तिम्रो निम्तो मान्न पुग्दा पुग्नु अघिका मेरा सबै कल्पनाहरू चकनाचुर भए । जब मैले त्यो परिवेशलाई नियालेँ, तिम्रो स्वभाव र व्यवहारलाई देखेँ त्यतिबेला म आफैँ चकित भएँ । मलाई विश्वास लागेन कि त्यो तिमी नै हौ ? साँच्चै मेरो पुरानो उही साथी जोसँग कति खेलियो, कति हिँडियो, कति मिलियो ।

तिमी नभई नहुने मलाई, म नभई नहुने तिमीलाई । मित्रताको गहिरो सम्बन्धमा हाम्रो बाल्यकाल गुज्रिएको थियो ।

मित्रताको त्यो साइनो जिन्दगीको यात्रामा जो जहाँ पुगे पनि कहाँ चटक्कै बिर्सिन सकिन्छ र ? यी सबैको सम्झना छँदैछन् । तर त्यसको हिसाब गर्न सकिँदैन ।

कुनै अनौठो यात्राको आरम्भजस्तै थियो, जब तिम्रो निम्तो मेरो अगाडि आइपुग्यो । त्यो एउटा कागजको चिर्कटो टुक्रा मात्र थिएन । यो बिरानो शहरमा बरु एउटा अदृश्य मिलनको संकेत थियो । त्यसले मलाई तिमीसम्म डोर्‍याइरहेको थियो । मेरो प्यारो बालसखासँग भेटिने अवसर जुट्ने समय नजिकिँदै थियो । खुशीले म रमाइरहेको थिएँ । त्यहाँ अरू चिनारु पुराना साथीहरू पनि भेटिएलान् भन्ने आशा थियो । पुराना दिन फेरि फर्किएर हेर्न पाइएला भन्ने चाहना थियो ।

निम्तोमा लेखिएको मिति, समय र स्थान हेरेपछि म त्यो दिनको व्यग्र प्रतीक्षामा थिएँ । कहिले आउँला त्यो दिन भनेर मेरो पर्खाइले सीमा नाघ्दै थियो । म पर्खिनुको पल–पल गुजारिरहेको थिएँ । त्यो निम्तोको दिन भेटिने खुशीको उत्सवमा मन त्यसै–त्यसै आफैँभित्र, आफैँसँग रमाइरहेको थियो । किनभने धेरै वर्षपछि हामी भेटिँदै थियौँ ।

थाहै नपाई मनमा अनेकौँ कौतुहलहरूले बास गरेका थिए । धेरै समयपछिको भेट आफैँमा आनन्द महसुस हुन्थ्यो । कस्तो होला त्यो ठाउँ, कस्ता होलान् ती पलहरू ? तिम्रो निम्तो मान्न म पुग्दा, मेरा पाइलाहरूले भौतिक दूरी मात्र नापिरहेका थिएनन् । बरु एक भावनात्मक मिलनको यात्रा तय गरिरहेका थिए ।

सडकका हरेक घुम्ती र मोडमा तिम्रो प्रतीक्षाको आभास थियो । म सम्झिन्थेँ– तिनै गाउँले बालपनका क्षणहरू । कहिले पहाडी बाटोका घुमाउरा गोरेटाहरूले त कहिले समथर फाँटको विशालताले मलाई तिमी नजिकै भएको महसुस गराउँथ्यो । प्रत्येक पल, तिम्रो आमन्त्रणको गरिमाले मलाई अगाडि बढ्न प्रेरित गरिरहेको हुन्थ्यो । समयको गति र प्रकृतिको सौन्दर्यलाई नियाल्दै, म आफ्नै धूनमा तिमीसम्म पुग्ने कल्पनामा हराइरहेको थिएँ ।

तिम्रो निम्तोको ठेगाना बोकेर मेरा पाइला वेगले हिँड्न आतुर थिए । गाउँबाट मन शहरमा आइसकेको थियो । हामी शहरका बासिन्दा बनेर मित्रताको पुरानो साइनोलाई बल्लतल्ल धेरै वर्षपछि गाँस्ने समय पर्खिदै थियौँ । शहरीया हुनुको फाइदा भेटिनुपर्ने क्रम टुटेको र चिनारु साइनो फुटेको अवस्था थियो । त्यसैले निम्तोको माध्यम भन्नु ‘टुट्दै’ गएको सम्बन्ध पुनः ‘जोड्नु’ थियो ।

म हाम्रो विगत दिनका यादहरूमा डुब्दै गएँ । मेरो र तिम्रो सम्बन्ध स्नेह र आत्मीयताको प्रतिविम्ब थियो । तिम्रो मुस्कान, तिम्रो आतिथ्य र तिम्रा शब्दहरूले मलाई आफू कतै टाढाबाट आएको यात्री होइन, बरु वर्षौंदेखि चिनिएको नजिकको आफन्त हुँ भन्ने महसुस गराउँथ्यो । त्यहाँ कुनै औपचारिकता हुँदैनथ्यो । थियो त केवल निःस्वार्थ प्रेम र आत्मिक सम्बन्ध । जुन विगतमा तिमी र मैले बिताएका थियौँ । हामी कति मिल्थ्यौँ । कति घुम्थ्यौँ । पढ्ने मात्र होइन कति खेल्थ्यौँ । कति आनन्दले रमाउँथ्यौँ ।

