हजारौँ भेटिन्छन् जिन्दगीमा मान्छे र मनहरू । कति चिनिन्छन्, बिर्सिन्छन्, बिछोडिन्छन् । कति चिनिएर पनि चिनिँदैनन्, कति चिनिएर पनि चिनिएका हुँदैनन् । कति चाहिँ नचिनिएर पनि चिनिन्छन् । फेरि बिर्सिएकाहरू चिनिन्छन् ।

वस्तुतः बिर्सिने र सम्झिनेको नवीकरण हुने सिलसिला क्रमगत चलिरहन्छ । कति नभेटिएका भेटहरू । कति भेटिएर बिर्सिएका भेटहरू । कति नबिर्सिएका दिनहरू । खुसीका मिलन र दुःखका बिछोडहरू कति-कति !

बाँचुञ्जेलकाे नालीबेली खोतलेर पनि काम छैन । बिर्सेर पनि बिर्सन नसकिने, सम्झेर पनि साध्य नहुने । जिन्दगी छउञ्जेल अनेकौँ अध्याय र पृष्ठपानाहरू ।

दिनदिनै बोलिन्छन् कति शब्दहरू । फुर्सदमा लेखिन्छन् कति अक्षरहरू । नलेखिएका बाँकी अझ धेरै भावनाहरू । सोचिएका, कल्पना गरिएका र सपना, बिपनाका अनेकौँ कुराहरू । छिनछिनै लाखौँ देखिन्छन् प्रकृति र परिवेशहरू । यसरी कैयौँ बोलिन्छन्, लेखिन्छन् र देखिन्छन् का ऐजन-ऐजन बुँदाहरू ।

ऐन मौका तिनै हुन्छन् जीवन, समय र समाजका दस्ताबेज । लिखित मात्र होइन अलिखित र अमूर्त हाम्रा अभिव्यक्ति धेरै छन् । तथापि कसले त्यसको गाम्भीर्यमा गम खान्छन् र ! त्यसको पछिल्तिर को लागिरहन्छन् र ! प्रायः कोही पनि त्यसको खोजीनितीतिर ध्यान दिँदैनन् । दिने मन मात्र होइन आवश्यकता पनि ठानिन्न ।

परन्तु वास्ता नगरिएको त्यही कुरा नै प्रिय हुँदो रहेछ । त्यो नै सबैभन्दा प्यारो लाग्दो रहेछ । जस्तो कि, आफ्नै अनुभूतिका अक्षरहरू । ती साह्रै प्रिय हुन्छन् अरूले ‘नपढिदिए’ पनि । कसैले राम्रो र नराम्रो कुनै प्रतिक्रिया ‘नभनिदिए’ पनि । कसैको ‘बेवास्ता’ ले ‘बेसुर’ हुँदाहुँदै पनि ती शब्द महत्त्वपूर्ण हुन्छन् । तिनका प्रति एक शब्द ‘बधाई’ नदिए पनि । पुरस्कार र सम्मान त झन् धेरै टाढाको कुरा भयो ।

त्यसैले ‘आफ्नो भनेको आफ्नै हुन्छ ।’ पराई भनेको परकै हुन्छ । र, ‘अरूको भनेको अरूकै हुन्छ ।’

हो, जो सँग बोलीचाली र भेटघाट पनि कमै हुन्छ । जो सँग हाँसो र खुसी पनि साटिँदैन । दुःख र पीडा पनि बाँडिँदैन । केवल औपचारिकता एकालाप-संलाप मात्रै । यसरी कुनै सम्बन्ध र साथ हुँदैन तैपनि मिठो सम्झना जिन्दगीभरि रहिरहँदो रहेछ ।

अचानकको जन्म र मरण । अचानकको भेट र बिछोड । अचानकको दुःख र तनाव । अचानकको सम्झना र माया । बाटो छ तर पुग्नुपर्ने कहाँ ? अचानक अलमलिएको गन्तव्यमा हामी । त्यसैले भनिएको छ- ‘प्रश्नहरूको बीचमा जीवन छ । उत्तरहरूको खोजीमा जीवन छ । आनन्द अमृत सबैलाई कहाँ मिल्छ र ! किनकि भ्रमहरूको बीचमा जीवन छ ।’

यस्तो अवस्थामा पनि हाँसो र खुसी खोसिन्छ भने, सुख र सन्तुष्टिमा पूर्णविराम लाग्छ भने बाँच्नुको अर्थ निरर्थक हुन्छ । हाँस्नुको उपलब्धि शून्य बन्छ ।

अतः हाम्रा लागि हरेक बिहान शुभ साइतको होस् । हरेक भेट प्रेममय रहोस् । हामीले हेर्ने हरेक दृश्य सुन्दरताले लेपन भएको होस् । हाम्रा हरेक हिँडाइ आरामदायी गन्तव्यको उपलब्धि बनोस् । हामीले बोल्ने प्रत्येक बोली मित्र-मिजास र हार्दिकताले ओतप्रोत भई दिओस् ।

