खास गरी खानाको सिँगार पटार देखाउनको लागि बुफे(buffet) तरिका फ्रान्सबाट सुरु भएको मानिन्छ । त्यो भन्दा अगाडी अर्थात् सोह्रौं शताब्दीमा नर्वेली राजपरिवारका लागि मात्र बुफे प्रणाली लागू गरिएको थियो । विशेष पर्वको अवसरमा आफ्नो लागि आफैं खाना परोस्ने तरिका नर्वेका मानिसहरूले प्रयोग गर्दथे । जसलाई अहिले बुफे भनिन्छ । यसपछि फ्रान्स हुँदै यसले भारतमा प्रवेश पायो । पन्जाबका एक व्यापारीका छोरा गुरु नानकले गरिबलाई खाना खुवाउन थाले । यसलाई लङ्गर नाम दिइएको थियो । यो पनि एक प्रकारको बुफे नै हो । अहिले बुफे पूजाआजा, भोजभतेर सबतिर व्याप्त छ । बुफेमा आआफ्नै सजिला र अप्ठ्यारा गुण अवगुणहरू छन् ।

बुफेको फाइदा खाना आफ्नो रोजाइको खान पाइन्छ । तर यसमा बुढा, असक्त, बिमारी, बच्चा र छोइछिटोको कुप्रथालाई पच्छ्याउने परम्परावादीहरू पर्गेलिन्छन् वा आफै सर्भिस गर्न नसक्नेहरू मारमा पर्दछन् । यो तरिकाले खाना खुवाउने सिस्टममा खाना धेरै फालिन्छ । यसले पाहुनालाई सोधी सोधी खाना खुवाउने र भान्से र खाना खाने आगन्तुकबिचको सुमधुर सम्बन्धलाई भत्काइदिएको छ । एक पूर्वीय परम्परामा सेवा गर्ने र लिने बीच भावनात्मक सम्बन्ध हुनु पर्छ भनिन्छ त्यो यसमा कम हुन्छ ।

गत वर्षको घरपूजामा यो सिस्टमले पङ्क्तिकारकाई धुरुक्कै रुवाएको थियो । बिचरा दुर्गम पहाडबाट नवलपुर पूजा खान आएकी हाम्री सानिमा; अन्धविश्वासको कारण बुफेको तरिका सानिमालाई मन नपरेर हो की खाने नबुझेर सानिमा दिनभर भोकै । आफैले पाहुनालाई सोधी सोधी खुवाएकी हाम्री सानिमालाई बुफेको तरिका खै कस्तो कस्तो लागेछ । ‘न त्यहाँ भान्सेसँग कुरा गर्नु, न दुख सुखको लेनदेन । खानै  नपाएर खान आएजस्तो । भान्से के हुन् को हुन्; हाम्रा पहाडमा त यस्तो हुन्न ।’ बेलुका सानिमा धेरै गनगन गर्नु भयो ।

हुन पनि हो अघिल्लो पिँढीसम्म पूजामा पाहुनालाई सोधी सोधी खान दिने चलन थियो । आफन्तहरू भान्से हुन्थे । खाना सँगै मनका पिर र अत्यासहरूको वितरण हुन्थ्यो । मनको मैलो सबै पखालेर निम्तालु घर फर्कंदा हलुङ्गा बनेर फर्कन्थे । बेलुका लहरे भजन चल्थ्यो र खैंजरी मजुरा चर्किन्थे ।

सानिमाले हाम्रोमा चलेको प्रथा पचाउनु भएन । परम्परावादी हाम्री सानिमाले सबैसँग कुम जोरेर खानु हुन्न, बाउबाजेको चलन धान्नु पर्छ भन्नु हुन्छ । हामी दिनभर पूजामा । सानिमाले बुफेमा खाजा प्रसादी लिनु भए होला भनेको । बेलुका रातिसम्म भोकै ।

