चित्रकलाका सौन्दर्यमा डुबुल्किँदै आर्ट ग्यालरीमा रमाउनुको क्षण आफैँमा पृथक आनन्दले भरिभराउ हुन्छ । ग्यालरीमा प्रवेश गर्ने कलापारखीको कलाप्रति गहिरो चाहना पनि आवश्यक पर्छ । त्यसले कला हेर्ने, बुझ्ने र मनन गर्ने भावनामा ठूलो प्रभाव पार्छ । यसरी यस किसिमको मानसिकता बोकेर ग्यालरी पुग्ने कुनै पनि दर्शक, कलाकार र कलाप्रेमीले आफूले खोजेको सौन्दर्य, शान्ति र आनन्द सहजै प्राप्त गर्न सक्छन् ।
यस्तो लाग्छ कलामा मन रमाउन पुग्नु भनेको आफैँमा सौन्दर्यसँग साक्षात्कारको एक मीठो पल हो । जहाँ मनले धेरै समयपश्चात बेग्लै आनन्दको दृश्य देख्न पाएको हुन्छ । जहाँ मौलिक रङका उकाली र ओराली यात्रामा निर्मित आकृतिहरूका संरचनामा आँखाहरू रमाएको हुन्छ । त्यहाँ हामीले खोजिरहेका दृश्य देख्न पाइन्छ । हामीले सोँचिरहेका कल्पनाको अर्को अलग्ग संसार भेट्न सकिन्छ ।
वस्तुतः ग्यालरीमा भित्रिँदा त्यहाँ हामी हाम्रा कल्पना र सपनाका दृश्यमय क्यानभास देख्न पाएर ती सामु चुपचाप मौन दर्शक बन्न पुग्छौँ । बोली निस्किँदैन । संवाद शून्य मन हुन्छ । हेर्नुको नौलोपनमा आँखाहरू चित्रसँग आन्तरिक संलाप गरेर आफैँमा हराउन पुग्छन् ।
यसरी प्रकृति, समाज, जनजीवन, अध्यात्म र सौन्दर्यको सङ्गमले भरिएको आर्ट ग्यालरीमा बिताएको एक दिन साँच्चै विशेष अनुभवगम्य नै रह्यो । आर्ट ग्यालरीमा प्रवेश गर्नासाथ क्यानभासमा उतारिएका आकृतिहरू, रङहरूको खेल र विभिन्न कलात्मक अभिव्यक्तिहरूले मनलाई प्रथमतः आफूतिर आकर्षित गर्छन् ।
ग्यालरीका प्रत्येक चित्रले अनेकौँ र पृथक किसिमका कथाहरू बोकेको हुन्छ, जसले कलाकारको भावना, उनका विचार र अनुभव गरेको विविध परिवेशका समयलाई दर्शाउँछ । ग्यालरीमा कलाप्रदर्शनी विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि यहाँ चर्चा गर्न लागिएको विषय चाहिँ हिमालयका कलाकृति प्रदर्शनीको हो ।
ग्यालरीमा मैले पहिलो नजरमा देखेको चित्र हिमालको एक दृश्य थियो । चित्रकारले हिउँले ढाकिएको हिमालको चुचुरो र आकाशको हल्का नीलोपनलाई साह्रै कलात्मक रूपमा प्रस्तुत गरेका थिए ।
लाग्थ्यो, त्यो हिमाल साँच्चै मेरो अगाडि नै छ । मेरो सन्निकट दृश्यमान त्यो हिमालयसँगको प्रथम साक्षात्कारमा म खुशीले रमाएको छु । हर्षले उफ्रिरहेको छु । क्यानभासमा उतारिएका रङका चिसा स्वरूपहरू, बरफका ढिक्का र हिउँ जमेर सेताम्मे बनेका हिमाली चुचुराहरू कम मनमोहक थिएनन् ।
