समालोचना

साहित्यका विविध विधामध्ये आलोचना एउटा महत्वपूर्ण विधा हो । नाटक, गद्याख्यान, निबन्ध र काव्य जस्ता सिर्जनात्मक विधाहरूको नीरक्षीर पारख गर्ने विधा आलोचना हो । यस विधालाई परजीवी विधाका रूपमा मान्न सकिन्छ, किनकि अन्य सिर्जनात्मक विधाका आडमा मात्र आलोचनाको अस्तित्व रहन जान्छ । आलोचना सिर्जनात्मक साहित्यको अनुवर्ती भए तापनि यसले कृतिलाई बोधगम्य एवं रसस्वादन गराउनमा सहयोग गर्नाका साथै कृति एवं कृतिकारको विश्लेषण एवं मूल्याङ्कन समेत गर्दछ ।

प्रवृत्तिगत आधारमा आलोचना यति उति प्रकारका हुन्छ भनेर किटान गर्न सकिन्न अपितु विभिन्न विद्वानका विविध मतहरूलाई समष्टिगत रूपमा हेर्दा नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, प्रभाववादी, तुलनात्मक, प्रगतिवादी, मनोविश्लेषणवादी, शैली वैज्ञानिक, रूपवादी, मिथकीय इत्यादि मुख्य रूपमा देखा पर्दछन्  । प्रस्तुत अध्ययन पत्रमा मनोविश्लेषणात्मक आलोचना मात्र चासोपर्दो विषय हुनाले यसैमा केन्द्रित गरेर लेखिने प्रचेष्टा गरिएको छ ।

मनोविश्लेषमात्मक समालोचना

सामान्यता मनोविज्ञान भनेको मानिसका मनको प्रकृति, उसका विभिन्न अवस्था तथा क्रिया र त्यसमा पर्ने प्रभाव आदिको अध्ययन गर्ने विज्ञान वा शास्त्र हो ।[१] त्यस्तै गरी मनोविश्लेषण पनि मनका विविध अवस्था, क्रिया इत्यादिको विश्लेषण पद्धति विशेष हो । मनोविश्लेषण शब्दको अंग्रेजी रूपान्तर ‘साइकोएनालिसिस्’ हो । त्यसको शाब्दिक अर्थ मनको विस्तृत व्याख्या र मूल्याङ्कन हो । खास गरी मनोविश्लेषण शब्दको सृजना र विकास ईं. १८९६ मा सिग्मण्ड फ्रायडले गरेका हुन् । मनोविश्लेषणको अर्थलाई तीन रूपमा प्रयोग गरिएको पाइन्छ- १. खोज प्रविधि, २. मनोचिकित्सा पद्धति एवं ३. मनोविज्ञानका सम्प्रदाय वा सिद्धान्त । खोज प्रविधिमा मनका विविध अवस्था गत्यात्मकताको खोज गरिन्छ । मनचिकित्साको पद्धतिमा मानसिक  विकृति, असन्तुलन तथा मनका अन्य समस्याको उपचारको प्रयत्न गरिन्छ । त्यस्तै गरी, मनोविज्ञानका सम्प्रदायहरू जस्तै- व्यवहारवादी, व्यक्तित्ववादी, विश्लेषणात्मक मनोविज्ञान, संरचनात्मक, साहचर्यवादी इत्यादिका बारेमा अध्ययन हुन्छ ।

मनोविश्लेषणको सिद्धान्तलाई हामी मूल रूपमा यसरी हेर्न सक्छौं- १. मूल प्रवृत्तिको सिद्धान्त, २. मनको सिद्धान्त, ३. दमनको सिद्धान्त, ४. अन्तरद्वन्द्वको सिद्धान्त, ५. मनोरचनाको सिद्धान्त ६. दैनिक जीवनका भूलहरूको सिद्धान्त ७. सपनाको सिद्धान्त र ८. मनोलैंगिक उत्पत्तिको सिद्धान्त आदि ।[२]

सिग्मण्ड फ्रायड (१८५६-१९३९) अनुसार आकारात्मक दृष्टिले मनका तीन अवस्था हुन्छन्- चेतन, अर्धचेतन र अचेतन ।