थकानका हरेक बसाइ सिर्जनात्मक अनुभूतिले भरिभराउ होस् । अध्ययनका हरेक पाना-पानामा जीवनदर्शनका मार्ग लेखिएको होस् । हामीले फेर्ने हरेक श्वासमा स्वच्छ हावाले प्रवेश गरिरहोस् । हामीले बाँच्ने समय र समाज अनुकरणीय होस् ।

त्यसैले हाँसेको जीवन क्या राम्रो । रोएको, रिसाएको वा नबोलेको जीवन कति नराम्रो । हाँस्नु त यसरी नै उन्मुक्त उल्लासको हाँसो । सँगसँगै एकसाथ बाँच्नु त यसरी नै मिलनको मिठास । छुटिनु, टाढिनु, छुट्टाछुट्टै रहनु, रुनु, सम्झनु, बिलौना र विलाप गर्नु के राम्रो हुन्छ र ! हुँदैन कदापि पनि दुई दिनको जीवनमा । एक बारको जन्ममा ।

गालीगलौज, आरोप-प्रत्यारोपको प्रहार केही होइन दोष देख्नु र देखाउनु पनि । मनमुटावले केही गर्दैन बेफाइदा मात्रै आफू-आफैँमा । मिल्नु, रमाउनु, हाँस्नु, हँसाउनु भेटिनुको बरबादी होइन, बरु सुन्दर निशानी ।

आहा ! कति राम्रो सुन्दर र सुहाउँदो पनि । यसरी हाँसोखुसी नै वास्तवमा शतायु आयुको एक दिव्य पल आफैँमा आह्लादको क्षण । हामी आफू-आफैँमा एकछिन बढी बाँच्नुको खुसी । जहाँ हुन्छ आफ्नो हुनुको आफन्तपनको आफ्नै रमाइलो परिवेश ।

बिर्सिएर सारा तनावहरूका तानाबाना । सम्झिएर बरु रमाइला अनुभूतिका दैनिकीहरू । जहाँ भेटिन्छन् जीवन बुझ्ने, प्रकृति देख्ने र प्रेममय जीवन-यात्राका अध्यायहरू । मुस्कानले स्वागत गरिरहेका मायालु दृश्यहरू । मायाले सुमसुम्याइरहेका सुकोमल हातहरू । ममताले भरिएका आँखाहरू । करुणाले युक्त मन र मुटुहरू । श्रद्धाले भरिभराऊ आदर भावका व्यवहारहरू ।

धेरैलाई चिनियो । धेरैलाई पढियो । चिन्न र पढ्न नसकेकोलाई पनि पालो पर्खेर बसियो । शीतको थोपा जस्तो जीवन । भूतको कथा जस्तो जीवन । हो जस्तो, होइन जस्तो पनि । विश्वास टुटेको नेताको आश्वासन जस्तो ।

आँखाकै डिलमा दृश्यमान बिछट्ट प्रकृति परी । अविरल झरनाले शीतल सिञ्चन गरिरहे जस्तो । हिमाली लस्करले सधैँ ताजा, जागरूक र फुर्तिलोपन दिइरहे जस्तो । कैयौँ अप्ठ्यारा, जँघारका सारा घोचाघारा पन्छाएर शिखर चुम्न पुगे जस्तो । नौलो यस्तो बेग्लै ज्ञान प्राप्तिको सुखद वर्तमानमा जिउनु पो जिउनु । हाँस्नु त हाँस्नु यसरी नै सन्तुष्टि र सफलताका सारा खुसीहरू पिएर ।

वास्तवमा हाँसो, खुसी, सन्तुष्टि नै जीवनको सर्वोत्तम सम्पत्ति । जिन्दगी तिमी माया, ममता र स्नेहमा यसरी नै रमाएर बाँच्न सक । त्यसमै भेटिने छ उन्मुक्त हाँसो र निश्चल खुसीका उच्छ्वासहरू । यसमै मेटिने छ सारा दोषका दागहरू ।

सबैले राम्रो देख्नु र राम्रो भन्नु अनि ‘राम्रो’को परिभाषामा अर्थ खोज्नु । वास्तवमा ‘राम्रो’को परिभाषा नै हुँदैन । धेरैजसोले राम्रो भनेको कुरा त्यही राम्रो हुन्छ । त्यसलाई नै राम्रो मान्नुपर्ने हुन्छ ।

जीवन भन्नु सिर्जना हो । समृद्धि हो । सुख, शान्ति, सन्तुष्टि प्राप्तिका लागि गर्ने सङ्घर्ष हो । प्रकृति जस्तै चञ्चल, परिवर्तनशील र रङ्गिन …!

