एउटा किताबका एकपछि अर्को अनेकौं खुशीहरू हुन्छन् । ती खुशीहरूलाई आत्मसात् गर्न ‘किताबको कीरो’ हुनुपर्छ । किताबका पाना–पानालाई भित्रैसम्म पसेर ‘कुटुकुटु खान’ सक्नुपर्छ । जब किताबलाई खाएर सकिन्छ, तब किताबको ‘सौन्दर्य खुल्न’ थाल्छ । किताबको ‘ज्ञानबोध’ हुन थाल्छ । किताब पढ्नुको भोक मेटिन्छ । त्यसपछि भेटिन्छ किताबका असली कुरा । अनमोल खुराक । अनुपम वर्णन, व्याख्या, विवरणका भावपूर्ण अभिव्यक्तिहरू !

किताब एउटा ध्वनिहीन संसार हो । तथापि त्यहाँ अक्षरहरू बोल्छन्, शब्दहरूले संवाद गर्छन् । अनुभूतिका उछ्वासहरूले नयाँ जीवन–दृष्टिको क्षितिज खोल्छन् । किताबका पानाहरू सास फेर्छन् । हरेक अनुच्छेदमा जीवनको कुनै टुक्रा जिउँदो हुन्छन् । तिनैले पाठकका आँखालाई किताबभित्र नियाल्न प्रेरित गर्छ । रहस्य खोतल्न, जानकारी बटुल्न र किताबको किरो हुन उक्साइरहन्छ ।

पठन संस्कृतिको संस्कारमा यो यौटा गतिलो अभ्यास हो । जहाँ आँखाहरूले हरदम किताब खोजिरहेको हुन्छ । त्यहाँ किताबको गौरव र गरिमाले स्थान पाइरहेको हुन्छ । परन्तु किताबलाई दराजमा थन्क्याएर बन्दी बनाउने । किताब पढ्न भनेपछि जाँगरै नगर्ने । किताबप्रति वितृष्णा मनःस्थितिका यस्ता विद्यमान प्रवृत्तिहरू छन् । यस अवस्थामा किताब प्रेमको भावना आफैंमा सर्वोत्तम कर्म हो ।

पुस्तक भनेको मात्र कागजको थुप्रो वा ठेली होइन । यो त अनुभूतिको उद्यान हो, जहाँ हरेक फूलले मीठो सुगन्ध दिन्छ, जहाँ रङका सौन्दर्यहरूले प्रकृतिको सुन्दर सिर्जनाको बिस्कुन सुकाएको हुन्छ । जहाँ हरेक काँडाले फरक चोट पुर्‍याउँछ । तर, त्यो चोटको दुखाइ पनि क्षणि हुन्छ । हरेक बोटमा फरक समयको कोपिला फक्रिने तर्खरमा बाल्य मुस्कान पस्किरहेको हुन्छ । सबैभन्दा बढी प्रकृतिको मनोहर छटाले मन प्रफुल्लित भइरहेको हुन्छ ।

म अनेक किताब पढ्छु । नपढेका किताब खोज्छु । पुराना र नयाँ किताब जुन पढ्नुपर्ने थियो तर पढिएन वा किताब पाइएन, म ती किताबको खोजी गर्छु । किताबको समीक्षा पढ्छु । पढेका किताब मन परे आफैं पनि पाठकीय समीक्षा गर्छु । समीक्षकले किताब र लेखलाई कतिसम्म न्याय गरेर लेखेछ भन्ने कुरा मूल्याङ्कन पनि गर्छु ।

अद्यापि अधिकांश किताबको समीक्षामा प्रशंसाको भारी बोकाएको हुन्छ । कति किताबहरू, जुन किताबको खास समीक्षा गर्नुपर्ने थियो तिनको कुनै चर्चासम्म नभएको देख्छु । पढ्नपर्ने र पढिनुपर्ने किताबहरू किताबकै चाङमा हराएको पाउँछु । तर, हल्लाबाजले किताबलाई बजारमा बिकाएको नराम्रो प्रवृत्तिले चित्त दुखाउँछु । एउटा किताबले दिने अनेकौं खुशीहरू यसरी अनायासै खोसिएकोमा विचरा म केही गर्न सक्दिनँ ।

