हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति छन् जो आफ्नो भाषा साहित्य, देश र जातिको उत्थानमा अहोरात्र खटिरहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ र पेशाभन्दा माथि उठेर निस्वार्थ भई सेवारत हुन्छन् । केही नेपाली साहित्यसेवी छन्, जो उन्नतिका लागि मरिमेटेका छन् । यस्तै एक व्यक्तित्व हुन् कृष्ण बजगाईँ ।
उनी नेपाली साहित्यको परोक्ष र प्रत्यक्ष सेवामा आबद्ध छन् । उनी साहित्यलाई पेशाभन्दा माथि उठेर विश्वमा नेपाली साहित्यलाई अङ्कित गर्ने काम गरिरहेका छन् । लेखनमा मात्रै हैन, सम्पादन र साहित्यिक कार्यक्रम आदिमा देखा पर्ने गर्छन् । उनी बेल्जियम बस्तादेखि नै अनलाइन समकालीन साहित्य पत्रिकाको प्रकाशन र सम्पादन गरिएका छन् ।
उनी मूल रूपमा धरान निवासी हुन् तर हालमा बेलायतमा बसोबास गर्छन् । उनी लगभग १२ वर्ष जति रेडियो नेपालमा पनि स्थायी जागिरे थिए ।
उनका बालकथा, लघुकथा, नियात्रा, हाइकु, कविता आदि विधाका थुप्रै कृति प्रकाशित छन्, जसले शैक्षिक पाठ्यक्रममा समेत स्थान पाएका छन् । उनी नेपाल र विदेशका थुप्रै पत्रपत्रिका र संस्थाहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन् । उनका कृतिमाथि विश्वविद्यालय स्तरमा अनुसन्धान र पिएचडीसमेत सम्पन्न भएका छन् । नेपाली साहित्यलाई विश्वव्यापी बनाउने उद्यममा उनी सतत क्रियाशील छन् ।
* * * *
नियात्राकारका रूपमा कृष्ण बजगाइँ-
‘कायेन वाचेन मनसान्द्रियर्वा’ सबै कुराले साहित्यलाई जीवन समर्पण गर्ने बजगाईंले मूल रूपमा उनी नियात्राकार हुन् । उनका नियात्रापरक पुस्तकहरूमा- युङफ्राउ, उमिहोतारु, दाइबुचु, भाया साक्रा, युरेसियाको स्पर्श ।
उनको उमिहोतारू नियात्रा नेपाली पाठकका निम्ति एउटा अमूल्य ग्रन्थ बन्नपुगेको छ । नियात्राका मापदण्ड अनुसारका तत्त्वका आधारमा यस कृतिलाई अध्ययन गर्दा प्रायः जम्मै कुराले सजिएको पाइन्छ । यसमा रहेका विषयवस्तुहरूलाई स्थूल रूपमा पाँच वटा वर्गीकरण गर्न सकिन्छ– भौगोलिक स्थलगत जानकारी, ऐतिहासिक स्थलगत जानकारी, साहित्यिक स्थलगत जानकारी, आत्मानुभूति, मातृभूमि प्रेम । उनले आफूले गरेको यात्रालाई सदुपयोग गरेर यसरी रोचक ढङ्ग लेखेका छन् ।
उमिहोतारूमा नियात्रामा हुनुपर्ने सबै गुण र विशेषता पाइन्छ । यसमा तथ्यपरकता, सत्यता, आत्मानुभूति, स्वच्छन्दता, विषयकेन्द्रितता, कल्पनाशीलता, निजात्मकता, स्थानीयता लेखकीय इमान, चित्रात्मता, चिन्तनशीलता, तुलनात्मकता विवरणात्मक आदि गुण पाइन्छन् । दैनिकीय नियात्राबाहेक अरू जम्मै किसिमका नियात्रा लेखन यस उमिहोतारूमा पाइन्छन् । यसभित्रका प्रत्येक निबन्धले विभिन्न विशेषता बोकेको छन् ।
लघुकथाकारका रूपमा कृष्ण बजगाइँ-
कृष्ण बजगाईँ दक्ष कथाकार पनि हुन् । उनका पाँच बालकथा-संग्रह ‘गाउँले रोबोट’, ‘गफ चुट्ने मेसिन’ ‘चिल्लीबिल्ली’, ‘बतासे डाँडामा पङ्खा’, ‘आगो ओकल्ने पहाड’, छ लघुकथासंग्रह ‘नग्न स्वप्न’, ‘कागजको मन्त्री’, ‘संवैधानिक पत्नी’, ‘कवच’, ‘रोडम्याप’, ‘यन्त्रवत्’ र कथासंग्रह ‘कमरेड भाउजू’ प्रकाशित छन् ।
रत्न प्रजापतिका अनुसार- वर्तमान समय र समाजमा मान्छेका विसङ्गत र विद्रुप भोगाइहरूलाई सर्जक कृष्ण बजगाईंले लघुकथामा उतारेका छन् । चेतनशील, भावुक, संवेदनशील र कल्पनाशील बजगाईंले मान्छेको मनलाई उद्वेलित बनाइराख्ने वर्तमान समय र समाजका केही बेथिति र विडम्बनाका विषयहरूलाई लघुकथामा उठान गरेका छन् । लघुकथाहरू समसामयिक सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका छन् ।