यसरी नै फ्रायडले मानिसको व्यक्तिको संरचना तीन किसिमको निकायहरूबाट बनेको कुरालाई मानेका छन्- इदम् (इड), अहम् (इगो), पराअहम् (सुपर इगो) । इदम् अवचेतनमा रहेको हुन्छ जो मानिसको सहजात निकाय हो । यही नै जीवन शक्तिको आधार हो । यसमा जन्मजात विशेषता र प्रचालकहरू विद्यमान हुन्छन् । यसको लक्ष्य ती प्रचालकहरूको सन्तुष्टि हो । यसले आनन्दको खोजी गर्छ । यसलाई सही र गल्तीको वास्ता हुँदैन औ समय र वास्तविकताको ज्ञान पनि हुँदैन । यो पाशविक अतार्किक हुन्छ औ यसले नैतिक, अनैतिक, सामाजिक बन्धन इत्यादि केहीसँग सरोकार राख्दैन । अहम् चाहिँ वास्तविक संसारसित सम्बन्ध राख्ने मनको एउटा भाग हो । यसले आत्मा संरक्षणको मुख्य उद्देश्य लिएको हुन्छ । यसले व्यक्तित्वको निर्धारकको काम गर्नका साथै सिक्ने, सोंच्ने, तर्क गर्ने, प्रत्यक्षीकरण गर्ने, स्मरण गर्ने जस्ता काम पनि गर्दछ । यसले सामाजिक वातावरणसँग मेल राखेर इदम्‌का चाहना र इच्छाहरूलाई पूरा गर्ने कोशिश गर्छ औ यथार्थको सिद्धान्तलाई पछ्याउँछ । यसले पराअहम् बीचमा सन्तुलन ल्याउँछ । पराअहम् चाहिँ मनको नैतिक घटक हो । यसले अपराध वा त्रुटिको अनुभव गर्छ औ सामाजिक तथा पारिवारिक सन्दर्भमा यसको विकास हुने भएकाले सामाजिकता र सभ्यतातिर डोहोऱ्याउँछ । यसको विकास बाल्यकालमा आमा बाबु र ठूलाहरूबाट प्राप्त हुने प्रेरणा, शिक्षा उपदेश र ज्ञानहरूबाट हुन्छ ।

फ्रायडका सिद्धान्त अनुसार व्यक्तित्वको विकास क्रमशः मौखिक, गुदीय, लिंगिय, लुप्त र जनेन्द्रिय स्तरहरूमा हुन्छ । व्यक्तित्वको बीजारोपण पाँच वर्षको उमेरसम्ममा निश्चित भइसकेको हुन्छ  । यसैक्रममा उनले मातृरतिग्रन्थि (इडिपस ) को पनि उल्लेख गरेका छन्  । छोराको आमाप्रति विशेष आकर्षण वा प्राप्त गर्ने इच्छा हुनु औ बाबुप्रति केही घृणा हुनु मातृरति ग्रन्थि (इडिपस) हो । यसै गरी छोरीमा बाबुप्रति विशेष आकर्षण रहने आमाप्रति ईर्ष्याभाव रहने पितृरतिग्रन्थि (इलेक्ट्रा) हो ।

फ्रायडपछि अर्का अरू दुइजना महान् मनोविज्ञानवेत्ता हुन्- अल्फ्रेड एडलर र कार्ल गुस्ताभ जुङ्ग । एडलर केही वर्षसम्म फ्रायडको मनोवैज्ञानिक संस्थाका अध्यक्ष भए तर पछिबाट मत भिन्नताको कारणले उनी फ्रायडदेखि अलग भए । एडलरले मानिसलाई मुख्य रूपमा एउटा सामाजिक प्राणी भनेका छन् जब कि फ्रायडले मानिसलाई यौनप्रधान प्राणी भनेका थिए । उनको अभिमतमा प्रत्येक मानिस अनौठो किसिमको प्रेरणा, गुण र अभिरूचि मान्यताहरूका संगठनबाट प्रभावित अनुरूप मानिसले आफ्नो खास किसिमको जीवन शैलीको निर्माण गर्छ । एडलरका केही सिद्धान्तहरू यसप्रकार छन्- त्यसै १. हीनताको भावना, २. उच्चताको भावना, ३. जीवन शैली, ४. सिर्जनात्मक स्व, ५. चेतन स्व, ६. सामाजिक रूचि इत्यादि ।[३]