वास्तवमा किताब पढ्नु व्यर्थ समयको बर्वाद होइन । बरु समयको सही सदुपयोग हो । एकै ठाउँमा बसेर धेरै ठाउँमा पुग्न सकिने माध्यम हो । किताब पढेर एक्लै धेरै जनासँग साक्षात्कार गर्न पाइने अवसर हो । त्यसैले भनिरहनु पर्दैन एउटा किताबले धेरै कुरा बताउँछ । एउटा किताबले अनेक खुशीहरू दिन्छ । किताबबाट पाइने खुशी मूल्यवान हुन्छ । किनेर पाइने खुशी किताबबाटै मिल्छ । पढेर पाइने खुशी पनि किताबले नै दिन्छ ।

त्यसलै किताब मेरो प्यारो साथी । म किताबको साथी ! किताबको साथी हुन पाएर म खुशीले पुलकित छु । मजस्तो पाठक पाएर किताब पनि मसँग धेरै खुशी भएको हुनपर्छ । मेरो र किताबको यो मित्रवत नाता टुट्नु हुँदैन । बरु यो सम्बन्धको सिलसिलाले अध्ययनको नयाँ अध्याय निर्माण गर्न सक्नुपर्छ । त्यस नयाँ अध्यायमा अनुभूतिका अक्षरहरू अझ बौद्धिक, अझ कलात्मक र अझ साहित्यिक मौलिकताले भरिभराउ हुनुपर्छ ।

किताबहरूसँग बिताएका ती एकान्त क्षणहरू मेरा लागि ‘तीर्थ–व्रत’ जस्तै पवित्र लाग्छन् । आराधनामा मग्न, कुनै काममा संलग्न र कुनै प्रियजनसँगको मिलनमा व्यक्त भावना जस्तै निश्चल, निर्मल र निर्बन्ध हुन्छन् । त्यतिबेला कुनै किसिमको रागद्वेष हुँदैन । प्रेम–प्रकम्पनका पवित्र बोली र व्यवहारहरू सार्वजनिक भइरहेका हुन्छन् । त्यहाँ कुनै रित्तोपन, शून्यता वा शिथिल भाव–विह्वल परिस्थितिको प्रवेश भएको हुँदैन । मायाका घडा भरिएका र ममताका पुष्पगुच्छाले ‘किताब–प्रेम’ को उत्सव मनाइरहेको हुन्छ ।

एउटा किताबले मलाई गाउँको बासना दिन्छ । ग्रामीण जीवनको हार्दिक प्रेम र तिनै परिवेशमा डुलाउँछ । हिमाली हावाको शीतल स्पर्शले रोमाञ्चित पार्छ । देउरालीमा विश्रामपछिको स्फूर्ति पैदा गर्छ । जहाँ शब्द–संयोजनका उत्कृष्ट बान्की र बनौट हुन्छ । ती अक्षरहरूमा गहिरो संवेदनाका भावनाले माटो र पसिनाको कथा सुनाउँछ । अर्को किताबले शहरको भीड ल्याउँछ । माया मरेको, सम्बन्ध टुटेको र विरानोपन भित्रिएको न्यास्रो आभास दिन्छ ।

अपितु एउटा किताबको पाना–पानामा चहार्दै मैले जीवनको सर्वाधिक खुशी भेटिरहेको हुन्छु । तर त्यो किताब खास साहित्यिक स्वादले समाविष्ट भएको हुनुपर्छ । लेखकको हृदयबाट सरल र सुललित रूपमा प्रस्फुट भएर व्यक्त भएको हुनुपर्छ । त्यहाँ भावनाहरू अविरल झरना जस्तै झरिरहेका हुन् । त्यहाँ शब्दहरू नदी जस्तै पवित्र बगिरहेका र जीवनका रङहरू ‘ईन्द्रणी–सौन्दर्य’ भएर मुस्कानभरि खुशी बाँडिरहेका हुन् ।