महसुस हुन थाल्ने छ क्रमशः आँखाले देख्ने स्तब्ध सौन्दर्य । मौन प्रकृति । अथाह प्रेरणाका प्रभावहरू छताछुल्ल अविरल ! भूस्वर्ग भूमि हाम्रो मातृभूमि नेपाल !

तिमीले के सोच्छौ, मैले के सोच्छु ? तिमीले के चाहन्छौ, मैले के चाहन्छु ? तिमीले के माग्छौ, मैले के माग्छु ? फरक इच्छा, चाहना र सोचाइबीच पनि ममतामयी एकता सुन्दर जीवन । अपितु सोचेको, चाहेको र मागेको कुरा कहाँ पाउन सकिन्छ र !? जतिसुकै पुगिसरी भए पनि अभावकै पल । असन्तुष्टिले अस्तव्यस्त हरपल ।

पानी प्यास पिएर कहिल्यै तृप्त भइन्छ र ! काकाकुल जीवन सधैँ तृषित मन । सधैँ प्यासी पानीको । सधैँ दासी पराईको । सन्तोषले सुत्न नसक्ने । आरामको निद्रा नपर्ने । जति खाए पनि भोकै । जति बोले पनि कुरा बाँकी  मात्रै । जति हिँडे पनि गन्तव्य विमुख ।

मायाको प्रक्षेपण गराउनै मुस्किल । मायालु बोली र व्यवहारको आभास पाउनै गाह्रो । आफू जतिसुकै असल नियतले उपस्थित भए पनि डर, शङ्का र घृणाको जन्म । विश्वासको मृत्यु । आस्थाको अन्त्य र निराकार निस्तो । हाँसोको विराम र आँसुको आगमन । श्रद्धाको सरोबरमा आराधनाको अभाव ।

दुःखका अँगालाहरूले कहिल्यै साथ नछोड्ने । खुसीलाई खोजेर नभेटिने । मान्छेका मनहरूलाई बुझेर बुझ्न नसकिने । जानु कहाँ, पुग्नु कता ? अलपत्र आफू आफैँसँग । अस्पष्ट हामी आफ्नै विचारसँग ।

कति पीडा, तनाव र दुःखहरू । कति सुस्केरा र सास्तीहरू । अलिकति सन्तुष्टि प्राप्तिका लागि कति थरी घाउचोटहरू । बरु प्रकृतिलाई आनन्द छ अघाउँजी ! किनभने कसैलाई केही भनिहाल्न पनि सकिँदैन । कसैलाई वर्षौंको सङ्गतले पनि बुझ्न सकिँदैन ।

कठिन छ मान्छेको आँखाको नानीभित्र घुस्न । सकिँदैन मन र मुटुसम्म पुग्न । सकिँदैन हाँसो र खुसीलाई फेला पार्न । निष्ठुरी पनि कतिसम्म हो पत्थर पग्लिन सक्छ बरु । तर मैनजस्तो मन पगाल्न कति थरी हत्ते र हैरानीहरू । पवित्र प्रेमको अग्निज्वालाले पनि पगाल्न नसक्ने ।

त्यसैले त आफ्नो भनेको आफ्नै हुन्छ । कहिलेकाहीँ मन सिसा फुटे जस्तो भए पनि । कहिलेकाहीँ मन कागती निचोरिए जस्तो भए पनि । कहिलेकाहीँ मन भदौरे भेलजस्तो भइदिन्छ । के हुनुपर्ने त्यो हुँदैन । जे नहुनुपर्ने थियो तर त्यही भइदिन्छ । धैर्य, सहनशीलता र संयमको खाँचो सधैँ ।

यस्तोमा आत्मबल, आत्मविश्वास, आत्मीयताको आवश्यकता । प्रकृति जस्तै निर्भय …! वर्तमानको त्रासदीबाट मुक्त मन-मुहार । हाँसो र खुसीका साथ बादल जस्तै त्यस्तै आकाश सेरोफेरो उड्दै-उड्दै उन्मुक्त । यौटा अलग्ग र असल उल्लासमय आभासको अभिव्यञ्जनाहरूले वशीभूत । सबै कुराबाट मुक्त, एक्लै अघाउँजी हाँसो र खुसीमा स्पन्दित हृदय । आफ्नो भनेको आफ्नै भए जस्तै त्यस्तै हुन्छ ।

अतः अमेरिकी लेखक जिग जिग्लरले भनेका छन्- ‘जिन्दगीमा कसैलाई पनि गाली नगर । राम्रा मानिसले तिमीलाई खुसी पार्ने छन्, खराब मानिसले अनुभव दिने छन्, खत्तम मानिसले पाठ सिकाउने छन् अनि उत्तम मानिसले यादगार बनाउने छन् ।’