दिमागमा नराम्रो प्रभाव पार्छ । त्यसैले बच्चाहरूलाई म्युजिकल भिडियोहरू हेर्न स्मार्टफोन दिनु घातक साबित हुन सक्छ भन्ने कुरा गुरुले भनिरहनु पर्छ । खराबीको बारेमा शिक्षकले बालबालिकालाई सचेत गराएर मात्र हुन्न, उनीहरूका अभिभावकलाई पनि सूचित गरिरहनु पर्छ ।