एडलरको मतअनुसार प्रत्येक व्यक्तिमा जन्मजात केही कमजोरीहरू विद्यमान हुन्छन् जसको कारणले गर्दा उसमा हीनताको भावना उत्पन्न हुन्छ । शैशवकालदेखि नै मान्छेले आफूलाई अरूको तुलनामा दुर्बल र हीन पाउँछ । यसर्थ प्रत्येक व्यक्तिले हीनताको भावनाबाट मुक्ति पाउन श्रेष्ठताको संकल्पना गर्दछ । जन्मजात शारीरिक विकलाङ्ग भएका बालक बालिका हीनताको भावनाले आक्रान्त रहन्छन् । फलतः यस्ता आङ्गिक विकास सम्बन्धी क्षतिपूर्ति गर्नका लागि अन्य क्षेत्रतर्फ प्रयत्नशील यस्तै गरी शारीरिक, मानसिक, सामाजिक इत्यादि क्षेत्रमा रहेका अक्षमता र विषमताका फलस्वरूप रहन्छन् । मानिसका अहम् प्रताड़ित हुन पुग्छ र हीनता भावको जन्म हुन जान्छ र यही हीनताभीवको क्षतिपूर्तिका लागि विविध कार्यव्यापार गर्दछ ।[४] एडलरका अनुसार बढ़ी हीनताको कारणले मानिस मनस्तापी बन्छ औ यस्ता मनस्तापी आक्रमकताले आधिपत्य जन्माउँछ । यद्यपि आक्रमकतालाई असामाजिक ठानेर उच्चताका लागि लत्याउने गर्छ ।

एडलर पछिका अर्का महान् मनोविश्लेषणक र मनोचिकित्सक कार्ल गुस्ताभ जुङ आफ्नो बेग्लै प्रकारको मान्यता लिएर देखापरे । उनले फ्रायडले सीमित अर्थमा प्रतिपादन गरेको लिबिडो शब्दलाई व्यापक अर्थमा प्रयोग गरे । उनले लिबिडोलाई जीवनशक्तिको नाम दिए र यस जीवनशक्ति नै मानव जीवनको प्रेरक तत्त्व हो भन्ने राय प्रकट गरे । उनले मनका लागि साइकि शब्द प्रयोग गरे औ यसका चेतन, व्यक्तिगत अचेतन र सामुहिक वा संस्कारगत अचेतन गरी तीनवटा स्तरलाई स्वीकार गरे । चेतन मनको केन्द्र स्थलमा अहम् रहेको हुन्छ औ यसमा मानिसको ‘स्व’ धारणा, स्मृति अनुभव आदि कुराहरू संकलित रहेका हुन्छन्  । व्यक्तिगत अचेतनबाट मानिसले अनेक घटनाहरूलाई स्मृतिका माध्यमबाट चेतन मनमा राख्ने काम गर्दछ । सामूहिक अचेतन मनमा चाहिँ विगत पीढ़ी तथा आदिकालीन पुर्खाहरूका संचित अनुभव रहेका हुन्छन् र यसबाट व्यक्ति पूर्णतः अनभिज्ञ रहेको हुन्छ । आद्यबिम्ब वा आद्यरूप जुङ्गले प्रयोग गरेका शब्द हुन् जो सामूहिक अचेतनमा रहन्छन् औ यी समस्त मानिस जातिमा पाइने गर्छ । यसको अभिव्यक्ति भने व्यक्तिगत अचेतनबाट हुने गर्छ । वास्तवमा सामूहिक अचेतनको मूल अर्थ नै व्यक्तिगत अचेतनमा जुन प्रतिमा वा प्रतीकहरू उपस्थित हुन्छन् ती अन्य व्यक्तिहरूमा पनि पाइन्छ । यसर्थ यसमा मानिसका पैतृक रूपमा अतीतका स्मृति एवं अन्य जातीय गुणहरू विद्यमान रहन्छन् । जुङ्गले संस्कार प्रतिमाको व्याख्याको लागि ल्याटिन शब्द एनीमा र एनिमस शब्दको प्रयोग गरेका छन् जसलाई स्त्रीप्रतिमा र पुरुषप्रतिमा भन्न सकिन्छ ।[५] मानिसमा स्त्री र पुरुष दुवैका शारीरिक र मानसिक गुणहरू रहेका हुन्छन् ।

मुरारीप्रासद रेग्मीको मनोलिश्लेणात्मक समालोचना

नेपाली मनोविश्लेषणात्मक आलोचनाको ठोस उपलब्धि नै मुरारीप्रसाद रेग्मीको प्रवेश हो । वि.सं. १९९८ सालमा नेपालको रूपन्देहीमा जन्मेका श्री रेग्मीले मनोविज्ञान विषयमा विद्यावारिधि समेत हासिल गरी हालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय मनोविज्ञान विभागमा प्राध्यापन गर्दछन् । हालसम्म उनका प्रकाशित कृतिहरूमध्ये जीवन क्यानभासको वृत्तचित्र (उपन्यास, सं. २०३४) र अरू जम्मै मनोविश्लेषणपरक छन्  । यस्ता कृतिहरूमध्ये मनोवैज्ञानिक अनुसन्धानात्मक समालोचना (कथा खण्ड), मनोविश्लेषणात्मक समालोचना (उपन्यास खण्ड), मनोविश्लेषणात्मक समालोचना (समसामयिक कथा खण्ड), मनोविज्ञान एक परिचय, असामान्य मनोविज्ञान र मानसिक स्वास्थ्य मनोविज्ञान, दी साइकोलोजी अफ् लार्दिक साइकोलोजी, हिस्टोरिकल डेभलपमेण्ट अफ साइकोलोजी इन् नेपाल हुन् । यिनका अतिरिक्त रेग्मीका अनेकौँ मनोविश्लेषणात्मक चर्चा परिचर्चा, समीक्षा पाइन्छन् ।