पूजाको काम सकी आफन्तहरूको बिदाइ गरेर राति अबेर म माथि बैठक कोठामा पुग्दा सानिमा मेरी दिवङ्गत आमाको तस्बिर हेरेर रोइरहनु भएको । मैले निकै अनुरोध गरेर कारण सोध्दा थाह भयो, उहाँको पेटमा पञ्चामृत बाहेक दिनभर केही परेको रहेनछ । खाएको नखाएको सोध्नेको त के कुरा गोरस र फलारसम्म सोध्ने पनि कसैले चेष्टा गरेनछन् । भिडमा नखाने मान्छे, बुफेमा कहिल्यै बानी नपरेकी कठै हाम्री बाटुली सानिमा ।

‘ई बरेइ ! दिदी भएको भा त बैनी भोकाई कि भनेर सोध्थिन् होला नि ! हुलमा कुम जोरेर मैले खान्न, छोरा छोरी बुहारी तिमर्कै आफ्ना घर माइतका आए होलान्, जाबो सानिमाको के ख्याल भो र ! आइहालें ।’ सानिमाको यो कुरालाई मैले सम्झाउन सकेँ कि सकिन मलाई थाह छैन । आधुनिक बुफेमा पेलिएकी मेरी सानिमा ! अथाह श्रद्धा उम्लेर आयो ।

‘म र बुहारी पूजामा सानिमा ! अरूले त्यति चिनेनन् कि के भो ?’ मैले हजार पटक सानिमासँग क्षमा मागें । बाटुली सानिमाको खुट्टा समातेर बिन्ती बिसाएँ । खै ! सानिमाले मलाई माफ गर्नु भयो कि भएन थाह छैन । तर सानिमाको चेहरा फिर्क्यो र बुहारीको हातबाट खाना पनि खानु भयो ।

ठ्याक्कै त्यही घटनासँग मिल्दोजुल्दो तर अर्कै प्रकृतिको कमजोरी भयो पोर्चुगलमा भएको अनेसासको विश्व सम्मेलनमा । गुनासो आयो, अफ्रिकाका प्रतिनिधिले आफ्नो कुरा राख्ने ठाउँ पाएनन् भन्ने । क्यानडा च्याप्टरबाट बाल साहित्यको कार्यपत्रको बहसमा समय पुगेन ।

कमजोरीमा दुवै पक्षको सम्बन्ध हुन्छ नै । प्रतिनिधिले सम्मेलनमा प्रक्रियागत रूपमा आफ्नो भूमिका खोज्ने माग गर्नु पर्छ । आफूले प्रतिनिधित्व गरेको समूह शाखा वा क्षेत्रका प्रतिनिधिलाई दर्ता गराउनु पर्‍यो । सम्मेलनको अनुशासन स्वरूप तोकिएको ५० युरो दस्तुर वा लेबी बुझाउनु पर्‍यो । कार्यक्रममा आफूले बोल्ने वा प्रस्तुत गर्ने विषयबारे आयोजक वा सञ्चालकलाई औपचारिक जानकारी दिएर आफ्नो समय माग्नु पर्‍यो । ती यावत प्रक्रिया पुरा गरेपछि पनि मिचाइमा पर्ने अवस्था आयो भने हलले सुन्ने गरेर माग गर्नु पर्छ । त्यसमा आफ्नो जिम्मेवारी पुरा भयो वा भएन सम्बन्धित पक्षले सोच्नु पर्ने हुन्छ ।

समस्या सम्मेलनमा भाग लिन आउनेमा पनि देखियो । सबैलाई एकएक गरेर नसोध्नु वा दर्ताको प्रक्रिया पुरा गर्न विशेष अनुरोध नगर्नुमा आयोजकको कमजोरी हुन सक्थ्यो । त्यो अलिक प्रभावकारी रूपले लागु हुन सकेन । झण्डै  सयभन्दा बढी प्रतिनिधि प्रवेक्षकमा त्यसको आधा जति दर्ता भएका छन् । दर्ता भएकाहरू मात्र प्रमाणिक रूपमा सम्मेलनमा अनुमोदित भएका हुन् । कुरो बुझ्दा अफ्रिका च्याप्टरको समस्या यिनै प्रक्रियागत त्रुटिभित्र अलपत्र परेजस्तो लाग्यो ।