सबै लघुकथाले विडम्बनाको चिरफार र बेथितिमाथि प्रहार गरेका छन् । विशेषतः सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्यचेत, मानवीय संवेदना, चरित्रगत आचरण, गरिबी, अभावको पीडा, विदेशिनुपर्ने बाध्यता, त्यसले सिर्जना गरेको सामाजिक समस्या, मानवीय संवेदना, पर्यावरणीय चेतना आदि यस लघुकथा सङ्ग्रहमा मुख्य विषयवस्तु बनेर आएका छन् । (अनलाइन समकालीन साहित्य, सेप्टेम्बर २३, २०२४) खास उद्देश्यका साथ विशेष स्थानको भ्रमणका क्रममा प्राप्त अनुभव, अनुभूति साथै निजी विचारलाई नियात्रामा प्रस्तुत गरिन्छ । कलात्मक भाषाका माध्यमबाट ऐतिहासिक महत्वका स्थानका महत्त्वपूर्ण भनाइ, सन्दर्भ आदिलाई बजगाईँका नियात्रामा उठान गरिएको हुन्छ ।
बेलायतलाई कर्मभूमि बनाए पनि हरपल स्वदेशको स्मरण गर्नु उनका लेखनगत प्रवृत्ति हुन् जुन प्रवृत्ति नियात्रामा समेत देख्न सकिन्छ । विदेशका विभिन्न स्थलको भ्रमण गर्नु र त्यस क्रममा नेपाल सम्झनु यस युङफ्राउ नियात्राको पनि विशेषता रहेको छ । (उषा आचार्य, समकालीन साहित्य, २९ मई, २०२४)
‘जम्माजम्मी ६१ वटा कथाले सजिएको लघुकथाकृति ‘नग्न स्वप्न’ लघुकथाको क्षेत्रमा एउटा अब्बल कृति हो । विदेशी भूमि (बेलायत) आफ्नो कर्मथलो भए तापनि मातृभूमि प्रतिको माया र चिन्ता उनको कथामा बग्रेल्ती पोखिएका छन् । जनता चिर निद्रामा छन्, जाली फटाहाहरूले देश खाइ सके जाग न जाग भन्दा पनि विदेशमा बसेर उपदेश दिन्छस्? भन्ने पीर पनि छ । यो यथार्थ हो तर जहाँ भए पनि देश दुखिरहन्छ । सबै कथा उच्च कोटीका छन् । पढिसक्दा पनि स्वादिष्ट खाना खाएर पछिसम्म हात मगमगाए जस्तै कथाहरू मगमगाउँछन् ।”
उनका कथाहरूमा भविष्यको चिन्ता, वातावरणप्रतिको सचेतता, नेपाली राजनीतिप्रतिको तिक्तता र गहिरो चिन्ताहरू आएका छन् । श्रीमान् र श्रीमती बीचको सम्बन्धमा धन, पैसाले पार्ने असर, उत्तरआधुनिक समाजमा श्रीमान् र श्रीमतीको सम्बन्ध दिगो नहुने कुराहरू र धेरै कथाहरूमा पूर्व श्रीमान्, पूर्व श्रीमती, पूर्व प्रेमी जस्ता पात्र उभिएर प्रष्ट पारेका छन् । विवाह अघिको सम्बन्ध शीतल हुने विवाहपछि त्यही सम्बन्ध ताप हुने कुरा आएको छ । यस कृतिका (नग्न स्वप्न) अधिकाशं कथाहरूले मानवलाई यान्त्रिक र औपचारिकतामा बाधेको, मानवता र भावनात्मक सम्बन्ध हराउँदै गएको कुरा गहिरो चिन्ता बनेर आएका छन् । त्रिकोणात्मक प्रेम सम्बन्ध, प्रेमीका एउटी, श्रीमती अर्की हुदाँ पनि तीनैजना बीचको सम्बन्धमा जोडिएको नातालाई भन्दा भावनात्मक सम्बन्धमा मिठास हुने आदर्श कथामा पाइन्छ । (सीता रेग्मी, समकालीन साहित्य मई, २०२४) ।
बजगाईँ आफ्नो जीवनकालमा नेपालको धरान र काठमाडौं, युरोपका बेल्जियम र लण्डनका बासिन्दा हुनाले उनले यी चारै ठाउँका बाह्य र आन्तरिक दुवै कक्षलाई राम्ररी निरीक्षण अनुभावन र अध्ययनबाट उनको लेखकस्व ब्युँझिएको हो । उनीभित्र उनी नेपाली समाज, युरोपेली समाजभित्र पसेका हुन् । दुवैतिरका समाजलाई राम्ररी देखेका भोगेका चिनेका हुन् । उनी देश खाई शेष भएका सचेत लेखक हुन् । उनले नेपालको दुःख पनि देखे भोगेका हुन् भने युरोपेली आधुनिक समाजमा पनि बाँचेका छन् । उनी नेपालको अविकसित गाउँ देखेका घुमेका अनुभव गरेका व्यक्ति हुन् भने युरोपको विकासको चरमचुली पनि देखेका छन् । उनले राजतन्त्र र गणतन्त्र दुवै देखे भोगेका हुन् । यसर्थ, उनको लेखनले सबै किसिमको अनुभव भोगेको छ । अतः उनको कथा र नियात्रामा राजनैतिक, सामाजिक स्पर्श भएको पाइन्छ । उनी जीवनवादी लेखक हुन् ।