कलाकारको कुशल कलाकौशलको गतिलो प्रमाण तिनमा जीवन्त संरचनाका आयाम निर्माण गर्नु हो । रेखाहरू र रङहरूमा कलाकारले प्राण भरेजस्तै प्रतीत हुन्थ्यो । यो चित्रमा प्राकृतिक सौन्दर्यको यथार्थलाई कलात्मक दृष्टिले बुझ्न सकिन्छ ।
हिमालय, यो नाम आफैंमा गहिरो भाव बोकेको शब्द हो । कहिल्यै अन्त्य हुने शिखरहरू, सेतो हिमको चट्टान र प्रकृतिले सजाएको क्यानभास । जब कुनै चित्रकला प्रदर्शनीमा हिमालय श्रृङ्खलालाई क्यानभासमा देखिन्छ । त्यो क्षणमा दर्शकलाई महसुस हुने अनुभव अवर्णननीय हुन्छ ।
वास्तवमा यो केवल चित्र हेर्ने मात्र होइन, यो एक यात्राको आरम्भ जस्तै लाग्छ । त्यसले हामीलाई हिमालयको उच्चतम बिन्दुसम्म पु¥याउन स्वतः नै प्रेरित गर्छ । अझ कलामा खास चाख राख्ने, चिन्तन गर्ने र मरिमेट्ने स्वभाव छ भने त्यसमा के मात्र दृश्यको कल्पना गर्न सकिँदैन र ?
यौटा क्यानभासको चित्रले प्रदान गर्ने प्रेरणा र पार्ने प्रभावलाई सामान्य ठान्नु हुँदैन । त्यसबाट धेरै सकारात्मक सन्देश प्रवाहित भइरहेको हुन्छ । सिर्जनात्मक नवीनताका ती कलाकर्महरूमा कलाकारको मन र सिर्जनक्षमता जसरी कलात्मक कर्ममा लेपन भएको हुन्छ त्यसैगरी तिनलाई हेर्नेहरूका आँखा र मनमा पनि कलामय अनुभूतिका भावनाहरू प्रवेश भइरहेका हुन्छन् ।
कलाप्रदर्शनीमा राखिएका चित्रहरूले हिमालयको अद्वितीय सौन्दर्यलाई मात्र उतार्दैनन्; कलाले शान्त, शक्तिशाली र स्थिर हिमालयको जीवनलाई समेत दर्शाउँछन् । हिउँले ढाकिएका चुलीहरू, कञ्चन नीलो आकाश, र वरपरका वनस्पतिहरू चित्रकारको दृष्टिमा एक विशेष आकारमा प्रकट हुन्छन् ।
तिनै दृश्यमा ग्यालरीमा पुगेका कलापारखी दर्शकहरू मन्त्रमुग्ध भएर आफैँमा हराउने प्रेरणा पाउनु वस्तुतः कलाकारको पनि ठूलो सफलताको कुरा हो । यसरी कलापारखी दर्शकहरूले ग्यालरीमा पुगेर कलाकृति हेर्नु र हेरेर मनमा आनन्दको भावले रमाउनु अर्को ठूलो प्राप्ति भएको कलाकार र दर्शकले मान्नुपर्छ ।
सही अर्थमा कलाकृतिहरूले हिमालयको दार्शनिक पक्षलाई पनि उजागर गर्छन् । जहाँ शिखरहरू लक्ष्य प्राप्तिको प्रतीकजस्तै देखिन्छन्, र गहिरा उपत्यकाहरू जीवनका जटिल मोडहरूको प्रतिनिधित्व गर्छन् । चित्रकारले आफूले देखेको मात्र होइन, भावनात्मक दृष्टिले महसुस गरेको अनुभवलाई क्यानभासमा उतारेका हुन्छन् । यस्तो अनुभव भनेको सिर्जनात्मक कर्मको लामो साधनापछिको परिस्कारपूर्ण रचना हो ।
कुनै पनि ग्यालरीमा जानु । ग्यालरीका भित्तामा सजाइएका क्यानभासमा आँखा डुलाउनु । प्रदर्शनीमा प्रवेश गर्ने सबैको यात्रा छुट्टै हुन्छ । केहीलाई हिमालयको सौन्दर्य देखेर मानसिक शान्तिको अनुभूति हुन्छ भने केहीलाई जीवनका कठिनाइहरूमा अडिग रहनको लागि बेग्लै किसिमको प्रेरणा मिल्छ ।