यस्तो एउटै किताबले अनेकौं खुशीका कोसेलीहरू दिन्छन् । कहिलेकाहीँ कुनै किताबको पानामा मैले मेरो आफ्नै हृदय पोखिएको भेटेको छु । कहिले मलीन, मौन र अनुत्तरित प्रश्नले भरिएका किताबले मेरो मन भावुक बनेको पनि सम्झिन्छु । त्यसपछि म किताबको पूजा गर्न थाल्छु । किताबमाथि ध्यानस्थ हुन्छु ।

वस्तुतः पाठकीय प्रेमपूर्ण आँखाले किताब पल्टाउँदा किताबहरूले स्वतः नै खुशी दिन्छन् । किताबलाई आँखाले प्रेम गरेको मनपर्छ । किताब हेर्ने, किताब पढ्ने र किताबलाई असाध्यै माया गर्नेहरूलाई किताबले पनि माया गर्छ । र, आफ्नो ज्ञान प्रदान गर्छ । किताबको ज्ञानले बौद्धिकता वृद्धि गर्न पाएर पाठकहरू ज्ञानी हुन्छन् । किताबसँगै संसार घुम्न पुग्छन् । अनेक दृश्य देख्न पाउँछन् । अनेकौं ठाउँका विषयमा जानकारी हासिल गर्छन् ।

यद्यपि किताबका ती खुशीमा एकरूप हुँदैन । कुनै किताबले अनायासै हाँस्न बाध्य पार्छ, कुनैले आँखा रसाउँछ । कुनै किताब यति मौन हुन्छ कि त्यसको गहिराइमा डुब्न खोज्दा आफूलाई नै हराउनुपर्ने हुन्छ । बाल्यकालमा पढिएको पहिलो चित्रकथा आज पनि सम्झनामा खुशीको एउटा झरनाजस्तो झर्छ । साँच्चिकै चोट, जुन किताब पढेपछि मन दुख्छ तर गुनासो आउँदैन । अतः एउटा किताबले मनलाई संवेदनशील पनि पार्छ । किताबले मान्छेलाई ‘बुद्धु’ होइन ‘बुद्ध’ बनाउँछ ।

किताबका खुशीहरू जीवनका खुशीभन्दा फरक हुन्छन् । जीवनका खुशीहरू अक्सर क्षणिक हुन्छन् । जस्तै– हर्षको एउटा पृथक क्षण, प्रेमको एउटा बेग्लै नजर, सफलताको एउटा शुभ समाचार । तर, किताबका खुशीहरू लामो समयसम्म मनमा बस्छन् । ती सच्चा साथीजस्ता हुन्छन्, जुन कुनै शर्त बिना आउँछन् र बिना गुनासो टाढा जान्छन् । तिनले जीवनपथमा सधैं मार्गनिर्देश गरिरहेको हुन्छ ।

कहिलेकाहीँ कुनै किताबले मसँग कुरा गर्छ, साक्षात् मेरै आत्मासँग संवाद गरिरहेझैं । कुनै दिन थाकेर बसिरहेको बेला छेउको किताबले टुलुटुलु हेर्छ । उसको आशय आफूलाई मायालु स्पर्श गरिदेओस् भन्ने हुन्छ । मायाको भोकमा, पाठकको खोजमा किताब सधैं तड्पिरहेको हुन्छ । जब म त्यो किताब हातमा लिन्छु चुपचाप किताब मेरो काखमा निदाउँछ । निदाएको किताबलाई ओल्टाइपल्टाइ गर्दै म त्यसभित्रको वास्तविक सौन्दर्य खोतलेर पढ्छु । जब पढिसक्छु म पनि त्यो किताबसँगै मस्तले निदाउँछु ।

त्यसैले म भन्छु– एउटा किताबका अनेकौं खुशीहरू छन् । ती खुशीहरू जीवनका सबैभन्दा मौलिक, सबैभन्दा साँचो खुशी हुन् । खुशीको उत्सवमय पलहरू भनेका पनि तिनै क्षणहरू नै हुन् ।