वि.सं. २०३२ र २०४० मा क्रमशः रत्नश्री स्वर्ण पदक र महेन्द्र विद्याभूषणले सम्मानित श्री रेग्मीले नेपाली आख्यान साहित्यमा विद्यमान मनोवैज्ञानिक पक्षलाई राम्ररी खोतल्ने काम गरेका छन् । कृतिमा पाठ केन्द्रित रही मनोविश्लेषणका विविध पक्ष र सिद्धान्तहरूका आधारमा पात्र पात्राहरूको सबिस्तार विश्लेषण गर्दछन् । श्री रेग्मीले आलोचनाका सन्दर्भमा चर्चा गर्दा विशेषगरी निर्णायात्मक, मापन पद्धति र मूल्य निर्धारण जस्ता कुराले कृतिको कसरी मूल्यांकन हुनसक्छ भन्ने दर्शाएका छन् । उनका विचार अनुसार आलोचनामा निर्णयका पाँच प्रकार हुन्छन्- विवेकयुक्त आकस्मिक निर्णय, संवेगात्मक निर्णय, बाध्य निर्णय र पुनर्विचारात्मक निर्णय । यस्तै गरी मापन पद्धति पनि तीन प्रकारका हुन्छन् – कसी सन्दर्भात्मक मूल्यांकन, प्रमापसन्दर्भात्मक मूल्याङ्कन र स्वसन्दर्भात्मक मूल्याङ्कन । साहित्यिक उपजहरूको कसीमा गरिने मूल्याङ्कन कसीसन्दर्भात्मक, कुनै वर्ग विशेषलाई आधार गरेर गरिने प्रमापसन्दर्भात्मक मूल्याङ्कन तथा पात्रहरूका स्वको संरचनामा विद्यमान घटक तत्त्व र स्वका यथार्थ आदर्शका संघर्ष समन्वय आदिको व्यापक विश्लेषण चाहिँ स्व सन्दर्भात्मिक हुन् । यसरी नै मूल्य निर्धारणका आधारहरू भौतिक, मानसिक, नैतिक र आध्यात्मिक हुन्छन् । कसी सन्दर्भात्मक मूल्यांकनको चर्चा गर्दा श्री रेग्मीले जुङ्गवादी मनोवैज्ञानिक विश्लेषणका चारवेटा कसीहरू हुन्छन् छन्  । ती हुन्- चिन्तात्मक, भावनात्मक, मननपूर्णता र ऐन्द्रिकता । फेरि व्यवहारवादी मनोवैज्ञानिक समालोचनाका भनेका आधारमा तीन कसीहरू हुन्छन्- संज्ञानात्मक कसी, भावनात्मक कसी र गत्यात्मक कसी  । यस्तै किसिमले फ्रायडवादी मनविश्लेषणको तीनवटा कसीहरू छुट्याउन सकिन्छ- आनन्द सिद्धान्त, सामाजिक सिद्धान्त र नैतिक सिद्धान्त ।