कारण जे सुकै होस् एउटा प्राज्ञिक सम्मेलनमा कुनै पनि च्याप्टरको बिचार, कार्यक्रम र अनुभव छुट्नु दुखद कुरा हो । प्राज्ञिक कार्यक्रमहरू दबाबमूलक भन्दा पनि एउटा ढाँचामा स्वतन्त्र रूपले परिचालित हुन्छन् । त्यसका सहभागी प्रतिनिधिहरूमा पनि त्यो स्प्रिट हुनु पर्दछ । कारण जे सुकै भएपनि एक्स्पोज हुन नसक्नु वा सार्वजनिक सभामा आफ्नो सहभागिताको दर्ता पुस्तिकामा नाम दिन नसक्नु सहभागीकै कमजोर पक्ष हो । अनभिज्ञताको कुरामा पनि हाम्रो बाटुली सानिमाको जस्तो परम्परागत, संस्कारगत वा अन्य विवशताको चौघेराबाट निस्कनु पर्छ । भोजमा जस्तै ठुला कुम्भ मेला वा कार्यक्रममा पनि बुफे तरिकालाई अवलम्बन गर्नु पर्ने बाध्यता नै छ ।

समाजमा आफ्नो कुरा राख्नको लागि ठाउँ हुन्छ, तर संख्यात्मक उपस्थिति धेरै भयो भने आफ्नो ट्यालेन्ट आफै अफर गरेर प्रस्तुत हुन नाम दर्ता गराउनै पर्छ । ट्यालेन्टको आयोजकले सोधनी गर्दैन । कथित आधुनिक समाजमा ज्युँदो छु भनेर पटक पटक अस्तित्वको परिचय दिइरहनु पर्दछ । चलमलाइरहनु पर्दछ । अलिकति असजिलो भएपछि ‘ऐया आथ्थो’को आवाज निकालिरहनु पर्दछ । अस्तित्वको परिचयले नै मानिसलाई अगाडी ल्याउँछ ।

जस्तो एउटा छुट्टै समारोहमा विमोचन भै सकेको किताब पुनः गर्न-गराउनु, अनेक रोइलो निकालेर सम्मेलन हलका हाते पंखा हल्लाइरहनु र समूहको ध्यान तान्न बेलाबेलामा सुसेल्नु जीवन्त अस्तित्वका प्रमाण हुन् । ती सबै कुराहरू जायज हुन् वा हैनन् त्यसबारे आफ्नो ठाउँमा तर्क वितर्क गर्न सकिएला । तर आधुनिक बुफे सिस्टममा ती कुरा समूहको ध्यान आकर्षणका लागि बलिया प्रमाण हुन् ।

आधुनिक बुफे प्रथामा अरूको रुचि सोध्ने र उसको रुचिको खाना पस्केर अरूलाई दिने कर्म कसैले रुचाउँदैन । ‘बोल्ने मान्छेको पिठो बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन’ भने झैँ हामी आफ्नो लागि बोल्नै पर्छ, हामी आफ्नो समुदाय,सभ्यता र आफ्ना गतिविधिको लागि पनि बोल्नै पर्छ । हामी अरूको मुख हेरेर बस्नु,प्रतीक्षा गर्नु र ध्यान मुद्रामा आकाशवाणीको प्रतीक्षा गर्नु दुखका साथ भन्दा मुर्ख्याइँ हो ।