हाइकुकारका रूपमा-
जापानी साहित्यबाट प्रणयन भएको हाइकु कविता विश्वव्यापी बनेको छ । हाइकु लघु आयामको भए पनि यसले जीवनदर्शन, सांसारिक दर्शन, जीवनाभूतिलाई छोएको हुन्छ । कृष्णजी एक हाइकुकार पनि हुन् । उनले हाइकुसम्बन्धी जापानमा गएर तालिम पनि लिएका हुन् । उनका तीन वटा हाइकुसङ्ग्रहरू हुन्- मौन प्रणय, हिउँको तन्ना, कुमारी रात । यी कृतिहरूले जीवन दर्शन, आफ्नो अनुभव र अनुभूतिलाई झल्काएका । थोरै शब्दमा धेरै कुरा भन्नु, गहिरा कुरालाई अटाउन सकेका छन् ।
सम्पादकका रूपमा–
कृष्ण बजगाईं अनलाइन पत्रिका समकालीन साहित्यको एक कुशल सम्पादक हुन् । अनलाइन पत्रिकाको माध्यमबाट भए पनि उनी अग्रसर छन् । यस पत्रिकाले नेपाल, भारत, युरोप र अमेरिका चारैतिर नेपाली भाषा साहित्यको प्रचार गर्न सकेको छ ।
यसको माध्यमबाट धेरै नयाँनयाँ लेखकको प्रादुर्भाव भएको छ । यसमा कथा, कविता, गीत-गजल, कृति समीक्षा, निबन्ध, नियात्रा, विचार, व्यक्तित्व, अनुवाद, हास्य-व्यङ्ग्य, जीवनी, वार्ता, संस्मरण आदिलाई अघि बढाएका छन् । यसको माध्यमबाट सिर्जनाको उत्स सिर्जना गरेका छन् । धेरै व्यक्तिको परिचय, कृतित्वको समीक्षण गरिएको पाइन्छ ।
यसले धेरैलाई लेखक बनाएको छ, धेरैलाई साहित्यप्रति रुचि जगाइदिएको छ, धेरै विद्यार्थीलाई सन्दर्भ सामग्री जुटाइदिएको छ । यसबाहेक उनको प्रधान सम्पादकत्व रहेको प्रवसन शोधमूलक पत्रिका पनि निकै महत्त्वपूर्ण छ । यस शोधपत्रिकाले पनि नेपाली प्राज्ञिक शोधसामाग्री तयारी पार्न ठुलो भूमिका खेलेको छ ।
अन्तर्वार्ताकार बजगाइँ-
आफ्नो अनलाइन पत्रिकालाई सुचारु राख्न उनले यसमा विविध साहित्यिक सामाग्रीका साथै उनले इमेलको माध्यमबाट संसारभरिका नेपाली साहित्यकारहरूको अन्तर्वार्ता पनि लिन्छन् । उनले धेरै साहित्य सर्जकहरू अन्तर्वार्ता लिएका छन् । यी अन्तर्वार्ताहरूलाई स्रष्टा र डिजिटल वार्ता भन्ने सङ्ग्रहको रूपमा प्रस्तुत गरेका छन् । उनले यस पुस्तकमा कमलमणि दीक्षित. कविताराम श्रेष्ठ, कृष्ण धरावासी, गोविन्दराज भट्टराई, जगदीश घिमिरे, ज्ञानू पाण्डे, धीरकुमार श्रेष्ठ, माधवप्रसाद पोखेरल, मोमिला, मोहन दुवाल, मोहन सिटौला, युवराज घिमिरे, रोचक घिमिरे, विक्रम सुब्बा, विमल भौंकाजी, श्रीओम श्रेष्ठ रोदन, हरिहर खनाल, हरि अधिकारी र होमनाथ सुवेदीका अन्तर्वार्ताहरू समावेश भएका छन् । यी अन्तर्वार्ताहरूबाट नै ती लेखकहरूको व्यक्तिगत र कृतिगत मूल्याङ्कन र साहित्यिक मान्यताका बारेमा जानकारी पाउन सकिन्छ ।
* * * *
उनी जीवनवादी साहित्यकार हुन् । यो जीवनलाई व्यस्त बनाई, सकारात्मक, सक्रिय ऊर्जाशील बनाउन उनी लागिपरेका छन् भने पाठकलाई पनि यस्तै सकारात्मक सन्देश दिन्छन् । उनी आफ्नो काम गरिरहन्छन्, डुलिरहन्छन्, संसार घुम्दा उनले पाठकहरूलाई आफूसँगै घुमाइरहेका हुन्छन्, आफ्नो अनुभव र अनुभूति सुनाइरहेका हुन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