मुरारीप्रसाद रेग्मीका समालोचनामा हामी समालोचक स्वयंले नै लेखकका आवेगहरू र संवेद्यतासँग तादात्म्य राखेको पाउँछौं । विश्वेश्वरप्रसाद कोइराला, विजय मल्ल, भवानी भिक्षु प्रभृति कृतिकारहरूका संवेगहरूसँग तादात्म्य राख्दै श्री रेग्मीले तिनका कृतिको यथासम्भव मनोवैज्ञानिक पक्षहरूको उद्घाटन गरेका छन् । यिनको समालोचनात्मक पद्धतिमा विशेष गरी दुइ पक्ष पाइन्छन्- कृतिकार र कृति । कृतिकार पक्षमा विशेष गरी भवानी भिक्षु, भारती खरेल प्रभृति सर्जकका व्यक्तित्व मनोविज्ञान र समाजमनोवैज्ञानिक कृतिगत समालोचनालाई स्थूल रूपमा दुइ भेद गर्न सकिन्छ- सामान्य मनोविज्ञान र समाज मनोवैज्ञानिक विश्लेषण । सामान्य मनोविज्ञानमा विशेष गरी फ्रायड र जुङ्गद्वारा प्रतिपादित सिद्धान्तको विश्लेषण बढ़ी पाइन्छन् । यी बाहेक बाल मनोविज्ञान, सांस्कृतिक मनोविज्ञान कृतिको तुलनात्मक मनोविश्लेषण इत्यादिका आधार लिएर समीक्षा गरिएको पनि पाइन्छ । सांस्कृतिक मनोविज्ञानमा सोताला : मनोसांस्कृतात्मक विश्लेषण पर्दछ औ मनोविश्लेषणमा चाहिँ ‘टाँगन घोड़ा : एक विश्लेषण’मा बालकृष्ण समको ‘टाँगन घोड़ा’ कथालाई चंगीज आइत्मातोवको प्रसिद्ध उपन्यास ‘फेरवेल गुलसारी’- सित तुलना गरेका छन् । त्यस्तै गरी बाल यौनको परिप्रेक्ष्यमा ‘आँखीझ्याल र सर्पदंश’ मनोवैज्ञानिक अध्ययन पर्दछन् ।

डा. रेग्मीको कृतिगत मापन पद्धतिको मूल आधार ‘स्वसन्दर्भात्मक’ मूल्याङ्कन रहेको छ । कायिक-स्व, आदर्श-स्व, नैतिक-स्व, विवेक-स्व, आन्तरिक स्व, कु-स्व इत्यादि शब्दद्वारा व्याख्या र विश्लेषण गरिएको पाइन्छ । यो स्व को सिद्धान्त एडलरको चरित्रका क्रियात्मक स्वबाट आधार लिइएको हो । फ्रायडद्वारा प्रतिपादित रक्षायुक्ति, सपना, मनका अवस्था, मनस्ताप, लिबिडो, मातृरति ग्रन्थि मनोलैङ्गिक इत्यादि सिद्धान्तहरूलाई मूलरूपमा विवेचनाको आधार बनाएका छन् । उनले एडलरको विशेषगरी हीनता उच्चता ग्रन्थिको पनि आधार ग्रहण गरेका छन् । यिनका अतिरिक्त म्याक्स वर्दाइमरद्वारा प्रतिपादित गेस्टाल्टवादका आधारमा गोठालेका दुइवटा कथा चिह्न र बलात्कारको विश्लेषण गरिएको पाइन्छ । यस्तैगरी उनले भारती खरेलको घमण्ड नाटक-लाई जेम्स लेका-को मनोवैज्ञानिक सिद्धान्तका आधारमा पनि हेरेका छन् । भाषावैज्ञानिक फर्डिनान्ड सस्युरको संकेतक र संकेकित सिद्धान्तका आधारमा लेकाँको मतको उल्लेख गर्दै घमण्ड नाटककी नायिका अनामिकाको पहिलो विवाहको सिन्दूर पतित्वको संकेत थिएन तर डा. देवले दिएको सिन्दूरले पतित्व प्राप्त भएको कुराको उल्लेख गरेका छन् अर्थात् दोस्रो सिन्दूर दानको सफलताबाट पतिको संङ्केतिकरणको सार्थकता स्पष्टिन्छ ।

वास्तवमा भन्नुपर्दा मुरारीप्रसाद रेग्मी मात्र नेपाली समालोचनामा विशुद्ध मनोविश्लेषणात्मक समालोचक हुन् । उनी मात्र शतप्रतिशत यस क्षेत्रमा लागेर लगभग बीसजना जति नेपाली उपन्यासकार र पचासजना जति कथाकारहरूका कृतिको मनवैज्ञानिक पक्षहरूमाथि चर्चा गरेका छन् ।

 

 

[१] नेपाली वृहत शब्दकोश

[२] कृष्णप्रसाद भण्डारी, फ्रायड र मनोविश्लेषण (काठमाडौं, साझा प्रकाशन, २०५३), पृष्ठ १०।

[३] बरूण कुमार तिवारी, मनोविज्ञानका प्रवर्तकहरू (काठमाडौं, नेराप्रप्र, २०३५), ११३।

[४] सत्यदेव मिश्र, पाश्चात्य समीक्षा : सिद्धान्त और वाद (आगरा, विनोद पुस्तक मन्दिर, १९७४), पृष्ठ २३३

[५] सत्यदेव मिश्र, पूर्ववत्, पृष्ठ २३३।