पौराणिक कालको एक प्रसङ्ग नै हेरौँ । चिच्याएर नरोएको भए जंगलमा फालिएकी सकुन्तलाले जीवन दान पाउने थिइनन् । दुश्यन्तसँग सकुन्तलाको प्रेम फुलेर पूर्वीय आकाशमा सुगन्ध छर्ने थिएन । अर्थात् एउटा महान् कथाको अन्त्य हुन्थ्यो । यसर्थ समयमा दिएका हरेक आवाजहरूको महत्त्व छ । अझ यो युग त बुफे कारणले पूर्ण रूपमा वेष्टित छ । कि हलचल गरिराख, आवाज निकाल वा गर्ज अन्यथा मरेको ठानी पेलिन र पोलिन तयार भएर बस्नुको विकल्प छैन । यो दोष मानिसको भन्दा पनि प्रणालीको हो । यो एकल, व्यस्त समाज प्रणाली र त्यसले दिएको प्रशिक्षणको हो । समग्रमा यो दोष अहिलेको प्रतिस्पर्धात्मक युगको  हो । ‘सके गर नत्र मर’ कृत्रिमता, विवेकहीनता र ढोंगले समाजका पौंठा बसेपछि आफैँले आफूलाई सक्रिय बनाउनुको विकल्प हामीसँग हुँदैन । कतैबाट स्वचालित आशीर्वाद आउला कि भनेर हामी बाटुली सानिमाले झैँ कुरी बस्नु ‘कठै बिचरा’ बन्नु मात्र हो ।

यो युगमा दयावश कसैलाई कसैले केही पनि दिँदैन । संघ संस्थामा पद, प्रतिष्ठा र स्पेसको त झन् आसै नगेर हुन्छ । हो, एकाध पटक प्रतिस्पर्धाको लागि चान्स दिन्छ । उसको प्रभाव हेर्छ र उपयोगिताको मापदण्डमा पर्‍यो भने पुन अवसर पाउँछ अन्यथा उसलाई नबोली बिदाइ गर्छ । यो कुरा संघ संस्थामा मात्र नभएर आम क्षेत्रमा लागु हुन्छ ।

पङ्क्तिकारले पनि हरेक स्थानमा आफैँ स्पेस निर्माण गरेर हार्दै जित्दै यहाँसम्म आएको हो । मैले कसैसँग आवश्यकता भन्दा बढी गुनासो गरिन किनकि आफ्नो असफलताको जड अन्त भन्दा आफैसँग बढी हुन्छ भन्ने मलाई स्पष्ट छ । यो बोध सबैलाई हुनै पर्छ । आफ्नो रोग, शोक र असफलताको कारण मुख्य रूपमा आफै हो ।

यसको मतलब यो होइन, हाम्री बाटुली सानिमालाई खाना सोधिनु हुन्न । बुफे उहाँको बुझाइ र रुचि भन्दा बाहिरको कुरा हो । उहाँलाई सम्मानसाथ खान नदिनुमा आयोजक अर्थात् मेरो दोष हो । यसर्थ विशिष्ट सम्मेलनमा आयोजकले कार्यक्रम भरिको सिस्टमबारे जानकारी दिनै पर्छ । प्रतिनिधि दर्ता गर्ने समय, कार्यक्रम तालिका, खाना र अपनाउनु पर्ने अनुशासन वा नियम शुरुमै प्रकाशन र प्रशारण भएमा प्रतिनिधिहरू छुट्ने सम्भावना कम हुन्छ ।

जिम्मेवारीको कुरामा पनि हामी सक्ने जिम्मेवारीबाट पन्छिनु हुँदैन । उदाहरणको लागि कसैसँग दर्ता शुल्क नहुन पनि सक्छ । समस्यामा पर्न सकिन्छ तर भन्नु त पर्‍यो नि ।

बेल्जियम च्याप्टरको कुरा गर्दा मैले हाम्रो टिमका सहकर्मीहरूलाई जिम्मेवारी लिने सवालमा सकभर नाइँ नभन्नु भनेर सिकाएको छु । ‘नो’ भन्नु आफ्नो अवसर गुमाउनु, दमित हुनु, अनुभवी बन्न वञ्चित हुनु मात्र नभएर अस्तित्वलाई नकार्नु हो । सामान्यतया ज्यूँदो रहन अस्वीकार गर्ने ‘नाइँ’ शब्द हाम्रो टिममा अस्वीकार्य छ ।

पङ्कतिकारकै सवालमा पनि नेतृत्व टिमले एक शीर्षक दिएर कार्यपत्र लेख्न जिम्मा दियो । ‘ढङ्ग न सँग म परें दङ्ग’ भनेझैँ मैले काम गर्ने सिप भएर हैन कि नजानेरै गर्छु भनिदिएँ । मेरो सिद्धान्त भनेको राम्रोको लागि सबै सामाजिक अवसरहरूलाई समात्ने प्रयत्न गर्नु पर्छ । काम सप्रे जस पाइयो नत्र अनुभव त पाइन्छ । गुमाउने भनेको अलिकति समय मात्र न हो ।