तिम्रो निम्तो मेरो हातमा पर्दा, त्यो केवल एउटा कागजको टुक्रा थिएन, बरु लामो समयदेखि अँगालेको प्रतीक्षाको पूर्णविराम थियो । मनमा कत्रो उत्साह, कत्रो उमङ्ग ! तिमीसँगको भेट र पुराना दिनहरूमा गफिँदै रमाउने आशाहरू थिए । अनि भलाकुसारीले भरिएको मिठास बटुल्ने आशाले मन रमाइरहेको थियो । हरेक पाइलाले तिमीसम्म पुग्ने दूरी नाप्दै गर्दा, कल्पनामा तिम्रो न्यानो मुस्कान, आत्मीय अँगालो र जीवन्त कुराकानीका दृश्यहरू मडारिरहेका थिए । त्यो क्षण मेरा लागि एक अदृश्य यात्राको आरम्भ थियो । त्यहाँ मैले भौतिक दूरी मात्र होइन, वर्षौँदेखि सञ्चित भावनात्मक प्यास मेटाउने सपना देखेको थिएँ ।

तर, जब तिम्रो निम्तोमा म तिमीकहाँ पुगेँ, मेरा आँखाले निम्तालुको भीडमा तिमीलाई खोजिरहेका थिए । कानहरू तिम्रा शब्द सुन्न आतुर थिए । मैले तिमीलाई भेटेँ । यतिका वर्षपछि हामी भेटियौँ । तिमीले मलाई भेट्यौ । तर, तिमीले बोली खोल्ने मनै गरेनौ । कुनै अरू औपचारिक–अनौपचारिक कुराकानी नै गर्ने मन गर्‍यौ । तिम्रो व्यवहारले म छक्क परेँ । तिम्रो निम्तो मान्न म पुग्नुको अभिप्राय व्यर्थ भयो । म खङ्ग्रङ भएँ । सुकेको पातझैँ भएँ ।

धेरैपछिको त्यस भेटमा पनि तिमी मसँग नजिकिन चाहेनौ । कुनै सामान्य भलाकुसारीसमेत भएन । तिमी अधिकांश समय अरू पाहुनाहरूकै साथमा रमायौ । मप्रति तिम्रो मौनता, तिम्रो उदासीनताले मेरो हृदयमा चिसो पानी खन्याइदियो । जुन उत्साहले म यहाँसम्म आइपुगेको थिएँ, त्यो क्षणभरमै ओइलायो । आशाका अंकुरहरू नफुट्दै सुके र जिज्ञासाका किरणहरू अँध्यारोमा विलीन भए ।

त्यतिबेला, मेरा उत्साह, मेरा आशा र मेरा जिज्ञासाका मीठा–मीठा सपनाहरू तिमीलाई भेटेको केहीछिनै चकनाचुर भए । जुन मिलनको कल्पना मैले दिनरात गरिरहेको थिएँ, त्यो वास्तविकतामा धमिलो चित्र जस्तै लाग्यो । तिम्रो अगाडि उभिएर पनि, म तिमीबाट हजारौँ कोस टाढा रहेको महसुस गरेँ । त्यो क्षण, मेरो निम्ति भेटघाट नभई अकल्पनीय शून्यपन थियो । मेरा अपेक्षाहरूको महल बालुवाको घरजस्तै भत्कियो, जसको अवशेषमा केवल अवाक् निराशा र प्रश्नहरू मात्र बाँकी रहे ।

तिमी मात्रै होइन तिम्रो निम्तो मान्न पुगेका अरूहरूसमेत मदेखि परपर हुँदै तर्किदै, टाढिँदै रहे । मलाई चिन्नेहरूले ‘नचिनेको’ झैं गरेको पनि देखियो । बरु नचिनेकाहरूले ‘चिनेको’ जस्तै लागेको भनेको सुनियो । को हो आफन्त, को हो टाढाको वा को हो परिचित र को चाहिँ हो सबैभन्दा नजिकको चिनारु !? तिम्रो निम्तो मान्न पुग्दा सबै चिन्न पाइयो । चिनारु अरूको व्यवहार पनि तिम्रो जस्तै अनौठो पाउँदा, नचिनेको जस्तै गर्दा म चुपचाप त्यस निम्तालुको भिडामभिडमा पनि एक्लो भएँ ।

हुन त, ‘सन्चै छु’ भन्दा ‘बिरामी’ जस्तो अनुहार देखियो भन्नेहरू पनि छन् । ‘बिरामी छु’ भन्दा अनुहारमा त त्यस्तो देखिँदैन भन्नेहरू पनि भेटिन्छ । मान्छेको स्वभाव, मान्छेको हेराइ र बुझाई अनि बोलाई भन्न सकिँदैन रहेछ । कुन सत्य हो, कुन झुट हो ? आँखाले देखेको यथार्थ कुरा पनि कहिलेकाहीँ भ्रम हुँदोरहेछ । आँखाले नदेखेको कुरालाई पनि कहिलेकाहीँ पत्याउन बाध्य बन्नु पर्दोरहेछ ।

तिम्रो निम्तो मान्न म पुग्दा, त्यो दिन, म केवल शारीरिक रूपमा तिमीबाट टाढा भइनँ । बरु भावनात्मक रूपमा पनि एक्लो भएँ । त्यस भिडको छेउकुनामा बसेर म निरश मनले अरूको खुशी देखेर रमिता हेरिरहेँ । मैले स्कुलका ती दिन सम्झिएँ । हाँस्दैखाँदै सँगै उकाली र ओराली हिँड्दाका सम्झना गरेँ । यो अनुभवले लाग्यो– कहिलेकाहीँ सबैभन्दा सुन्दर सपनाहरू पनि अप्रत्याशित वास्तविकताको कठोर चट्टानमा ठोक्किएर टुक्रिन सक्दारहेछन् ।

मेरो साथी तिम्रो निम्तो मान्न पुग्दा मैले यस्तै महसुस गरेँ !