यो यात्रा केवल क्यानभासको सीमाभित्रको कलामा मात्र सीमित हुँदैन । यो हाम्रो भित्री चेतनासम्म पुग्छ । जहाँ हामी प्रकृतिसँग गहिरो सम्बन्ध महसुस गर्छौं । र, जीवनलाई कलाको निकट राखेर सौन्दर्यमय भावनाहरूको निर्माणमा आफूलाई समर्पित गर्न अग्रसर हुन्छौँ ।
अन्ततः हिमालय चित्र प्रदर्शनीको कलात्मकपन, प्रकृति र जीवनको गहिराइलाई बुझाउने माध्यम बन्छ, जसले हिमालयलाई मात्र नभई आफूलाई पनि खोज्न प्रेरणा दिन्छ ।
त्यहाँ अर्को क्यानभासमा एउटा बूढा मानिसको चित्र थियो, जसले जीवनको थकान र सन्तोषलाई एकसाथ चित्रण गरेको थियो । यसमा उनका नयनहरूमा गहिरो शून्यता देखिन्थ्यो, तर ओँठमा हल्का मुस्कान झल्किरहेको थियो । यो चित्रले मानवीय जीवनका संघर्ष र उसको मौनतामा लुकेका धेरै भावनाहरूको अभिव्यक्ति गरिरहेको थियो ।
केही क्षणपछि, आधुनिक शैलीका चित्रहरूको कक्षमा पुग्दा, रङहरूको छटा र अमूर्त आकृतिहरूले मेरो मनमा कौतुहलता पैदा ग¥यो । यहाँका चित्रहरू स्पष्ट आकृतिबाट मुक्त थिए र केवल भावना तथा रङहरूको प्रयोगबाट बनेका थिए । कलाले मूल स्वरूपमा नीलो र रातो रङको मन्द बाछिटा मात्र देखाउँथ्यो । तर त्यसमा केहीछिन गहिरएर हेर्दा रङहरूको गाढा र फिक्कापनमा अनौठो सौन्दर्य र शान्तिको आभास दिलाउँथ्यो ।
आर्ट ग्यालरीको अन्तिम कक्षमा नेपालका सांस्कृतिक वैभवलाई कलात्मक किमिसले उतारिएका सिर्जनाहरू पनि प्रदर्शित थिए । यी कलाकृतिहरूले नेपालका विभिन्न जातजाति र संस्कृतिको सांस्कृतिक झलक दिएका थिए । यहाँ एक जातीय महिलाको सुन्दर कला देखियो, जसले उसको पहिरन, गहनामा गहिरो सांस्कृतिक धरोहर झल्काएको थियो । यसले नेपालका विविधता र कलात्मक धरोहरप्रतिको गर्वलाई प्रस्तुत गरेको महसुस भयो ।
समग्रमा, आर्ट ग्यालरीमा बिताएको यो एक दिनले मलाई प्रकृति, मानवता र रङहरूको संसारलाई भिन्न रूपमा बुझ्न मद्दत ग¥यो । प्रत्येक चित्ररचनामा कलाकारले आफ्नो अन्तर्मनका गहिरा भावनालाई प्रस्तुत गरेका थिए । यसले कला मात्र होइन, मानव जीवन र संस्कृतिको सुन्दरता बुझ्न सहायक हुन्थ्यो ।
वास्तवमा आर्ट ग्यालरी एक दिनका लागि समय बिताउने ठाउँ मात्र नभएर मन र मस्तिष्कलाई प्रेरणा दिने माध्यम स्थालसमेत हो । त्यस्तै कला र जीवनको गहिराईलाई अनुभव गर्न सकिने ठाउँ हो । मनका अनेकौँ पीडाहरूलाई बिर्सिन पाइने स्थान पनि हो ।