त्यसैले सामाजिक क्रियामा पोखिने गरी अघि सर्नु पर्छ किनकि क्षमताको पहिचान गर्न हरेक परीक्षणहरूमा जाँच दिनै पर्छ । जीवन पटक पटक नआउने भएकोले परीक्षणको लागि जीवन छोटो छ । सम्पत्तिको के कुरा, अन्तमा आफैँलाई जलाएको खरानी पनि आफूसँग रहँदैन । यो बफे युगमा ‘म जन्मेको थिएँ’ भन्ने परिचयको लागि पनि आफूलाई विभिन्न मोर्चाहरूमा प्रस्तुत गरिरहनु पर्छ ।

ग्रुपमा अफ्रिकाका सम्मानित अध्यक्षले आयोजकलाई असन्तुष्टि पोखेको देखेँ । फोनमा कुरा गरियो । यो योजनामा भयो कि भन्ने उहाँको आशंका पनि रहेछ । म आफै अर्ध आयोजक भएकोले चासो स्वाभाविक पनि हुने भयो । हाम्रो च्याप्टरका अध्यक्ष शौरभ कारंजितको नेतृत्वमा आफै त्यहाँ पुगेकोले नियोजित वा प्रायोजितको भ्रममा नपर्न अफ्रिकाका अध्यक्षलाई अनुरोध गरें ।

भिडमा साथी बिरामी हुँदा स्वयम्ले नभनेसम्म थाहा हुँदैन । सबैमा आ-आफ्ना हतारहरू हुन्छन् । त्यसैले मैले अगाडी नै भनिसकें, सामाजिक हितमा आफ्नो ऊर्जाको संयोजन हुने अवसर खेर नफालौँ । साथीहरूको पनि पालो कुर्नु हुन्न भन्ने मान्छे म । अहिल्यै अगाडी बढिहाल, साथी भाइले जेसुकै भनुन् । किनकि समय, मन र शारीरिक ऊर्जाको संयोजन सदैव उस्तै रहँदैन । गल्दै गल्दै गएर शरीरबाट ऊर्जा सकिन्छ र अन्तमा पछुतोले विक्षिप्त भएको मन मात्र बाँकी रहन्छ ।

सारमा, अनेसासको सम्मेलनको बारेमा प्रस्तुत सबैका चिन्ता र सुझावहरू आआफ्नो ठाउँमा जायज छन् । महामेला र सम्मेलनहरूमा जुताको पिँधमा टाँसिएको धुलो झर्छ नै । सम्मेलन स्थल फोहर पनि हुन्छ । सम्मेलन ठ्याक्कै केक काटेजस्तो हुँदैन, कति भनेका प्रतिनिधि आउँदैनन् । भोजन पक्कै पनि सबैले चिताए जस्तो हुँदैन । भन्नाले ठुला सभाहरूमा सबै कुराहरू ठ्याक्कै मिलिरहेका हुँदैनन् ।

मेरो बिचारमा त्यो मुख्य कुरा हैन । मुख्य कुरा ती संकल्पित अनुहारले पोखेको सांस्कृतिक र नेपाली मूल्य रक्षाको ऐभारा तथा आभा हो; रचना तथा सिर्जनाको संकल्प हो; भावनात्मक भेट तथा मूल्यबोधको प्राज्ञिक चिन्ता हो । निष्कर्षमा परिणामलाई स्विकार्दै, सिंहावलोकन गर्दै निरन्तर अघि बढिरहनु हो । हो, त्यही प्राज्ञिक चिन्ताभित्र नै हाम्रा सामूहिक भावी कार्यक्रमहरू छन्; कार्यपत्रका निष्कर्षहरू छन्; नेपाली साहित्यको एक विशाल घेरा छ र भविष्यको एक स्पष्ट चित्र छ ।